विचार

दाइजोबाट पुरुष पनि पीडित !

शैलेन्द्र थापा
केही दिनअघि मात्र मानव सभ्यतालाई नै लज्जित पार्नेगरी एउटा घटना भयो, वीरगन्जमा । २१औँ शताब्दीको पाशविक र क्रूर हत्या भन्न पनि सकिन्छ, यसलाई । नारायणी अस्पतालमा कार्यरत डा. सचितानन्द यादवले दिएको बर्बर यातनाका कारण गम्भीर घाइते भएकी उनकी श्रीमती सुनिता यादवको उपचारका क्रममा काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा निधन भयो ।

उक्त घटनाको एक मात्र कारण थियो– दाइजो । २०५९ फागुन ९ गते सुनितासँग बिहे गर्दा नै उनले १२ लाख ५० हजार नगद, २ लाख ५० हजार रुपैयाँ बराबरका सामान र गरगहनासमेत गरी  २० लाख बराबरेको सम्पत्ति लगेको माइती पक्षको दाबी छ । बिहेलगत्तै थप दाइजोको निहुँमा यातना पाउन थालेकी सुनितालाई श्रीमान्ले २०६२ जेठ २१ गते मट्टितेल छर्केर जलाउने प्रयास गरेका थिए । उनले मागेजस्तै गाडी र घर नपाउँदा अन्ततः यातनाकै कारण सुनिताको जीवन समाप्त भयो । यता दाइजोकै निहुँमा गत वर्ष जनकपुर उपमहानगरपालिका २ किशोरी नगरकी २२ वर्षीया रञ्जना शर्माको उनकै पति र परिवारका अन्य सदस्य मिलेर हत्या गरे । घटनाको करिब २ महिनापछि उनका पति आनन्दमोहन शर्मा, जेठाजु अरबिन्द शर्मा र जेठानी रिंकुकुमारी शर्मा पक्राउ परे । सोही घटनामा ससुरा ६२ वर्षीय देवनारायण शर्मा पुर्पक्षका लागि जलेश्वर जेल चलान भए । दाइजोको निहुँमा अपराध गर्नेले कानुन अनुसार सजाय त पाउने नै छन् तर यस्ता घटनाले पनि प्रस्ट पार्छन्– नेपाली समाज दाइजोको नाममा कति कलंकित हुँदै छ ?

कोही दाइजोकै लागि श्रीमती हत्या गर्दै छन् भने कोही नचाहँदा नचाहँदै मन अमिलो पारेर दाइजो भित्र्याउन बाध्य छन् । दाइजोलाई प्रतिष्ठा र इज्जतको विषय ठान्दा घरपरिवारबाट हुने यो मानसिक यातना र तिरस्कार मानव सभ्यताकै कलंक होइन र !

यी त प्रतिनिधि घटना मात्र हुन् । दाइँजो निहुँमा जिउँदै जलाइएका, मारिएका, घरबाट निकालिएका घटना कति छन् कति !  प्रदेश नम्बर २ को सिरहाको तथ्यांक मात्र हेर्ने हो भने जिल्ला प्रहरी कार्यालयमा २०७२÷०७३ मा मात्र घरेलु हिंसाका २ सय ३७ उजुरी दर्ता भएका छन् । तराइमा दाइजोकै कारण कैयौँ बुहारी भौतिक रूपमा जसरी जिउँदै जलाइएका छन्, त्यसरी नै मानसिक रूपमा पटकपटक मारिएका छन्– पहाडका बुहारीहरू ।

एक समय थियो– पहाडमा बुहारिसँगै दाइजोस्वरूप भित्रिने तामाका गाग्री, ताउलो तथा स्टिलका थाल बेहुलाको घरको प्रतिष्ठा बन्थे । यो दराज, सोफा, टिभी हुँदै अहिले फ्रिजसम्म पुग्यो । दाइजो दिनुभन्दा लिनुलाई प्रत्येक परिवारले प्रतिष्ठाको विषय मान्न थाले । उल्लिखित सामान घरमा भिœयाएपछि नाक फुलाउने सासू–ससुराको कमी छैन अहिले । टोल–छिमेकले पनि बुहारीसँगै कति दाइजो भित्रियो भनेर आँखा तन्काइ–तन्काइ हेर्ने परिपाटी छ, हाम्रो समाजमा । सोचेजस्तो र भनेजस्तो दाइजो नपाउँदा बुहारीलाई गरिने प्रत्यक्ष देखिने ज्यादती तराईमा बढी होला, तर त्यसभन्दा कैयौँ गुणा बढी अप्रत्यक्ष रूपमा घोचपेच र मानसिक यातना पहाडका बुहारीले भोगेका छन् भन्दा अत्युक्ति नहोला ।

०६१ सालतिर एक एफएममा दाइजोसम्बन्धी बहस सुन्दै थिएँ । एक इन्जिनियर भनिरहेका थिए– ‘म दाइजोविरोधी व्यक्ति हुँ ।’ तर उनी फेरि भन्न बाध्य थिए– ‘तर मैले दाइजो नलिई बिहे गर्दा मलाई पर्ने घरायसी तथा सामाजिक दबाब र तिरस्कारको जिम्मा कसले लिन्छ ?’  यस किसिमको त्रास र तनावमा आज कैयौँ छोरा मुटुमाथि ढुंगा राखेर दाइजोका नाममा आउने सर–सामान घर भिœयाउन बाध्य छन् । अझ बिहेको अघिल्लो दिन नै केटीपक्ष केटापक्षको घरको कोठामा राख्ने कार्पेट, पर्दा नाप्न आउँदा तथा त्यसै दिन दुई÷चार थान सामान भिœयाउनुपर्दा पढेलेखेका र आत्मनिर्भर युवाको मनमा कति गाँठो पर्दो हो, त्यो  त्यति सजिलै अनुमान लगाउन सकिने विषय होइन । त्यसैले कोही दाइजोकै लागि श्रीमती हत्या गर्दै छन् भने कोही नचाहँदा नचाहँदै मन अमिलो पारेर दाइजो भिœयाउन बाध्य छन् । दाइजोलाई प्रतिष्ठा र इज्जतको विषय ठान्दा घरपरिवारबाट हुने यो मानसिक यातना र तिरस्कार मानव सभ्यताकै कलंक होइन र !

तराईमा बिनादाइजो बिहे भएको खबर कहिले सुन्न पाइने होे ? अनि पहाडतिर दाइजोको अप्रत्यक्ष मार कहिलेसम्म खेप्ने ? म दाइजो नलिई बिहे गर्छु भन्दा त्यसलाइ मनैदेखि स्वीकार्ने घरपरिवार कति होलान् ? नयाँ मुलुकी संहिता तथा देवानी ऐनले दाइजोलाई गैरकानुनी मानेको छ । दाइजो मागे ३ वर्ष जेल सजाय हुने उल्लेख छ । तर पनि नेपाली समाजमा भित्र–भित्रै दाइजो लिने–दिने चलन अझै व्यापक छ । जसलाई हटाउन प्रत्येक नागरिकले अर्काको सम्पत्तिमा लोभ गर्न छाड्नुपर्छ । नेपाली समाजमा दाइजो प्रथा अझै कायमै रहनु समाज विकासको बाधक हो भने यस प्रकारको सामाजिक विकृति अन्त्य गर्न बुहारीहरूको जीवन बचाउन यो विकृति हटाउनैपर्छ ।

विवाह २ आत्मको मिलन हो, जसलाई भौतिक वस्तु लेनदेनको माध्यम बनाइनु सभ्य समाजका लागि सुहाउने कुरा हुँदै होइन । यसले समाजमा धनी–गरिबीचको खाडल झन् गहिरो हुनेछ भने छोरीको बिहेपछि दाइजोको ऋण तिर्न नसकेर कुनै बाबुको घरखेत बन्धक वा लिलामी हुने वातावरण बन्नेछ । यसर्थ हामी सबै मिलेर यस्तो कुसंस्कारको अन्त्य गर्नैपर्छ ।
लेखक सशस्त्र प्रहरी निरीक्षक हुन् ।
    

प्रकाशित: १९ असार २०७६ ०३:०७ बिहीबार

मानव_सभ्यता दाइजो पीडित