विचार

बिपी विचारको विरासत

प्रजातान्त्रिक आन्दोलनका अग्रणी विचारक बिपी कोइरालाको स्मृति दिवस औपचारिकतावस मनाइएको देखिए पनि केही प्रश्नले जन्म लिएका छन्। यद्यपि विचारक, चिन्तक, सर्जक, परिवर्तन नायक वा आविष्कारक कसेैको पनि पार्थिव अवशानको दिनलाई महत्वपूर्ण बनाउनु हुँदैन भन्ने विषय अहिले मूल बहसमा उठिरहेको छ। उनीहरूको जन्म महत्वपूर्ण हो र जन्मको सार्थकता विचारले  सिद्ध गर्छ। पार्थिव अवशानले विचारको सार्थकता सिद्ध गर्दैन। निधनको स्मृतिमा एकदिन हार्दिक श्रद्धाञ्जली अर्पण गर्नासाथ विचार/योगदानको सम्मान ठहर्दैन। श्रद्धाञ्जली सन्तानको कृत्य हो। वार्षिकरूपमा संस्कृति नै भएको छ पुण्यतिथिमा स्मरण गर्ने। बिपी कोइरालाप्रति श्रद्धाञ्जली दिनासाथ उहाँको सम्मान भयो भन्ने हुँदेैन। सम्मान त उहाँका विचारलाई जीवनमा उतार्नुबाट हुन्छ।

बिपी विचारको अन्तिम निष्कर्ष हो– मानिस ठूलो बन्न नखोज, असल बन। ठूलो बन्ने चाहनाले हिंसा, परपीडन, युद्ध, संघर्ष, विभेद, विभाजन आदिलाई मलजल गर्छ। असलपन चरित्र हो, व्यवहार हो। मोदिआइनमार्फत बिपीले दिनुभएको सन्देश जसलाई मानवीय संवेदनाको अन्तरप्रेरक तत्व मान्न सकिन्छ। यो यथार्थमा कुनै विचार होइन। शाश्वत अनुभूति हो। विचार र शाश्वत अनुभूतिमा ठूलो अन्तर हुन्छ। यो शाश्वत मानवीय उत्प्रेरक तत्वमा कुनै परिवर्तन हुँदैन। तर विचारको सान्दर्भिकताले समयबोधलाई स्मरण गरिरहेको हुन्छ। समयका आधारमा विचार प्रयोगका आयामहरूसिद्ध हुने गर्छन्।

विचार कहिल्यै मर्दैन। त्यसका अनुयायी रहेनन् वा प्रयोग गर्ने संयन्त्रहरू कमजोर भए र सकिए भने ती विचार अध्ययन र अनुसन्धानका विषयमा सीमित हुनेछन्। विचारको पुनरवलोकन समयको माग र अनुभवले निर्धारण गर्छ। जुन निरन्तरको प्रक्रिया हो। जडवाद विचारमा लागु हुँदेैन। विचार गतिशील हुन्छ।


विचार कहिल्यै मर्दैन। यसलाई मरणशील भन्नेहरू पनि छन्। तर विचारका अनुयायीहरू रहेनन् वा उपयोगमा रहेन भने त्यो विचारको सान्दर्भिकता अन्त्य हुन्छ तर मृत मानिँदैन। मान्नु पनि हुँदैन। अहिले संसारभर साम्यवादी विचार असान्दर्भिक भएको छ। माक्र्सवादको औचित्य कम हुँदै गएको छ। जीवन र मृत्युका सन्दर्भ, समाज विकासको गति र यसको लय, सबैमा अनेक नवीन धार पैदा भइरहेका छन्। यसको अर्थ माक्र्सवादको मृत्युभयो भनेर कसैले भन्छ र ठान्छ भने त्यो महामूर्ख हो भनेर घोषणा गरे हुन्छ। माक्र्सवादी विचारमा पनि पुनरवलोकन सुरु भएको छ। चीनमा माओको जीवन अन्त्यसँगै बिस्तारदेङ युगको प्रादुर्भाव अथवा रुसमा गोर्वाचोभको पेरोस्त्रोइका र ग्लास्नोत्सका विचारले माक्र्सवादको सान्दर्भिकतालाई मरणासन्न बनाएका हुन्।

यसअघि रुसको अक्टोबर क्रान्ति पनि माक्र्सको दर्शनअनुरूप थिएन। यद्यपि यसको मूल्यांकनका अनेक पाटा छन् र असहमत हुनेहरूको जमात पनि सानो नहुनसक्छ। गान्धी विचारलाई पनि समयले प्रयोगविहीन बनाउन लागेको छ। बिपी कोइरालाको वैचारिक भाष्यमा नयाँ आयाम थपिएसँंगै उहाँका प्रस्तावहरूमा समेत पुनरवलोकन हुन सक्छ। नेपालको सन्दर्भमा तीनवटा राजनीतिक धार सँगै स्थापित छन्। पहिलो– राजा पृथ्वीनारायण शाहले नेपालको भूखण्डको प्रतिरक्षा, सुरक्षा र एकीकरणका सन्दर्भमा स्थापित गरेको मान्यता। दोस्रो– आधुनिक नेपालको ढोका खुलेपछि राज्यप्रणालीको स्वरूप, यसले गर्ने कार्य र यसको रणनीतिबारे बिपी कोइरालाले स्थापित गरेको प्रजातन्त्र (आजको प्रयोगमा लोकतन्त्र) र तेस्रो हो– पुष्पलालले परिभाषित गरेको नेपालको आवश्यकताअनुसारको साम्यवादी विचार। कुनै न कुनैरूपमा यी तीनवटा विचार वृत्तमा नेपालको राजनीतिक विचार परिक्रमा गरिरहेको छ।

राजा महेन्द्रले राजनीतिलाई बांगो बाटोतर्फ मोड्ने काम नगरेका भए शायद यी तीनवटै विचारको समिश्रण हुँदै नेपालको प्रगति सम्भव हुने थियो होला। अथवा अन्तिम राजा ज्ञानेन्द्रले शासकीय  महत्वाकांक्षा नदेखाएका भए राजनीतिले फरकशैलीमा आफ्नो गन्तव्य समात्ने हुनसक्थ्यो। साम्यवादी विचारमा अनेक उग्रचिन्तन समयमा आए र बिलाउँदै पुष्पलालकै विचारको काखमा बसेर पलेटी मार्न पुगेका देखिन्छ। चर्का कुरा गर्ने मसाल, मशाल, चौथो महाधिवेशन, माओवादी र माले सबैले केही नवीनता दिए जस्तो गरी स्वतन्त्रतालाई माध्यम बनाएका छन्। यसमा सबैभन्दा चर्चित मदन भण्डारीको जनताको बहुदलीय जनवाद र पुष्पकमल दाहालको शान्ति प्रक्रियामा अवतरणको सन्दर्भ रहेको छ। हुन त नेपाल कम्युनिस्ट पार्टी एमाले मदन भण्डारीको वेचारिक उत्तराधिकारी रहे पनि अब उसले जनताको जनवादमा आफूलाई संबद्ध गराइसकेको छ। शायद विचारमा पुनरवलोकन भन्नुको अर्थ यही र यस्तै हुनुपर्छ।

बिपी कोइरालाको वैचारिक उत्तराधिकारित्व बोक्ने मूल पार्टी नेपाली कांग्रेसले आफ्नो शीर्ष आदर्श राष्ट्रियता, सिद्धान्त लोकतन्त्र र सामाजिक आर्थिक रूपान्तरणको विषय समाजवादलाई बनाउँदै आएको अवस्था छ। केही दिनपहिले विचारक दमननाथ ढुंगानाले बिपी विचारको औचित्य सन्दर्भमा केही महत्वपूर्ण प्रश्न उठाउनुभयो। यस्तो प्रश्न उठाउनेमा प्रदीप गिरि पनि हुनुहुन्छ। ढुंगानाले प्रश्न गर्नुभयो–बिपीका विचारमा पुनरवलोकन गर्नु जरुरी छ कि छैन ? के विचारहरू सदाकालका लागि नित्य हुन्छन् ? समाजले यथावत् वरण गर्छ कि गर्दैन ? समाजको सोच र आवश्यकताले विचार र दृष्टिकोणमा परिवर्तन हुन्छ कि हुँदेैन ?

समाज परिवर्तनशील छ भन्ने सबैको विश्वास छ तर यसका नियम परिवर्तन हुन सक्देैनन्। विचार मानिसको मस्तिष्कको बहुकोणीय आविष्कार हो। अनेक परिघटनाले त्यस विचारलाई भिन्न आयाममा घुमाइरहेका हुन्छन्। बिपीले नेपाली समाजको तत्कालीन अवस्था र आवश्यकतालाई संबोधन गर्दै भविष्यकालागि समेत मार्गदर्शक हुने गरी विचार विश्लेषण गर्नुभएको छ। नेपालमा स्थापित सबै कोणको राजनीतिका वादहरू अहिले जसरी लोकतन्त्रमा सहमत भएका छन्, राष्ट्रियताको प्रबद्र्धनमा सकारात्मक छन् र सामाजिक आर्थिक रूपान्तरणमा आफूलाई अभिमुखीकरण गराइरहेका छन् त्यसले पनि बिपीको विचार र उहाँले त्यससमयमा गरेको भाष्य उपयुक्त थियो भन्ने बुझ्न सकिन्छ। यद्यपि नेपालको राजनीतिक परिवर्तनले अनेक विघ्नपार गर्ने क्रममा कहिल्यै पनि स्थायी मार्ग समात्न सकेको छैन। अहिले पनि जातीय, धार्मिक, क्षेत्रीय र एकदलीय चिन्तनहरूले परिवर्तनका सकारात्मक पक्षलाई शंकाको कठघरामा पु-याइरहेको स्पष्ट छ।

लोकतान्त्रिक गणतन्त्र, संघीयता, समावेशी, समधर्मवादको सम्मानसहित धर्म निरपेक्षता, समानुपातिक प्रतिनिधित्व, संविधानसभाले पारित गरेको संविधान यी सबै पछिल्लो चरणका परिवर्तन हुन्। यी सबै परिवर्तनबिपी विचारको आधार राष्ट्रियता, लोकतन्त्र र समाजवादको परिभाषाभन्दा भिन्न छैनन्। तर रणनीतिक भिन्नताहरू पर्याप्त फरक हुँदै गए। जस्तो– राष्ट्रियताका प्रवल भाष्यकार बिपी कोइराला २००७ को दिल्ली सम्झौता मान्न किन तयार वा बाध्य हुनुभयो ? जुन सम्झौतामा सशस्त्र क्रान्तिको नायक पार्टी नेपाली कांग्रेसको कुनै प्रकारको सहभागिता थिएन। भारत सरकार, राजा त्रिभुवन र राणा सरकारका बीच भएको त्यो सम्झौताको सम्पूर्ण दोष जति आज पनि नेपाली कांग्रेसको टाउकोमा छ।

संविधानसभाको निर्वाचन हुनैपर्छ भनी माग गर्दै न्यायालयको ढोका घच्घचाउने लोकतन्त्रका भाष्यकार बिपी किन राजाको लालमोहरमा बनेको संसदीय निर्वाचनमा सहमत हुनुप-यो ? गरिब, निमुखा, भेदभावमा परेका र कठिन भूगोलका जनताका पक्षमा समाजवादी सोचमा भने बिपीले कसैसँग सम्झौता गर्नुपरेन। राजनीतिक मुद्दामा पटकपटक बिपीको रणनीति फरक देखिन्छ। कारावास समयका विचार, निर्वासनबाट सशस्त्र आन्दोलनको घोषणा, राष्ट्रिय एकता तथा मेलमिलाप नीतिको व्याख्या र निर्वासन परित्याग महŒवपूर्ण छन्। उहाँले पछिल्लो चरणमा राष्ट्रियता र लोकतन्त्रको अन्योन्याश्रित सम्बन्धलाई विशिष्टीकरण गर्नुभएको छ।

राष्ट्रियताका सन्दर्भमा तत्कालीन शक्ति राजसंस्थासँगको सहकार्यलाई महत्वपूर्ण माने पनि उहाँले जनताको अधिकारका विषयमा राजासँग आफ्नो स्पष्ट विमति राख्नुभएको छ। उहाँले नेपालको सामन्तवादको प्रतिनिधि परम्परागत शक्ति राजसंस्थालाई राष्ट्रियताको दिगो आधार मान्नुभएको छ। तर अबका दिनमा यसको व्याख्या फरक भएको छ। शक्ति सन्तुलनका हिसावले राजसंस्था छैन। नयाँ राजनीतिक शक्तिका रूपमा कम्युनिस्ट पार्टी देखापरेको छ। यससँगै मधेसकेन्द्रित दलहरू राजनीतिक परिदृश्यमा निर्णायक भूमिकाकासाथ देखिएका छन्। अर्थात् राष्ट्रियताको संबद्र्धनमा मेलमिलाप अपरिहार्य छ।

तर बिपीले राष्ट्रियताका सन्दर्भमा राजसंस्थालाई किन अपरिहार्य ठान्नुभयो ? राणाशासन समाप्त गरी राजालाई पुनस्र्थापना गर्ने बिपीलाई त्रिभुवनदेखि महेन्द्र र अन्तिममा वीरेन्द्रसमेतले यातना दिएका थिए। आफूलाई र आफ्ना सहकर्मीलाई यातना दिने, जनताका अधिकार अपहरण गर्ने र लोकतान्त्रिक संविधान र प्रणालीलाई नै शत्रु देख्ने राजाहरूको नेतृत्वमा रहेको राजसंस्थालाई राष्ट्रियतासँग निरपेक्षरूपमा अनिवार्य ठह-याउने बिपीको चिन्तन क्षणिक थियो कि देशको वास्तविकता ?यो प्रश्न गरिरहन सकिन्छ। यद्यपि नेपालको सन्दर्भमा अब राजसंस्थाको कुनै औचित्य र सम्भावना देखिँदैन।

अहिले दलहरूको नेतृत्व छ। राजनीतिले सही बाटो समात्न अझै सकेको छैन। भूराजनीतिक जटिलता सत्तामा जो आए पनि यथावत् छ। छिमेकी मित्रराष्ट्र भारत नेपाली कूटनीतिक द्वारको पहिलो शक्ति हो। उसको ढोकालाई पार गरेर कूटनीति सञ्चालन गर्ने क्षमता जसरी हिजो थिएन त्यसरी नै नेपालको कमसेकम तत्काल वर्तमानमा कसैसँग पनि छैन। मतदातालाई मुर्ख बनाउने नारा जससँग पनि छन्। त्यससँगै छिमेकी मित्रराष्ट्र चीन र पश्चिमी शक्तिको आँखा पनि नेपालको भूगोलमा समानरूपमा छ। चीनको आँखा उसको सीमा सुरक्षासँग बढी केन्द्रित छ। नेपालमा भारतको जस्तो सबैखाले स्वार्थहरू र सम्बन्धहरू चीनको छैन। पश्चिमको स्वार्थ नेपाल होइन। नेपालमा धार्मिक÷सांस्कृतिक अतिक्रमणका सोचस्थिर होलान् अन्यथा चीन र भारतको निगरानीमा मात्र पश्चिमको आँखा टिकेको हुनुपर्छ।

यसरी राष्ट्रियताका अनेक शक्ति र तत्वको विश्लेषण गर्ने र लोकतन्त्रका आयामिक सिद्धान्तहरूलाई नेपालीकरण गर्दै समाजवादका कार्यक्रमहरू उद्घोष गर्ने बिपीका विचारहरूमाथि बहस अपरिहार्य छ। विचार कहिल्यै मर्दैन। त्यसका अनुयायी रहेनन् वा प्रयोग गर्ने संयन्त्रहरूकमजोर भए र सिद्धिए भने ती विचार अध्ययन र अनुसन्धानका विषयमा सीमित हुनेछन्। विचारको पुनरावलोक समयको माग र अनुभवले निर्धारण गर्छ। जुन निरन्तरको प्रक्रिया हो। जडवाद विचारमा लागु हुँदेैन। विचार गतिशील हुन्छ।

प्रकाशित: ८ श्रावण २०७६ ०६:१० बुधबार

बिपी विचार विरासत