विचार

पत्रु खानाले कुपोषण

१० वर्षअघि मेरी छोरीले दुःखी भएर मसँग भनेकी थिइन्– ‘आमा, तपार्इंलाई त कति मान्छेले कोदे बूढी भन्छन्। तपाईंले कोदो र फापरबारे धेरै कुरा गर्ने भएकोले।’ उनको उदास अनुहार देखेर मैले भनेकी थिएँ– ‘यस्तो कुरामा त म गर्व गर्छु। कोदो, फापर त राम्रा अन्न हुन्। यसको महत्व नबुझेर पो मानिसले हेपेका हुन्।’

अहिले कोदो र फापर खोजेर खाने मानिसको संख्या बढेको छ। मधुमेह र मुटुको रोग लागेपछि खाना खाँदा विचार गर्नुपर्ने रहेछ भन्ने चेत धेरैमा आएको छ। अभिभावकहरूले माया गरेर दिने तथा बालबालिका आफैंले किनेर खाने कुरमुरे, सेता पाउरोटी, चाउचाउ मन्द विष हुन्। यस्ता खानाले ठूला–साना सबैलाई अति नै हानि गर्छ। स–साना बालबालिकाका लागि त झनै खराब हुन्छ। किनभने यस्ता चाउचाउ, कुरमुरे आदिमा शरीरलाई चाहिने पौष्टिक तत्व प्रोटिन, लौहतत्व, क्याल्सियम आदि हुँदैनन्। त्यसैले यस्ता वस्तु खानाले बालबालिकामा पोषण कमी हुन्छ।

पोषणसम्बन्धी अन्तर्राष्ट्रिय जर्नल ’न्युट्रिसन’ मा प्रकाशित रिपोर्टअनुसार नेपाली केटाकेटी पोषण नपुगेर होचा हुँदै गएका छन् ।

यस्ता वस्तु बनाउँदा प्रयोग गरिने मैदाले पनि स्वास्थ्य खराब गर्छ। खानेकुरा बनाउन प्रयोग गरिने तेल पनि कम गुणस्तरको र बारम्बार तताइएको हुन्छ। यस्तो तेलले क्यान्सरसमेत पैदा गर्छ। कुनै पनि खाद्यान्नको प्राकृतिक स्वरूपमै सबभन्दा बढी पौष्टिक तत्व हुन्छ। खाद्यान्नलाई जति तोडमरोड ग¥यो, त्यति नै त्यसका फाइदा नासिँदै जान्छन्।

केही महिना पहिले पोषणसम्बन्धी अन्तर्राष्ट्रिय जर्नल ‘न्युट्रिसन’ मा प्रकाशित रिपोर्टअनुसार नेपाली केटाकेटी पोषण नपुगेर होचा हुँदै गएका छन्। काठमाडौं उपत्यकाभित्र १२ देखि २३ महिनासम्मका ७ सय ४५ केटाकेटीमा गरिएको अध्ययनले यस्तो तथ्यांक देखाएको हो। २ वर्षभन्दा कम उमेरका ती केटाकेटीले  चाहिने कूल क्यालोरीमध्ये एकचौथाइ हिस्सा पत्रु खानाबाट पाउँछन्।

पत्रु खाना भनेको काम नलाग्ने फाल्नलायक खानेकुरा हुन्। तर हाम्रा अभिभावक आफ्ना बालबालिकालाई फकाउँदै पैसा दिएर त्यही पत्रु खाना किन्न उक्साउँछन्। यसो गर्दा बाबु–आमा पनि मक्ख, छोराछोरी पनि मक्ख। एकछिनको अल्छीले सन्तान कुपोषित भई बिरामी हुन पुग्छन्। बिरामी भएपछि औषधि–उपचार गर्दा समय र धन दुवै खर्च हुन्छ। त्यसैले पहिलेदेखि नै घरको खाना खाएर स्वस्थ भएको बेस।

पत्रु खानाले बालबालिकालाई शारीरिक र मानसिक स्वास्थ्यमा नराम्रो असर गर्छ भनेरै स्वास्थ्य मन्त्रालयका साथै शिक्षामन्त्रालयले समेत समय–समयमा चाउचाउ, चिप्स, कुरकुरेजस्ता खाजा स्कुलमा लैजान तथा बिक्री गर्न प्रतिबन्ध लगाउने कोसिस गरेका थिए, तर सफल भएन। अझै कतिपय स्कुलमा शिक्षकले आफ्ना विद्यार्थीले खाजा के खान्छन् भन्ने कुरामा खासै वास्ता गर्देनन्। आमा–बुबाले पनि आफ्ना बालबालिकालाई खाजा खान पैसा त दिन्छन्, तर त्यो पैसाले तिनले स्वस्थकर खाजा खाएका छन् कि छैनन्, वास्ता गर्दैनन्।

बालबालिकालाई खाजाका रूपमा दिइने बिस्कुट, पेय पदार्थ आदि दिँदा उनीहरूको शरीरमा चाहिनेभन्दा बढी चिनी जम्मा हुन्छ। चिनी धेरै भएको चिसो पदार्थले मानव शरीरको हड्डी कमजोर पार्ने तथा क्यान्सरसमेत गराउन सक्ने भनेर अध्ययनले देखाएको छ। ठूला बट्टामा राखिएको फलफूलको रस राम्रोे ठानेर बालबालिका धेरै पिउँछन्। यस्तो रसमा धेरै चिनी र फलफूलको रस नकुहियोस् भनेर रसायन हालिएको हुन्छ। यसले स्वास्थ्यमा धेरै नराम्रो असर पार्छ। यसले कुपोषण गराउँछ।

हामीसँग स्वस्थकर पेय पदार्थ पनि पर्याप्त छन्, जस्तै ः कागती र पुदिना हालेको सर्बत, कागती हालेको चिया, दही, लस्सी, बेलको सर्बत, कागती र मह हालेको पानी आदि। यस्तो पेय पदार्थ घरमै सजिलोसँग बनाउन सकिन्छ। पैसा पनि कम पर्छ। अमला, अम्बा, हलुवावेद आदि सस्तो पर्छन् भने यिनमा भिटामिन ‘सी’ पनि पर्याप्त हुन्छ। जसले शरीरमा रोगसँग लड्ने शक्ति त बढाउँछ नै, साथै यस्ता फलफूलमा पानी पनि हुनाले कब्जियत हुन दिँदैन।

अचेल धेरै बालबालिकाले पत्रु खाना खाने हुनाले उनीहरूलाई कब्जियत हुने गरेको पाइन्छ। कब्जियत भएपछि पेट ढुस्स हुने, खाना खान मन नलाग्ने, वाकवाकी आउने, टाउको दुख्ने हुन्छ। साथै दिसा गर्दा कन्नुपर्ने हुँदा बाबसिर हुन सक्छ। यस्तो समस्या भएपछि शल्यक्रिया गर्नुपर्ने हुन्छ। यसले गर्दा झन् धेरै समस्या र रोग थपिन सक्छन्। त्यसैले कब्जियतै हुन नदिन चोकर भएका खानेकुरा जस्तो ः गहुँको आँटा, जौ आदि र रेसादार पदार्थ भएका खाना जस्तो ः हरिया तरकारी, भटमास, बोडी, स्कुस, लौका, मकै आदि खानुपर्छ, बालबालिकालाई दिनुपर्छ। बच्चाहरूले हरिया तरकारी खाँदैनन् भन्ने आमा–बुबालाई म भन्छु– बालबालिकालाई बिस्तारै यस्ता हरिया तरकारीको स्वाद चखाउनुको अर्थ हो, उनीहरूलाई राम्रो संस्कार दिनु।

‘शक्ति बढाउने खाना’ भनेर अनेक किसिमका खानेकुराका बट्टामा लेखिएका हुन्छन्। गाउँघरमा कतिपय अभिभावकले आफ्ना बच्चाको स्वास्थ्य राम्रो होस् भनेर आफ्नै खेतबारीमा उब्जिएका कोदो, फापर, मकै, गहुँ, आलु बेचेर हर्लिक्स, बोनभिटा, बुस्ट, भिभा आदि किन्छन्। वास्तवमा उनीहरू टिभी र रेडियोमा आएका भ्रामक विज्ञापनको प्रभावमा पर्छन्। हर्लिक्स, बोनभिटा, कम्प्लानले ‘बालबालिकाको बुद्घि र उचाइ बढाउँछ’ भन्ने गलत विज्ञापन दिइएको हुन्छ।

यस्ता वस्तुहरू जौ, गहुँ, चिनी, दूध आदिबाट बनाइएका हुन्छन् र सिसीमा हालेर अति नै महँगो भाउमा बेचिन्छन्। हर्लिक्स बनाउने संस्थाले बेलायतमा यसरी गलत तरिकाले विज्ञापन गर्न पाउँदैन। तर नेपाल र भारतजस्ता देशमा भने हर्लिक्सले जथाभावी विज्ञापन गर्छ। यसले गर्दा मानिसमा भ्रम फैलिन्छ। शक्ति दिने भनेर जुन वस्तुको बढी विज्ञापन गरिन्छ, त्यो वस्तु त्यति नै काम नलाग्ने हुन्छ। पहिले–पहिले चुरोट खाँदा शक्ति बढ्छ भन्ने विज्ञापन आउँथ्यो। तर चुरोटले त शरीरमा हानि मात्र गर्छ। त्यसरी नै चाउचाउ, कुरकुरे, चिजबलले शरीरमा हानि मात्र गर्छन् भनेर बुझ्न जरुरी छ।

बिग्रिएका नरिवलजति बिस्कुट कारखानामा
कतिपयले पाकेटमा राखिएको खाना सफा गरेर नै बनाएको हुन्छ भन्ठान्छन्। जुना नामकी एक महिलाले पनि पहिले–पहिले त्यस्तै ठानेर बिस्कुट, दालमोठ आदि खाजाका रूपमा आफ्ना छोराछोरीलाई दिएर पठाउँथिन्। एकदिन किराना पसलमा जाँदा उनले देखिछन् कि पसलकी साहुनीले ढुसी परेका नरिवल जोख्दै रहिछन्।

ढुसी परेका नरिवल पनि किन जोखेको होला नेर उनले साहुनीलाई सोधिछन्। त्यसपछि साहुनीले भनिछन्– यी बिग्रेका नरिवल बिस्कुट कारखानाबाट एक व्यक्ति आएर सस्तोमा लैजान्छ। यो सुनेर जुना छक्क परिन्। नभन्दै एकछिनमा गाडी लिएर आएका एक व्यक्तिले बिग्रिएका सबै नरिवल बोरामा हालेर लग्यो। यो देखेपछि मात्र जुनाले आफ्ना छोराछोरीलाई बिस्कुट खान दिन छाडिन्।

विभिन्न प्रशोधित खाना खाएका कारण कुपोषण भएका शिशुलाई ठूलो भएपछि उच्च रक्तचाप, मधुमेह(चिनीको रोग), मुटुको रोग आदि हुन सक्ने सम्भावना बढी हुने वैज्ञानिकहरूले बताएका छन्। त्यसैगरी सानैदेखि धेरै पत्रु खाना खाएर धेरै मोटा भएका बच्चाहरू पनि वयस्क भएपछि पनि मोटा नै हुन्छन्। यसले गर्दा उनीहरू अनेक थरीका नसर्ने रोग, उच्च रक्तचाप, मधुमेह, हड्डी खिइने, मिर्गौलाको समस्या आदिबाट पीडित हुन्छन्।

स्वस्थकर खाना खान हामीले महँगो पैसा तिर्न पर्दैन। सजिलै पाइने दाल, भात, रोटी, चिउरा, आलु, भटमास, गोलभेंडा, फर्सी, स्कुस, कुभिन्डो आवश्यकताअनुसार खाने गरेमा स्वस्थ रहन सकिन्छ। विभिन्न थरीका मसला जस्तै ः जिरा, धनियाँ, मरिच, खुर्सानी, प्याज, लसुन आदि प्रयोग गरियो भने पनि स्वस्थ रहन मद्दत पुग्छ।

विभिन्न प्रकारका खाजामध्ये धान, गहुँ, जौ आदिबाट बनाइएकोे चिउरा स्वस्थकर हुन्छ। यस्तो चिउरा तरकारी, दाल, दूध, दहीसँग खान सकिन्छ। चिउराको खिर पनि बनाउन सकिन्छ। चिउरामा बदाम, आलुका टुक्रा, अदुवा हालेर फुरन्दाना पनि बनाउन सकिन्छ र एउटा भाँडामा हावा नछिर्ने गरी राख्यो भने यो धेरै हप्तासम्म सुरक्षित पनि हुन्छ।

चिउरामा बदाम, चना, भटमास आदि पनि मिलाउने हो भने यो झनै राम्रो पौष्टिक खाजा बन्छ। नेवारी समुदायको खाजामा, चिउरा, बोडी, भटमास, अन्डा, अदुवा, लसुन आदिलाई प्राथमिकता दिने गरिन्छ। पोष्टिकताका दृष्टिले यो राम्रो खाजा हो। विभिन्न गेडागुडी मिसाइएको चिउराले सस्तोमै पेट भरिनाका साथै प्रशस्त पौष्टिक तत्व प्राप्त हुन्छ। त्यसैले कतिपयले चिउरालाई बिहानको खानाको सट्टामा पनि प्रयोग गर्छन्।

रोटी, अचार र आलुको तरकारी मात्रै खाए पनि पूर्ण भोजन नै हुन्छ। त्यसैगरी टुसा उमारिएका चना, सानो केराउ आदि उसिनेको आलुसँग पकाउन सकिन्छ। टुसा भएका चना र सानो केराउ त काँचै पनि खान सकिन्छ। टुसा उमारेपछि यस्ता गेडागुडीमा भएका भिटामिन र खनिजको मात्रा झन् बढ्न जान्छ। त्यसैगरी टुसा उमारिएको क्वाँटीलाई तरकारी बनाएर चिउरा वा रोटीसँग खाजाका रूपमा खान सकिन्छ।

उसिनेको आलु वा अन्डालाई हल्कासँग भुटेर पनि राम्रो खाजा तयार हुन्छ। कोदो, फापर, जौ आदि पाइने ठाउँमा यसको रोटी पनि खाजाका रूपमा प्रयोग गर्न सकिन्छ। हिजोआज त कतिपयले कोदो र फापरको सेल, निम्की पनि बनाउन थालेका छन्। यस्ता खाद्यपदार्थ बालबालिकादेखि बूढापाकासम्मलाई लाभदायक हुन्छ।

प्रकाशित: २४ कार्तिक २०७६ ०६:०१ आइतबार

कुपोषण