विचार

बौद्धिक जागरण जरुरी

जगदीश रेग्मी

मुलुकवासी, विशेषगरी युवा पिँढीले युगान्तकारी परिवर्तन अपेक्षा गरेका छन्। युगान्तकारी परिवर्तनका बाधक तत्वहरू जसले वर्तमान सन्ततिका असीम सपना र ऊर्जाशील भावनालाई मार्ने काम गरेको छ। वस्तुतः एकातिर युवा वर्गलाई विदेश पलायन हुन विवश पारेको छ भने अर्कातिर अति गरिब नागरिकलाई मृत्यु वरणको अवस्थामा पु¥याएको छ। त्यस्ता बाधक तत्व भनेका मुख्यगरी भ्रष्टाचार, तस्करी, कालाबजारी, दलालीजस्ता सामाजिक नियम, कानुन र मर्यादाप्रतिकूलका प्रचलन हुन्। यिनै घृणित प्रचलनहरूले नागरिकलाई गरिबीको कुचक्रमा फसाई भरौटे– पछौटे बन्न बाध्य बनाएका छन्। यही खराब पृष्ठभूमिमा समाजका बौद्धिक वृत्तमा बिलकुल नवीन सोच र पृथक दृष्टिकोणसहितको बौद्धिक जागरण अभियान चलाउन जरुरी देखिएको छ।

राजनीतिक पद्धतिको अवमूल्यन, नैतिक न्यायमा ह्रास, सामाजिक तथा आर्थिक असमानता, अर्थतन्त्रमा टाटको स्थिति, शान्ति–सुरक्षामा खलल आदि राष्ट्रिय संकट र परिवर्तनका मुख्य बाधक हुन्। यिनलाई चिरेर मुलुकको सर्वांगीण विकासका लागि छलाङ मार्नु सानो चुनौती होइन। त्यसैगरी दुनियाँका हरेक शासकले आफ्नो सत्ता टिकाइराख्न नागरिकका स्वतन्त्रतामा हस्तक्षेप गर्ने, जीविकाकै निम्ति रुमलिने बनाउने, आँखामा छारो हाल्ने, झारो टार्ने आदि व्यवहार प्रदर्शन गर्दछन्, जुन शासक वर्गको मूल चरित्र नै हो। यिनै व्यवहारले मुलुकको भविष्य अनिश्चिततातर्फ धकेलिन्छ र सरकारले आफ्नो नैतिक धरातल, सत्व र जनविश्वास गुमाउँछ, त्यस अवस्थामा राज्यलाई सही दिशा र मार्गमा डो¥याउन बौद्धिक वर्गको भूमिका जरुरी  हुन्छ। त्यही भूमिकाको बोध हरेक शिक्षित र चेतनशील नागरिकमा गराउन अपरिहार्य देखिएको छ।

 आलोचनासँग सधैं त्रस्त रहने हाम्रा शासक वर्ग र प्रशासकले बौद्धिक चिन्तन र कर्म प्रवद्र्धनका लागि चासो दिँदैनन्, किनकि उनीहरू बौद्धिक वर्गले सत्ता शक्तिको चिहान खन्छन् भन्ने सोचले ग्रस्त छन्। उक्त सोचमा परिवर्तन आवश्यक देखिन्छ।  

विश्व सन्दर्भ नियाल्दा युरोपमा १४–१७औं शताब्दीसम्मको समयलाई बौद्धिक क्षेत्रको पुनर्जागरण कालका रूपमा लिइन्छ। ग्रिक र रोमन भाषामा लेखिएका प्राचीन ग्रन्थहरूको परिशीलनबाट मध्ययुगीन अन्धकार चिर्दै कला, साहित्य, संस्कृति, राजनीति, अर्थतन्त्रलगायत युरोपको समग्र जीवनमा जागरण छाएको देखिन्छ। नेपाली समाजमा भने वि.सं १९९० को दशकबाट सामन्तवादविरोधी राजनीतिक विचारधारा बोकेर दुई धारका बौद्धिक जागरण पलाएको पाइन्छ र ती धार अद्यापि जीवन्त नै छन्। जसअन्तर्गत एउटा लोकतान्त्रिक धार जुन सन् १९४५ को भारतीय स्वतन्त्रता संग्रामको प्रेरणाबाट जागृत भएको थियो।

यस धारको नेतृत्व विश्वेश्वरप्रसाद कोइराला, माधवराज जोशी आदिले गरेका थिए। त्यसैगरी अर्को प्रगतिशील धार जुन रुसको सन् १९१७ को अक्टोबर क्रान्तिद्वारा उत्प्रेरित थियो। यस धारको नेतृत्व कमरेड पुष्पलाल श्रेष्ठले गरेका थिए। नेपालमा राणा शासनकालमा बौद्धिक जागरण अभियानमा पृथक अस्तित्व राखी स्वतन्त्र रूपमा लागेका प्रखर बुद्धिजीवीहरू भनेका सामाजिक आन्दोलनका अगुवाहरू पूर्वी क्षेत्रबाट योगमाया न्यौपाने र पश्चिम क्षेत्रबाट जयपृथ्वीबहादुर सिंह थिए। तर यी दुई क्रान्तिकारी अगुवाको अभियानले निरन्तरता पाउन सकेन। 

वास्तवमा बुद्धिजीवी त्यो हो, जसले ज्ञान र विचार उत्पादन गर्छ, कुनै पनि विचारको संश्लेषण गर्न सक्छ र तार्किक चिन्तनसँगै आम जनताको अनुभूति पनि समेट्ने सामथ्र्य राख्छ। ऊ समाजका विकृति विसंगतिविरोधी चेतनाका संवाहकका साथै निश्चित विचार र ज्ञान भएको सर्जक (स्रष्टा) हो। त्यसैगरी ऊ वस्तुतः मानसिक श्रम बेचेर बाँच्ने र मौलिक विचार सिर्जना गर्ने सम्मानित व्यक्ति हो। मानवीय सहिष्णुता, वैचारिक उदारताजस्ता चरित्रले गर्दा ऊ समाजमा व्याप्त अन्याय, शोषण आदिले उद्वेलित हुन्छ र समाजसँग घनिष्ठ सम्बन्ध राखी समकालीन युगको नागरिक विवेक र भावनाको प्रतिनिधित्व गर्छ। बुद्धिजीवीहरूका चेतना, बुद्धि–विवेक र दर्जा राजनीतिज्ञको भन्दा उच्चस्तरको हुन्छ। त्यसैले होला, उनीहरूले राजनेताको भाष्य र दासत्व स्वीकार गर्न सक्दैनन्।

सत्यका पक्षमा बोल्नु र नक्कली कुरालाई नंग्याउनु, मुलुकको इतिहास, संस्कृति र सामाजिक परम्पराको अध्ययन र विश्लेषण गरी समसामयिक मुद्दाहरूमा सरकारलाई सल्लाह दिनु, राज्य वा अन्य पक्षले जनताको हित र विकासविरोधी कुनै काम गरेका छन् भने त्यसविरुद्ध आवाज उठाउनु, मुलुकमा आउन सक्ने परिस्थितिको सही विश्लेषण गरेर उचित सुझाव दिनु, सामाजिक न्याय र समानता तथा सांस्कृतिक रूपान्तरणका माध्यमबाट विकास प्रक्रियामा समाजलाई डो¥याउनु अर्थात् समग्र समाजको अग्रगामी परिवर्तनका लागि स्पष्ट कार्यदिशा र मार्गचित्र दिनु, मुलुकका भाषा, साहित्य, कला, संस्कृति आदि सम्पदाको संरक्षण र प्रवद्र्धन गर्नाका साथै इतिहास लेख्नु, नयाँ विषयमा अनुसन्धान गरी नयाँ सिद्धान्त प्रतिपादन गर्नु आदि बुद्धिजीवीका प्रमुख काम, अधिकार र कर्तव्य हुन्, जुन उसले हरहमेसा पालना गरिरहेको हुन्छ।

बुद्धिजीवीले शासक वर्गको चरित्रविरोधी र जनभावनाको संवाहक बन्दै मुलुकको हित र स्वार्थ केन्द्रमा राखी राज्य सञ्चालनमा रहेका विसंगति उजागर गर्नाका साथै समसामयिक मुद्दा र मुलुकको दुर्दशा एवं दुर्गतिको अवस्थामा शासकीय शैली, पद्धति र व्यवहार नियालेर जानिफकारको हैसियतले राजनेताहरूलाई सही ज्ञान र सल्लाह दिने मुख्य भूमिका निर्वाह गर्छन्।

बुद्धिजीवीहरूको सिर्जनाको धरातल एउटै हुन्छ र जुनसुकै धार, आस्था र विचारका भए पनि उनीहरूको एउटै उद्देश्य ज्ञान र विचार उत्पादन तथा समाजको भावनाको प्रतिनिधित्व गर्ने हुनुपर्छ। स्वतन्त्र र स्वच्छन्द भएर सरकारको प्रतिगामी कदमविरुद्ध लेख्नु र बोल्नु नै बुद्धिजीवीको मूल कर्म र धर्म हो। बौद्धिक व्यक्तिबीच राजनीतिक आस्था र समाज परिवर्तन गर्ने सोचमा भिन्नता हुनु, भिन्न विचार राख्नु स्वाभाविक नै हो तर पार्टीतन्त्रबाट नियन्त्रित भई दलीयकरण र दलतन्त्रलाई नै केन्द्रमा राखेर काम गर्नु गलत प्रवृत्ति र निकृष्ट व्यवहार हो। यसर्थ राष्ट्रमा समृद्धिको लागि बौद्धिक वर्गमा विद्यमान समाजलाई हेर्ने विषयमा फरक मत रहे पनि बुझाइ भने एउटै हुनु जरुरी छ। तसर्थ बौद्धिक वर्ग नयाँ चिजको सिर्जनात्मक अभ्यासतर्फ लाग्नुपर्छ, कुनै राजनीतिक विचार(आइडोलोजी) मा झुकाव नराखी तथा कुनै दल या शक्ति केन्द्रको पिछलग्गु नभई तटस्थ भएर समाजलाई परिवर्तन गर्न सहयोग गर्नुपर्छ।

बौद्धिक चिन्तन र कर्म प्रवद्र्धन गर्ने किसिमको वातावरण बनाई बौद्धिकताको विकास गर्नु आजको मुख्य आवश्यकता हो। बुद्धिजीवीहरूको जागरणका लागि ऊर्जा दिने उत्प्रेरक तत्व भनेकै अर्थराजनीतिको विकास, राजनीतिक दृष्टिकोण, सांस्कृतिक वातावरण र स्वतन्त्र बौद्धिक अभ्यास गर्ने निकाय हुन्। नेपालमा स्थापित शिक्षण संस्था, खोज तथा अन्वेषण केन्द्रहरू कोही पनि स्वतन्त्र रहन नसक्नु र उन्मुक्त वातावरण एवं आर्थिक स्वतन्त्रताजस्ता विषयहरूको प्रबन्धको अभावले बौद्धिकहरू सडकछाप वा अलपत्रजस्ता देखिएका छन्। आलोचनासँग सधैं त्रस्त रहने हाम्रा शासक वर्ग र प्रशासकले बौद्धिक चिन्तन र कर्म प्रवद्र्धनका लागि चासो दिँदैनन्, किनकि उनीहरू बौद्धिक वर्गले सत्ता शक्तिको चिहान खन्छन् भन्ने सोचले ग्रस्त छन्। उक्त सोचमा परिवर्तन आवश्यक देखिन्छ। 

बौद्धिक वर्गमा अधिकार र कर्तव्यको बोध हुनु र त्यसप्रति सचेत भई कर्मक्षेत्रमा लाग्नु बौद्धिक जागरणको उत्तम उपाय हो। हाम्रोजस्तो अविकसित समाजले बौद्धिकताको महत्वलाई अझै खुला हृदयले स्वीकार गर्न सकेको छैन। बुद्धिजीवीले वास्तवमा प्रतिकूल परिस्थितिमा सरकारलाई तत्काललाई उपयोगी हुने राय दिन्छ। सोचअनुरूपको शासन व्यवस्था चल्न नसक्दा तथा विकल्पहीन अवस्थामा सरकारलाई बुद्धिजीवीको खाँचो हुन्छ। त्यसैगरी नागरिकका अव्यक्त सन्देह, अनुभूति, भावनालाई सरकारसमक्ष पु¥याउन बुद्धिजीवीले पुलको काम गर्छन्। यसै सन्दर्भमा हाम्रो समाज, राज्यसत्ता र राज्य सबै पक्षलाई बुद्धिजीवी चाहिन्छ भन्ने बोध गराउनु नै बौद्धिक जागरणको मुख्य लक्ष्य हो।

बुद्धिजीवीलाई राज्यले ‘थिंक ट्यांक’को मात्र सम्मान दिएर पुग्दैन, उनीहरूका हकहित रक्षाका साथै बौद्धिक कर्म प्रवद्र्धन गर्न उपयुक्त वातावरण, प्रभावकारी संयन्त्र र न्यायपूर्ण कानुन निर्माण गर्न जरुरी छ। बुद्धिजीवी वर्ग राज्यको समृद्धिका लागि मार्गदर्शक हो। उदाहरणका लागि सरकार गाडी हो भने बुद्धिजीवी त्यसको चालक हो। वर्तमान सरकार घेराबन्दीमा परेको छ, शासन सञ्चालनमा कर्मचारी संयन्त्रले असहयोग गरेको छ, संघीयता धरापमा पर्दै छ र राष्ट्र असफलतातिर धकेलिँदै छ भन्ने स्वीकारोक्ति सरकारबाटै भइरहेको यो विषम परिस्थितिमा राज्यलाई समृद्धि र विकासको गन्तव्यमा पु¥याउन बुद्धिजीवीको अहं भूमिका हुन्छ। त्यसका  निम्ति बौद्धिक जागरणबाहेक विकल्प छैन।

प्रकाशित: १ कार्तिक २०७६ ०१:५९ शुक्रबार

बौद्धिक_जागरण युगान्तकारी_परिवर्तन