विचार

पर्यटन : समृद्धिको आधार

हरि वाग्ले (काफ्ले)
पर्यटन विकासमा नेपाल उडानको चरणमा भएको हुँदा यसको विकासका लागि विशेष धक्का आवश्यक छ। पर्यटन विश्वको फस्टाउँदो धुवाँरहित उद्योग हो। गरिबी निवारणमा यसको महत्वपूर्ण योगदान रहने तथ्य संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनले उल्लेख गरेको छ। यसले विश्वको कुल गार्हस्थ्य उत्पादनमा १०.४ प्रतिशत र विश्वको कुल रोजगारीमा ९.९ प्रतिशत योगदान गरेको छ। विश्वका १४ मध्ये ८ उच्च शिखर र विशेष भूबनोटले पर्वतारोहण तथा साहसिक यात्रा, हिन्दु र बौद्ध धर्मालम्वीको पुण्यभूमि तथा अनुकूल हावापानीले नेपाल विश्वको एक आकर्षक गन्तव्य मानिन्छ।  नेपाल ऐतिहासिक, प्राकृतिक, धार्मिक, सांस्कृतिक, जातिगत, भाषागत र भौगोलिक विविधताले पनि सम्पन्न  छ।

विश्वको एकतिहाइ जनसंख्याको बीचमा रहेको नेपालको पर्यटकीय सम्भावना निकै उच्च छ। लोन्ली प्लानेट नामक संस्थाले हालसालै सार्वजनिक गरेको प्रतिवेदनमा काठमाडौँं विश्वको घुम्न लायक सहरको पाँचौं स्थानमा पर्नु आफैँमा सुखद विषय हो। पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०१८मा नेपाल आउने पर्यटकको संख्या ११ लाख नाघेको छ। यो गत वर्षको तुलनामा १७प्रतिशतले वृद्धि हो।योे अवस्थाले पर्यटनको विकासमा केही आशा सञ्चार गरेको छ।

सरकारले सन् २०२० लाई पर्यटन वर्षका रूपमा मनाउने र २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ।  साथै ‘पहिले देश अनि विदेश’ को भावनाअनुरूप आन्तरिक पर्यटन प्रवद्र्धन अभियानसमेत सञ्चालन गरेको छ। पर्यटन क्षेत्रको विकासबाट ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सपना पूरा गर्नमा थप मद्दत पुग्ने विश्वास पनि लिएको देखिन्छ। सन् २०१७ मा नेपालको जिडिपीमा पर्यटन क्षेत्रको प्रत्यक्ष योगदान ४ प्रतिशत रहेको छ भने रोजगारीमा ३.२ प्रतिशतमात्र छ। नेपाल आउने पर्यटकको औषत बसाइँ १२.६ दिन र खर्च प्रतिदिन ५४ अमेरिकी डलर छ। दक्षिण एशियामा भित्रने पर्यटकमा नेपालले करिब ६ प्रतिशतलाई स्वागत गर्न पाउँछ भने कुल आम्दानीमा करिब १.५ प्रतिशतमात्र हिस्सा पाउँछ। विश्वमा प्रति ६ व्यक्ति १ पर्यटक रहेको पाइन्छ तर नेपालमा करिब ३० जनाको भागमा १ पर्यटकमात्र पर्न आउने तथ्याङ्क सार्वजनिक हुनुलेपर्यटकलेलामो समय बस्न र पर्याप्त खर्च गर्न गुणस्तरीय सेवा नपाएको होकि अड्कल गर्न सकिन्छ। यसले खर्च गर्न सक्ने क्षमता भएका पर्यटकको आकर्षण नेपालमा कम रहेकोतर्फ पनिसंकेत गर्छ।

पर्यटकीय दृष्टिबाट नेपाल निकै सम्भावना बोकेको मुलुक भए तापनि यसको विकास र बिस्तारमा कैयन् अवरोधछन्। कमजोर पर्यटकीय पूर्वाधार, जोखिमपूर्ण यातायात, तालिम प्राप्त जनशक्तिको न्यूनता, सम्बद्ध निकायकोकमजोरसंस्थागत क्षमता, कमजोर समन्वय,अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठनले नेपालको उड्डयन क्षेत्रमा सुधार भएको जनाउ दिएतापनि त्यसको खासै अन्तर्राष्ट्रिय सकारात्मक प्रभाव पर्न नसक्नु, ट्राभल र ट्रेकिङ एजेन्सीलगायत निजी क्षेत्रको बिस्तार हँुदै गएतापनि अन्तर्राष्ट्रियरूपमा प्रतिस्पर्धी बन्न नसक्नु,युरोपियन आयोगले विगत ५ वर्षदेखि नेपालमाथि लगाएको उडान प्रतिबन्ध कायमै रहनु, पुरातात्विक तथा धार्मिक स्थलहरूको पहिचान, संरक्षण तथा सम्वद्र्धन अपेक्षित मात्रामा नहुनु, मनोरञ्जन क्षेत्र व्यवस्थित र व्यावसायिक हुन नसक्नु,प्रचारप्रसारको न्यूनता आदि यस क्षेत्रको विकासका मुख्य अवरोधमानिएका छन्। यस्ता अवरोधको सम्बोधनबाट मात्र पर्यटन क्षेत्रको अपेक्षित विकास सम्भव देखिन्छ।

प्रकाशित: १४ चैत्र २०७५ ०३:३३ बिहीबार

पर्यटन संयुक्त_राष्ट्रसंघ