विचार

पुष्पकमलसँग अनुरोध

डा. ऋषिराम शर्मा

बाह्र वर्षे सशस्त्र विद्रोह र १३ दिने भीषण जनआन्दोलनको बलमा मुलुकमा २०६३ सालमा निरंकुश राजतन्त्रलाई घुँडा टेकाउने मध्येका गणतन्त्रका महानायक पुष्पकमल दाहाल 'प्रचण्ड' पहिलो संविधानसभाको चुनावबाट प्रधानमन्त्री चुनिएपछि जब भारत भ्रमणमा जानुभयो तब त्यस बेलाका भारतीय प्रधानमन्त्री मनमोहन सिंहसँग अंकमाल गर्दै भनेका थिए– ‘हामीले क्रान्तिका कथा किताबमा पढेका थियौँ तपाईंले गरेरै देखाइदिनुभयो’।

सशस्त्र विद्रोहका बेला तत्कालीन माओवादी पार्टीले राजतन्त्रात्मक संसदीय व्यवस्थाविरुद्ध सर्वहारा वर्गको राज्यसत्ता जनगणतन्त्र नेपाल स्थापना गर्ने सपना दिएर सुरु गरेको तर १२ वर्षपछि १२ बुँदे सम्झौतामार्फत शान्ति प्रक्रियामा विद्रोह बिसाउनुपरेको थियो। त्यस कहालीलाग्दो अवधिमा भएका शहादत, बलिदान, राज्य र विद्रोही दुवै पक्षबाट गरिएका हत्या र व्यक्ति बेपत्ताबारे अहिले कुरा गरेर खाटा बसेको घाउ कोट्याउनु उपयुक्त नहोला, तर यति त पक्कै भन्न सकिन्छ– बाबुराम, प्रचण्ड, वैद्य र विप्लवहरूको नेतृत्वको त्यति विशाल पार्टी कसरी ४ चिरामा विभाजन भयो ! आपूmले १२ वर्षसँगै विद्रोहलाई डो-याउँदै ल्याएका साथीहरू क्रान्तिलाई विसर्जन गरेको भन्दै एकाएक तपाईँलाई छाडेर बाहिरिँदै छुट्टै स–साना पार्टीमा माक्र्सवादी भाष्यका माला जप्दै विश्राम गरिरहनु भएको छ, तपाईँले भोग्नुभएको त्यो पीडा पनि हामीले देखेजानेकै कुरा हो।

दोस्रो संविधानसभामा तेस्रो दलका रूपमा चित्त बुझाउनु परेपछि गणतन्त्रका महानायकको विशाल मनले बचेखुचेको पार्टीलाई जोगाउँदै स–साना झिँजे पार्टी बटुलेर मुढो बनाउन खोज्नुभयो। अन्य पार्टीका हाँडीहरूबाट उछिट्टिएका (कार्यकर्ता, प्राध्यापक, बुद्धिजीवी...)ठेट्नाहरूसमेत बटुलबाटुल पारेर पार्टीलाई निरन्तर डो¥याउनुभयो। त्यसैका कारण ५ हजार केन्द्रीय सदस्य बनाउनुपरेको पीडा र तिनै सदस्यहरूले बच्चाले माउलाई खान खोजेभैmँ तपाईँलाई नै चिमोटेर हैरान पारेपछि एक दिन पेरिस डाँडामा आफ्नो रिस थाम्न नसकेर चेतावनीका भाषामा भन्नु भएकै थियो– ‘यस्तै हो भने यो पार्टी नै विघटन गरिदिन्छु।’

जब तपाईँहरू आपसमा अग्लो बन्ने झेली खेलमा लाग्नुहुन्छ र गोलपोस्टमा गोल गर्न हतारिनुहुन्छ, त्यो सत्ताको बल गोलपोस्टभन्दा बाहिरबाट जाने खतरा रहन्छ। आवेग नियन्त्रण गरी धैर्यपूर्वक आफ्नै ठाउँमा बसिदिनुभयो भने सत्ताले तपाईँलाई पछ्याउनेछ।

दोस्रो संविधानसभाबाट संविधान घोषणा गर्न कुन हदसम्म लचकता देखाउँदै कहिले कांग्रेस र कहिले एमालेका अनन्य मित्र र जघन्य शत्रुका कित्तामा पालैपालो उभिँदै आउनुभयो। सुरुमा सीमान्तीकृतहरूका रंगीन सपना जगाएदिएर क्रान्तिको मसाल बोक्ने सर्वहारा पार्टीको आभिजात्य शैलीको नेतामा रूपान्तरित भई क्रमशः कसरी आपैm झन्डै सीमान्तीकृत र किनारीकृत हुने अवस्थामा पुग्न थाल्नुभयो र दुब्लाउँदै जानुभयो त्यो पनि आम जगत्ले अनुभूत गरेकै छ। २०६३ सालपछिका हरेक चुनावमा मुलुकमा समग्रमा वामपन्थीकै बहुमत हुँदा पनि वामपन्थीहरूलाई गैरवामपन्थीहरूले त्यसरी नै नचाउँदै चटक देखाए, जसरी जादुगरले जमुरेलाई नचाउँछ र चटक देखाउँछ। त्यही चटकबाट प्राप्त हुने सत्ताको चास्नीमा डुब्दै निस्किँदै गर्दा कसरी स्वार्थी र वर्ण परिवर्तनकारी फोहोरी झिँगाहरू जिउभरि टाँस्सिए र हैरान पारे ! स्थानीय चुनावमा एकले अर्को वामपन्थी सिध्याउने खेलमा के–कस्ता समीकरण भए र त्यसको सम्भावित प्रतिच्छाया आसन्न आम निर्वाचनमा कसरी प्रतिविम्बित हुनेवाला थियो ? मुलुकमा पुनः त्रिशंकु सरकार बन्ने र नेताहरूको सत्ता तृष्णाको छटपटीबाट पैदा हुने जन वितृष्णाको भेलले महानायकको नेतृत्वमा आएको गणतान्त्रिक व्यवस्थाको रथका चक्का कसरी पन्चर हुनेवाला थिए ?

यी सब कुरा सपनाबाट झल्याँस्स बिउँझे दुई अहम् वाम दलका असाधारण निर्णय क्षमता भएका शीर्ष नेता कमरेड प्रचण्ड र कमरेड ओली दुवैले आफ्नो शक्ति र सीमा बुझेर चामत्कारिक, आकस्मिक र अप्रत्याशित एकता गरेर देखाइ विश्वलाई नै चकित तुल्याउने चुनावी परीक्षामा दुई तिहाइसहितको उत्कृष्ट परिणामप्राप्त गरी पार्टीलाई विजयी पनि गराउनुभयो। भीषण जनसागरले अब आइन्दा सत्ताको फोहोरी ‘रिमोट कन्ट्रोल’ बाट हुने खेल नखेल्ने तथा अँध्यारा बन्द कोठाभित्र गरिने र गरिएका भनिएका सहमतिलाई उज्यालो आँगनमा ल्याएर बिस्कुन नसुकाउने सर्तमा अत्यधिक बहुमतसाथ जिताइदिएको कुरो यहाँहरूले पक्कै बिर्सनुभएको छैन होला !
    
१२ वर्ष (२०५२–६२ ) का किंवदन्ती र रहस्यको पात्र बनेका कमरेड प्रचण्ड २०६२ सालमा एक्कासि १२ बुँदे सहमति गर्न जब बालुवाटारमा देखिनुभयो त्यसबेला उहाँलाई अनौठो ‘क्रेज’, तिर्खा र व्यग्रताका साथै आश, त्रास, सपना र पीडाका आँखाले हेर्नेहरू पनि त्यत्तिकै थिए। २०५२ सालमा संसदीय व्यवस्थाको मैदान छाडेर तपाईँहरू भीर, पाखा र पहराहरूमा जुध्न जानुभयो। जंगल र भीरमा हतियार लिएर खेल्ने कष्टभन्दा पनि बढी दुःख वा थकान अनुभूति पुनः संसदीय चुनावी मैदानमा उत्रँदा भोग्नुपरेको कुरा पनि तपाईँले बेला–बेला व्यक्त गर्नुभएकै हो।

तपाईँलाई थाहै छ– तपाईँ, केपी कमरेड र तपाईंहरू दुवैका पार्टीका सम्पूर्ण नेता कार्यकर्ता चट्टान भएर संविधान जारी गर्ने कुरामा दृढ रहे। छिमेकीको ‘इन्ट्रेस्ट’मा संविधान जारी गर्न नदिन आएको अदृश्य दबाबलाई तपाईँहरूले ढाल बनेर छेक्नुभयो। त्यतिबेला रिमोट लिएर आएका भनिएका तत्कालीन छिमेकी दूतको हस्तक्षेपलाई ठाडै अस्वीकार गरी नेपाली जनताको मनमा राष्ट्रियताको झन्डा फहराइदिनुभएको थियो।

र, आज उता स्थिर सरकारको कुर्सीमा हामीलाई संविधान बनाउन नदिन दबाब दिने भनिएका व्यक्ति विदेश मन्त्रीको आसनमा छन्। तपाईंहरू मिल्नुभयो भने उहाँले र उहाँजस्ता अरूहरूले पनि तपाईँहरूलाई आदरै गर्नु हुनेछ र गर्न बाध्य हुनु हुनेछ। आपैmँभित्र भित्र हार गुहार गर्न जानुभयो भने उहाँलाई पनि केही गर्न खसखस लाग्नु स्वाभाविकै हो। आज उहाँ कुर्सीमा नबस्दै पुनः नेपाली जनताको मन कुडिने गरी बन्द कोठाभित्र गरिएका भनिएका सहमतिका कुरूप शब्दका काँडाले आम मतदातालाई चस्काउने स्थिति पैदा नगरिदिनुहोला।

कमरेड प्रचण्ड तपाईँ यस अवधिमा दुई÷दुईपटक प्रधानमन्त्री भइसक्नुभएको छ। पार्टी अध्यक्षका रूपमा त तपाईँ ४० वर्षदेखि नेतृत्वको बागडोर हाँकिरहनुभएकै छ र तपाईँले यस राजनीतिक यात्रामा मसाल, माओवादी, एकीकृत माओवादी र मओवादी केन्द्रजस्ता नयाँ पार्टीहरू गठन गर्दै र पुराना पार्टीहरू ध्वंस गर्दै यसैलाई गौरव ठान्दैअगाडि बढ्नुभयो। तपाईँको त्यति बेलाको पार्टीको विशाल नदीबाट बाँध बाँधेर अनेकौँ नहर निस्किए। तपाईँले बचेखुचेको पार्टीको सङ्लो सोतोलाई विशाल नदी बनाउने बहानामा विभिन्न स्रोत, खोल्सा मिसिएको तपाईँको क्रान्तिकारी पार्टी, नेकपा एमालेसँग एकीकृत भएपछि पुनः स्वच्छ एवं विशाल नदी बनेको छ। अनि तपाईँ त्यही सङ्लो, विशाल र शान्त नदीको एक धीर तपस्वी बन्नुभएको छ।

कमरेड प्रचण्ड तपाईँ एउटा मात्र यस्तो पात्र हो जसका नाममा डिजिटल र प्रेस मिडियाहरूको ठूलो व्यापार चल्यो। मिडिया बजारमा तपाईँ ठूलै ‘सेलिब्रेटी’ बन्नुभयो। सेलिब्रेटीको सफलताले ‘रिल लाइफ’लाई चुम्न सक्छ तर ‘रियल लाइफ’लाई होइन। अन्त्यमा, कमरेड प्रचण्ड, क्रान्तिको १२ वर्षे बोइङका मुख्य पाइलट तपाईँ अहिले दुई तिहाइको जेटमा कोपाइलट भएर बसेको अनुभूत गर्नुभएको होला ! कतिपयले तपाईँलाई मुख्य पाइलट बन्नुप¥यो भनी पुनः चिमोट्दै होलान् र क्याप्टेन बन्ने तपाईंको, भोक जगाइदिन खोज्लान् तर आदरणीय महानायकज्यू, तपाईँ कोपाइलट होइन, पाइलटै हो। जहाज चलाइरहेको पाइलटका छेवैमा बसेर बाधा नपुयाइ ५ वर्षे उडान निर्धक्क उडाउन र आगामी चुनावको धावन मार्गमा सफल अवतरण गराउन सहयोग गर्नु होला। म अहिले आफ्नै सवारीसाधन हाँकिरहँदा ट्राफिकहरूले राखेका सचेतना बोर्डहरू झल्झली देखिरहेछु– हतार गरे भन्न सकिन्न, ढिलो गए अवश्य पुगिन्छ।

कमरेड प्रचण्ड, तपाईँ धेरै अग्लो हुनुहुन्छ। तपाईँलाई कसैले होचो भन्यो भने नपत्याउनु होला। जब तपाईँहरू आपसमा अग्लो बन्ने झेली खेलमा लाग्नुहुन्छ र गोलपोस्टमा गोल गर्न हतारिनुहुन्छ, त्यो सत्ताको बल गोलपोस्टभन्दा बाहिरबाट जाने खतरा रहन्छ। आवेग नियन्त्रण गरी धैर्यपूर्वक आफ्नै ठाउँमा बसिदिनुभयो भने सत्ताले तपाईँलाई पछ्याउनेछ। त्यति बेला तपाईँले आपूmलाई मण्डेलाका रूपमा प्रस्तुत गरेर अभिभावकीय भूमिका निर्वाह गर्न पनि सक्नु हुनेछ वा सत्ता विमानको साँचो लिएर उडान भर्न पनि सक्नु हुनेछ।

यहाँहरूलाई स्मरण रहोस्, २५ वर्षसम्म अकण्टक शासन गरेको पश्चिम बंगालको वामपन्थी सरकार आज त्यहाँ दिउँसै लाइट बालेर खोज्दा पनि नभेटिने स्थिति छ। बिन्ती छ– नेपालका जनताको सपना त्यसरी निमोठिने दिन नआओस्।

प्रकाशित: २२ जेष्ठ २०७६ ०४:५४ बुधबार

सशस्त्र_विद्रोह जनआन्दोलन विप्लव