विचार

प्रदूषणको भयावह अवस्था

काठमाडौं उपत्यकामा जाडोयाम सुरु भएसँगै धुवाँ र धुलोले प्रदूषण बढ्दै गएको छ, जसले गर्दा मानव स्वास्थ्यमा प्रतिकूल असर परेको छ । हावामा रहने प्रदूषणका कारण अति सूक्ष्म कणहरूका कारण मानिसलाई हृदयाघात, मुटुरोग, फोक्सोका क्यान्सर, श्वासप्रश्वास र निमोनियालगायत समस्या आउने स्वास्थ्य संगठनको भनाइ छ । पछिल्लो समय उपत्यकामा जे–जसरी यस किसिमका रोगहरू फैलिएको देखिन्छ, त्यसको मुख्य कारणका रूपमा वायु प्रदूषणलाई लिन सकिन्छ । त्यति मात्र होइन, प्रदूषणकै कारण नसर्ने रोगहरू पछिल्लो समय वृद्धि हुँदै गएको देखिन्छ । त्यसो त विज्ञहरूले पनि राजधानीको वायु प्रदूषणको अवस्थाले मानव स्वास्थ्यलाई असर पारेको त्यसमा पनि विशेषगरी महिला, बालबालिका र बाहिर काम गर्ने कामदार यसबाट बढी प्रभावित भएको बताएका छन् । विश्व स्वास्थ्य संगठनको एक अध्ययन प्रतिवेदनले प्रदूषणका कारण काठमाडौंमा मात्रै वार्षिक झन्डै १० हजार मानिसको मृत्यु हुने गरेको जनाएको छ । नेपाल स्वास्थ अनुसन्धान परिषद्को अध्ययनले पनि श्वासप्रश्वास र निमोनियाको समस्या बढेको देखाएको छ । बालबच्चाको श्वासप्रश्वास नलीको माथिल्लो र तल्लो भागमा असर पारेको र प्रौढ उमेर समूहकालाई पनि उत्तिकै प्रभाव पारेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । धूमपान गर्नेको संख्या घट्दै गए पनि श्वासप्रश्वासका रोगीहरूको संख्या बढ्नुको मुख्य कारण नै प्रदूषण रहेको छ । सन् २०१९ मा प्रकाशित ग्लोबल एयर रिपोर्टले विश्वको कुल मृत्युदरमा प्रदूषण पाँचौं कारक रहेको देखाउनुले पनि प्रदूषण र यसको असरको भयावह अवस्थालाई देखाउँछ ।

विज्ञहरूले पनि राजधानीको वायु प्रदूषणको अवस्थाले मानव स्वास्थ्यलाई असर पारेको त्यसमा पनि विशेषगरी महिला, बालबालिका र बाहिर काम गर्ने कामदार यसबाट बढी प्रभावित भएको बताएका छन् । विश्व स्वास्थ्य संगठनको एक अध्ययन प्रतिवेदनले प्रदूषणका कारण काठमाडौंमा मात्रै वार्षिक झन्डै १० हजार मानिसको मृत्यु हुने गरेको जनाएको छ।

उपत्यकामा विगत दुई वर्षदेखि विभिन्न स्थानमा जडान गरिएका सातवटा प्रदूषण मापन स्टेसनले हावाको गुणस्तरको सूचकांक अर्थात् ‘एयर क्वालिटी इन्डेक्स (अक्वा)’ मापन गर्दै आएकोमा गत एक साताको तथ्यांकले वायु प्रदूषणको स्तर ‘अस्वस्थकर’ रहेको देखाएको छ । प्रदूषण मापन गर्दा प्रतिघनमिटर वायुमा २.५ माइक्रोमिटर तथा सोभन्दा सानो व्यास भएका सूक्ष्म वायुका कणहरूलाई पिएम २.५ रूपमा मापन गरिन्छ भने प्रतिघनमिटर वायुमा १० माइक्रोमिटरभन्दा कम व्यास भएका कणलाई पिएम १० का रूपमा नापिन्छ । पिएम २.५ ले मापन गर्ने कणहरूलाई इलेक्ट्रोन माइक्रोस्कोपले मात्र देख्न सकिन्छ भने यी कणहरू अत्यन्त साना आकारका भएकाले मानिसको फोक्सोमा सीधै पस्न सक्छन् र नकारात्मक प्रभाव पार्छन् । उपत्यकामा हाल चालू सबै प्रदूषण मापन स्टेसनहरूले अक्वा अस्वस्थकर भनिने तहमा पुगेको देखाएका छन् । अन्तर्राष्ट्रिय संस्था एयर भिजुयलका अनुसार वायुमा रहेका पिएम २.५ का आधारमा काठमाडौं संसारको १००औं प्रदूषित सहर हो । पिएम २.५ मापन गर्दा सन् २०१७ मा काठमाडौंको प्रतिघनमिटर वायुमा ४५.९ माइक्रोग्राम सूक्ष्म कणहरू पाइएकोमा २०१८ मा आइपुग्दा यो ५४.४ माइक्रोग्राम प्रतिघनमिटर पुगेको छ । यसरी पिएम २.५ को हिसाबले एक वर्षमा उल्लेख्य हिसावले प्रदूषण बढेको देखिन्छ ।

यो अवस्थामा सरकारले वायु प्रदूषण नियन्त्रणका लागि आवश्यक नियम, कानुन एवं मापदण्डहरू तय गर्नुका साथै त्यसलाई कडाइका साथ कार्यान्वयन लैजान जरुरी छ । त्यसका लागि प्रदूषण मापन गर्ने स्टेसनहरूले दिने तथ्यांकको उचित अध्ययन र विश्लेषण गरी आवश्यक कार्ययोजना तथा मापदण्ड निर्धारण गर्न सकिन्छ । त्यसो त बेलाबखत वायुको गुणस्तर व्यवस्थापनका लागि कार्ययोजना पनि नबनाइएको होइन तर त्यस्ता कार्ययोजनाको कार्यान्वयन भने हुन सकेको छैन । उदाहरणका लागि दुई वर्षअघि वातावरण विभागले बनाएका वायुको गुणस्तर व्यवस्थापनसम्बन्धी कार्ययोजनलाई लिन सकिन्छ । सबै सम्बन्धित मन्त्रालय तथा निकायसँग छलफल गरी बनाइएको यो कार्ययोजना अझै पनि कार्यान्वयनमा आएको छैन । सवारीसाधनले फ्याँक्ने धुवाँ वायु प्रदूषणको प्रमुख कारण भएकाले सार्वजनिक यातायातको व्यवस्थापनमा पनि सरकारले ध्यान दिन जरुरी छ । दुई वर्षअघि नै २० वर्ष पुराना (सार्वजनिक यातायात) गाडीहरू विस्थापित गर्ने व्यवस्था गरिएको थियो तर यो विषय पनि कार्यान्वयन हुन सकिरहेको छैन । त्यसैले सरकारले आवश्यक नियम कानुन ल्याएर होस् वा भइरहेका नियम, कानुन र कार्ययोजनाको कार्यान्वयन गरेर नै किन नहोस्, उपत्यकाको वायु प्रदूषणलाई नियन्त्रण गर्नेतर्फ सोच्न ढिला भइसकेको छ । त्यसका लागि संघीय मात्र होइन, प्रादेशिक र स्थानीय सरकारहरूका साथै सर्वसाधारण पनि उत्तिकै जागरुक हुन जरुरी छ ।

प्रकाशित: ८ मंसिर २०७६ ०४:३९ आइतबार

विज्ञ प्रदूषण