विचार

कांग्रेस जनजागरणः दोस्रो अभियानका उद्देश्य

फाइल तस्बिर

नेपाली कांग्रेस आधुनिक नेपालको परिवर्तनको मूल संवाहक शक्ति हो। राजनीतिक परिवर्तनको ढोका खोल्ने काम पनि कांग्रेसले नै गरेको हो। त्यसैले २००३ सालदेखि शान्तिपूर्ण लोकतान्त्रिक आन्दोलनको निरन्तर नेतृत्व गर्दै देश र जनताप्रति समर्पित नेपाली कांग्रेसले स्वीकार गरेको, प्रतिपादन गरेको र व्यवहारमा लागू गर्ने प्रयास गरेको राजनीतिक पद्धति  नेपालमा स्थापना भएको छ। क्रान्ति, परिवर्तन, संविधान, संघीयता कार्यान्वयन गर्ने ऐतिहासिक पार्टी नेपाली कांग्रेस तीनै तहको निर्वाचनपश्चात् प्रतिपक्षमा छ भने नेकपा कम्युनिस्ट पार्टी (नेकपा)ले सरकार नेतृत्व गरिरहेको छ। सत्तापक्ष होस् वा प्रतिपक्ष दुवै, सिंहदरबारको अधिकार गाउँगाउँ र जनताका घरघरमा पु-याउन र समृद्ध नेपाल बनाउने महान् अभियानमा जुट्नुपर्छ। मुलुकमा अहिले देखापरेका दुईवटा मुख्य राजनीतिक शक्तिमध्ये नेकपा आफ्नो अन्तिम गन्तव्य साम्यवाद ठान्छ भने लोकतान्त्रिक शक्ति नेपाली कांग्रेस प्रजातान्त्रिक समाजवाद मान्छ।

बाटो अलगअलग भए पनि यी दुवै दलले अन्ततः संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधानको मूल मर्मअनुरूप  समाजवाद उन्मुख सिद्धान्त अंगीकार गर्नैपर्छ। तर सरकार त्यस दिशातर्फ गइरहेको छैन। ऊ संविधानको भावना र लोकतान्त्रिक मूल्य–मान्यताविपरीत अधिनायकवादतर्फ उन्मुख भएको अनुभूति नागरिकले गर्न थालेका छन्। जनतालाई कर, महँगी, हत्या, हिंसा, बलात्कार, असुरक्षा एवं भ्रष्टाचारको भारी बोकाएर सरकार अगाडि बढिरहेको प्ररिप्रेक्ष्यमा प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि आफ्ना संगठन बलियो÷सक्रिय बनाउन र पार्टीको आदर्श र सिद्धान्त कार्यकर्तासम्म लैजान तथा नेता, कार्यकर्ता र जनताबीच तादात्म्य कायम गर्न पहिलो चरण १ महिना राष्ट्रिय जागरण अभियान सम्पन्न ग¥यो। जुन अभियानको, लामो समयसम्म चलेको केन्द्रीय समिति बैठकमा समीक्षापश्चात् नेपाली कांग्रेसले पुनः आज भदौ २४ गते दोस्रो राष्ट्रिय जागरण सुरु गर्दै छ। नयाँ गन्तव्य र शैलीका साथ विद्यमान सामाजिक मुद्दाहरूको सेरोफेरोमा अभियान सञ्चालन गरिँदै छ।

जननायक बिपी कोइरालाको १ सय ६औं जन्मजयन्तीको अवसर पारेर सुरु गर्न लागिएको राष्ट्रिय जागरण अभियान (हिमपतम) हिमाल, पहाड, तराई, मधेसका ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रित हुने छन्। त्यसका लागि ती क्षेत्रमा एक÷एक जना गरी ३ सय ३० केन्द्रीय प्रतिनिधि खटिएका छन्। बिपी जन्मजयन्तीको प्रतीकस्वरूप हरेक प्रदेशसभा निर्वाचन क्षेत्रका निश्चित स्थलमा १ सय ६ वटा बिरुवा रोपेर दोस्रो जागरण अभियान उद्घाटन गर्ने कार्यक्रम छ। यसरी यो अभियान उद्घाटनका अवसरमा देशभर ३४ हजार ९ सय ८० बिरुवा रोपिने भएकाले पर्यावरणमा पनि ठूलो योगदान पुग्नेछ।

यस जागरण अभियानका रणनीतिक सवाल निम्न हुनेछन् ः

सामाजिक संवाद ः नेपाली समाजको बनोट हेर्दा यहाँ विभिन्न वर्ग, समुदाय, भाषा, पेसा र क्षेत्रका जनता छन्। तर अहिलेको दुईतिहाइ बहुमतको कम्युनिस्ट सरकारले करिब १८ महिनाको अवधिमा गरेका गतिविधि एवं क्रियाकलापले उसप्रति आमनागरिकको आशा, विश्वास र भरोसा टुट्दै गएको देखिन्छ। यस्तो विषम परिस्थितिमा जनतालाई जागृत गराउँदै उनीहरूका सवाल, जीविका सरोकारका विषयमा नेपाली कांग्रेसले सामाजिक सद्भावसहितको संवाद सुरुवात गर्नेछ।

सामाजिक विसंगतिविरुद्ध जागरण ः सामाजिक विसंगति, विकृति, कुप्रथा तथा अन्धविश्वासविरुद्ध सचेतना एवं जागरण अभियान सञ्चालन गरिनेछ। जस्तो ः बोक्सी आरोप, दाइजो लेनदेन, जातीय छुवाछूत, बालश्रम शोषण, घरेलु हिंसा, चेलीबेटी बेचबिखन, छाउपडी, बहुविवाह, बालबिवाह, हत्या, हिसां, बलात्कार आदि।

युवालक्षित कार्यक्रम ः विशेष जिम्मेवारी र भूमिका दिएर युवालाई नेपाली कांग्रेसप्रति आकर्षण गर्नु आजको आवश्यकता हो। युवाको जोस, जाँगर र उत्साहबिना नेपाली कांग्रेसलाई पुरानै अवस्थामा पु¥याउन असम्भव छ। त्यसैले नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल र नेपाल महिला संघलगायत भ्रातृ र शुभेच्छुक संस्थामा आबद्ध साथै अन्य असंगठित क्षेत्रमा रहेका युवालाई पनि सहभागी गराई देश, लोकतन्त्र र कांग्रेसको भूमिकाका सन्दर्भमा खुला बहस गराइनेछ। यसरी १ लाख युवा संवाद र जागरण अभियानमा परिचालन गरिनेछ।

सहिदका परिवार र द्वन्द्वपीडितप्रति सम्मान ः नेपालको लोकतान्त्रिक आन्दोलन हजारौं सहिदको त्याग, तपस्या र बलिदानीले सिञ्चित छ। त्यसैले नेपाली कांग्रेसको जीवन्तताका लागि सहिदका परिवार र द्वन्द्वपीडितका घरआँगन र दैलोदैलोमा पुगी उनीहरूका पिरमर्का बुझ्ने तथा उनीहरूप्रति श्रद्धा र सम्मान प्रकट गर्ने कार्यक्रम सञ्चालन गरिनेछ।
पार्टी प्रवेश अभियान ः विभिन्न दल परित्याग गरी लोकतान्त्रिक छहारी बोकेको नेपाली कांग्रेसमा प्रवेश गर्न चाहने साथीहरूलाई विशेष सम्मान र प्राथमिकतासाथ स्वागत गर्ने तथा पार्टी सदस्यता प्रदान गरी विशेष प्रशिक्षण दिने व्यवस्था गरिनेछ।

स्थानीय तहको सरकारको समीक्षा ः स्थानीय तहको पछिल्लो चरणको निर्वाचन सम्पन्न भएको करिब २ वर्ष पुग्दै छ। स्थानीय सरकार लोकतन्त्र र विकासको जग हुन्। जहाँ जनताको प्रत्यक्ष सम्बन्ध हुन्छ। यस अवधिमा कांग्रेसका तर्फबाट विजयी भएका जनप्रतिनिधिहरूका काम÷कारबाहीको समीक्षा र मूल्यांकन गर्दै जनभावनाअनुसार कसरी काम गर्ने तथा हारेका स्थानमा कसरी प्रतिपक्षको भूमिका निर्वाह गर्ने भन्ने विषयमा विशेष विमर्श र बहस गरिनेछ।

वडास्तरीय अन्तरक्रिया ः नेपाली कांग्रेसको जग भनेका वडास्तरीय संरचना हुन्। यो बलियो नहुँदासम्म कांग्रेस सुदृढ हुन सक्दैन। त्यसैले वडास्तरीय अन्तरक्रिया, पार्टी सुदृढीकरण, संगठनको समीक्षा, वडाको विकास÷निर्माणमा पार्टीको भूमिका, गाउँ/नगरपालिकाको कार्यसमीक्षा गरिनेछ।

सबै भ्रातृ र शुभेच्छुक संस्था ः दोस्रो जागरण अभियान सफल बनाउन नेपाली कांग्रेसको मेरुदण्ड मानिने भ्रातृ एवं शुभेच्छुक संस्था तथा जनसम्पर्क समितिहरूले पनि बेग्लाबेग्लै जागरण अभियान सञ्चालन गर्नेछन्। जिल्लास्तरीय सभा ः बढ्दो महँगी, भ्रष्टाचार, वाइडबडी, न्यारोबडी अनियमितता प्रकरण, महिला हिंसा, बलात्कार, हत्या तथा अलोकतान्त्रिक विधेयक तथा कम्युनिस्ट सरकारको कुशासनविरुद्ध जिल्लास्तरीय विरोधसभा र प्रदर्शन गरिनेछ।

यसरी दोस्रो चरणको राष्ट्रिय जागरण अभियान असोज ७ मा सम्पन हुनेछ। यस अभियानले विभिन्न वर्ग, समुदायलाई एक गराई अशिक्षा, अज्ञानता, विकृति, विसंगति तथा सरकारका जनविरोधी गतिविधिविरुद्ध संघर्षमा उतार्ने अपेक्षा गरिएको छ। 

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य

प्रकाशित: २४ भाद्र २०७६ ०६:०१ मंगलबार

नेपाली_कांग्रेस जनजागरण लोकतान्त्रिक_गणतान्त्रिक