विचार

सत्यमोहन जोशीको सय वर्षे जीवनयात्रा

शान्तराज शाक्य
भनिन्छ– पूर्वजन्मको फलअनुसार नै यो जुनी व्यतीत हुन्छ रे। जीवन भोगाइमा कहिलेकाहीँ यही कुरा सम्झेर पनि हामी सन्तुष्टि लिने गर्छौँ। यो सिक्काको एउटा पाटो मात्र हुनसक्छ, अर्को पाटो हेर्दा सय वर्षअघि जन्मनुभएका सत्यमोहन जोशीको जीवन रोचक र पृथक प्रसंगहरूले भरिएको पाउनेछौँ।

काठमाडाँै उपत्यकाको सहरीक्षेत्र लालितपुरको बखुम्बहालमा एउटा सामान्य परिवारमा बुवा शंकरराज जोशी र आमा नुगलदेवीका सुपुत्रका रूपमा १९७७ वैशाख ३० गते सत्यमोहनको जन्म भएको हो। बाल्यावस्थामा धेरै समयसम्म त उहाँको बोली नै फुटेन रे। भक्तपुरस्थित सूर्यविनायकको भाकल गरेर पूजा गरेपछि मात्रै उहाँको बोली आएको थियो रे। आमाको दूध  चाहिँ चार÷पाँच वर्षसम्म चुस्न पाएँ भनेर जोशी सुनाउनुहुन्छ। उतिबेला नेवारको छोरो नेपाली भाषा उति नबुझ्ने कारण स्कुलमा मुस्किलले मात्र उत्तीर्ण हुने जोशीले ललितपुर मंगलबजार निवासी राधादेवी जोशीसँग विवाह गर्नुभयो। पछि त्रिचन्द्र कलेजमा आईए अध्ययनकै क्रममा उहाँ तथ्यांक अड्डामा जागिरे हुनुभयो। तथ्यांक संकलनबारे तालिमका सिलसिलामा उहाँ न्युजिल्यान्न्डसमेत पुग्नुभयो। उक्त देश (न्युजिल्यान्ड) पुग्ने प्रथम नेपालीका रूपमा पनि उहाँ परिचित हुनुहुन्छ। देशभित्र तथ्यांक संकलन गर्ने क्रममा गाउँघर घुम्नु परेपछि जोशीको जीवनमा एउटा नयाँ अध्याय सुरु भयोः

चरी बस्यो पीपलको पातैमा
छैन रुमाल के दिने हातैमा
चरीले के लेख्यो पातैमा
ज्यानको माया छ मेरो साथैमा

चरीसँग आफ्नो जीवन तुलना गर्न रुचाउने जोशीले उतिबेला गाउँघरमा गुञ्जिने यिनै लोकभाका टिपेर सर्वप्रथम शारदा पत्रिकामा प्रकाशन गराउनुभयो। उक्त लोकगीत तत्कालीन समय सन्दर्भसँग अत्यन्तै मेलखाएको भनेर शारदा पत्रिकाले सम्पादकीयमै जोशीको प्रशंसा गरेको थियो। यही विषयसँग गाँसिएको ग्रन्थ ‘हाम्रो लोक संस्कृति’ लेखेबापत सत्यमोहनले मदन पुरस्कार पनि पाउनुभयो। यो पुरस्कार नै उहाँको जीवनको मार्गचित्र बन्यो। २०१५ सालको आमचुनावपछि परिवर्तित सरकारले पुरातत्व र संस्कृति विभाग नै स्थापना ग¥यो। जुन विभागको प्रथम निर्देशकका रूपमा काम गर्न मदन पुरस्कार प्राप्त सत्यमोहन जोशीलाई नै प्रस्ताव आयो। यही नौलो उत्तरदायित्व सम्हाल्न जोशीले जनगणना गर्ने जागिर छाडेर पुरातत्व र संस्कृति विभागमा काम सुरु गर्नुभयो। त्यसपछि नेपालको पुरातात्विक र सांस्कृतिक सम्पदा र वैभवबारे चिन्तन गर्दै जानुभयो। पाँच हजार वर्षपूर्व पाषाण युगका विविध हतियार संरक्षण कार्य होस् वा राजा मानदेवका पालामा बनेको भगवान् विष्णुविक्रान्त (वामन) को कलात्मक मूर्ति होस्, देशका अनेक पुरातात्विक एवं सांस्कृतिक निधिहरूको पहिचान र संरक्षणमा अहोरात्र खट्नुभयो। भक्तपुरको लाल बैठकलाई राष्ट्रिय चित्र संग्रहालयका रूपमा उहाँकै पालामा परिणत गरियो। यति मात्र होइन, उहाँले नेपाली पुरातात्विक र सांस्कृतिक निधिलाई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत प्रदर्शन गराउनुभयो। पाँचौ शताब्दीका राजा मानदेवदेखि बीसौँ शताब्दीका राजा महेन्द्रसम्मका मुद्राहरू क्रमबद्ध रूपमा राखेर नेपाली राष्ट्रिय मुद्रा नामक ग्रन्थ तयार पार्नुभयो। पछि सोही ग्रन्थबाट पनि जोशी मदन पुरस्कार हात पार्न सफल हुनुभयो।

सय वर्षसम्म बाँच्न सफल हुनुको रहस्य के हो ? मुसुक्क हासेर जोशी जवाफ दिनुहुन्छ – ‘जीवनमा चिन्तन गर्नु तर चिन्ता नगर्नू। बूढेसकाललाई बोझभन्दा पनि ईश्वरीय वरदानका रूपमा लियो भने निरोगी र लामो आयु हुन्छ।’

काठमाडौँको जमलस्थित एक टुक्रा जग्गा टेन्डरमा किनेर नाचघरको परिकल्पना गरी विस्तार र विकास गर्ने पहिलो व्यक्ति उहाँ नै हुनुहुन्छ।
विं सं. २०१७ पुस १ गते राजनीतिक परिवर्तन अर्थात् राजा महेन्द्रले राजकीय कू गरेपछि पुरातत्व र संस्कृति विभागको निर्देशकबाट बर्खास्त गरिएको पत्र उहाँलाई थमाइयो। अनि जोशीले आफ्नो दुई वर्षे कार्यकालको स्मरणमा ‘पुरातत्व एक रोचक कथा’ ग्रन्थ लेख्नुभयो। यसलाई मदन पुरस्कार गुठीले प्रकाशनमा ल्यायो। पुरातत्व र संस्कृति विभागलाई शिखरमा पु¥याउने लक्ष्य राखेका जोशी एकाएक शून्य धरातलमा झर्नुपर्दा उहाँमा निराशा उत्पन्न हुुन स्वाभाविकै हो। तर पनि उहाँ समय र परिस्थितिबाट विचलित हुनुभएन।

नेपाली भाषाको विशेषज्ञ भई चिनियाँहरूलाई नेपाली भाषा पढाउने कार्यभार बोकेर जोशी २०२२ सालमा चीनको पेकिङस्थित क्याम्पोसुयेन विश्वविद्यालयमा जानुभयो। चीन बस्दा जोशीले त्यहाँको माटोमा नेपाली गन्ध पाउनुभयो अर्थात् १३औँ शताब्दीमा नेपालबाट चीन पुग्नुभएका कलाकार अरनिको र उहाँले तयार पारेका कलाकृतिसँग परिचित हुने अवसर पाउनुभयो। साथै पछि जोशी, नेपालका ऐतिहासिक पात्र कलाकार अरनिकोलाई नेपालीमाझ चिनाउने मुख्य अध्येतासमेत बन्नुभयो।

चार वर्ष चीन बसाइपछि जोशी नेपाल फर्किनुभयो। तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सह–सदस्यका रूपमा उहाँले काम गर्नुभयो। प्रदीप रिमाल, प्रा. चूडामणि बन्धु, बिहारीकृष्ण श्रेष्ठ र स्थिरजंगबहादुर सिंह रहेको टोली नेतृत्व गर्दै कर्णाली अञ्चलको लोक संस्कृति सर्वेक्षण कार्यमा उहाँ जुट्नुभयो। मुख्यतः जुम्ला सिँजाखोला उपत्यकाको जनजीवनबारे खोजमूलक तथ्यहरू संकलन गरी २०२८ सालमा कर्णाली लोक संस्कृति विषयमा पाँच भागमा पुस्तक प्रकाशन गराउनुभयो। सोही पाँचौँ भाग पुस्तकले मदन पुरस्कार पाउन सफल भयो। जोशीले भने कर्णाली लोक संस्कृतिको खण्ड १ (दर्शन विज्ञान) पुस्तकबाट मदन पुरस्कार पाउनुभयो। यसरी नेपालको इतिहासमा तीनपल्टसम्म मदन पुरस्कार पाउने प्रथम स्रष्टा पनि उहाँ नै हुनुभयो।

संस्कृतिविद् सत्यमोहन जोशीको सांस्कृतिक अनुसन्धानात्मक कार्यको छायामा उनको सिर्जनात्मक पक्ष परेको सहजै अनुभूत हुन्छ। जतिबेला उहाँ तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान (हाल नेपाल प्रज्ञा प्रतिष्ठान) को सदस्य–सचिव हुनुहुन्थ्यो त्यसबेला उहाँले लेखेका सिपाही र रैती, दैलाको बत्ती, फर्केर हेर्दाजस्ता नेपाली नाटक तथा सिद्धिदास, गौतम बुद्ध, वैद्यबा, न्हुँद लिपाजस्ता नेपाल भाषाका नाटकले निकै चर्चा कमाएका थिए। दर्शकलाई आमोद प्रमोद बनाउँदै यी नाटक काठमाडौँ, धनकुटा र विरगन्जमा गरी ५१ दिनसम्म सफल रूपमा प्रदर्शन भएका थिए। समाजको कटु यथार्थ पस्कँदै कुत्सित मनोविज्ञान परिवर्तनका पक्षमा जोशीले कलममार्फत सशक्त अभिव्यक्ति दिएका थिए। तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको रंगमञ्चमा जोशीद्वारा लिखित ‘फर्केर हेर्दा’ र ‘जब घाम लाग्छ’ नाटक धेरै दिनसम्म चलेका थिए। उहाँकै पालामा गाईजात्रा महोत्सव पनि आयोजना भएको थियो। तत्कालीन प्रज्ञा प्रतिष्ठानको सदस्य–सचिवको कार्यावधि सकेपछि जोशी  फेरि २०३७ मा नेपाली भाषाको रेडियो ब्रोडकास्टिङ प्रशिक्षक भई चीनको पेकिङ गएर २ वर्ष बसी फर्किनुभयो। समयसँगै फरक काम गर्नसक्ने क्षमताले गर्दा उहाँले धेरै क्षेत्रका अनुभव एवं ज्ञान प्राप्त गर्नुभयो।

जीवनलाई सार्थक काममा समर्पण गर्नु, गतिशील एवं क्रियाशील बनाउनु भन्ने दर्शन आत्मसात् गर्दै अघि बढेका बहुआयामिक व्यक्तित्वका धनी सत्यमोहन जोशीले अवकाशपछि मात्र नभई सरकारी सेवामा रहँदासमेत कार्यालय कामका अतिरिक्त अन्य थुप्रै सांस्कृतिक, साहित्यिक एवं सामाजिक क्रियाकलापमा सक्रिय रहनुभयो। भँगेराको मधुर स्वर सुनेर रचिएको चखुंचिया म्ये (भँगेराको गीत) नै उहाँको प्रथम साहित्यिक रचना हुनपुग्यो भने १९९८ सालमा शारदा पत्रिकामा छापिएको ‘परिचय’ कविताले सत्यमोहन जोशीलाई लेखकका रूपमा परिचित गरायो।

देशमा विभिन्न कालखण्डमा भएका राजनीतिक परिवर्तनको पाको साक्षी र जीवित धरोहर पनि पनि हुनुहुन्छ उहाँ। विं सं. १९९० को महाभूकम्प, राणा शासनविरुद्ध २००७ सालको क्रान्ति, २०१७ सालमा राजा महेन्द्रले गरेको कू, २०३६ सालमा निर्दलीय पञ्चायतविरुद्ध गरिएको जनमत संग्रह,  २०४६ सालको आन्दोलनपछि प्राप्त बहुदलीय प्रजातन्त्र तथा २०६२÷६३ को आन्दोलनपछि स्थापित गणतन्त्र सबै उहाँले देख्नु र भोग्नुभएको छ। राजतन्त्र अन्त्य र गणतन्त्र स्थापनापछि नयाँ राष्ट्रिय गीत चयनका लागि गठन गरिएको समितिको संयोजक भई देशलाई गणतान्त्रिक राष्ट्रिय गान दिनसमेत जोशी सफल हुनुभयो।

सादा जीवन उच्च विचार, सत्यम् शिवम् सुन्दरम्, अनि बौद्ध धर्मअनुसार प्रज्ञापारमिता र नामसंगिती भावमा लीन भई जोशी बोधिचर्या गर्नुहुन्छ। सय वर्षसम्म बाँच्न सफल हुनुको रहस्य के हो ? मुसुक्क हासेर जोशी जवाफ दिनुहुन्छ– ‘जीवनमा चिन्तन गर्नु तर चिन्ता नगर्नू।’ बूढेसकाललाई बोझभन्दा पनि ईश्वरीय वरदानका रूपमा लियो भने निरोगी र लामो आयु हुन्छ भनेर सुनाउनुहुन्छ उहाँ। सय वर्षसम्मको जीवनकालमा जोशीले ७५ भन्दा बढी सिर्जना तथा खोजमूलक कृति प्रकाशन गरिसकेका छन्। उहाँका कृतिमध्ये सुनकेस्रा, बाघभैरव, चारुमती, लाखे क्वथैगु, महषर््िा याज्ञवल्क्यलगायत मजिपा लाखे नाटक काठमाडौँका रंगमञ्चमा मञ्चन भइसकेका छन्।

‘अनेकतामा एकता’ नारालाई जोड दिँदै राज्यका विभिन्न जातजाति, भाषाभाषीले राज्यबाट समान अवसर पाउनुपर्छ भनेर जोड दिने जोशी कीर्तिपुरस्थित नेपाल भाषा एकेडेमीका संरक्षक हुनुहुन्छ। साथै बबरमहलमा रहेको नेपाल कला परिषद्, विशालनगरस्थित म्युजिक स्कुलका अध्यक्ष हुनुहुन्छ। लोक साहित्य र संस्कृति क्षेत्रमा पु¥याएको अद्वितीय योगदानको कदरस्वरूप काठमाडौँ विश्वविद्यालयबाट उहाँलाई महाविद्यावारिधि प्रदान गरियो। पाँच वर्षअघि त्रिमूर्ति निकेतनले शताब्दी पुरुष घोषणा ग¥यो भने दुई वर्षअगाडि नेपाल सरकारले डा. सत्यमोहन जोशीलाई वाङ्मय क्षेत्रमा पु¥याएबापत ‘वाङ्मय शताब्दी पुरुष’ सम्मान दियो। यस्तै हालै सरकारले उहाँलाई सुप्रबल राष्ट्रिय दीपबाट पनि सम्मान गरेको छ।

अन्त्यमा, ५ वर्षपहिला र २ वर्षअघि नै उहाँलाई शताब्दी पुरुष घोषणा गरिए तापनि २०७६ वैशाख ३० गते अर्थात् आजैका दिनदेखि उहाँ सय वर्षमा प्रवेश गर्नुभएको छ। शताब्दी पुरुष डा.सत्यमोहन जोशीलाई जन्मदिनको अनेक–अनेक शुभकामना !

प्रकाशित: ३० वैशाख २०७६ ०२:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App