विचार

पिउने पानीमा चेन्नाईको पाठ

कञ्चनमणिदीक्षित
यही सन् २०१९ मनसुनअगाडि भारतको चेन्नाईसहरमा भएको पानीको हाहाकारले हामी सबैलाईचिन्तित तुल्यायो।चेन्नाईमाकरिब ४१ प्रतिशत पानी पर्न कम भएको र मनसुनअगाडिनै पिउने पानी संकलन र बाँडफाडगर्न प्रयोग भएका ताल र खोला पूर्ण रूपमा सुके। त्यसबेला चेन्नाईमाप्लास्टिकका बोतलमा पाइने पानीको मूल्य ४ गुणा बढेको थियो। कार्यालयमा पिउनतथा शौचालयमा प्रयोग गर्न पानीअभाव भएपछिकतिपयसंस्थाले त आफ्ना कर्मचारीलाई घरमै बसेर कार्यालयकाकाम गर्नसमेत निर्देशनदिए। मनसुनको वर्षाले भने केही राहत दिएको छ।

त्यति धेरै पानी भएको चेन्नाईसहर अकस्मात् किन यस्तो डरलाग्दो स्थितिमा पुग्यो ? यो अवस्था एक दिन, महिना वा वर्षमा आएको होइनरहेछ। बैंगलोरस्थित आन्ना विश्वविद्यालयले गरेको एक अध्ययनले बितेको एक दशकमा चेन्नाईको बढ्दो सहरीकरणले गर्दा ३३ प्रतिशत सिमसार र २४ प्रतिशत कृषियोग्य जमिन नष्ट भएका देखायो। सन् १९७० ताका तामिलनाडु सरकारले ताल पुरेर स्मारक बनाउन थालेपछि यो समस्या पनि सुरु भएको हो। त्यसपछिका दिनमा बढेका घर, सडक तथा अन्यविभिन्न संरचना निर्माणले प्राकृतिक पानीको उपलब्धतामा धेरै नकारात्मक असर पार्‍यो।

अब सन्दर्भ नेपालको
केही वर्षअगाडि पंक्तिकारसहित केही साथी काभ्रेको पाँचखालस्थित एक बागवानी फार्म पुग्दा त्यहाँका एक कर्मचारी पानी अभावबारे बताउँदै  थिए– ‘यहाँ आउने पाहुनालाई हामी शौचालय प्रयोग गर्न दिन सक्छौं तर पानी दिन सक्दैनौं। पानी नभएकैकारणबागवानीका सबै बिरुवा सुक्न थालेका छन्।’ यस्तो स्थिति नेपालभरि नै प्रशस्त पाउन सकिन्छ। तराईमा भूमिगत पानीको उपलब्धतामा कमी आउन थालेको छ भने पहाडी भेगमा पानीका मुहान सुक्नथालेका छन्। जलवायु परिवर्तनले गर्न सक्ने यी स्रोत विनाशका कुरा पनि जोड्ने हो भने हामी ज्यादै जोखिममा देखिन्छांै। धेरै अध्ययनले देखाएझैं भविष्यमा तापक्रम त यति पुग्छ भनेर प्रक्षेपण गर्न सकिन्छ तर वर्षाको चरित्रबारे विज्ञानले पनि केही बताउन सकेको छैन। नचाहिने बेलापानी प्रशस्त पनि हुन सक्छ भने चाहिएका बेलापानी नहुन पनि सक्छ। यसो वरिपरि हेर्ने हो भने यो कुरा प्रस्ट हुन्छ। पिउने पानी छैन तर बाढीले बस्ती डुबाएको छ। कतै सुक्खा छ। कतै हाँडीघोप्टे पानी परेको छ।

नेपालका तराईमा विगत एक दशकमा भूमिगत पानीको तह धेरै घटेकोे अध्ययनहरूले देखाएका छन्। करिब २०–२५ फिटबाट पानी तान्ने चापाकल त अब विस्थापन भइसकेका छन्। पानीको पुनर्भरण गर्ने चुरेको जंगल र त्यहाँबाट बग्ने नदीनालाको दोहनले भूमिगतपानीको मात्रामा भर पर्नुपर्ने तराईमा पानीको समस्याले भविष्यमा कुन रूप लिन्छ भन्ने अनुमान गर्न गाह्रो छैन। काठमाडांै उपत्यकाकानदीनाला र पानीका स्रोत विनाशले गर्दाहामी राजधानीवासी पनि चेन्नाईको बाटोतिर लम्केको प्रस्ट हुन्छ। यो ३०–४० वर्षयता भएभरका पोखरी र सिमसार मासिएरघर, बाटा वा कुनै न कुनै कंक्रिटका संरचना बनेका छन्। सिमसारको पानीले चिस्यान कायम गरी राख्ने कृषियोग्य जमिन पानी अभावमा बन्जर हुँदै अहिले सहरमा परिणत भएका छन्। भूमिगत पानीको स्थिति त झन् डरलाग्दो छ। केही वर्षअघि १०० फिटमा भेटिने भूमिगत पानीको सतह अहिले १५० फिट तल पुगिसकेको छ।भूमिगत पानी व्यवस्थापनमा केहीसुधार भएको देखिँदैन। खानेपानी लिमिटेडले बाहेक भूमिगत पानी कसले कति निकालेको छ कसैसँग आँकडा छैन। वर्षाको पानीमानिसले आफूखुसी पुनर्भरण गर्न खोज्दा उपयुक्त जानकारीअभावमा यी भण्डार पनि सतहका नदीझैं प्रदूषित भएका छन्।

काठमाडौं उपत्यकाको खानेपानी स्रोत भनेको यहाँ बग्ने नदीनाला र भूमिगत पानी नै हो। यी नदीनालाको र भूमिगत पानीका स्रोतलाई वर्षाले पुनर्भरण गर्छ। साधारणतया वर्षाको पानी सिमसार र पोखरीमा जम्मा भई बिस्तारै जमिनमुनि पसेरभूमिगत भण्डारपुनर्भरण गर्छ। अहिले काठमाडौं उपत्यकामा मुस्किलले यस्ता सिमसार देख्न पाइन्छ।उपत्यकामाभएका नदीका तटीय क्षेत्र पनि मिचिएर घर र अन्य संरचना बनेकाछन्। स्रोतका रूपमा रहेका पोखरी र राजकुलो मासिँदा ढुंगेधाराको अस्तित्व अब ढुंगा मात्रै हुन पुगेको छ। वाग्मती, विष्णुमती, धोबीधारा, मनहरा, टुकुचा र हनुमन्ते खोलाको प्राकृतिक बहाव क्षेत्रमा बाटो वा भवन ठडिएका छन्। यसले नदीमा पानीको सतह बढ्दा किनारा, बाटो, पुल र बस्ती जलमग्न हुने गरेका छन्। इतिहास हेर्ने हो भने धेरै पहिला काठमाडौंमा बस्ती बसाल्न आएका मानिस स्थानीय  खोलानालाबाट टाढा पहाडका बेंसीहरूमा बस्ने गर्थे।उपत्यकाको मध्य भागतिरको माटो खेतीका लागिउर्वर भएकाले मानिस बिस्तारै खेती गर्न मध्य भागमा आएर बस्न थाले। पिउने पानी र सिँचाइ व्यवस्थापन गर्न मानिसले ढुंगेधारा र राजकुलो बनाए। तर यी धेरै वर्षसम्म टिक्न सकेनन्। बढ्दो जनसंख्याले कंक्रिटका घर र अन्य संरचना बन्न थालेपछि जमिनमुनि पानीको भण्डार पुनर्भरण हुन पाएन।भएका ढुंगेधारा पनि सुक्न थालेका छन्। केही दशकयता मात्रै काठमाडौं उपत्यकाका अधिकांश कृषियोग्य जमिन घर, कार्यालय र व्यापारिक केन्द्रमा परिणत भएका छन्।

काठमाडौं उपत्यकाको भूमिगत पानीको भण्डारलाई भौगोलिकविशेषता र माटोका आधारमा ३ क्षेत्रमा विभाजन गरिएको थियो। उत्तरी क्षेत्रमा बाँसबारी, धोबीखोला, मनोहरा, भक्तपुर र गोकर्ण पर्छन्। मध्य भागमापूर्व–दक्षिण क्षेत्रको गोदावरी र दक्षिणी भागमा थेचो, चापागाउँ, चुनिखेल, बुङमती र सुनाकोठी आदि पर्छन्। यी ठाँउको माटो बलौटे र ग्राभेलयुक्त भएका कारणपानी सजिलोसँग जमिनभित्र छिरेर भूमिगत पानी पुनर्भरण हुनुपर्ने हो। तर अहिले काठमाडांैको फैलिँदो सहरीकरण यी ठाँउमा केन्द्रित छन्। यस्ता क्षेत्रमा बनेका घर, बाटाघाटा र कक्रिंटका संरचनाले भूमिगत पानीको बहावमा अवरोध र भूमिगत जल भण्डारपुनर्भरण हुनबाट रोकेका छन्।यी संरचनाका कारणवर्षाको पानीभूमिगत जल भण्डारतर्फ जानुको सट्टाढलमा मिसिनेगरेको छ। ढल भरिएर आएको बाढीको प्रकोप यो मनसुनमा हामीले प्रशस्त देखेका÷भोगेकाछौं। यदि ठाँउठाँउमा पोखरी हुने हो भने त्यसबाट भूमिगत पानी पुनर्भरण गर्न मद्दत पुग्थयो। साथै बाढीको पानी व्यवस्थापन हुनसहयोग हुन्थ्यो।

हामीले सिक्नुपर्ने पाठ
नेपालमा खानेपानी स्रोत भनेको चेन्नाईको जस्तै सतहमा बग्ने र भूमिगत पानी नै हो। व्यवस्थित चेन्नाईमा त अहिले यस्तो स्थिति आएको छ भने हाम्रोजस्तो मुलुकको स्थिति के होला?तसथै चेन्नाईबाट हामीले पाठ सिक्न जरुरी छ। किनकि वर्षांै पहिले गरिएको वन विनाशले अहिले आफ्नो डरलाग्दो रूप देखाउँदै छ। काठमाडौंमा४० वर्ष अघिदेखि प्रयास गरिएको मेलम्ची खानेपानीआयोजना अन्योलमै छ।

हप्ता वा १० दिनमा एकचोटि पनि धारामा पानी दिन नसक्दा उपभोक्ता संघहरूदबाब दिन जुलुस र धर्नामा जुटेका छन्। भएका नदीमा पानी छैन वा प्रदूषित छ। जलवायु परिवर्तनले मेलम्चीको पानीको स्रोतमा ल्याउन सक्ने फेरबदल त छँदै छ, मेलम्चीको पानी आइहाले पनि रिंगरोडभित्रका कति जनताले पाउलान् र रिंगरोडबाहिर कहिले पानी पुर्‍याउनेभन्ने अनिश्चितताअझै छ।

भूमिगत पानीको स्थिति पनि राम्रो छैन। सन् १९९४ मा स्टेन्ली र मेक्डोनाल्डले काठमाडौं उपत्यकामा भूमिगत पानीको दिगोपनाका लागि दैनिक २६ देखि ४० लाख लिटर पानी जमिनमुनिबाट निकाल्न हुने बताएका थिए। उनको यो हिसाब त्यसबेलाको परिवेशमा गरिएको थियो जुनबेला काठमाडौंमा अहिलेको जस्तो सहरीकरण भइसकेको थिएनर भूमिगत पानीको खपत पनि त्यति डरलाग्दो थिएन। अहिले भूमिगत भण्डार पुनर्भरण सम्भावना धेरै कम भएको स्थितिमा नयाँ अध्ययन गरी यो मापदण्ड संशोधन गर्नुपर्छ।

सन् २०१७ मा नेपाली टाइम्सको समाचारअनुसार काठमाडौं उपत्यकामा  प्रतिदिन पानीको माग ३६ करोड लिटर छ र करिब आधा पानी आपूर्ति भूमिगत पानीबाट  गरिन्छ। भूमिगत पानी औसतमा वार्षिक एक मिटरका दरले घट्दो अवस्थामा छ। यही स्थिति रहेमा कुनै दिन काठमाडौं नै भासिने डर छ, प्राकृतिक पुनर्भरणको त के कुरा !ढुंगेधाराकापानी पुनर्भरण गर्ने सबैजसो खेतबारी साँघुरिँदै गएका कारण ढुंगेधारानै सुकिसकेका छन्। आकाशे पानी संकलन र प्रयोग साथै भूमिगत जलभण्डारको कृत्रिम पुनर्भरण एक मात्र विकल्प देखिन्छ। तर फेरि जलवायु परिर्वतनले वर्षाको चरित्रमा ल्याएको फेरबदलले हामीलाई कता डोर्‍याउँछ यसै भन्न गाह्रो छ। यी कारणले निम्त्याएको पानी व्यापार आउने दिनमा अझ  फस्टाउने निश्चित छ र मुनाफाका लागि यी व्यापारीले चेन्नाईमा जस्तो ४ वा ५ गुणा मूल्य नबढाउलान् भन्न सक्ने स्थिति छैन। यसले गर्दा पानीमा गरिब र सीमान्तकृत वर्गको पहुँच पटक्कै पुग्ने छैन। नेपाल सरकारले एउटा दह्रो दीर्घकालीन योजना नल्याएसम्म हामी नेपालीको खानेपानी सुरक्षामाप्रश्न नै छ। लेखक लामो समयदेखि वातावरणीय अनुसन्धानमा संलग्न छन्।

प्रकाशित: १६ भाद्र २०७६ ०४:२० सोमबार

मनसुन पानी