विचार

चीन–अमेरिका व्यापार युद्धको चुरो

चिनियाँ राज्य परिषद्को प्रेस कार्यालयले ‘चीन–अमेरिका व्यापार सम्झौता वार्तामा चीनको अडान’ विषयमा गत आइतबार श्वेतपत्र सार्वजनिक गरेको छ । अमेरिकासँग व्यापार युद्ध सुरु भएको एक वर्ष आफूले प्रयास गरेका सहमतिका आधार तथा वास्तविकता देखाउन श्वेतपत्र जारी गरिएको चीनले दाबी गरेको छ । चीन र अमेरिकाबीच जुन प्रकारको व्यापार युद्ध भइरहेको छ, जसमा कोही विजेता बनेको छैन, बरु दुवै पक्ष हारिरहेका छन् । यो कुरा चीन–अमेरिका दुवैले स्वीकार गरेका छन् । यद्यपि ११ चरणमा वार्ता हुँदा पनि दुवै पक्ष सहमतिमा पुग्न सकेका छैनन् । तसर्थ १ वर्षमा दुवै मुलुकले धेरै कुरा गुमाइसकेका छन् ।

गत मार्च ५ मा १३औँ चिनियाँ राष्ट्रिय जनकंग्रेसको दोस्रो अधिवेशन उद्घाटन सत्रमा सरकारी प्रतिवेदन पेस गर्दै चिनियाँ प्रधानमन्त्री ली खछ्याङले सन् २०१८, चीनका लागि निकै कठिन वर्ष भएको बताएका थिए । उनले इंगित गर्न खोजेको अमेरिकासँगको व्यापार युद्ध नै थियो । अनि यो व्यापार युद्धका नायक अथवा खलनायक एउटै व्यक्ति हुन्, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ।

बाहिर जेसुकै भने पनि अमेरिका चीनको प्रगति रोक्न चाहन्छ । व्यापार युद्धको चुरो कुरो नै यही हो ।

राष्ट्रपति निर्वाचनको अभियानमै ट्रम्पले ‘अमेरिका पहिलो’ भन्ने कथित राष्ट्रवादी नारा अघि सारेका थिए । सन् २०१७ मा चीनबाट अमेरिका निर्यात भएका व्यापार परिमाण ५ खर्ब ५ अर्ब ५९ करोड अमिरिकी डलर थियो भने अमेरिकाले चीनमा निर्यात गरेको परिमाण १ खर्ब ३० अर्ब ३९ करोड डलर थियो । एक वर्षमै अमेरिकाले चीनसँग मात्र ४ खर्ब डलरभन्दा बढीको व्यापार घाटा बेहोरेको देखिन्छ । सन् २००८ मा अमेरिकामा आर्थिक संकट चुलिँदा चीन एक्लैले १० खर्ब डलरको ट्रेजरी बिल किनेर अमेरिकी अर्थतन्त्र ध्वस्त हुनबाट जोगाएको थियो । विश्व शक्तिका रूपमा रहेको अमेरिकालाई चीनको आर्थिक विकासको डाह त्यस बेलादेखि नै लागेको थियो । तसर्थ ट्रम्पको मुख्य उद्देश्य चिनियाँ आर्थिक वृद्धिदर रोकेर अमेरिकालाई सधैँ विश्वको नम्बर १ अर्थतन्त्रमा उभ्याइराख्नु हो । सन् २००८ मा आएको आर्थिक मन्दीबाट अमेरिका चीनको अर्थतन्त्रमा नजानिँदो पाराले आश्रित बन्न थालेको कुरा व्यापारिक पृष्ठभूमिका ट्रम्पलाई थाहा नहुने कुरै थिएन ।

चीनले श्वेतपत्र प्रकाशन गरेर विश्वसामु चीन–अमेरिका वार्ताको वास्तविकता जानकारी गराएको छ । ८ हजार ३ सय चिनियाँ अक्षरमा लेखिएको उक्त श्वेतपत्रमा चीन–अमेरिका व्यापार वार्ताका तीन वास्तविकता उजागर गरिएका छन् । वार्ता असफल हुनाका मुख्य कारण अमेरिकाले तीनपटक आफ्नो वचन फेरेको र अन्तर्विरोध देखाएको कुरा श्वेतपत्रको पहिलो वास्तविकता हो । चीनले विज्ञान प्रविधिमा गरेको प्रगति अमेरिकाले स्वीकार नगरेको विषय श्वेतपत्रको दोस्रो वास्तविकता हो । अमेरिकाले भन्सार कर असुलेर अरूलाई क्षति पु¥याउने लक्ष्य राखेको छ तर यसले अमेरिकालाई महान् नबनाएर उसैलाई थप क्षति पु¥याउँछ भन्ने जानकारी दिनु श्वेतपत्रको तेस्रो वास्तविकता हो । यसको सार के हो भने बाहिर जेसुकै भने पनि अमेरिका चीनको प्रगति रोक्न चाहन्छ । व्यापार युद्धको चुरो कुरो नै यही हो ।

सन् २०१९ को अप्रिलसम्ममा चीनले अमेरिका निर्यात गरेको परिमाण लगातार ५ महिनासम्म तथा अमेरिकाले चीन निर्यात गरेको परिमाण लगातार ८ महिनादेखि घटिरहेको छ । यसले दुवै मुलुकलाई क्षति पुगेको स्पष्ट छ । चीन र अमेरिकाबीच सन् २०१८ फेब्रुअरीबाट व्यापार युद्ध सुरु भएको हो । सन् २०१८ मेमा व्यापार युद्ध नगर्ने सहमति सार्वजनिक भएको १० दिनपछि नै अमेरिकाले चिनियाँ उत्पादनको भन्सार कर थप गर्ने घोषणा ग¥यो । सन् २०१९ मे महिनामा अमेरिकाले २ खर्ब डलरका चिनियाँ सामानको भन्सार कर १० प्रतिशतबाट बढाएर २५ प्रतिशत पु¥याइसकेको छ ।

अमेरिकाले भन्सार कर बढाएपछि चीनको भन्सार कर समितिले सन् २०१९ को तेस्रो घोषणा गर्दै जुन १ देखि केही अमेरिकी उत्पादनका सामानको भन्सार कर थपेको छ । जसअनुसार अमेरिकामा उत्पादित लगभग ६० अर्ब अमेरिकी डलरका आयातित सामानमध्ये केहीका लागि २५ प्रतिशतसम्म कर असुलेको छ ।  चीन–अमेरिका व्यापार युद्धले अमेरिकी उद्यमहरूको उत्पादन खर्च वृद्धि भएको छ भने बजारभाउ बढ्नाका साथै अमेरिकी आर्थिक वृद्धि तथा जनजीवनमा प्रत्यक्ष प्रभाव परिसकेको छ । त्यसैगरी अमेरिकाले चीनमा गर्ने निर्यात पनि घटेको छ । अमेरिकी वाणिज्य संघ लगायतका संस्थाले सार्वजनिक गरेका संयुक्त प्रतिवेदनअनुसार चीनबाट अमेरिका निर्यात हुने सबै उत्पादित वस्तुमा २५ प्रतिशत भन्सार कर असुलेमा आगामी १० वर्षमा अमेरिकाको कूल गार्हस्थ्य उत्पादनमा १० खर्ब अमेरिकी डलरभन्दा बढी ह्रास आउनेछ ।

व्यापार युद्धले दुवै देशमा भएका आपसी लगानीलाई पनि असर पारेको छ । चीनले अमेरिकामा गरेको लगानी निरन्तर घटिरहेको छ । त्यसैगरी अमेरिकाले चीनमा गरेको लगानीको वृद्धिदर पनि घट्दै गएको छ । यसैको प्रत्यक्ष प्रभाव विश्व व्यापार संगठनको विश्व व्यापार वृद्धिदरमा पनि परेको छ । विश्व व्यापार संगठनले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०१९ को विश्वको व्यापार वृद्धिदर पहिले प्रक्षेपण गरिएको ३.७ बाट घटेर २.६ प्रतिशत मात्र हुनेछ ।

अहिले अमेरिकाले चीनविरुद्ध लगाएका बौद्धिक सम्पत्ति चोरी, मुद्रा हेरफेर, राज्यप्रायोजित औद्योगिक नीति अपनाएको जस्तै आरोप सन् १९८० को दशकमा जापानलाई लगाएको थियो भने जापानलाई नै सबैभन्दा ठूलो आर्थिक शत्रु मानेको थियो । सन् १९८१ जनवरीमा रोनाल्ड रिगनले अमेरिकाको राष्ट्रपति बनिसक्दा कर कटौती गरेर अमेरिकी अर्थतन्त्र बलियो बनाउने लोकप्रिय नीति अघि सारे । त्यतिबेला अमेरिकाको राष्ट्रिय आयको घरेलु बचतदर ७.८ प्रतिशत थियो । तर अढाई वर्षभित्रै घटेर ३.७ मा झ¥यो । अमेरिकाले यसको दोषचाहिँ जापानमाथि लगायो । सन् १९८५ सम्म अमेरिकाले बेहोर्दै आएको व्यापार घाटाको ४२ प्रतिशत जापानसँग मात्रै थियो । तसर्थ जापानको आलोचना गरी उसका सामानमा अन्धाधुन्द भन्सार कर बढाउने काम भयो जसको अगुवाइ अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटहाइजरले गरेका थिए । अहिले चीनविरुद्ध व्यापार युद्धमा पनि उनैको हात छ । रिगनले ‘अमेरिकाको नयाँ बिहानी’ नीति ल्याएका थिए भने ट्रम्पले ‘अमेरिकालाई फेरि महान बनाऔँ’ नीति ल्याए । दुवै नीतिको समानता के हो भने कर कटौती गर्ने र अर्को देशको प्रगति छेक्ने । सन् २०१८ को अन्त्यसम्ममा अमेरिकी घरेलु बचतदर २.८ प्रतिशतमा सीमित भएको छ । यो अमेरिकाको आन्तरिक सन्तुलनको सबैभन्दा खराब पक्ष हो । यतिबेला अमेरिकी व्यापार घाटाको ४८ प्रतिशत चीनसँग मात्र छ । यथार्थमा अमेरिकाको व्यापार घाटामध्ये चीनमा निर्मित सामानको हिस्सा निकै कम छ ।

चीन र अमेरिकाबीच व्यापार युद्धका बाछिटा अन्यन्त्र पनि देखिन थालेका छन् । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले मे २९ मा फक्स बिजनेस टेलिभिजनमा अन्तर्वार्ता दिँदै चिनियाँ ह्वा वै कम्पनी अमेरिकी अर्थतन्त्र तथा राष्ट्रिय सुरक्षाको सबैभन्दा ठूलो खतरा भएको औँल्याए । तर यसको आधार भने खुलाएनन् । अमेरिकाले चिनियाँ विद्यार्थीलाई दिने भिसाका प्रावधान कडा बनाएको छ भने भिसा परीक्षण अवधि लामो बनाएको छ । त्यसैगरी सुरुमा दिइने अन्तरिम भिसाको समयावधि छोटो बनाउँदै सकेसम्म कम चिनियाँलाई दिने नीति उसले लिएको छ । अमेरिकी सिनेटका केही सांसदले देशको सुरक्षा चुनौती घटाउन चिनियाँ सैनिक अनुसन्धान संस्थानमा कार्यरत व्यक्तिलाई भिसा नदिन संसदसमक्ष प्रस्ताव पेस गरेका छन् । चीन–अमेरिका व्यापार युद्धले चीनलाई जति असर गरेको छ त्यसभन्दा बढी अमेरिकालाई गरेको छ । चीनको प्रगतिको डाह गर्दा अमेरिका आफ्नै भड्खालोमा फस्दै गएको छ । चिनियाँ अन्तर्राष्ट्रिय रेडियो (सिआरआई) नेपाली सेवामा विदेशी विशेषज्ञका रूपमा कार्यरत  

 

प्रकाशित: २३ जेष्ठ २०७६ ०४:२१ बिहीबार

व्यापार_युद्ध बेइजिङ_डायरी वार्ता