विचार

तीज : पहिले र अहिले

देवी काफ्ले
हिन्दू नारीको छुट्टै र ठूलो निकै महिमा बोकेको मौलिक चाड हो– तीज। खानामा, गीतमा र सम्बन्धमा मिठास भर्ने हाम्रो गौरव बोकेको संस्कृति हो– तीज। सदियौँदेखि चलिआएको यो मौलिक पर्वमा अहिले भने खै कतै धमिराले खाएर हो कि मक्किएर हो, खोक्रो लाग्न थालेको छ। हाम्रा हजुरआमा, आमाहरूले तीजका बेला गाउँ नै घन्किने गरी मीठा भाकामा दुःख, पीडा, विरह, सुख, माया, प्रेम, विद्रोहका कुरा गीतमार्फत व्यक्त गर्थे। हामीले त्यो  पुस्ता नभेटेका पनि होइनौँ। जब कृष्ण जन्माष्टमी नजिक आउँथ्यो, तब मात्र चेलीको चहलपहल सुरु हुन्थ्यो। बाटामा रातै बनेर ओहोरदोहोर गरेका महिला देख्दा लाग्थ्यो– तीजले कति रौनक बोकेर आएको छ !

सबैका घरमा चेलीबेटी आउँथे।  माथि घरको आँगनमा जम्मा भयो, त्यहीँ दर खायो, गीत गायो, नाच्यो। दाजुभाइ, ददीबहिनी, आमा, हजुर आमा, बाहरू सबै कति खुसी ! आज यो घरको आँगन रमाइलो, भोलि अर्काे घरको आँगनमा खुसीयाली। हजुरआमा भगवान्का गीत गाउनुहुन्थ्यो, आमा आफूले भोगेका दुःख र वेदना, दिदीहरूले माया–प्रेमका, अनि राजनीतिकर्मीहरू विद्रोह र सपनीका। आआफ्नै स्तर र सोचअनुसारका गीत। आहा...कति रमाइलो !

वर्ष दिनसम्म घरमा भोगेका दुःख, सासुले लाएका वचन, पतिको माया सबै गीतैले छताछुल्ल पार्थे। तीजमा माइत आउँदा सबै तीता अनुभव बिर्सिने गरी आत्मीयता साटिन्थ्यो। मीठो–मसिनो खाइन्थ्यो। दाजुबैनीबीचको माया–प्रेम अहो ! छोरी नहुँदा त घर मसानघाटजस्तो पो मान्ने। तीजलाई किनेका राता सारी, चुरा कति बेला लाउनुजस्तो ! वर्ष दिन बाकसमा थन्किएका गहना लगाउने बेला पनि यही तीज। सोह्र शृंगारमा सजिएर आमाले बनाएका खिर, घिउ कुहिनाबाट चुहिने गरी खान पाइने खाजा, चिचिन्डोको तरकारी, करेलाको अचार, आलु–तामाको तरकारी, आहा ! यस्तो चोखो दर खाएर भोलिपल्ट निराहार व्रत बस्ने अनि चौतारी, स्कुल, चोकमा भेला भएर नाचगान गरेर तीज मनाइन्थ्यो।

तर आज ? खोइ तीज ?? केही वर्षयता तीज महँगा होटल र पार्टी प्यालेसमा सरूवा भएको छ। बजारले खर्लप्पै निलेको छ। मैले परम्परामा परिवर्तन आउनु हँुदैन भन्न खोजेको होइन, आउनुपर्छ, तर संस्कार नै मेटिने गरी होइन। अधिकारका नाममा आफ्नो संस्कारलाई अतिरन्जित गर्दै जाने हो भने भोलि मौलिक तीज नै हराएर जानेछ। हिजोआज हामी यति धेरै व्यस्त भएका छौँ कि तीजमा आमाले बोलाउँदा भेट्न जानेसम्म फुर्सद छैन। काममा व्यस्त हुनु राम्रो हो, तर मनोरञ्जन र स्वतन्त्रतामा यति व्यस्त भयौँ कि हामी परिवारसँग सँगै बसेर दर खानसमेत नभ्याउने भएका छौँ।

हिजो माइतीबाट बा लौरो टेकेर लिन आउनुहुन्थ्यो। आज त पार्टी प्यालेसबाट टिरिङ टिरिङ। भदौको तीज मनाउन असारदेखि नै पार्टी प्यालेसमा। आफ्ना दुःखसुखका गीत कलाकारले गाइदिएको अडियो घन्काइन्छ। आमाले पकाएर दिने खाजा त अहिले पार्टी प्यालेसको राइस फ्राई भएछ, आलु–तामाको तरकारी त चिकेन रोस्ट पो भएछ, अनि लैनो भैँसीको दूध त वाइन, बियर र भोड्का पो भएछन् !

तीजमा आएकी छोरीलाई बाबाले नयाँ धोतीचोलो दिनुहुन्थ्यो माया–प्रेमले छपक्कै छापेर। अहिले त त्यो एउटा सारीले कतिवटा पार्टीमा जानु ? अनि गहना ? कसको भन्दा कसको कम ? अरूभन्दा कम लगाउने भैयो भने त इज्जत डामाडोल। हैट, इज्जत फाल्नु त भएन नि ! लोग्नेले घुस खाएर हुन्छ कि दलाली गरेर, ठगेर जसरी हुन्छ, गरगहना र लत्ताकपडा प्रबन्ध गर्नै पर्छ है, यो हाम्रो अधिकार हो नि त ! कतै तुजुक देखाउनकै लागि हामीले आफ्ना श्रीमान्लाई भ्रष्ट बनाएर जेल पठाउने वा आत्महत्या गर्न बाध्य पार्ने काम त गरिरहेका छैनौँ ? हिजो तीज आस्था, श्रद्धा र आत्मीयतामा मनाइन्थ्यो, तर आज यो गहना र शृंगार एवं तडकभडकमा परिणत भएको छ।

घरमा छोराछोरी, सासू–ससुरा, श्रीमान् परिवारका सबै सदस्यसँग बसेर दर खान खोज्नुहुन्छ, तर हामी स्वतन्त्रताका नाममा बाहिर जान्छौँ। आमाले बोलाउनुहुन्छ फुर्सद छैन, यसपालिको तीजमा आउन भ्याउँदिनँ भनेर फोन राख्छौँ, अनि साथीसँग तीज मनाउन जान्छौँ। हाम्रो यो तरिकाले त परिवारमा पनि आत्मीयता कम गराउँदैन र ? हाम्रो तीज पारिवारिक सम्बन्धबाट टाढा हुने बहाना बन्न थाल्यो।

परम्परा, रीतिरीवाज, नयाँ पिँढीलाई हस्तान्तरण गर्ने महिलाले नै हो। त्यसैले सभ्य संस्कार हस्तान्तरण गर। किनकि भालि हाम्रा सन्तति हाम्रा मौलिक चाडदेखि पर भाग्नु नपरोस्। हाँसीखुसी गच्छेअनुसार आत्मीय भावले मनाउन सकुन्। शुभकामना !

प्रकाशित: ३१ श्रावण २०७६ ०३:३६ शुक्रबार

हिन्दू_नारी तीज