विचार

गाँजा प्रतिबन्धको ‘जनयुद्ध’ प्रभाव

भैरव रिसाल
नेपालले पनि जुन २६ मा अन्तर्राष्ट्रिय लागुपदार्थ प्रयोग, दुरुपयोग तथा ओसारपसारविरुद्ध दिवस मनायो । नेपालमा किशोर एवं युवावर्गमा लागुपदार्थ दुव्र्यसनीको संख्या ह्वात्तै बढिरहेकोछ । यो सरोकारवालाहरूको टाउको दुखाइ भएकोछ । छिमेकी भारतसँगको १८८० किलोमिटर सीमा खुला भएकाले पनि लागुपदार्थ प्रयोग, दुरुपयोग र ओसारपसार रोक्न चुनोती भएकोछ भन्छन्, लागुपदार्थ नियन्त्रणमा सम्बद्ध जिम्मेवार पदाधिकारीहरू । लागुऔषध हाम्रो देशको अन्तरनिहित समस्या होइन । अन्तर्देशीय सम्बन्ध र भारतसँगको खुला सिमानाका कारण यो चुनौतीपूर्ण बन्दै गएको हो । साथै सन्तानको क्रियाकलापप्रति अभिभावक जिम्मेवार नहँुदा समस्या झन् थपिएको छ ।

नेपालको मध्यपश्चिमका प्रायः पहाडी जिल्लाको गरिखाने बाटो भनेकै आफैँ उम्री, हुर्की, परिपक्व भई हरेक वर्ष आफैँ उत्पादन हुने प्राकृतिक गाँजा हो । गाँजाको चोपबाट संकलन हुने चरेस हो । २०३३ सालअघिसम्म त्यसरी प्रकृतिले दिएको गाँजा वनस्पति त्यस क्षेत्रको बोट बुट्यानमा फल्ने सुन थियो, हिरा थियो, मोती थियो । गाउँघरका साधारण बासिन्दा चिस्यान, वन, पाखा, पखेरा बुट्यानमा जान्थे । आफैँ उम्रने, बढ्ने, हुर्कने परिपक्व हुने गाँजा संकलन गर्थे, चरेस बनाउँथे र बेच्थे । घरव्यवहार चलाउँथे ।

आफैँ उम्रेका, बढेका, हुर्केर परिपुष्ट भएका गाँजा, भाङको प्रतिबन्ध नेपालका गरिबीको रेखामुनि रहेकाहरूका लागिमात्र भएपनि हट्नुपर्छ ।

यसैगरी त्यो व्यापक क्षेत्रको दुनियाँदारी चलिरहेको थियो । गाँजा त्यस क्षेत्रका निम्ति प्रकृतिको सालिन्दाका लागि उत्तम निर्विवाद उपहार थियो । गाँजाको बोटका रेसा झिकेर कपडा बुन्थे, लगाउँथे, झोला बनाउँथे, प्रयोग गर्थे, बेच्थे,पैसा उपार्जन गर्थे । सर्वसाधारण धेरैको जीविकोपार्जनको माध्यम थियो, गाँजा यथार्थमा । यस क्षेत्रका रुकुमकोट, मुसिकोट र वादिकोटका राजा (ठकुरी) हरू गाँजा चरेसको व्यापार गर्थे र जिल्लामा हैकम चलाउँथे । म २०४३÷४४ सालमा डिल्लीबजार सदरखोरमा राजकाज मुद्दामा थुनिँदा त्यस क्षेत्रमा चरेसको व्यापार गर्ने अमरनाथ शर्मा भन्थे– टिनमा तल चरेस राख्यो,घिउले छोप्यो,घिउ भनी व्यापार गथ्र्यौँ।

उनीहरू नै गाँजा खेती गर्दै
गाँजा तराईको खासगरी सिरहा, सप्तरी, धनुषा, महोत्तरी मकवानपुरलगायत जिल्लामा व्यापक खेती गरिन्थ्यो । गोर्खाको उत्तरी भेगको यात्रा गर्दा बाटाभरि गाँजा भाङ आफैँ उम्रेका, बढेका, हुर्केका र परिपक्व भएका धेरै ठाउँदेखेको छु । प्रकृतिले ती दुर्गम पहाडी भूभागका आमजनताको भागमा गाँजा, भाङ र चरेसको व्यवसाय गर र जहान बच्चा पाल भनी दिएको कोसेली हो भन्ने ठानेको थिएँ त्यतिबेला । गाँजा भाङमाथि तत्कालीन पञ्चायत सरकारलाई किन अकस्मात् प्रतिबन्ध लगाउन दबाब दियो पश्चिमी शक्तिले भन्ने म बुझ्दिनथेँ । नेपालमा गाँजामाथि कडा प्रतिबन्ध लगाउन ठूलो दबाब दिने पश्चिमा शक्तिको अगुवा संयुक्त राज्य अमेरिकाकै क्यालिफोर्निया जस्ता राज्यमा गाँजा खेती व्यवसाय गर्न खुला अनुमति दिएको थियो । अमेरिकाकै अरु केही राज्यलाई विभिन्न प्रयोजनको आवरणमा गाँजा उत्पादन, संकलन र व्यवसाय गर्नेस्वीकृति दिइएको थियो । नेपाललाई प्रकृतिले नै खेती नगरी प्राकृत रूपमै दिएको गाँजा संकलन र व्यवसाय गर्न किन प्रतिबन्ध ? मेरो मनमा उठेको प्रश्न थियो त्यतिबेला पनि । तर आज त्यो युगमा नेपालमा गाँजा, भाङ, चरेस जस्ता लागुपदार्थ खेती, संकलन, व्यवसाय जस्ता कामउपर प्रतिबन्ध लगाउन दबाब दिने राष्ट्रहरू नै आफ्नै मुलुकमा गाँजामाथिको प्रतिबन्ध होइन, खेती गराउँदैछन्

अमेरिकाको क्यालिफोर्निया एउटै राज्यले मात्र पनि १३ अर्ब ८ करोड डलरभन्दा बढीको गाँजा खेती गरेछ ।यो भनेको त्यहाँ उत्पादन हुने अंगुर, तरकारी र घाँसको संयुक्त मूल्यभन्दा बढी हो ।यसरी धेरै गाँजा उब्जनी गर्ने राज्य संंयुक्त राज्य अमेरिकामा दर्जनभन्दा बढी भएको पत्रिकाले लेखेको रहेछ ।

गाँजाको पक्षमा जनमत बनाउँदै
यो प्रस्तुतिको सरोकार लागुपदार्थ वा वस्तुको प्रवद्र्धन वा उकास्नका लागि होइन न त हो संयुक्त राज्य अमेरिका, क्यानाडा, उरुग्वे, स्पेन, नेदरल्यान्ड, पोचुर्गल, स्लोभानिया, जमाइका, पेरु, लक्जम्वर्ग, कोलम्बिया, चिली, इजरायल, जिम्बाब्वे, अर्जेन्टाइना, पनामा, पोर्टारिको, टर्की, मेक्सिको जाम्बिया जस्ता मुलुकमा विभिन्न बहानामा खेती गर्न, व्यवसाय गर्न पाउनुपर्छ भन्ने । यसको गाँठी कुरा भनेको आफैँ उम्रेको, बढेको, हुर्केर परिपुष्ट भएको गाँजा, भाङ नेपालका गरिबीको रेखामुनि रहेकाहरूका लागिमात्र भएपनि प्रतिबन्ध हट्नुपर्छ । गाँजा खेतीलाई प्रोत्साहित गर्ने÷नगर्ने कुरा माथि उल्लिखित मुलुकहरूको गाँजा भाङ संकलन र खेतीप्रति के÷कस्तो द्दृष्टिकोण हुन्छ तद्नुरूप नेपालले आफ्नो नीति परिवर्तन गर्ने प्रावधान हुनुपर्छ ।

माथि लेखिएका राष्ट्रले गाँजा र भाङ खेती एवं व्यवसायलाई अनेक कोणबाट हेरेका र व्याख्या गरेका देखिन्छ । क्यान्सर जस्ता रोगको पीडा कम गर्नसमेत गाँजा भाङ उपयोगी पाइयो भन्न थालेका छन् । अमेरिकी राज्यहरूमा भण्डै ११ वर्ष लगाएर गरिएको अध्ययनले दुखाइ कम गर्ने अन्य औषधी(पेन किलर) को तुलनामा गाँजाको गुणस्तर सवल देखाइएको छ । अन्य त्यस्ता औषधि अत्यधिक सेवन गर्दा बिरामीको मृत्यु हुने सम्भावना ४० प्रतिशतभन्दा बढी पाइयोसम्म भन्न थालिएको छ ।

३५ अर्ब डलरभन्दा बढीको गाँजा खेती !
मसँग भएका पुराना टिपोट पल्टाउँदा सन् १९०६ डिसेम्बर २६ को लजएन्जलस टाइम्समा गाँजासम्बन्धी इरिक बौलीको एउटा टिपोट फेला प¥यो । ३५ अर्ब डलरको गाँजा खेती गरेको रे अमेरिकाले । यो गाँजा खेती मकै, भटमास, तरकारी र घाँस खेतीभन्दा बढी मूल्यको हो जसलाई नगदेबाली भनिएको रहेछ । क्यालिफोर्निया एउटै राज्यले मात्र पनि १३ अर्ब, ८ करोड डलर भन्दा बढीको गाँजा खेती उता¥यो भनिएको छ । त्यहाँ अङ्गुर, तरकारी घाँसको संयुक्त मूल्यभन्दा बढी मूल्यको गाँजा उत्पादन गरिएछ । यस्ता धेरै गाँजा उब्जनी गर्ने राज्य संयुक्त राज्य अमेरिकामा दर्जनभन्दा बढी छन् भनी उक्त मितिको सोही पत्रिकामा लेखिएको पढेँ । त्यो टिपोट फेला परेकाले यहाँ उतार पेश गर्न सकेको ।

नेपालका धेरै भागमा गाँजा भाङको खेती गरिरहनै पर्दैन । करेसा बारीमा आफैँ उम्रन्छ । यहाँसम्म कि तुलसीको मोठमा समेत उम्रन्छ । आफैँ उम्रने वनस्पति स्वतः अरुभन्दा बलिया हुनेरहेछन् । त्यसरी आफैँ करेसावारी अन्य चिस्यान ठाउँमा उम्रेका गाँजा भाङ संकलन गर्न व्यवसाय गर्न पाउनुपर्छ । त्यसबाट प्राप्त आम्दानीले भूमिहीन रोजगारीहीन, निमुखा किसानको, बेरोजगार नेपालीको कम्तीमा चुलोमा आगो बलोस् । उसका भन्टाङ भुन्टुङ लालाबालाको पेटमा तातो खोलेमात्र भएपनि परोस्। गाँजा संकलन र व्यवसायउपर प्रतिबन्ध लगाएपछि पौष्टिक खाद्य पदार्थ त के सामान्य क्यालोरी पनि नपाई शिशुमृत्यु दर र बाल मृत्यु दर बढेको थियो मलाई सम्झना भएसम्म ।

गाँजा मान्छे र पशु दुवैको ओखती
नेपालमा २०३३ सालअघि लागु औषध नियन्त्रण ऐन लागु हुनुअघिसम्म काठमाडौँं देशको राजधानीमा ठाउँ ठाउँमा गाँजा र चरेस फुटकर तथा थोक बिक्री केन्द्र, भेडासिंंह जस्ता ठाउँमा धेरै ठूल्ठूला होर्डिङ बोर्ड स्थायीरूपमा टाँगेर गाँजा चरेस बेच्ने पसल खुलेका थिए । ह्यासिस सेन्टर पनि खुला हुन्थे त्यतिबेला । वास्तवमा गाँजा कुनैबेला नेपालको ग्रामीण अर्थतन्त्रको मेरुदण्ड नै थियो । नेपालमा गाई बाख्रा जस्ता चोपायाको पेट फुल्यो, स्वास प्रस्वासको समस्या भयो, खोकी लाग्यो, पखाला लाग्यो, भुँडी ढुस्स भयो भने गाउँका जान्ने÷बुझ्ने पाका मान्छेको सल्लाहले मात्रा अड्कली तीन÷चार छाक गाँजाका बोट, पात, फूल, डाँठ खान दिने गरिन्थ्यो । वस्तुहरू ठीक हुन्थे । गाँजा भाङ हामी केटाकेटीलाई पनि अजीर्ण भएको बेला आमा÷बाले खुवाउनुहुन्थ्यो । आयुर्वेदमा त विजया भनिने गाँजाबाट औषधीहरू बन्दा रहेछन् । जस्तै– नाकबाट तरल पदार्थ बग्ने, अनिद्रा, झाडा पखाला, शीघ्रस्खलन, मानसिक रोग, असैय असैय पीडा जस्ता रोगमा ती औषधी खुवाइन्थ्यो र निको हुन्थ्यो । बिरामीलाई लठ्याउन एनेस्थेसियाको काममा पनि गाँजा भाङकै प्रयोग गर्ने गरिन्थ्यो ।

चरेस जम्मा गर्ने तरिका
मेरो धारणा विश्वस्तरमा गाँजाका पक्षमा ढोका खुकुलो भएको, अझ धेरै देशले विभिन्न नाम, तर्क र व्यवहारका नाममा गाँजाको पक्षमा देखापरेको जनमत र आफ्नै मुलुकको अवस्था हेर्दा नेपालमा गाँजा खेती गर्ने छूट दिनुहँुदैन तर आफैँ उम्रने, हुर्कने, परिपक्व हुने प्राकृतिक गाँजा संकलन गर्न र त्यो गाँजा व्यवसाय गर्ने छूट हुनुपर्छ भन्ने हो । त्यस्तोका लागि यार्सागुम्बु बटुल्नलाई सरोकारवाला ठाउँबाट अनुमति लिने व्यवस्था भए जस्तै गर्नु राम्रो हुन्छ । गाँजा संकलन र बिक्री गरेपछि त्यसको विवरण पनि बुझाउने थिति बाँध्नु राम्रो होला । गाँजाको बोटमा चोप निस्कने गर्छ । त्यो बाक्लो लेदोका रूपमा पनि हुन्छ । पहिले पहिले चरेस जम्मा गर्न हातले गाँजाका बोटका हाँगा, मुन्टा, पात फूल माड्यो । हातमा च्याप च्याप लाग्छ । त्यही च्याप च्याप कुनै धारिलो धातुको भाँडाको सहारामा जम्मा ग¥यो । त्यो चरेस भो ।
चरेस जम्मा गर्ने अर्को तरिका यस्तो पनि छ– हाफ पाइन्ट मात्र लगाएर जीउ नाङ्गै पारी गाँजाघारीमा दौडिने केही पटक दौडिएपछि दौडने मान्छेको जीउमा त्यो चोप टाँसिदोरहेछ । घर आयो खुकुरी, स्याँगी जस्ता धारिला भाँडाले जिउमा घोट्दै त्यो च्याप च्यापे पदार्थ जम्मा गर्ने । वास्तवमा सक्कली चरेस भनेकै त्यही हो रे । त्यस्तो दुःखगर्नुपर्ने भएकाले गाउँमा हुनेखानेले चरेस जम्मा गर्दैनथे । उनै हँुदा खानेहरूले गर्थे । गाँजा, भाङ, चरेस व्यवसाय बन्द भएपछि कडा मारमा तिनै मान्छे परे । जसका नानीहरू भोकै, गाङ्गै भए । परिणाम– त्यो वर्गका मान्छे ‘जनयुद्ध’मा लागे ।

गाँजा, चरेस भकुण्डो भई उफ्रियो
रुकुम, रोल्पा, सल्यान, जाजरकोट, कालीकोट, दैलेख, अछाम, बझाङ जस्ता कतिपय जिल्लाका तल्लो वर्गका मान्छेको दुई पैसा हात पर्ने बाटो भनेकै चरेस र गाँजा थियो । अमेरिकी नयाँ पुस्ताका युवा आफ्नो मुलुकको अवस्था देखीनिरास भईपरम्परा भत्काउन लवाइ र खवाइ दुवैमा अपारम्परिक क्रियाकलाप सुरु गर्न लागे । नङ नकाट्ने, कपाल लट्टा पार्ने, गाँजा भाङ, चरेस खाने जस्ता काममा लागे । नेपाल यस्ता कुराका लागि अनुकूल हँुदै जान लाग्यो त्यस्ता मान्छेका लागि । सामान्यतः यस्तालाई हिप्पी भन्न लागियो । पश्चिमा युवा वर्गमा यो रोग लाग्यो । अमेरिका तर्सियो र गाँजा, भाङ, चरेसउपर प्रतिबन्ध लगाउन जोड ग¥यो, दबाब दियो । परिणाममा हाम्रो सरकारले कानुन तर्जुमा गरी पूर्ण प्रतिबन्ध नै लगायो ।

यो पेशा व्यवसायमा लाग्नेहरूको बिचल्ली नै भो । बिल्लिबाठै भो । गृहिणीहरूलाई बिहान बेलुकीको भान्सा उतार्नै मुस्किल भो । केटाकेटीका लुगाफाटा फेर्ने हैसियत पनि रहेन । गरिब जनताका हातमा फुटेको पैसो पनि पर्न छाड्यो । अमेरिकी सरकारको सहयोगमा दाङ, सुर्खेत र जुम्लामा एकीकृत विकास योजना चलाइएको थियो  जसलाई ‘लमी’ कार्यक्रम भन्ने गरिन्थ्यो जनताको भाषामा । तुलसीपुरमा भव्य कार्यालय थियो । डेढ दुई वर्षको त्यो परियोजना लागु भएपछि त्यहीँ काम गर्ने कतिजना भन्ने गर्थे–अन्ततः यो कार्यक्रमको क्षेत्रमा कम्युनिस्टहरूलाई निमन्त्रणा गर्ने कार्यक्रममा रूपान्तरण हुनेछ ।

गाँजा, चरेस बन्दको राजनीति
वास्तवमा गाँजा खेती, गाँजा व्यापार भन्दा पनि बढी आमदानी हुने जिनिस हो चरेस । रुकुम, रोल्पा, सल्यान जस्ता जिल्ला, तराईका सिरहा, सप्तरी, महोत्तरी जिल्लाले झै आम्दानी हुने अन्य वस्तु पनि थिएनन् ती जिल्लामा । वास्तवमा त्यो चरेस र गाँजा, भाङ संकलन र व्यापार गर्ने त्यो पुस्ता त त्यसै ओइलाएरै सकियो र केही बुढिए । अब छोराछोरी पुस्ता जण्ड भएर निस्कन थाल्यो । यता शिक्षालयहरू धमाधम खुल्न थाले । राजनीतिक पार्टी खासगरी वामपन्थी नेता÷कार्यकर्ता मास्टरका रूपमा जिल्लाका गाउँगाउँसम्म फैलने रणनीति अवलम्बन गरे । फलतः पहाडका गाउँमा धुवाँ नआइकन आगो बल्न थाल्यो । राजनीतिक पार्टीका नेता–कार्यकर्ताहरूबाट पढेका नयाँ पुस्तामा राजनीति यसरी स¥यो कि जागिरका रूपमा पञ्चायती राजनीति गरेकाहरूले बुझ्न सकेनन् ।

गाँजा, भाङ, चरेसउपर अर्को कुनै विकल्प नै नसोची लगाएको कडा प्रतिबन्धपछि जन्मेको पुस्तालाई प्रतिबन्धबाट कडा मार खपेको कथा प्रत्येक नानीले आमाबाटै शिक्षा एवं चेतना लिए । फलतः कक्षा तीन चारदेखिनै नयाँ र ताजा राजनीतिकर्मी निस्कन थाले । जब देखे नयाँ पुस्तामा राजनीतिक जागरण आएको गाउँ/गाउँ,टोल/टोलबाट । अब तर्सन थाले ती ठाउँका भारदार । अन्ततोगत्वा सशस्त्र जनयुद्धमा अग्रपंंक्तिमा उनै युवाका जुझारु चुस्त, दुरुस्त गाँजा, चरेस प्रतिबन्धपीडित अग्रमोर्चा समाल्न लागे । मध्य पश्चिमका विकट जिल्लामा आन्दोलन सफल हुनुको कडी गाँजा, चरेस व्यवसायउपरको प्रतिबन्ध नै हो ।
 

प्रकाशित: १५ असार २०७६ ०२:४८ आइतबार

लागुपदार्थ_प्रयोग दुरुपयोग जनयुद्ध गाँजा