गुमा इल गमाती
उत्तर अफ्रिकी देश लिबियामा २ महिनाभन्दा लामो समयदेखि लडाइँ जारी छ। लिबियाली सेनाबाट अलग भएका जनरल खालिफा हाफ्टरका सेनाले तत्कालै राजधानी त्रिपोली कब्जा गर्ने ठानिएको लडाइँ अटुट द्वन्द्वमा परिणत भएको छ।
६ सयभन्दा बढी मानिस मारिएका छन्। ३ हजारभन्दा बढी घाइते छन् भने झन्डै ९० हजार मानिस विस्थापित भएका छन्। हजारौँ घर ध्वस्त भएका छन्। जथाभाबी बमबारी गर्दा मानव बस्ती ध्वस्त भएको छ। राजधानीमा फसेका झन्डै ३ हजार मानिस रमादानको महिनामा पनि त्रास बोकेर र आधारभूत आवश्यकताबाट वञ्चित भएर बस्न विवश भए।लडाइँमा कसले जित्छ, अहिलेसम्म प्रस्ट हुन सकेको छैन। सरकारी सेनाले हाफ्टरका सेना रोक्न सफल भएको छ। तत्कालै राजधानी त्रिपोलीमाथि हाफ्टर सेनाले विजय हासिल गर्ने सम्भावना न्यून छ।
दुवै पक्षका सेनालाई लडाइँ रोक्न आग्रह गर्दै संयुक्त राष्ट्रसंघले पटकपटक वक्तव्य जारी गरेको छ। तर दुवै पक्षले यो आग्रहलाई नसुनेझैँ गरेका छन्। लडाइँबाट पछि हट्न वा युद्धविराम गर्न न सरकारी सेना तयार छ न हाफ्टर सेना नै ! लडाइँ रोक्न र वार्ताको ढोका पुनः खोल्न सहमतिमा ल्याउने राष्ट्रसंघको सुरक्षा परिषद्ले गरेको पहल सफल हुन सकेको छैन।
यसको मूल कारण लिबियाको मामिलामा अन्तर्राष्ट्रिय समुदाय विभाजन हुनु हो। क्षेत्रीय र विश्व शक्तिले युद्धरत दुई पक्षमध्ये कुनै एउटाको पक्षपोषण गर्दा आगोमा घिउ थप्ने काम भइरहेको छ।
राजनीतिक समाधान सम्भव छ ?
बितेका ४ वर्षमा संयुक्त राष्ट्रसंघले लिबियामा चालु गृहयुद्धको शान्तिपूर्ण समाधानका लागि लगातार प्रयास गर्दै आएको छ। हाफ्टरका सेना त्रिपोलीतिर अघि बढिरह“दा पनि राष्ट्रसंघले अझै लिबियाली द्वन्द्वको राजनीतिक समाधान सम्भव भएको बताइरहेको छ। लिबियाली सहर घडामेसमा हुने भनिएको राष्ट्रिय सम्मेलनको केही दिनअघि हाफ्टरका सेनाले त्रिपोलीमा हमला थालेको हो।
अहिलेसम्मको घटनाक्रम हेर्दा लिबियाली द्वन्द्वको राजनीतिक समाधान हुने सम्भावना क्षीण बन्दै गएको छ। अब यसको एउटै समाधान भनेको कुनै एउटा पक्षको निर्णायक विजय नै हो।
हमलाकै कारण महिनौँ अघिदेखि तयारी भइरहेको सम्मेलन स्थगन गरियो। संयुक्त राष्ट्रसंघको सबै प्रयास निरर्थक बन्यो। सम्मेलन हुने भनिएको मितिबाट २ महिनापछि अहिले हेर्दा राष्ट्रसंघले निकै मिहिनेतसाथ गरेको शान्ति प्रक्रिया मृत्तप्रायः छ।
अहिले लडाइँमा दुवै पक्षको अवस्था उल्लेख्य रूपमा बलियो देखिन्छ। सरकारी सेनाका प्रमुख फायेज सेराजले ‘आफ्नो पिँठ्युमा छुरा’ प्रहार भएको बताए। लडाइँपूर्व सबै बैठकमा हाफ्टरलाई विश्वास गर्नु नै आफ्नो गल्ती भएको उनको भनाइ छ। धोका दिएका जनरल हाफ्टरस“ग कुनै पनि शान्ति वार्तामा आफू सहभागी नहुने सेराजले घोषणा गरेका छन्।
अर्कातिर हाफ्टर पनि आफ्नो अडानमा छन्।
उनले संयुक्त राष्ट्रसंघ वा अरू कुनै राजनीतिक पात्रले पहल गरे पनि युद्धविराम वा कुनै राजनीतिक प्रक्रियामा आफू जान तयार नरहेको आफ्नो अडान दोहो¥याएका छन्। उनी त्रिपोलीमा हमला जारी राख्ने पक्षमा देखिएका छन्। ‘निस्सन्देह राजनीतिक समाधान अझै पनि हाम्रो लक्ष्य हो। तर राजनीतिमा फर्किनुअघि सैनिक मामिला टुंगो लगाउनुपर्छ,’ हाफ्टरले एउटा फ्रान्सेली पत्रिकालाई गएको महिना भनेका छन्। अहिलेसम्मको घटनाक्रम हेर्दा लिबियाली द्वन्द्वको राजनीतिक समाधान हुने सम्भावना क्षीण बन्दै गएको छ। अब यसको एउटै समाधान भनेको कुनै एउटा पक्षको निर्णायक विजय नै हो।
सैनिक समाधानको अर्थ के हुनसक्छ ?
लिबियाली लडाइँमा रहेका दुईपक्ष मात्र सैनिक समाधानका लागि आतुर देखिएका छैनन्, लिबियामा हस्तक्षेप गरिरहेका विभिन्न क्षेत्रीय तथा अन्तर्राष्ट्रिय खेलाडीले पनि आ–आफ्ना पक्षलाई विजयी बनाउने आशामा छन्।दुवै पक्षलाई अत्याधुनिक हातहतियार धमाधम आपूर्ति गरिँदै छ। यसले लडाइँलाई अझ लामो बनाउने पक्का छ। संयुक्त राष्ट्रसंघले लिबियामा हतियार आपूर्ति पूर्ण रोक लगाए तापनि नरोकिनु अवज्ञा हो। यस्ता घटनाको सार्वजनिक रूपमा
कमै मात्र विरोध भइरहेको छ।
चालु लडाइँका सम्भावित दुई परिणाम छन्ः कि हाफ्टरका सेना त्रिपोलीमा कब्जा जमाउन सफल हुनेछ र सरकारी सेनालाई निमिट्यान्न पार्नेछ कि सरकारी सेना राजधानीबाहिर प्रत्याक्रमण गर्न सक्षम हुनेछ। पहिलो अवस्थामा लिबियामा एकजना शासकको सैनिक शासन चल्नेछ। यदि हाफ्टरले राजधानीमा आफ्नो नियन्त्रण कायम गरे भने उनले लिबियाका अन्य तीन सबभन्दा महत्वपूर्ण रणनीतिक आधारमा पनि कब्जा जमाउनेछन्। लिबियाका महŒवपूर्ण रणनीतिक आधार भन्नाले देशको राजनीतिक केन्द्र, राज्यका प्रमुख निकाय र तेल हुन्। तिनमा कब्जा जमाएपछि हाफ्टरको नियन्त्रण अझ बलियो हुनेछ। युएई, साउदी अरब र इजिप्टको समर्थनमा उनी गद्दाफीजत्तिकै शक्तिशाली हुनेछन्।
दोस्रो विकल्पतिर लिबिया गए देशले एउटा राजनीतिक समाधान पाउनेछ। सरकारी सेनाले यदि पश्चिम र दक्षिणमा हाफ्टरको अवस्थालाई उल्टाउन सके उनी राजनीतिक र सैनिक दुवै हिसाबले कमजोर हुनेछन्। त्यो पराजयले भविष्यमा हुने राजनीतिक संवादबाट हाफ्टर पछि हट्नेछन्। लिबियामा स्थायी शान्ति र स्थायित्व स्थापनाका लागि हाफ्टर नै सबभन्दा ठूलो अवरोध मानिएको अवस्थामा एउटा राजनीतिक पक्षका रूपमा उनको पराजय लिबियाको भविष्यका लागि राम्रै हुनेछ।
लिबियाली द्वन्द्वमा सैनिक समाधानको ‘प्रतीक्षा’ गर्नु भनेको धेरै धनजन क्षतितर्फ लाग्नु हो। संयुक्त राष्ट्रसंघको विशेष प्रतिनिधि घसन सलामीले हालै भनेजस्तो ‘त्रिपोलीवरपर लडाइँ चालु राख्नुको अर्थ हो– लामो र रक्तपातपूर्ण युद्ध जारी राख्नु।’
अन्तर्राष्ट्रिय समुदायले राजनीतिक इच्छाशक्ति देखाए लिबियाली जनताको हत्या रोक्न र पीडा समाधान गर्न सकिन्छ।
(लेखक लिबियाका प्राज्ञ तथा राजनीतिज्ञ हुन्।)
स्रोतः अल जजिरा
नेपाली अनुवादः नीरज लवजू
प्रकाशित: ३१ जेष्ठ २०७६ ०५:३६ शुक्रबार