विचार

'विक्रम संवत्' को इतिहास र महत्व

आज २०७६ साल वैशाख १ गते अर्थात् नयाँ वर्ष। देशमा शान्ति–सुव्यवस्था र समृद्धिको कामना गर्दै शुभकामना आदानप्रदान गरौँ। विक्रम संवत् नेपालको मौलिक संवत् भएकाले गौरव र खुसीका साथ नव वर्ष मनाऔँ। विक्रम संवत् प्रारम्भ हुने दिनलाई प्रकृतिले पनि स्वागत गर्छ। हरेक वर्ष मेष संक्रान्ति नयाँ वर्षका दिन बिहान सुनगाभाजस्तै सलहेस नामक ठूलो फूल फूलेर सबैको सुख–समृद्धिका लागि अमूर्त रूपले नयाँ वर्षको स्वागत गर्नेगर्छ।

सिरहाको लाहानदेखि ४ किलोमिटर पश्चिम वर्षमा एक दिनमात्र एउटै मालाजस्तो लामो झ्याम्म परेर फूल्छ यो फूल। अचम्मको कुरा, अघिल्लो दिनमात्र कोपिला लाग्ने सलहेस भोलिपल्टै वैशाख १ गते मालाको आकारमा फूल्छ। बिहान फक्रने यो फूल त्यही साँझ ओइलिँदै झर्ने गर्छ। यो दृश्य हेर्न नेपाल तथा भारतका समेत विभिन्न स्थानबाट तीर्थयात्रीको ओइरो लाग्छ। यसले के पुष्टि गर्छ भने विक्रम संवत् प्रकृतिसँग पनि सम्बन्धित छ। विक्रम संवत् सुरु भएको दिन जसरी बिहानैदेखि सलहेस पूmलेर शुभकामना अर्पण गर्छ त्यसरी यो संवत्को खास तिथि र गतेका दिनहरूमा मेघ गर्जने र पानी पर्ने गर्छ। मेष संक्रान्ति, साउने संक्रान्ति, माघे संक्रन्ति, शिवरात्रि, जनै पूर्णिमा, घटस्थापनाका दिन मेघ गर्जने र पानी पर्ने गर्छ।
यसरी प्रकृतिसँग जोडिएकाले विश्वका अन्य सबै संवत्का तुलनामा विक्रम संवत् वैज्ञानिक मानिन्छ। भक्तपुरमा बिस्केट जात्रा, सुदूरपश्चिममा बिसेपर्व, तराईमा सिरुवा पर्व, माघे संक्रान्तिमा थारु समुदायको माघी,  गुरुङ, तामाङ, शेर्पाले मनाउने ल्होसार सबै पर्व विक्रम संवत्कै आधारमा चलेका हुन्छन्। वसन्त ऋतुको रमणीय अवस्थामा विक्रम संवत् फेरिन्छ। ज्योतिषी पण्डित सूर्यप्रसाद ढुंगेल भन्छन्– ‘विक्रम संवत् प्रकृतिसँग आबद्ध छ। दिन र रात सूर्यले नै निर्धारण गर्ने र सूर्यले एक वर्ष अर्थात् ३६५ दिन १५ घडी ३१ पला ३१ प्रतिपलामा १ चक्कर ३६० डिग्री पूरा गरेको हुन्छ। सूर्यले जब ३६० डिग्री अर्थात् राशी, अंशा, कला, विकला ०० हुन्छ, त्यही समयमा मीन राशी समाप्त भई मेष राशी सूर्यमा प्रवेश गर्छ र विक्रम संवत्अनुसार नयाँ वर्ष प्रारम्भ हुन्छ। 

यसैगरी ३० अंशको १ महिना हुने हँुदा पहिलो ३० अंश सिद्धिएपछि वैशाख सकिएर जेठ सुरु हुन्छ। यही क्रमबाट ३०÷३० अंश काटेपछि वर्ष पूरा हुन्छ।’ यस हिसाबले विक्रम् भनेको सूर्य भएकाले यसलाई विक्रम संवत् भनिएको हो। राष्ट्रिय धर्मसभाका अध्यक्ष प्रा. माधवप्रसाद भट्टराई भन्छन्– ‘विक्रम संवत् नेपालको उपज तथा युगौँदेखि चल्दै आएको मौलिक संवत् हो।’ सम्राज्यवादी शक्तिको हमलाबाट बचेर आफ्नो सार्वभौमसत्ता, मौलिकता र पहिचान जोगाउँदै आएको नेपालले विदेशी प्रभाव पर्न नदिएको प्रमाण हो– विक्रम संवत्।  चीन, भारतलगायत एसियाका जुन–जुन देशमा इस्वी संवत् चलेका छन् त्यो बेलायती साम्राज्यको प्रभाव हो। किनकि ती सबै राष्ट्रमा बेलायतको उपनिवेश थियो। तर नेपाल कहिले  कसैको उपनिवेश बनेन। यसको सबुत विक्रम संवत्को निरन्तरताले दिन्छ।  किनकि युगयुगदेखि नेपालमा विक्रम संवत् चलिआएको छ। विदेशीहरूले राज गरेका थिए भने विक्रम संवत् हटाएर अन्य देशहरूमा झैँ इस्वी संवत् लागू हुन्थ्योे। तर त्यसो भएन। किनकि नेपालको सार्वभौमसत्ता कुनै सम्राज्यवादी शक्तिबाट बिटुलो भएन। नेपालका खोजकर्ता शंकरमान राजवंशीले पूर्व लिच्छविकाल र उत्तर लिच्छविकालका अभिलेखमा उल्लिखित संवत्हरूलाई विक्रम संवत् हुन् भन्दै जयस्थिति मल्लको पालाको सुवर्णपत्रमा ‘विक्रम राजवर्ष १४४८ श्रीमत नेपालीकेः श्रेयोस्तु’ लेखेका छन्।

मोरङका राजा हरिश्चन्द्र सेन र वृष सेनको स्याहामोहरमा विक्रम संवत् १७१९ पौष वदी ४, मकवानपुरका राजा मानिक सेनले विक्रम संवत् १७८४ कार्तिक शुदी ७, बिजैपुरमा बुद्धिकर्ण राईले विक्रम संवत् १८२४ नेपाली भाषामा लेखिएका कैयौँ प्रमाण इतिहासविद् राजवंशीले पुरातŒव संग्रह (२०१८)मा प्रस्तुत गरेका छन्। काभ्रेको नालामा उत्तरापुर राज्यको नाउँमा विक्रमादित्य राजाले राज्य गरेको ऐतिहासिक ठाउँमा मेला लाग्ने गरेको किंवदन्ती पनि छ। साँखु बज्रयोगिनीको मन्दिर परिसर केहीमाथि विक्रमादित्य राजाको मूर्तिमा बज्राचार्य वंशका पुजारीले युगौँदेखि पूजा गरिआएका छन्। यिनै राजाले नेपाल विस्तार गर्दै कासीसम्म पुगी विश्वनाथ मन्दिर स्थापना गरेका थिए भन्ने कुरा हिमवतखण्ड पुस्तकमा उल्लेख गरिएको छ।

विक्रम संवत्ले वैदिककालदेखि प्रचलित तिथि र बारहरूको अवलम्बन गर्दै आएको थियो। तर तिथिहरू थपघट भइरहने हुँदा शासन व्यवस्थामा धेरै अप्ठ्यारो परेकाले ज्योतिषीको सुझावमा चन्द्रशमशेरले विक्रम संवत् १९६१ वैशाख १ गते मेष संक्रान्तिदेखि तिथि र बार तलमाथि नपर्नेगरी गते लेख्ने चलन चलाएका हुन्। तिथिहरू कहिले एकै दिन दुइटा पर्ने हुँदा गतेमा लेख्ने चलन चलेपछि  शक संवत् र नेपाल संवत्हरूको दाँजोमा विक्रम संवत् व्यावहारिक हुन पुगेको हो। शनिबार सार्वजनिक बिदा दिने चलन पनि चन्द्र शमशेरकै पालादेखि चलेको हो। विक्रम संवत् १९६१ सालदेखि मेष संक्रान्तिलाई वैशाख १ गते मानी वर्षभरिका १२ महिनाका दिनहरू निर्धारण गरिएका हुन्। मीन राशी समाप्त भई मेष राशी प्रारम्भ हुनासाथ वैशाख सुरु हुन्छ। हिमवतखण्ड नेपालका विभिन्न साना राज्यमा चलनचल्तीमा रहेको विक्रम संवत् विशाल नेपाल बनेपछि राष्ट्रिय संवत्का रूपमा स्थापित भएको हो। पृथ्वीनारायण शाहले उपत्यका विजय गरेपछि विक्रम संवत् १८२५ को वसन्तपुर दरबारको अभिलेखमा– ‘राजा पृथ्वीनाराणको वंश गुह्यकाली र पशुपतिका दुई पाउका धुलाका प्रसादले स्थिर भइरहोस्’ भनेर गौरवमय विक्रम संवत् उल्लेख गरेका थिए। यसले पनि विक्रम संवत् नेपालीहरूको राष्ट्रिय गौरव भएको पुष्टि हुन्छ।

तर कतिपय व्यक्तिले विक्रम संवत् नेपालको होइन भनेकाले यसबारे केही तथ्य उजागर गर्नु आवश्यक छ। हाम्रा दुई सम्मानित व्यक्ति चक्रपाणि चालिसे र इतिहासविद् नयराज पन्तले अनुमानका भरमा विक्रम संवत्को उठान भारतबाट भएको हो भनेकाले भ्रम पर्न गएको हो। वास्तवमा विक्रम संवत् उठान भएको ४ सय वर्षपछिका गुप्तवंशी समुन्द्रगुप्तका बाबु चन्द्रगुप्तले आफूलाई विक्रमादित्यको उपाधि धारण गरेको आधारमा नै विक्रम संवत् उनैले उठान गरेको भन्नु इतिहाससम्मत कुरा होइन। त्यस्तै चाँगुनारायणस्थित मन्दिरमा मानदेव प्रथमले उल्लेख गरेका संवत् ३८६ लगायत सबै अभिलेखमा उल्लिखित संवत्हरू शक संवत् हुन् भनेर लिच्छवि संवत्को निर्णय भन्ने पुस्तकमा इतिहासविद् नयराज पन्तले उल्लेख गरे। यसो भएपछि विक्रम संवत्को उठान कहाँ भएको भन्नेमा विवाद उठ्ने नै भयो। कपोलकल्पित तर्क प्रस्तुत गरेका भरमा इतिहास बदलिँदैन। इतिहासले सत्य कुरा मात्र खोज्छ।

हामी कतिपय विक्रम संवत्लाईबिना प्रमाण भारतको भन्छौँ तर भारतीय इतिहासकारहरू– गुजरातका विद्वान खोजकर्ता पण्डित भगवानलाल इन्द्रजी, कलकत्ता विश्वविद्यालय इतिहासका प्राध्यापक राधागोविन्द बासकले विक्रम संवत्को उठान नेपालमै भएको र मानदेव प्रथमका समयमा उल्लिखित अभिलेखहरू सबै विक्रम संवत् हुन् भनेर लेखेका छन्। यसरी भारतीय विद्वानहरू नै विक्रम संवत्को उठान नेपालमै भएको हो भन्छन् भने हामी नेपाली आफैँ किन आफ्नो सम्पत्तिलाई विदेशी भनिरहेका छौँ ? इतिहास शिरोमणि बाबुराम आचार्यले लेखेका छन्– ‘जुन समय इसापूर्व ५८ मा यो सम्वत् उठान भएको थियो उस समय भारतको उज्जयनीमा राजा विक्रमादित्यको अस्तित्व देखिँदैन। उज्जयनीका खण्डहरूको उत्खनन हुँदा पनि विक्रमादित्य भएको चिह्न भेटिएको छैन।’ विक्रम संवत् भन्दा ५७ वर्षपछि इस्वी संवत् चालु भएको हो। इस्वी संवत् प्रचलनमा आएपछि सबै महिना, बार विक्रम संवत्बाटै लिइएका हुन्। आइतबार अर्थात् आदित्यबार सूर्य सम्झेर बनाइको हो जसलाई (सन् डे) भनिए झैँ अरू धेरै कुरा इस्वी संवत् र संस्कृत भाषाबाट अंग्रेजी भाषामा ग्रहण गरिएका छन्।

योगी नरहरिनाथले  ‘श्री वीर पालःनृपतिःततः अभूत तस्मात अभूत विक्रमपाल भूपः’ उल्लेख गर्दै देवमाला वंशावलीमा राजा विक्रमादित्यको बत्तीसपुतली राम मन्दिर भएको ठाँउमा राजसिंहसान थियो भन्ने पाइन्छ भनेका छन्। पशुपति पुराणमा छ– ‘अथ सूर्यवंश प्रभावोन्नेपाले किराँत राजन निर्जित्य लिच्छवि वंश प्रवर्तते।’ अर्थात् सूर्यवंशी लिच्छविको प्रभावले किरात राजालाई जिती लिच्छवि वंश सुरु भएपछि लिच्छवि वंशका पहिला राजा धर्मपाल, भूमिबर्मा, विक्रमादित्य आदि नामबाट पुकारिने राजाको शासनकालदेखि नै विक्रम संवत् सुरु भएको मानिन्छ। अतः विक्रम संवत् हिमवतखण्ड नेपालको आदि र मौलिक संवत् हो। नयाँ वर्ष विक्रम संवत् २०७६ को उपलक्ष्यमा स्वदेश–विदेशमा रहेका सबै नेपालीले हर्षोल्लासका साथ शुभकामना साटासाट गरौँ। 
                  

प्रकाशित: १ वैशाख २०७६ ०३:५३ आइतबार

नयाँ_वर्ष शुभकामना विक्रम_संवत्