विचार

सहयाेगमा जुटाैँ

बारा र पर्सामा आइतबार बेलुकी आएको भयानक हावाहुरीले गरेको जनधन क्षतिले मुलुकलाई गम्भीर पीडामा पारेको छ। थोरै समय चलेको हावाहुरीले तराई–मधेसका यी दुई जिल्लामा गरेको यति धेरै क्षति देशमा सम्भवतः पहिलोपटक भएको हो। हाम्रो मुलुकमा कुनै न कुनै प्राकृतिक विपत्ति सामना गरिरहनुपरेको भए पनि तराई–मधेसमा यसरी हावाहुरी आएको अहिलेसम्म थाहा थिएन। सुक्खा खडेरी लाग्नु, बाढी आउनु र हिउँदमा शीतलहरको सामना गर्नु नियमितजस्तै थिए तर यो घटनाले भविष्यका निम्ति हावाहुरीले ल्याउनसक्ने सम्भावित विपद्बारे पनि तयारी गर्नुपर्ने अवस्था सिर्जना गरेको छ। विपत्ति आउनासाथ जुन तत्परतासाथ उद्धार र राहतमा सरकार जुटेको देखिएको छ त्यसरी नै विपत्बाट बच्ने तयारी भने गरेको पाइएन। यस किसिमको हावाहुरी आउँछ भन्ने मौसमी जानकारी समयमा दिई त्यसबाट सुरक्षित रहन स्थानीय बासिन्दालाई भनिएको भए निश्चय पनि यति धेरै जनधन क्षति हुने थिएन। विशेषगरी मौसम पूर्वानुमानका निम्ति पछिल्ला दिनमा प्रविधिले धेरै साथ दिएको छ। त्यसैका आधारमा धेरै ठूलो झरी पर्ने तथा बाढी आउने अवस्थामा पूर्वजानकारी दिने काम हुँदै आएको हो। यसलाई व्यापक ढंगले प्रचारप्रसार गर्न पनि सबैले मद्दत गर्दै आएका छन्।

हावाहुरीमा परेर बारा र पर्सामा समेत गरेर २८ जनाको ज्यान गएको छ। घाइतेको संख्या निकै ठूलो छ। यसमा परेर मृत्यु भएका सर्वसाधारणको सनाखत, हराइरहेकाहरूको खोजी र उपचारका निम्ति सोमबार दिनभर सरकार र यसका विभिन्न निकाय सक्रिय भए। घटनालगत्तै सुरक्षा निकायहरू रातिदेखि नै उद्धारमा खटिए। तर नाइटभिजन हेलिकोप्टर राति नै त्यहाँ पु¥याउन सकेको देखिएन। यस्ता विपद्का बेला कसरी समयमै उद्धारकर्तालाई घटनास्थल पु¥याउन सकिन्छ भन्ने तयारी गर्नुपर्ने यस घटनाले सिकाएको छ। अमेरिकालगायत कतिपय पश्चिमा मुलुकमा ‘ट्रोनेडो’ (शक्तिशाली आँधी)ले ठूल्ठूला भवन नै उखेल्ने तागत राख्छ। तर ती देशहरूले समयमै यसको पूर्वजानकारी दिनसक्ने भएकाले मानवीय क्षति कम गर्न बेलैमा प्रभावितहरूलाई त्यहाँबाट सुरक्षित ठाउँमा लैजाने गर्छन्। अहिलेको प्रविधिका कारण यस्ता विषयमा पहिल्यै भरपर्दो जानकारी लिन सम्भव छ। प्रविधिमा अग्रणी भारत र चीनजस्ता दुई मुलुकको बीचमा रहेको नेपालले उनीहरूसँग मौसमसम्बन्धी पूर्वसूचना आदानप्रदान गर्नसक्छ। मानवीय सहायताका निम्ति उपयोगी हुने भएकाले जुनसुकै मुलुकले यस्ता सूचना आदानप्रदान गर्न सक्छन्। अमेरिका आफैंले पनि यस्ता विषयमा संस्थागतरूपमा जानकारी राखेर बसेको देखिन्छ। यस्ता ठूलो तहका प्राकृतिक प्रकोप हुन लाग्दा सहयोग माग्न सकिन्छ।

भूकम्पबारे पूर्वानुमान गर्न सकिन्न। तर यसबाट बच्ने तयारी गरी जनधन क्षति कम गर्न सकिन्छ। यसका लागि भौतिक पूर्वाधार र भवन निर्माणसम्बन्धी संहिता तदनुकूल तय गर्न सकिन्छ। तराई–मधेसमा पनि यसरी हावाहुरी आएको घटनाबाट सिकेर त्यस क्षेत्रमा घर निर्माण गर्दा आवश्यक तयारी गर्नुपर्ने देखिएको छ। पूर्वजानकारी दिन सकिएको भए, त्यस्तो बेला मानिसले सवारीसाधन चलाउने थिएनन्। हावाहुरीमा पर्ने प्रायः व्यक्ति गाडीमा यात्रा गरिरहेकाहरू छन्। घरलगायतका भौतिक संरचनाले पनि मानिसलाई थिचेको देखियो। सम्साँझै आएको हावाहुरीपछि सूचना सञ्जालसमेत विच्छेद भएबाट यस्तो अवस्थाका लागि वैकल्पिक सञ्चार व्यवस्थाको जोहो गर्नुपर्ने देखिन्छ। आगामी दिनमा सरकारले यसको तयारीमा ध्यान दिनु आवश्यक छ। हावाहुरीमा परेका पीडितलाई सहयोग गर्न केन्द्र र प्रदेश सरकारको पहल प्रशंसनीय छ। त्यसैगरी सत्तापक्ष नेपाल कम्युनिस्ट पार्टी, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायतका दलले आ–आफ्ना तर्फबाट स्वतःस्फूर्तरूपमा गरेका सहयोग घोषणाले विपद्का बेला सबैलाई एक ठाउँमा उभ्याएको महसुस भएको छ। यो विपद्को घडीमा सहयोगका निम्ति सबै जुट्न आवश्यक छ। भूकम्पका बेला तराई–मधेसले लगाएको गुन सम्झने बेला पनि हो यो।  

प्रकाशित: १९ चैत्र २०७५ ०७:२५ मंगलबार

हावाहुरी जनधन पीडा