विचार

ब्युँझाऔँ विकास

चिनिया राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण क्रममा सवारी चलाइएका सडकको सुन्दरता वृद्धिले आमनागरिकमा आशाको सञ्चार गरेको छ। आखिर सरकारले चाह्यो भने रातारात विकास हुन सक्ने रहेछ भन्ने पनि यसले पुष्टि गरेको छ। वास्तवमा हामीकहाँ काम हुन नसकेको कार्यक्षमताका आधारमा मात्र होइन रहेछ भन्ने सञ्चार आमजनमानसमा भएको छ। सरकारको कार्यक्षमता उम्दारूपमा प्रस्तुत भएपछि आमरूपमा व्यक्त भएको प्रतिक्रिया छ– ‘आखिर गर्न सकिने रहेछ त।’ यस स्थितिमा सबैले उठाइरहेको प्रश्न हो– क्षमता हुँदाहुँदै पनि किन गर्न सकिएन ? के आमनागरिकले सुविधा पाउनुहुँदैन ? राम्रा र चिल्ला सडकमा हिँड्ने मौका घरमा पाहुना आएका बेलामा मात्र पाइने हो ? यी यावत् प्रश्न यतिबेला उठिरहेका छन्। यस अर्थमा अब सडक सुधार र सौन्दर्य प्रसाधनको यो प्रक्रियाका निम्ति पाहुना पर्खिरहनु आवश्यक छैन। यसलाई एउटा नियमित प्रक्रियाका रूपमा अंगीकार गर्नुपर्छ। र, नियमितरूपमा जुनजुन निकायले यी काम गर्नुपर्ने हो त्योरूपमा भए÷नभएको अनुगमन भने प्रधानमन्त्री केपी शर्मा ओली वा उनले पत्याएको कुनै निकायबाट हुनुपर्छ। त्यसो हुन सकेमा यथार्थमै सरकारप्रति सकारात्मक भाव उम्रन थाल्छ। अहिलेसम्म आमनागरिकमा देखिएको चिन्ता र चासो यहाँका सडकमा किन सुधार भएन भन्ने हो। आमनागरिकले सधैँ धुवाँ र धुलोमै गुजारा गर्नुपर्ने अवस्था किमार्थ पनि उचित होइन। त्यसैले चिनिया राष्ट्रपति सी आउँदा सुरु भएको सडक सुधारको यो प्रक्रिया निरन्तर हुनुपर्ने अपेक्षा आमरूपमा बढेको हो।

भ्रमण हुने बेलामा मुलुकमा महान् चाड दसैँ चलिरहेको थियो। दसैँकै बीचमा पनि यसपटक निरन्तर सडकमा काम भइरहेको देखिनु आफैँमा सुखद आश्चर्य हो। विगतमा दसैँ, तिहार र छठसम्म खासै काम भएको देखिँदैनथ्यो। सडकमा कालोपत्रे गर्नेदेखि सडक किनाराका रेलिङ आदिमा रंगरोगन गर्ने काम पनि निरन्तर भएको देखिएको हो। सबैभन्दा रोचक त राजधानीको तीनकुनेमा वरिपरि सानो पहाड उठाएर त्यसमा गरिएको दुबो र फूल रोपणले आमनागरिकलाई अचम्मै रमाइलो गराएको छ। सडक किनारामा बिरुवा पनि रोपिएका छन्। तर चिनिया पाहुना फिर्ता भएको केही दिनमै सडक किनारामा रोपिएका बिरुवा भाँचिएका छन्। फूल ओइलाउन थालेका छन्। फेरि उस्तै गरी धुवाँ र धुलो उड्न थालेको छ। त्यो बेलाको शृंगार थोरै दिनका निम्ति मात्र रहेछ भन्ने देखिएको छ। पाहुना आउने भएपछि फोहर जति गलैँचामुनि लगेर राखेजस्तो देखिनु किमार्थ पनि उचित हुँदैन। ठाउँठाउँको फोहोर असरल्ल विकासलाई छोप्न सुन्दर तस्बिर छापिएका फ्लेक्स बोर्डले केही समयमात्र इज्जत ढाक्न सक्छ। सधैँका निम्ति यो सुन्दर राजधानी काठमाडौँलाई झन् सुन्दर बनाउने हो भने अहिले थालेको सौन्दर्य प्रसाधन अभियानले निरन्तरता पाउनुपर्छ। अनिमात्र यहाँ आमनागरिकमा सकारात्मक भाव प्रवाहित हुन्छ। नागरिकले त्यस्ता सडकमा हिँड्न पाउन थालेपछि सरकारप्रतिको आक्रोश मत्थर भई सामाजिक सञ्जालतिर जय/जयकार हुन थाल्नेछ।

यसपटक चिनिया राष्ट्रपतिको भ्रमणका क्रममा देखिएको सरकारको कामको गतिलाई सकारात्मकरूपमा लिनुपर्ने हुन्छ। यो गति देखिसकेपछि पनि काम भएन भने त्यो बेलामा भने जनतालाई चाहिँ हेपेर काम नगरेको हो कि ? भन्ने पर्न सक्छ। काम जहिल्यै साँचेर आर्थिक वर्षको अन्त्यतिर ‘असारे विकास’ गर्ने गरिएको छ। त्यो असारे विकासको परम्परालाई तोड्न पनि नियमित कामको परिपाटी बन्नुपर्छ। यतिबेला राजधानी काठमाडौँमै पनि एकथरी मानिस हिँड्ने सडक अत्यन्न उच्चस्तरका छन् भने अर्काथरी अत्यन्तै पीडादायी अवस्थामा छन्। सोल्टी होटलदेखि त्रिपुरेश्वर हुँदै महाराजगन्जसम्मको यात्रा गर्ने व्यक्तिले त्यस्तै गुणस्तरका सडकमा हिँड्ने मौका राजधानी काठमाडाँंमा पाउँदैन। राजधानी काठमाडौँको यो अवस्था छ भने अन्यत्रको के कुरा गर्ने ? बरु राष्ट्रपति सीलाई बौद्धस्थिर हायात होटलमा राख्न पाएको भए त्यस क्षेत्रको सडकको विकास हुन्थ्यो कि भनेर पनि सर्वसाधारणले चर्चा गर्ने गरेका छन्। चाबहिलदेखि बौद्ध–जोरपाटी जाने सडकको दूरवस्था भोगिरहेका स्थानीय नागरिकका अनुभूति अत्यन्त पीडादायी छन्। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले त्यो क्षेत्रको भ्रमण आफैँले गरेको वर्ष बित्न लाग्दा पनि कुनै प्रगति हुन सकेन। वास्तवमा अधुरा विकासका निम्ति उनले जिम्मेवारी लिनुपर्छ। त्यसैगरी राजधानी उपत्यकामा नगरपालिकाहरूको संख्या बढ्दो छ। तिनको काम विकास निर्माणलाई गति दिनुभन्दा पनि सर्वसाधारणलाई कर बढाउनमै बढ्ता ध्यान छ। अतः चिनिया विशिष्ठ पाहुनाको भ्रमणका बेला गरिएको विकास देशभरि दोहो¥याउने काम सरकारबाट होस्। यसले सरकारको साखमा रातारात वृद्धि गर्नेछ।

प्रकाशित: ३० आश्विन २०७६ ०५:५६ बिहीबार

विकास सम्पादकीय सी_चिनफिङ