विचार

बुद्धलाई बेलैमा नबुझ्दा

कुनै निर्माण कार्य वा उद्योग आदि सञ्चालनका लागि तयार गरिएको मुख्य योजना वा कार्यक्रमलाई‘गुरु योजना’ हो। योजनाबद्ध तथा व्यवस्थिततवरले दीर्घकालसम्मको हित हेरेर तयार पार्ने उद्देश्यले गुरु योजना निर्माण हुन्छन्। यसरी निर्माण वा सम्पन्न भएका योजनाले लामो समय उद्देश्यअनुसारको प्रतिफल हात लाग्ने विश्वाससमेत गरिन्छ। त्यसैले त सरकार वा संगठित संस्थाहरूले गुरु योजना निर्माणमै करोडौँ रुपियाँ खर्चन्छन् निर्धक्क। तर विडम्बना, भगवान् गौतम बुद्धको जन्मथलो लुम्बिनी क्षेत्रको विकास र पर्यटन प्रबद्र्धनलाई केन्द्रमा राखी निर्माण भएको गुरु योजना भने ४१ वर्षसम्म पनि अधुरै छ। जापानी नागरिक वास्तुवेत्ता प्रा. केन्जो टांगेले बनाइदिएको यो योजनालेअहिलेसम्म पनि पूर्णता पाउन नसक्नुले हाम्रो कछुवा गति प्रमाणित गरेको छ। त्यतिमात्र हैन, लुम्बिनीको महत्व बुझ्न गरिएको ढिलाइ र यसबाट पुगिरहेको नकारात्मक असरप्रतिको बुझाइ पनि उत्तिकै कमजोर छ।

लुम्बिनी विकास कोष गुरु योजनाअनुसार नै काम भइरहेको बताउँछ। उसको दाबी ‘२० प्रतिशतमात्र काम बाँकी’ रहेको भन्ने छ। त्यहाँ भइरहेका काम गुरु योजनासँग भिडाउँदा भने तथ्यहरू कोषको यो दाबीसँग मेल खाँदैनन्। धेरै खोतलखातल गर्नै पर्दैन। गुरु योजनामा उल्लिखित उक्त क्षेत्रमा बनाउने भनिएको सुविधा सम्पन्न माध्यमिक विद्यालय र यस्तैखालको अस्पताल अहिलेसम्म पनि बन्न नसक्नु कोषको दाबीमाथि औँला ठड्याउन काफी छन्। यी त प्रतिनिधिमूलक उदाहरणमात्र हुन्, निकै छन् गुरु योजनाले भनेका तर निर्माणले नचिनेका कार्यक्रम।कुनै पनि योजना सम्पन्न हुन कति समय लाग्नुपर्ने हो ? योजनाअनुसार फरक फरक होला उत्तर। तर सरकारले चाहँदा अस्पताल र विद्यालय जस्ता निर्माण एकाध वर्षमै सम्पन्न हुनुपर्ने हो। त्यसमाथि गुरु योजनामै नभए पनि यी त मानवका लागि आधारभूत आवश्यकताकै विषयसमेत हुन्। तर स्वतः निर्माण र सञ्चालनमा आउनुपर्ने विषय गुरु योजनामा सामेल हुँदासमेत ४१ वर्षसम्म पनि सम्पन्न हुन नसक्नु चरम लापरबाहीको विषय हो।यस कार्यले एकातर्फ सरकारी प्रतिबद्धताप्रति स्थानीयको विश्वास गुमेको छ भने अर्कोतर्फ गौतम बुद्धको जन्मथलो सुव्यवस्थित बनाउनका लागि आफ्नो थातथलो छाड्न तयार भएका ७ वटा मुस्लिमबाहुल्य गाउँका बासिन्दामाथि ठूलो अन्यायसमेत हो।आफ्नो प्रतिबद्धताअनुसार स्थानीय बासिन्दाले चटक्क भूगोल छाडिदिएपछि सरकारले पनि आफ्नो प्रतिबद्धताअनुसार काम गर्नुपर्दैन ?सरकारले पाठ सिक्दा राम्रैहुनेछ स्थानीयसँग।

लुम्बिनी विश्व सम्पदा सूचीमा सूचीकृत छ। सन् १९६७ मा सुरु भएको बृहत्तर लुम्बिनीका अभियन्ता स्वयं संयुक्त राष्ट्र संघका तत्कालीन महासचिव उ थान्त हुन्। लुम्बिनी विश्वका करोडौँ बुद्ध धर्मावलम्बीमात्र नभई सम्पूर्ण मानवका लागि बुझ्नु र हेर्नुपर्ने ऐतिहासिक÷सांस्कृतिक थलोसमेत हो। यस अर्थमा यो क्षेत्र विश्वकै उत्कृष्ट पर्यटकीय स्थल बन्ने हैसियत राख्छ। तर आफैँले स्वीकार गरेको गुरु योजनासमेत राम्ररी कार्यान्वयन हुन नसक्दा यो महत्वपूर्ण अवसर हामीले क्रमशः गुमाउँदै गएको हेक्का हुन जरुरी छ। हो, बर्सेनि लुम्बिनीमा आन्तरिक र बाह्य पर्यटक वृद्धि भइरहेका छन्। तर प्रश्न उठ्छ– के पर्यटकको बढ्दो गति सन्तोषजनक छ त ? के त्यसबाट नेपालले लिन सक्ने फाइदा लिइरहेको छ ? उत्तर अवश्य पनि सकारात्मक आउँदैन। जसप्रति बेलैमा सोच्न आवश्यक छ।बुद्धसँग जोडिएको मात्र हैन, कुनै पनि जन्मोत्सव, स्मृति वा सन्दर्भ दिवसहरू मनाउनुको अर्थ कर्मकाण्ड धान्नेमात्र हुनुहुँदैन। यसले सनातनीपनलाई त बचाउला तर उपलब्धि भने शून्यबाट माथि उक्लने छैन। त्यसैले बुद्ध जयन्तीका अवसरमा गरिने प्रणले मात्र यस्ता दिनको महतत्वलाई सार्थक तुल्याउन सक्छ। त्यसैले अधुरा योजना तत्काल र प्रभावकारी ढंगले सम्पन्न गर्ने प्रतिबद्धता नै आजका दिनमा बुद्ध जयन्ती मनाउनुको सबैभन्दा उपयुक्त तरिका हुन्छ। लुम्बिनीजस्तै लुम्बिनी बनाएर अरु देशले पर्यटक तानिरहेका छन्। हामीले भने न बुद्ध बुझ्यौँ न उनको थातथलोलाई विकसित गरी बढीभन्दा बढी पाहुना भित्र्याउनै सक्यौँ।

प्रकाशित: ५ जेष्ठ २०७६ ०३:३७ आइतबार

उद्योग बुद्ध गुरु_योजना लुम्बिनी