किरात सनातन वाङ्मयमा छैटौं अवतारका रूपमा अवतरण भएका महागुरु फाल्गुनन्दद्वारा प्रतिपादित मुन्धुमहरूको भाष्य लेखन बाँकी नै रहेको पाइन्छ। किराती सनातन परम्परामा येहाङ, लेप्मुहाङ, कान्देनहाङ, माबोहाङ, सिरिजङ्गापछि बीचको शून्य कालखण्डमा किरात धर्मका ज्ञानसार, कर्मसार, ज्ञानकाण्ड र कर्मकाण्ड केवल थुतुरीवेदरूपी मौखिक तन्त्रमन्त्र, जन्त्र, यन्त्रको अवस्थामा अवस्थित यस वर्ग र समाजको ज्ञान ज्योतिका रूपमा उहाँ १९४२ कात्तिक २५ गते अर्थात् आजकै दिन अवतरण हुनुभयो।
‘यदा यदा ही धर्मस्य ग्लानीभर्वति भारत’झैं जब–जब पापको उदय, धर्मको विनास हुने अवस्था आउँछ, तब–तब धर्मको कर्म फैलाउन भगवान्रूपी महामानवहरू आउने–जाने क्रम विश्व धर्मको मूल्य र मान्यता हो। किरात धर्म दर्शनका सारभूत ज्ञान मुन्धुमहरू, मोक्षादि मुन्धुम, दीक्षादि मुन्धुमदेखि सामान्य न्वारन, लगन, मरणका तारान्तार कर्म संस्कारहरू नै भुलेर मुखको सहारामा धामी, झाँक्री, बिजुवा, फेदाङ्मा आदि तान्त्रिक विधिबाट सारा संस्कार गर्ने परिपाटी बोन काल, ‘बोन’ धर्मलाई संकटकालीन अवस्थाबाट बचाउने युगपुरुष फाल्गुनन्द मुक्तिदाता, चेतनादाता, ज्ञानदाता र मोक्षदाताका रूपमा पूज्य छन्। नेपाल सरकारले उहाँको चित्रांकित हुलाक टिकट निर्माण, कक्षागत पठनपाठन, फाल्गुनन्द मार्ग, फाल्गुनन्द प्रतिमा, फाल्गुनन्द प्रतिष्ठान स्थापना गर्दै उहाँलाई राष्ट्रको १६औं राष्ट्रिय विभूति घोषणा गरी राज्यले ठूलो सम्मान दिएको छ।
जन्मभूमि चुक्चिनाम्बा, ज्ञानभूमि फुःलुंगी, इलाम, कर्मभूमि सिलौटी–लोब्रे पाँचथर तीर्थभूमि फक्ताङलुङ कुम्भकर्ण, ताप्लेजुङ चारअमरधाम बहुचर्चित तीर्थस्थल छन्। उहाँले इलामको चुक्चिनाम्बा र जितपुर, पाँचथरको सिलौटी, लोब्रे, ताप्लेजुङ काबेली, तेह्रथुम आठराईको निगुरादेन, विभिन्न लिम्बूवानका ७ ठाउँमा मन्दिर र भुटानको लामिटारमा समेत मन्दिरहरू स्थापना गर्नुभएको छ। जुन ऐतिहासिक, पुरातात्विक, आध्यात्मिक, धार्मिक र सांस्कृतिक दृष्टिकोणले नेपालको अत्यन्त महŒवपूर्ण तीर्थस्थल मानिन्छ।
‘बोन’ धर्मलाई संकटकालीन अवस्थाबाट बचाउने युगपुरुष फाल्गुनन्द मुक्तिदाता, चेतनादाता, ज्ञानदाता र मोक्षदाताका रूपमा पूज्य छन्।
नेपालको धार्मिक इतिहासमा पहिलोपटक वि. सं. १९८८–१–२४ मा उहाँले पाँचथर लोब्रेकुटीमा बृहत् धर्मसभा गरी ७ बुँदे सत्यधर्म मुचुल्का पारित गराउनुभएको थियो। जसमा शास्त्र सत्य, दया, शान्ति, अहिंसा, समानता, बराबरी, नरनारी, जातजाति, वर्गीय भेद, छेद अन्त्य गराउने विषय उल्लेख थिए। उहाँलाई बुद्ध भगवान्को अर्को अवतार मानिन्छ। उहाँले रूढिवाद, कुरीति, कुथिति, कुधर्म, कुकर्म, कुसंस्कृति अन्त्य गराई रक्तबलि भोगपूजा, हिंसा, हत्याबिना देवीदेवता, इष्टदेव तथा ईश्वरमाङको आराधना, अर्चना, उपासना र कूलपूजा गर्ने शुद्ध फलफूल, कन्दमूल र रोटी, नैवेद्यको मात्र उपयोगमा ल्याउने चलन चलाउनुभयो। विधि प्रविधि ‘एउटै बाबु–आमाका छोराछोरी, मानिस हुन् बराबरी’ भन्ने मानवीय अभियान चलाई छोरा–छोरी दुवैलाई पढाउने, अंश, वंश, हंश समानताका आधारमा दिने–लिने व्यवहार गर्ने, जाँडरक्सी, मासु, लागुपदार्थ परित्याग गरी शुद्ध शाकाहार, सत्य कर्म, सत्य धर्म, सत्य विचार, सत्य व्यवहार, सनातन, सतलोक, सत्य दाम, काम, माम, हिसाब, किताब, पिसाप, निसाप बराबरी अभियान चलाउने उहाँ ‘सत्यहाङमा’ उपनामले चर्चित हुनुभयो।
पूर्व–पश्चिम, उत्तर–दक्षिण, हिमाल–पहाड–तराई र कुम्भकर्ण हिमालयदेखि भारतखण्डका चारधामसम्म देव दर्शन र प्रवचनमा व्यस्त गुरुदेवलाई अचानक ३–३ पटक देशद्रोह, राजद्रोह अभियोग लाग्यो। त्यस क्रममा प्रहरीले नियन्त्रणमा लिएर राजा त्रिभुवनसमक्ष लाँदा उहाँको हातमा भएको हतकडी आफैं खुस्केर झरेको घटना आश्चर्यजनक छ। सत्य डग्दैन, झुटो तग्दैन भन्ने कुरा उहाँमा लागू हुन्छ। सत्यको सदा जित हुन्छ।
सत्यहाङमा फाल्गुनन्द राजा हुँ भन्छ, हिमाली कुम्भकर्ण क्षेत्रमा गोप्य सेना राखेका छ, चामल–पैसा उठाएर सेनालाई खुवाउँछ, हाम्रो परम्परागत धर्म, कर्म÷संस्कार गर्न र छोरीचेलीको सोतरीत, सुनौली–रूपौली, राँगा, सुँगुर, जाँडरक्सी खान र लिना–दिना गर्न दिँदैन, प्रतिबन्ध गराएको छ भन्ने व्यहोराको राजाबासा सम्राटका आरोप असत्य साबित भए। धरपकडमा टोली नाइके राजदरबारका नायब बडागुरु पं. द्विपराज उपाध्यायको नेतृत्वमा हतियारसहित २२ जनाको हुल गएर ताप्लेजुङको काबेली दोभानबाट उहाँलाई पक्राउ गरिएका उहाँ राजधानी काठमाडौंमा फाँसीको सजाय दिने षड्यन्त्रबाट बच्न सफल हुनुभयो।
देवीदेवता, भूतप्रेत फलाक्दै कामेर मात्र हुँदैन, आत्मज्ञानबाट परमात्माज्ञान जान भन्ने उहाँ त्रिकालदर्शी हुनुहुन्थ्यो। हरेक गाउँघरमा मन्दिर स्थापना गरी मन्दिर परिसरमा आआफ्ना मातृभाषाको स्कुल स्थापना गरी शिक्षादीक्षा लिनुदिनु, यस माध्यमबाट चेतनालाई चैतन्यमा समर्पण गर्ने शुद्धमार्ग नै सत्य धर्म हो भन्ने उपदेशका महागुरु स्वयं देवअंशी मानवरूप हुनुहुन्थ्यो। एकपटक सिलौटीमा चुकचुकाउँदै देववाणी बोल्नुभयो– ‘ए लिम्बूवानका सुब्बा शेरबहादुर लावती, काजीमान तुम्बाहाङफेहरू हो, सबै चुलाभुलाले सुन– पश्चिम स्वर्गद्वारी प्युठानका गौमाताहरूले हंशानन्द गुरु स्वर्गारोहणपछि अहिले नुन खान नपाएर बाँ...बाँ...बाँ...गरी कराएको आवाज सुनें, लौन लिम्बूवानका प्रत्येक घरबाट ‘आना–माना’ दान उठाउनू।’ आज्ञामुताबिक चामल भए एक माना, पैसा भए १ आना संकलन भएपछि १५ सय रुपैयाँसहित उहाँले स्वर्गद्वारी पठाउनुभएको धार्मिक सहिष्णुताको उदाहरण गिनिज बुकमा लेख्नलायक छ।
एकपटक चेलाभुलासाथ तेह्रथुम भ्रमण गर्दै जाँदा संयोगवश एकजना कविरपन्थी ठूला महन्तसँग उहाँको भेट भयो। अनि आत्मा आदानप्रदान गर्ने क्रममा कविरपन्थी महन्तले सिद्धात्मालाई चिनिसकेपछि प्रणाम गरी गुरु त स्वयं आउनुभएको रहेछ, अनि गुरुको वेदचाहिँ के हो नि भनी प्रश्न गर्दा महागुरुले उल्टो प्रतिप्रश्न गर्नुभएछ– ‘तपाईंको नि ?’ जवाफमा महन्तले मेरो त त्यही वेद हो भनेपछि उहाँले ‘ए, तपाईंको त्यही वेदको फेद मेरो हो भनी शान्त गराउनुभएको थियो।
महागुरु फाल्गुनन्दको दर्शन शास्त्र ५५–५६ मुन्धुम नेपाली, अंग्रेजीमा अनुवाद गर्नुछ भने उहाँको देववाणीमा आफ्नो अवतरणको मूल रहस्य यस्तो छ ः
‘सावायेत्हाङ थिकहुप पोङमा, माङवा, हाङवा, याङवा, माङलुङधुङ, हाङलुङधुङ, माङचोत्लुङ, हाङचोत्लुङ, युङमा ताप्मा नुः तङबेफोबानल्ये कुबे इःखुङङाङ, तङबेदुम्बान कुबे युक्खुङधाङबारो।’
अर्थ ः देवविद्या, राजविद्या, ब्रह्मविद्या, योगविद्या, चतुर्विद्या, सिद्धिशक्ति, देवशक्ति, राजशक्ति सत्य स्थापना गरिदिएको छु। यही मार्गबाट विश्व शान्ति र मानव एकता हुनेछ। यसका लागि कलियुग अन्त्य गराई सत्ययुग प्रवेश गराउँदै छु, बल्ल यसपछि स्वर्गको अवतरण पृथ्वीमा हुनेछ।
देवदर्शन देववाणीका महागुरु फाल्गुनन्दको आज २०७६ कात्तिक २५ गते १३४औं पूरा भई १३५औं जन्म जयन्तीका अवसरमा पृथ्वी, आकाश, वायु, अग्नि, जल, विश्व, ब्रह्माण्ड तथा मानव शान्तिको मंगलमय शुभकामना !
प्रकाशित: २५ कार्तिक २०७६ ०३:४६ सोमबार