विचार

प्रगतिशील शक्ति देख्न नचाहँदा २०१७ साल

केपी शर्मा ओली
पत्रकार साथीहरू,
आज संसद्मा अत्यन्तै असंसदीय, अमर्यादित प्रकारको व्यवहार भयो। त्यस व्यवहारले अकारण संसद् स्थगित हुने अवस्था बन्यो। दुनियाँको लोकतान्त्रिक अभ्यासमा, लोकतान्त्रिक प्रणालीमा प्रधानमन्त्रीले आवश्यक परेका बखत संसद्लाई विभिन्न विषयहरूमा सरकारका दृष्टिकोणबारे जानकारी गराउने, विभिन्न निर्णयबारे जानकारी गराउने, विभिन्न गतिविधिबारे जानकारी गराउने अभ्यास हुन्छ। प्रधानमन्त्रीलाई बोल्न नदिने भन्ने कुरा र प्रधानमन्त्रीले लिएको समयभन्दा पहिले आफूले बोल्नुपर्छ भन्ने त्यस्तो बालहठ लोकतन्त्रमा कहीँ पनि हुँदैन।

तर, आश्चर्यलाग्दो गरी आज प्रधानमन्त्रीले ११ बजेदेखि सम्बोधन गर्ने भन्ने अगाडिदेखि तय भएकोमा पहिले आफूले बोल्न पाउनुपर्छ भनेर नेपाली कांग्रेसले अड्डी लियो। अड्डी मात्र लिएन प्रधानमन्त्रीलाई बोल्न रोक्नका लागि बेलमा गएर संसद्को कामकारबाहीलाई अवरोध ग¥यो। विषय केही पनि थिएन। कुनै विषयमा मतभेद पनि होइन। तर, लोकतान्त्रिक अभ्यासमा बोल्नुपर्दा पहिले प्रधानमन्त्रीले, त्यसपछि विपक्षी दलको नेताले, त्यसपछि मर्यादाक्रमका व्यक्तिले बोल्ने कुरा विश्वव्यापी प्रचलन हो। त्यो जहाँ पनि हुन्छ।

तर, हरेक क्षेत्रमा निहुँ खोज्ने त्यस उद्देश्यअन्तर्गत नेपाली कांग्रेसका सभापति, लामो समयदेखिका मेरा मित्र, लोकतान्त्रिक आन्दोलनमा पनि अलि लामै समय साथ दिएका मित्र शेरबहादुर देउवा आफैं नेतृत्व गरेर प्रधानमन्त्रीले होइन मैले बोल्न पाउनुपर्छ भनेर बेल घेर्ने कामको नेतृत्व गरेर अगाडि जानुभयो। आश्चर्यचकित भएँ म। उहाँलाई संसदीय मर्यादा त्यति त थाहा हुनुपर्ने ! जे होस् संसद् अवरुद्ध भयो। तर, यसको अर्थ यो होइन कि संसद्मा बोल्न खोजेको कुरा, चाहेको कुरा मैले संसद्मा बोल्न नपाएपछि पत्रकार सम्मेलन गरेर बोल्न खोजेको हुँ। संसद्मा जो असंसदीय गतिविधि भयो, अमर्यादित क्रियाकलाप भए र त्यसतर्फ ध्यानाकर्षण गर्न खोजेको हुँ।

संसद्मा बोल्नुपर्ने कुरा समयक्रममा फेरि बोलिने नै छ। तर, म स्मरण गर्छु, हामीले धेरै लामो बलिदानपूर्ण संघर्षबाट आजको अवस्था ल्याएका हौं। तर, आज लोकतन्त्रका विरुद्ध, गणतन्त्रका विरुद्ध, संघीयताका विरुद्ध अथवा जनताको शासनका विरुद्ध, जनताको सार्वभौमसत्ताका विरुद्ध, लोकतान्त्रिक प्रणाली र अभ्यासका विरुद्ध अलोकतान्त्रिक शक्तिहरूको मोर्चाबन्दी बहुतै देखापरेको छ।

आज लोकतन्त्रका विरुद्ध, गणतन्त्रका विरुद्ध, संघीयताका विरुद्ध अथवा जनाताको शासनका विरुद्ध, जनताको सार्वभौमसत्ताका विरुद्ध अलोकतान्त्रिक शक्तिहरुको मोर्चाबन्दी बहुतै देखापरेको छ।

प्रगतिशील शक्ति देख्न नचाहँदा २०१७ साल
संघीय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध विभिन्न प्रकारका तŒवहरू घोर दक्षिणदेखि घोर वामसम्म, अति वामपन्थी तत्वदेखि अति दक्षिणपन्थी तत्वसम्म, अति वाम उग्रपन्थीदेखि अति दक्षिण प्रतिक्रियावादी समूह एकजुट भएको अवस्था छ। लोकतान्त्रिक शक्तिहरू, जसका बीचमा एकता हुनुपर्ने त्यो नभएको मात्र होइन, त्यसलाई बिथोल्न लोकतान्त्रिक शक्ति नै अग्रसर भएको देख्दा आश्चर्य लाग्छ। यही कुराले २००७ सालको आन्दोलनपछि साथ लिएर मिलेर चल्नुपर्ने ठाउँमा परिवर्तनकारी शक्तिलाई प्रतिबन्ध लगाउने र प्रतिक्रियावादी शक्तिसँग मिलेर चल्ने गलत नीतिका कारण संविधान बन्न लामो समय लाग्यो र उपयुक्त संविधान बन्न सकेन। २००७ सालपछि प्रतिक्रियावादीसँग मिल्ने र प्रगतिशील शक्तिहरूलाई देखिनसहने कारणले, जनपक्षीय शक्तिलाई देखिनसहने कारणले २०१७ सालजस्तो घटना भयो। त्यसैकारण त्यस्तो प्रतिगामी घटना हुँदा पनि एकता गर्न मानिएन। लोकतन्त्रका पक्षधर शक्ति तानाशाहीका विरुद्ध लडौं भन्ने प्रस्ताव पनि मानिएन। एउटा लोकतन्त्रको आवरणभित्र प्रतिक्रियावादी, प्रतिगामी, संकीर्णवादी विचित्रको चरित्र रहेको छ।

लोकतन्त्रमा आफूबाहेक अरूलाई पनि स्वीकार्नुपर्दछ
पछिल्लो समय हामी लोकतान्त्रिक शक्तिहरू एकजुट भएर लड्यौं। उपलब्धिहरू हासिल ग¥यौं। तर, लोकतान्त्रिक शक्तिहरू एकता भएर उपलब्धि हासिल गर्ने भनेको फलानो सरकारमा रहनुपर्ने, फलानोले नै सरकार सञ्चालन गर्नुपर्ने, अरू प्रतिपक्षमा रहनुपर्ने र पछाडि हुनुपर्ने, जनताले अभिमत पनि दिन नपर्नुपर्ने भन्ने होइन। जबजब आफूभन्दा अरू जनताको अभिमतबाट आउँछन्, लोकतन्त्रमा स्वीकार्नुपर्दछ, लोकतान्त्रिक शक्तिले। लोकतन्त्र भनेको त्यही हो। आफूभन्दा अरू आएकोलाई पनि स्वीकार्नुपर्दछ। आफू आए ठीक र आफू नआए बेठीक भन्ने र चल्न नदिने हो भने लोकतन्त्र चल्दैन। आज जुन प्रवृत्ति देखापरिरहेको छ, त्यसले लोकतान्त्रिक अभ्यास अगाडि जान सक्दैन। यो बहुतै गम्भीरखालको अवस्था हो। त्यसकारण म सबैलाई भन्न चाहन्छु कि यत्रो बलिदानबाट प्राप्त गरेको उपलब्धिको रक्षा गर्नु सबैको साझा दायित्व, साझा कर्तव्य हो।

अहिलेको सरकार देशप्रति, देशको सार्वभौमप्रति, स्वाधीनता, स्वतन्त्रताप्रति, भौगोलिक अखण्डताप्रति, राष्ट्रिय हितहरूप्रति र स्वाभिमानप्रति अत्यन्तै सजग छ, दृढ छ, यो इतिहासले प्रमाणित गरेको छ। यो भनिएको मात्र कुरा होइन, गरिएको काम हो, राखिएको अडान हो।

त्यसैगरी, अहिलेको सरकार लोकतान्त्रिक मूल्य–मान्यताहरूका निम्ति, अरूले ल्याइदिएको लोकतन्त्र स्वीकारेर त्यस परिस्थितिको प्रयोग गरेर आएको मात्र होइन, अहिलेको सरकार लोकतान्त्रिक आन्दोलनको लामो शृंखलामा अग्रभागमा रहेर बलिदानपूर्ण संघर्ष गरेर आएको हो र लोकतन्त्रका मूल्य–मान्यताहरू स्थापित गरेको हो। संविधान लेखेर आएको हो। अहिले जुन पार्टीले सरकारको नेतृत्व गरेको छ या सरकार जुन पार्टीको छ त्यो परिवर्तन ल्याएर, परिवर्तन साकार पारेर आएको सरकार हो।

प्रेस स्वतन्त्रता र मर्यादित प्रेसप्रति सरकार प्रतिबद्ध

यो पार्टी अचानक फुत्त कतैबाट निस्किएर, कुनै एउटा सेनसेसनल नारा दिएर सरकारमा पुगेको होइन। अझ यो बहुतै लामो संघर्षका उतार–चढावहरूबाट आएको र लोकतन्त्रको रक्षाका निम्ति प्रतिबद्ध सरकार हो। लोकतन्त्र प्रणाली मात्र होइन, लोकतान्त्रिक प्रक्रियाको पनि र लोकतन्त्रमा स्वतन्त्रताका हकहरू, मौलिक हकहरू तमामप्रति सरकार सजग छ। प्रेस स्वतन्त्रता, मर्यादित प्रेस, जिम्मेवार प्रेस, स्वतन्त्र प्रेस यसका उद्देश्यहरू हुन् र मानव अधिकारप्रति प्रतिबद्ध छ।
विकासका प्रयासहरूमा त्यत्तिकै यो वातावरण र अन्य पक्षहरू, दूरगामी अर्थ, महत्व र बहुआयामिक पक्षहरूमा ध्यान दिएर चल्छ। यो सरकार देश बनाउने अभिभारा बोकेर अभियानमा संलग्न छ। त्यसै कारण यसले साम्प्रदायिक विद्वेष भड्काउन खोज्दा त्यस्ता कुराहरूका पछाडि लागेन। यसले सामाजिक न्याय र समानतामा आधारित, सामाजिक सद्भावमा आधारित राष्ट्रिय एकतामा सदैव जोड दियो र फेरि पनि सामाजिक सद्भावमा आधारित राष्ट्रिय एकतामा जोड दिन्छ। सामाजिक न्याय र समानतामा जोड दिन्छ।

यस पार्टीले, यस सरकारले स्वाभाविकरूपमा शान्ति, स्थिरता, स्थायित्वको पक्ष लिन्छ। ती कामहरू यसले गर्छ र समृद्धिको काममा यो लागेको छ। आज केही तत्वहरू आत्तिएको देखिन्छ, समृद्धिको कामलाई यस सरकारले अगाडि बढाउने भयो भनेर। म दृढताका साथ भन्न चाहन्छु, समृद्धिका कामहरू अगाडि बढ्नेछन् र बढाइनेछ। समृद्धिको यात्रा रोकिँदैन। सुशासन र विकास आजको मूल मन्त्र हो र त्यसलाई साकार पार्दै यो सरकार अगाडि बढ्छ।

घाँसको एउटा हरियो स्याउलाभिब, हरेउ त एउटा नै हुन्थ्या। डालो एउटा थियो। हजार वटा हरेउ देखा पर्ने स्थिति बन्यो।

नेपालको भूमिका प्रमुख रह्यो
अब यसबीचमा म युरोप गएँ। युरोपमा आइएलओको सतवार्षिकी, सतवार्षिक समारोहलगायत अक्सफोर्ड विश्वविद्यालय, त्यसैगरेर बेलायतको औपचारिक भ्रमण, प्रधानमन्त्रीजीसँगको दुईपक्षीय वार्ता, राजकुमार ह्यारीसँग भेटघाट, विपक्षी दलका नेतासँगको भेटघाट, सर्वपक्षीय पार्लियामेन्ट्री ग्रुपसँगको भेटघाट, गोर्खा ब्रिगेड र उहाँहरूको स्थलगत सेन्टर्स भन्ने ठाउँमा निरीक्षणलगायतका र त्यहाँ व्यापारिक समुदायसमेतसँग व्यापक रूपमा भेटघाट र छलफल गरियो र नेपाली समुदायसँग पनि व्यापकरूपमा भेटभाट गरियो।

यसबाट नेपाल र ब्रिटेन दुई देशबीचको २०३ वर्ष पुरानो सम्बन्धलाई अझ सुदृढ बनाउने काम गरिएको छ र पारस्परिक हितको विषयमा बहुतै मैत्रीपूर्ण वातावरणमा कुरा गरिएको छ। विभिन्न पक्षमा पार्लियामेन्ट्री, प्रतिपक्षीय, सरकारपक्षीय समेत व्यापारिक लगानीकर्ताहरू अनेक पक्षसँग पनि कुराकानी भएको छ। त्यसले नेपालको प्रभाव, प्रतिष्ठा बढाउने काम गरेको छ। अक्सफोर्डमा सम्बोधन गरिएको छ।

ती हाम्रा विचारहरू ४०/४५ लाख भ्यूअर्सले एकैचोटि हेरेको हामीलाई बताइएको थियो। मैले बोलिरहेको बेला पनि ४० लाखको संख्यामा भ्यूअर्स पुगेको जानकारी गराइएको थियो। त्यो ठाउँमा हामीले नेपालका उपलब्धिहरू, नेपालका आवश्यकताहरू, नेपालको अवस्था र नेपाल कता जान चाहन्छ ? नेपाल कसरी अगाडि बढ्न चाहन्छ ? नेपालका आंकाक्षाहरू पनि बतायौं।

त्यसैगरेर फ्रान्समा प्रधानमन्त्रीय टोली, पार्लियामेन्ट्री कमिटीका अध्यक्ष, प्रतिनिधि सभाका उपसभामुखलगायतसँग भेटघाट भयो र खासगरी प्रधानमन्त्रीसँग दुईपक्षीय हितका विषयमा कुराकानी भए। त्यहाँका व्यापारिक समुदायसँग छलफल भए र विभिन्न व्यापारिक कम्पनीहरूसँग छुट्टाछुट्टैरूपमा कुराकानी भयो। उहाँहरूलाई नेपालमा लगानीका लागि आमन्त्रण गर्ने काम भयो।

त्यसैगरी, जेनेभामा आइएलओको साइडलाइनमा पनि र औपचारिक ठाउँहरूमा पनि, टर्कीका उपराष्ट्रपति, नर्वेका प्रधानमन्त्री, स्विट्जरल्यान्डका पूर्वराष्ट्रपतिसँगसमेत हामीले भेट ग¥यौं। राष्ट्रसंघ महासभाका अध्यक्ष, दक्षिण अफ्रिकाका राष्ट्रपतिलगायतसँग पनि  संक्षिप्त भेटघाट भयो। नेपालका बारेमा राम्ररी हामीले ध्यानाकर्षण ग¥यौं र नेपालको अन्तर्राष्ट्रिय क्षेत्रमा भूमिकालाई विस्तार गर्ने काम गरेका छौं।

त्यसकारण सात दिनको यो भ्रमण राम्रो भएको छ। यसले युयानसँगको सम्बन्ध, दक्षिण अफ्रिकासँगको सम्बन्ध, नर्वेसँगको सम्बन्ध, टर्कीसँगको सम्बन्धलाई पनि अगाडि बढाउने काम गरेको छ। हामीले आइएलओमा हाम्रो देशको उपलब्धिका बारेमा, मजदुर आन्दोलनका बारेमा, मजदुरहरूले प्राप्त गरेका सफलताका बारेमा, मजदुर आन्दोलनका उपलब्धिहरूका बारेमा र हामीले तयार गरेका कानुनहरूका बारेमा प्रस्तुत ग¥यौं। हाम्रो त्यो भूमिका त्यहाँ लिडिङ भूमिकाको रूपमा रह्यो, यो एउटा अर्को खुसीको कुरा हो।  

विदेश हुँदा गुठीका नाममा तनाव बढाउने प्रयास भयो
यसबीचमा म बाहिर गएपछि देशभित्र केही तनाव बढाउने प्रयासहरू भएछन्, खासगरी गुठीसम्बन्धी विधेयकको कुरालाई लिएर। २०३३ सालमा बनेको ऐनले गुठी संस्थान बनायो र गुठी संस्थानले राम्ररी काम गर्न सकेन भन्ने विभिन्न गुठियारहरूबाटै पहिलेदेखि आवाज उठेको हो।

हाम्रा टेलिभिजनले तपाई भन्न कसैलाई पनि जान्दैनन्। तपाई भन्ने नोल िभाषको शब्दै हराइसक्यो। हाम्रो सञ्चार माध्यमले हाम्रो भाषा, संस्कृतिका कुरा गर्छ। नेपाली भाषामा बाबुलाई तपाई नै भन्ने चलन हुन्छ। 

हामीले गुठी संस्थानका पदाधिकारीहरूबाट उपयुक्त ढंगले काम भएन भनेपछि पुनर्गठन गर्न चाह्यौं। पुनर्गठन गर्न खोज्दा फेरि सम्मानित अदालतबाट पुनस्र्थापित भएर उनीहरू फर्किए। त्यसपछि गुठी संस्थानले गुठीहरूको सुसञ्चालन गर्न सकेन। त्यसलाई सुसञ्चालन गर्ने गरी कसरी अगाडि बढ्ने भन्दा त्यसलाई प्राधिकरणको रूपमा लैजाउँ र त्यसलाई भंग गरेर अगाडि जाउँ भन्ने भयो। हाम्रा गुठीहरूमा एउटा उल्टो र भ्रमपूर्ण कुरा परेको छ। प्रचारमा गएको छ।
हामीले चाहेका हाम्रा सम्पदाहरूको, हाम्रा धरोहरहरूको, हाम्रा संस्कृतिको संरक्षण गर्नु हो। अहिले ल्याउन खोजेको विधेयक पनि त्यही हो। त्यो संरक्षण गर्नका लागि हो। त्यसको दुरुपयोग नहोस्। त्यसका दुईटा पक्ष छन्। एउटा काठमाडौंभित्र बहाल, बैली, धार्मिक गुठी, निजी गुठी जहाँ विभिन्न समुदायले आ–आफ्ना परिवारजस्तो गरेर गुठीहरू बनाएका छन् र त्यो हाम्रा परम्पराहरूसँग, हाम्रा संस्कृतिसँग, हाम्रा चाडहरूसँग, अनेक कुराहरूसँग जोडिएका छन्। तिनीहरूको सम्पत्तिको सुरक्षा पनि होस् र तिनीहरू हिनामिना नभई सञ्चालन हुन पाऊन्। तिनको सम्पत्तिको सुरक्षा होस् भन्नका निम्ति हो।

त्यो प्राधिकरणले गुठी सञ्चालन गर्ने होइन। गुठी सञ्चालन गर्ने त्यस्तो व्यवस्था कतै छैन। गुठी सञ्चालन गर्ने भनेको होइन प्राधिकरणले। यो बहुतै भ्रमपूर्ण कुरा गरियो। म सम्झिन्छु– कस्ता–कस्ता मान्छेहरू छन् आन्दोलनमा। त्यो भन्न चाहन्न। कति गुठीको माया गर्ने ? कति संस्कृतिको, कति परम्पराको माया गर्ने मान्छेहरू छन् ? यही देशमा मध्यरातमा क्रेन लिएर गएर सिंगै मूर्ति भक्तपुरको चोकैमा मर्काएको पनि सम्झना आउँछ। यो त त्यही देश होला जहाँ जनताले रक्षा गर्नुपरेको थियो।

यस देशमा कति मूर्तिहरू हराए ? म त्यतापट्टि जान चाहन्न। तिनीहरू हराउन नपाऊन्, गायब हुन नपाऊन्, हाम्रा धरोहर, हाम्रा संस्कृतिहरू, हाम्रा सभ्यताहरू ती सुरक्षित संरक्षित हुन सकून्। २०३३ सालमा गुठी संस्थान बनेपछि थुप्रै गुनासाहरू पटक–पटक आए। पहिले पनि आए, पछि पनि आए। ३५ सालमा एउटा निर्देशिका जारी भयो। त्यस निर्देशिकाले दुई भागमा गुठीहरूलाई वर्गीकरण ग¥यो र राजगुठी र निजी गुठी भन्यो। राजगुठीलाई चार भागमा वर्गीकरण ग¥यो र यसलाई यसरी चलाउने, यस्तो गर्ने, यो गर्ने भनेर त्यसका आफ्ना थितिहरू बने। तर पनि, स्थिति उपयुक्त बनेन। पछि विभिन्न समयमा मस्यौदाहरू, कानुनहरू, विधेयकहरू प्रस्तुत भए।

राष्ट्रिय सभामा प्रस्तुत भएको विधेयक संसद् नै भंग भएको हुनाले छलफलमा आउन अगाडि जान सकेन। त्यतिकै रह्यो। पछि पनि विधेयकहरू आउन खोजे। अहिले पनि काठमाडौंको समस्या एउटा छ। बाहिरको समस्या एउटा छ। बाहिर गुठीहरूबाट, गुठीका नाममा जनता प्रताडित छन्। शोषणमा परेका छन्, शोषित भएका छन्। त्यसकारण ती ठाउँहरूको व्यवस्था गर्नु एउटा कुरा हो र काठमाडौंमा जुन ढंगले निजी गुठी सञ्चालनमा आएका छन्। ती निजी गुठी त्यसैगरी सञ्चालन सुरक्षित ढंगले हुनुपर्छ भन्ने नै हो।

तर, कुरा मिसमास गरेर अत्यन्तै भ्रमपूर्ण ढंगले त्यसलाई उछालियो। घाँसको एउटा हरियो स्याउलोभित्र, हरेउ त एउटा नै हुन्थ्यो। डालो एउटा थियो। हजारवटा हरेउ देखापर्ने स्थिति बन्यो। त्यसकारण भर्खरै माननीय भूमिसुधारमन्त्रीले केही सरोकारवालासँग परामर्श गर्नुपर्ने, छलफल गर्नपर्ने, विज्ञहरूका पनि राय सुझावहरू लिनुपर्ने देखिएको र यो भ्रमपूर्ण वातावरण सिर्जना गरेर त्यसभित्र नेपाली जनताले लडेर ल्याएको लोकतन्त्रविरोधी शक्ति घुसेर, लोकतन्त्रका जरा काट्ने कैंचीहरू चलमलाउन थालेको देखेपछि उहाँले आफूले राष्ट्रिय सभामा पेस गरेको विधेयक केही समयअगाडि फिर्ता लिनुभयो भन्ने मैले सञ्चारमाध्यमबाट भर्खरै थाहा पाएको थिएँ। मलाई लाग्छ माननीय मन्त्रीको डिसिजन वाइड डिसिजन हो। म त्यसलाई एकदम दृढ समर्थन गर्छु।

माइतीघर त साँच्चिकै माइतीघर रहेछ
अब यतिबेला देशवासी तमाम् दाजुभाइ दिदीबहिनीहरूले सोच्नुपर्ने अवस्था आएको छ। कहिले एउटा विधेयक भन्यो माइतीघर मण्डला, कहिले अर्को विधेयक भन्यो माइतीघर मण्डला। विधेयक त छलफल गर्न संसद् छ नि। संसद्मा छलफल गर्न सकिन्छ। राय सुझाव लिन सकिन्छ। सरोकारवालासँग कुरा गर्न सकिन्छ। सरोकारवालाहरूले हामीलाई भन्न सक्छन्। तर, माइतीघर त साँच्चैको माइतीघर रहेछ। यताउति केही प¥यो कि गुरुरु कुदेर मलाई घरमा यस्तो गरे भनेर माइतीघर जाने।

अब जसो गरे पनि अनवरत् आन्दोलन। मैले अस्तिको दिन एयरपोर्टमा पनि भनें, नेपालमा संघर्ष गरेर, बलिदान दिएर दुःख कष्ट बेहोरेर, लडाइँ, संघर्ष गरेर हामीले प्राप्त गरेको हो यो सफलता। यस आन्दोलनबाट आएको हो अहिलेको लिडरसिप। अहिलेको लिडरसिप कुनै फरक ढंगबाट आएको लिडरसिप होइन। अहिलेको आन्दोलनबाट, विगतका आन्दोलनबाट आएको, आन्दोलनका उतार–चढाव देखेको लिडरसिप छ।

यतिबेला आन्दोलन गरिराख्नुपर्दैन। लोकतन्त्रमा संवादबाट सबै कुराको समाधान गर्न सकिन्छ। संवादबाट समाधानको बाटो उचित बाटो हो। द्वन्द्वग्रस्त ठाउँहरू, द्वन्द्वरत ठाउँहरू संवादबाट टुंगिन्छन्। लडाइँ भइराखेको ठाउँमा संवादबाट टुंगिन्छ। हाम्रो देशमा पनि द्वन्द्व थियो, संवादबाट टुंगियो। लडाइँबाट टुंगिएन। संवादबाट टुंगियो। लडाइँ संवादबाट टुंगिन्छ, वातचितबाट टुंगिन्छ भने सानातिना कुरा वातचितबाट नटुंगिने होइन। यो थाहा नभएको कुरा होइन कसैलाई। तर, आवेश, उत्तेजना फैलाएर वातावरण बिगारेर अनि आफ्नो दुनो सोझ्याउन खोज्ने ? त्यसका निम्ति सधैं माइतीघर मण्डला, सधैं सडक, सधैं सडक ! यो गरिरहनुपर्ने आवश्यकता छैन। म फेरि पनि भन्छु, यो सरकार जनताको सरकार हो।

जनताले चुनेको सरकार हो। जनताले जे भन्छन्, जनता जे चाहन्छन्, जनताको हित जे गर्दा हुन्छ, त्यही गर्छ यस सरकारले। देशको समृद्धि र विकास यसको अभीष्ट हो। तसर्थ म सबैलाई भन्न चाहन्छु, यस्ता कुराहरूमा लाग्नु हुँदैन। यो लोकतन्त्रविरोधी गतिविधि, लोकतन्त्रलाई कमजोर पार्ने गतिविधि, विकासका कामतर्फ सरकारलाई अगाडि बढ्न नदिने गतिविधि र अनुचित, अवाञ्छित गतिविधि हुन्। केही कुराहरू वास्तवमा सामूहिक छैनन्, समायानुकूल छैनन्, उपयुक्त र आवश्यक पनि छैनन्।

म आह्वान गर्न चाहन्छु, सबैलाई जसका असन्तुष्टि छन्, जे असन्तुष्टि छन्, जे मतभेद छन् आउनुस् बसौं छलफल गरौं। आफ्नै जिद्धि पूरा हुनुपर्ने कुरा त गर्न सकिँदैन। छलफलबाट कुराहरू निस्किन्छन्। त्यसबाट संवादका तरिका हुन्छन्। भनेजति सबै कुरा उचित छन् कि छैनन् ? विचार गरौं। देशलाई फाइदा हुने, जनतालाई फाइदा हुने, लोकतन्त्र सुदृढ हुने देश अगाडि बढ्ने काम गरौं। सरकार खुला छ, तयार छ सदैव संवादका निम्ति, कुराकानीका निम्ति। समस्या सुन्नका निम्ति, समाधान गर्नका लागि सरकार तयार छ।

म नेपाली जनतालाई आह्वान गर्न चाहन्छु, हामीले पटकपटक लडेर लोकतन्त्र ल्यायौं तर हामीलाई भड्काई–भड्काई, बिथोली–बिथोली फेरि वातावरण बिगारी–बिगारी हामीले मौका पाउँदा पनि गुमाएका छौं।
२००७ सालको आन्दोलन सफल भयो तर त्यो आन्दोलनलाई थिग्र्याउन कति वर्ष लाग्यो ? आठ वर्ष थिग्रिन लाग्यो, डेड

दुई वर्षमा खत्तम भयो।
राजनीतिक शक्तिहरूलाई म आग्रह गर्न चाहन्छु, पटक–पटक जनताका अधिकार दरबारमा बुझाइएका इतिहास आवेश, उत्तेजना र भावनामा बगेर नदो-याऊँ। हामीले जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्नु हाम्रो कर्तव्य हो। त्यस कुरामा ध्यान दिऔं, राजनीतिक शक्तिहरूलाई पनि म भन्न चाहन्छु, पार्टीहरूलाई पनि म भन्न चाहन्छु।

जनतालाई म आग्रह गर्न चाहन्छु, हामीले लडेर, बलिदान दिएर ल्याएको लोकतन्त्र पछाडि बसेर प्रोभोक गर्ने तत्वहरूलाई कहिले लाठी लाग्दैन। ती प्रोभोक गरेर अघि छड्केका हुन्छन्। अनि सर्वसाधारणलाई पार्दिन्छन्। अनि पछि भन्छन्, नोक्सान भयो, क्षति भयो, के ग-यो यो सरकारले। फेरि गराउने तिनीहरू नै हुन्। यस्तो कुराबाट हामी अब पनि सजग नहुनु उचित हुँदैन, मेरो आग्रह छ यो। जनताले लोकतन्त्र लडेर ल्याएको हो। जनताले लोकतन्त्रको रक्षा गर्न एकताबद्ध भएर अगाडि बढ्नुपर्छ।

सञ्चार जगत् लोकतन्त्रको पिलर हो
सञ्चार जगत्लाई म भन्न चाहन्छु, सञ्चार लोकतन्त्रको एउटा पिलर हो। त्यसै कारण लोकतन्त्रलाई राज्यको चौथो अंग पनि भनिन्छ। तर, आज हामी एउटा संक्रमणकालीन अवस्थामा छौं, सञ्चार क्षेत्रमा भन्ने हो भने। फेसबुकको सञ्चालकले फेसबुक पैदा गरेर गल्ती गरें कि के हो ? यसै भनेको होइन। मैले गल्ती गरें यसै भनेको होइन।

हामीले हाम्रो सामाजिक मूल्य–मान्यता मर्यादा बिर्सनु भएन। हाम्रो समाज एउटा शिष्ट, सभ्य र मर्यादित समाज हो। हाम्रा टेलिभिजनले तपाईं भन्न कसैलाई पनि जान्दैनन्। तपाईं भन्ने नेपाली भाषाको शब्दै हराइसक्यो। हाम्रो सञ्चारमाध्यमले हाम्रो भाषा, संस्कृतिका कुरा गर्छ। नेपाली भाषामा त बाबुलाई तपाईं नै भन्ने चलन हुन्छ। बाबुलाई पनि तिमी, आमालाई पनि तिमी, हजुरआमालाई पनि तिमी, हजुरबाबुलाई पनि तिमी यो त नेपाली भाषा, नेपाली सभ्यता, नेपाली संस्कृति भित्र पर्दैन। कतिलाई मन पर्दैन फेरि मैले भनेको कुरा। सबै समान हुन् भन्ने मात्र पर्ला। बोल्दाखेरि कुनै भाषामा जेन्डर छुट्टिएको हुँदैन। कुनै भाषामा आदरार्थी शब्द हुँदैन।

कुनै भाषाको आफ्नो मर्म हुन्छ। हाम्रो भाषाको आफ्नै मर्म छ। त्यो मात्र होइन, सामाजिक सञ्जालको अवस्था के छ ? र, सामाजिक सञ्जाललाई कुरो थापेर हाम्रा स्थापित सञ्चारमाध्यमहरू पनि तिनलाई फलो गर्नतिर लाग्ने हो भने भाषा, सभ्यता, शैली, बोलाइ, चलाइमा हामी कस्तो समाज सिर्जना गर्छौं ?

त्यसकारण मेरो आग्रह छ, हामीले हाम्रो समाज निर्माण गर्ने हो। जसलाई मैले गाली गरें उसलाई मात्र त्यो गाली लागेको हो भने सामाजिक क्षेत्रमा सञ्चारमाध्यमबाट बोलिएको कुरा त्यो सार्वजनिक नै भएको हुन्छ। त्यो सार्वजनिक नै भएको कुराले अरूलाई पनि असर गरिराखेको हुन्छ। नयाँ पिँढीलाई, बालबालिकालाई बढी असर गरेको हुन्छ। यस कुरामा अलिक संवेदनशील हुनुपर्छ कि ?

मैले, केही आफूलाई विद्वान भन्नेहरूले बोलेको सुनेको छु, बोलेको सुन्दा सरम लाग्छ। सभ्यताका सीमाहरू अचम्म लाग्छ। संस्कृतिको रक्षा भन्ने शब्द बोलेको हुन्छ तर त्यहाँ भित्र अमर्यादा, अभद्रता, सांस्कृतिक मूल्यहरूको अभाव देखिएको हुन्छ। त्यसकारण मेरो आग्रह यति मात्र हो, यो समाजमा म मात्र बाँच्नुपर्ने होइन। मैले मात्र भविष्य र परिणाम भोग्नुपर्ने होइन।

म सबैलाई आग्रह गर्न चाहन्छु, हामी सबै परिवारमा, समाजमा मर्यादित भएर बाँच्नुपर्छ। आफ्ना कुराहरू भनौं, ठीक छ। तर, तथ्यपूर्ण, तर्कपूर्ण र मर्यादित ढंगले भनौं भन्ने मेरो आग्रह हो। त्यसकारण म अहिले यत्ति भनेर टुंग्याउँछु। तपाईंहरू सबैको भलो होस्। धन्यवाद।
( प्रधानमन्त्री केपी शर्माले ३ असार, २०७६ मा पत्रकार सम्मेलनमा व्यक्त गर्नुभएको विचारको पूर्णपाठ)

प्रकाशित: ४ असार २०७६ ०३:१५ बुधबार

केपी_शर्मा_ओली लोकतन्त्र मोर्चाबन्दी