विचार

गणतन्त्रमाथि आक्रमण?

हरिशरण आचार्य
अहिले पूर्वराजा ज्ञानेन्द्र मुलुकभित्रका धेरै बुद्धिजीवी, विद्वान्, राजनीतिकर्मी, धर्मशास्त्री, प्रशासक र लब्ध प्रतिष्ठित व्यक्तिहरूसँग भेटघाट गरिरहेका छन्।मुलुकबाहिर चीन, भारत, अमेरिका र भारतकाराजनीतिकर्मी अनिआफ्ना गुरुहरूलाई पनि भेट्दै छन्। मुलुकमा भित्रनेहरू स्वयं पुगेर अथवा वारेसनामा दिएर उनलाई भेटिरहेका छन्। स्वदेशी–विदेशी नाम चलेका ‘मै हुँ’ भन्ने ‘मैमत्ता’ हरूले आ–आफ्ना धारणा सञ्चारमाध्यममार्फत सार्वजनिक गराउने क्रम पनि जारी छ। एकातिर यस्तो अवस्था अर्कोतिर दलीय नेताबीच नै खट्पट। त्यसैले पनि अहिले नेपालको गणतन्त्रमाथि आक्रमण सुरु हुन थालेको अड्कलबाजी गरिँदैछ।

नेपाली कांग्रेसको ‘प्रजातन्त्र, राष्ट्रियता र प्रजातान्त्रिक समाजवाद’ को व्याख्या, सूचना र संस्थागत अनुभवका प्रथम दावेदार शेरबहादुर देउवा हुन्। त्यो बेलाको जनताको बहुदलीय जनवादको व्याख्या, सूचना र संस्थागत अनुभवका प्रथम दावेदार विद्यादेवी हुन्। प्रचण्डपथको व्याख्या, सूचना र संस्थागत अनुभवका प्रथम दावेदार पुष्पकमल हुन्। एक्काइसौँ शताब्दीको जनवादका प्रस्तावक र संस्थागत अनुभवका दावेदार लालध्वज हुन्। यसैगरी शाहवंशीय राजा, राजतन्त्र र राजसंस्थाको व्याख्या, सूचना, संस्थागत अनुभवका दावेदार ज्ञानेन्द्र हुन्। यसर्थ ओझेलमा परेको राजतन्त्र, छायाँमा परेको प्रजातन्त्र र घाम छायाँमा रहेको साम्यवादको भूत हाम्रो देशमा चलायमान छ यतिखेर।

मान्छेलाई भेट गरिहाल्ने तर होइन भन्ने। ओखती गर्न जाने ओखती नगरेरै आउने, बिरामी छु भन्ने ओखती नखाने काम वर्तमानले गर्दैन। तातोपानी पराले घरमा जति खन्याए पनि घर जल्दैन। मरिजाओस् भनेर जति सत्तोसराप गरे पनि मान्छे मर्दैन। तर पराले घरमा तातोपानी खन्याइराखे नजले पनि प्वाल भने पर्न सक्छ। आगोले पनि पार्ने प्वालै हो। मन्तर जादूले पनि कुनै कुनै बिरामी निको हुन्छन्। त्यही मुखबाट आउने मन्तरले बिरामी निको हुने भएपछि उही मुखबाट आउने सरापले बिरामी निको नहुने पनि त होला नि ! यस्ता कुराले राजनीतिकर्मीको उचाइ बढ्दैन, बरु कद अग्लो छ भने घट्न सक्छ।

हाम्रो गणतन्त्रात्मक व्यवस्थामा चौतर्फी आक्रमण हुन थाल्यो, प्रशासकहरू असहयोगी हुन थाले, विकास निर्माणका काममा भ्रष्टाचार झाङ्गियो, विश्वविद्यालयमा प्राज्ञिकता कुम्लो बोकेर हिँड्न लाग्यो, आफ्नै घरका सहयोध्दाहरू बेखुशी भएको आफैँ प्रकट गर्न थालियो र दिइएका शुभकामना पनि फिर्ता लैजाऊ भन्न थालियो। आजसम्म जे÷जति आर्जन भयो, त्यो सबै गुमाउने ‘फलानो’ हो र ‘त्यो वर्ष २०७६’ हो भनी नामाङ्कित नहुनका निमित्त सचेत हुनेहरू सचेत होऊ।

आफू बलवान् छु भन्ने ठानेका छौ भने तिमी बाघलाई बिरालो त ठानौला तर बाघले आफूलाई कहिल्यै पनि बिरालो ठान्दैन। यदि बाघले आफूलाई विरालो नै बन्नुपर्ने अवस्था आयो भने दुईवटा अवस्था विद्यमान् (प्रकट) हुनेछन्– पहिलो, त्यो बाघ वास्तवमा बिरालै रहेछ। उसले म्याउँ म्याउँ गर्नेछ र दूध भात खान पाउनेछ। तिम्रो रजाइँ चल्नेछ। दोस्रो, त्यो बाघ वास्तवमा बाघै हुनेछ, उसले होक्याउँ–होक्याउँ गर्नेछ र सबैलाई खानेछ, पुनः उसले रजाइँ गर्नेछ। बुझ्नुपर्ने गाँठी कुरो यही हो। नागरिक अगुवा, सल्यान

प्रकाशित: ३० भाद्र २०७६ ०३:१८ सोमबार

गणतन्त्र आक्रमण