डा. विवेक सिंह
हार्वड विश्वविद्यालयमा सन् २००६ मा प्रकाशित एक ‘थेसिस’मा संगीत र मानव शरीरको सम्बन्धबारे चर्चा गरिएको थियो। संगीतको वास्तविक उत्पत्तिबारे आज पनि हामीलाई थाहा छैन। तर भनिन्छ– संगीतको सुरुवात प्रकृतिमै उत्पन्न हुने विभिन्न आवाजबाट भएको हो। यसको चर्चा आज मात्र होइन, हजारौं वर्ष अघिदेखि विश्व प्रसिद्ध व्यक्तिहरूले गर्दै आएका छन्। प्लेटो र एप्पोलोजस्ता विश्व प्रसिद्ध वैज्ञानिकहरूले पनि संगीत र मानिसको शरीरको सम्बन्धबारे धेरै लेख लेखेका थिए। तर संगीतलाई औषधिका रूपमा अनुसन्धान कम भएर होला– आज पनि हामीलाई यसको महत्वबारे धेरै ज्ञान छैन।
संसारमा संगीत मन नपराउने व्यक्ति कमै होलान्। मानव जाति मात्रै नभएर जनावरमा पनि संगीत आफ्नो अस्तित्व कायम राख्न सफल छ। धेरै जनावर संगीतलाई बुझ्ने गरेको र संगीतमा रमाउने गरेको अध्ययन र अनुसन्धान दैनिक रूपमा सुन्न पाइन्छ। कहिलेकाहीं म सोच्ने गर्छु– दिनभरको थकाइपश्चात् घर फर्केर कुनै मनपर्ने संगीत सुनेपछि थकान किन कम हुन्छ ? कुनै मनपर्ने संगीत सुन्दा मेरा खुट्टा किन थाहा नपाई आफैं हल्लिन थाल्छन् ? किन कुनै संगीत सुन्दा मेरो पूरै शरीरले संगीतको महसुस गर्छ ? किन कुनै संगीत सुन्दा मेरो शरीरका रौंरौंले त्यो संगीतको स्पर्श गर्छन् ? किन कुनै संगीतले मेरो अतीतलाई ताजा गराउँछ ? संगीतबिनाको मानव सभ्यता कल्पना गर्न पनि सकिँदैन होला। संगीतका विभिन्न शैली छन् र मानव शरीरमा विभिन्न शैलीका आफ्नै किसिमका प्रभाव हुन्छन्।
संगीतले मानिसको रोगसँग लड्ने प्रतिरोधात्मक शक्ति विकाश गर्छ। संगीत शरीरका लागि मात्रै होइन, आत्माका लागि पनि वरदान हो।
संगीतले शरीरका विभिन्न रसायनलाई सन्तुलानमा ल्याएर उपचारमा सहयोग गर्ने गर्छ। स्वर र व्यञ्जनमध्ये स्वरको उच्चारण गर्दा इन्टरलिउकिन–२ रसायन निकाल्ने गर्छ र नाके व्यञ्जनले मानसिक व्यग्रता साम्य पार्छ। ‘लम्’, ‘वुम’ र ‘ओम्’ शब्दका फरक प्रभाव पाइएका छन्। केही संगीत र स्वरले श्वास प्रणाली र केहीले मस्तिष्कमा विशेष प्रभाव पार्ने गर्छन्। विभिन्न मन्त्रबाट निस्किने स्वरले पार्ने प्रभावलाई हामीले यहीअनुरूप बुझ्न सक्छांै। डिप्रेसन, क्यान्सर, अल्जाइमर्स, पार्किन्सन्सजस्ता धेरै रोगमा ‘म्युजिक थेरापी’को प्रयोग सुरु भएको छ। दैनिक तनाव घटाउन र विभिन्न किसिमको शरीरमा भएका दुखाइ कम गर्न पनि यो विधि प्रयोग गरिन्छ। संगीतले मानव शरीरको कोषिकासम्म प्रभाव पर्ने गर्छ। विश्वका विभिन्न देशमा गरिएका अनुसन्धानले भन्छन्– संगीतले शरीरमा केही महŒवपूर्ण रसायनको मात्रा बढाउने गर्छ जसले गर्दा दुखाइ, डिप्रेसन, तनाव कम हुने गर्छ। संगीतले शरीरको रक्तनलीहरूलाई साँघुरो हुन दिँदैन, जसले गर्दा रक्तचाप घटाउन सहयोग गर्छ। संगीतले मुटु, मस्तिष्क, रक्तनली सबैमा सकारात्मक भूमिका खेलेको हुन्छ। संगीतले मानिसको रोगसँग लड्ने प्रतिरोधात्मक शक्ति विकाश गर्छ। संगीत शरीरका लागि मात्रै होइन, आत्माका लागि पनि वरदान हो।
नवजात शिशुको जन्म हुँदा त्यो शिशुले केही दिनसम्म अस्पतालभित्र विभिन्न उपकरणको आवाज सुन्ने गर्छ, तर उसलाई केही प्रभावकारी संगीत सुनाउने हो भने उसको विकासमा अझै सकारात्मक प्रभाव पर्ने कुरा केही अनुसन्धानले देखाउँछन्। नवजात शिशुले मात्रै नभएर विभिन्न चराचुरुङ्गी र जनावरले पनि संगीतको स्पर्श गर्छन्। डाक्टरको परामर्शअनुसार औषधिसँगै ‘म्युजिक थेरापी’ प्रयोग गर्नाले अवश्य पनि फाइदा हुन्छ।
६० हजार वर्षभन्दा पुरानो इतिहास बोकेको यो संगीतको यात्राले मानिसको शरीर र स्वस्थ्यमा साँच्चै सकारात्मक भूमिका खेलेको छ। संगीत र स्वास्थ्यको सम्बन्ध रहेको निष्कर्ष विभिन्न अध्ययन र अनुसन्धानले निकालेका छन्। संगीतको महत्व वैज्ञानिक, संगीतप्रेमी र सर्वसाधारण जनताले समेत बुझ्न आवश्यक छ।
प्रकाशित: १९ मंसिर २०७६ ०५:४२ बिहीबार