सइन्द्र राई
प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनले भारी मत पाएपछि र केपी शर्मा ओलीले सत्तारोहण नगर्दै गत वर्ष नागरिक दैनिकमा लेखेको थिएँ– नयाँ सरकार, नयाँ यात्रा। लेखको आशय थियो– अब भ्रष्टाचारका विषय सतहमा आउनेछन् र फेरि कांग्रेस युगको आधार तय हुनेछ। तर, वाम शक्ति वा नेपाली कांग्रेसले राजनीतिक कदम कसरी अगाडि बढाउँछ ? त्यसले यी सम्भावनारू प्रभावित हुनसक्छन्।
नभन्दै यो एक वर्षमा भ्रष्टाचारका विषय सतहमा आए पनि। नेपालीइतिहासकै सबैभन्दा ठूलो भ्रष्टाचारकाण्डहरू। वर्तमान मन्त्रिपरिषद्का सदस्यमात्रै होइन, पूर्व प्रधानमन्त्रीहरू समेत भ्रष्टाचारमा संलग्न रहेको संसदीय प्रतिवेदन नै तयार भइसक्यो। न्यायालयको फैसला र संसदीय समितिका निर्णयहरूमा मात्रै होइन, स्वयम् अख्तियारकै आयुक्तसमेत भ्रष्टाचारमा मुछिए। भ्रष्टाचारको आरोप लागेपछिराजीनामा नै दिनुपर्ने अवस्था आयो।
किन भयो त यस्तो ?कारण एक वर्षअघिकै लेखमा दिइसकेको छु। फेरि दोहो¥याउँ–नेपाली समाज सुशासनको खोजीमा अघि बढ्यो। जब समाजमासुशासनको खोजी हुन्छ तब सामाजिक आयामहरूमा भइरहेका भ्रष्टाचार सतहमा आउँछन्। जस्तो,अस्थिरतामा स्थीरता, हिंसामा शान्ति, अध्याँरोमा उज्यालोको खोजी इत्यादी। किनभने विपरीत ध्रुवको चाहना वा डर– समाज विज्ञानको अकाट्य ऐतिहासिक तथ्य हो। यसको अर्थ भ्रष्टाचार ठीकै छ, अब सुशासन भइहाल्छ भनेर आनन्दसँग बसौंभन्न खोजिएको होइन।
कांग्रेस युग !
कांग्रेसका नेताहरूले आफूलाई थोरै मात्रै बदल्ने हो भने आसन्न निर्वाचनमा पार्टीका पक्षमा परिणाम ल्याउन कुनै गाह्रो देखिन्न। किनभने नेकपाका नेताहरूका चरित्र÷चिन्तनमा थोरै मात्र सुधार आएको अनुभूति नागरिकले गर्न पाएका छैनन्।
कथन छ– सत्ताले मानिसलाई भ्रष्ट बनाउँछ, पूर्ण सत्ताले सम्पूर्ण रूपमा भ्रष्ट बनाउँछ।सत्ता वा संस्थापनबाटै भ्रष्टाचार हुन्छ। यसबाट बच्नु वाआफूलाई रोक्न सक्नु नै असलनेतृत्वको योग्यता पनि हो। विगतमा कांग्रेस नेताहरू सत्तामा रहँदा नै भ्रष्ट बनेका थुप्रै नजिरछन्। यही तर्क र तथ्यले पनि पार्टी पुनर्जागरणको अवसर कांग्रेसलाई छ। किनभने सिंहदरबारका लागि पाँचवर्षे प्रस्ट म्यान्डेट पाइसकेपछि आरोप र अप्ठ्याराका तीरहरू अब वाम नेतृत्वतिरै सरेको छ। जसको सामना नेकपा नेतृत्वले अहिले गर्दैछ पनि। नेकपा र यसले नेतृत्व गरेको सरकारबारे छुट्टै आलेख तयार पारौंला।
यहाँ भने कांग्रेस युगको आधार कसरी र अझै के सम्भावना छ ? यसबारे चर्चा गरौं। कांग्रेसका नेताहरूले आफूलाई थोरै मात्रै बदल्ने हो भने आसन्न निर्वाचनमा कांग्रेसका पक्षमा परिणाम ल्याउन कुनै गाह्रोदेखिन्न। किनभने नेकपाका नेताहरूका चरित्र÷चिन्तनमा थोरै मात्र सुधार आएको अनुभूति नागरिकले गर्न पाएका छैनन्। यही प्रश्न कांग्रेसतिर पनिजान्छ। के कांग्रेस नेतृत्व र नेताहरूले विवेकपूर्ण निर्णय लिएत ? एकवर्षे प्रतिपक्षी समीक्षाको निष्कर्ष– कांग्रेस आफ्नै अविवेकी निर्णयको खाडलमै रमाइरह्यो। थोरै टाउको उठाएर समय सन्देशको आलोक नियाल्ने प्रयत्न समेत यसले गरेन।
संसदीय इतिहासमा सबैभन्दा कमजोर बनेको कांग्रेसले एक वर्षमा के–के ग¥यो त ?सपाट जवाफ– आन्तरिक किचलोको रामरमाइलो। सभापति शेरबहादुर देउवालाई पराजयका कारण पहिल्याउन झन्डै एक वर्ष नै लाग्यो। बल्लतल्लकार्यकर्ता पंक्तिलाई जवाफ दिए–मलाई डडेलधुराबाट टिकट चाहिने अनि आरजुलाई कैलालीबाट। कसरी जनताले भोट हालोस् ?यिनै शब्द देउवाबाट एक वर्षअगाडि निस्किएका थिए भने परिस्थिति अर्कै हुने थियो। तर त्यसो भएन। उदेकलाग्दो परिदृश्य त के देखियो भने कांग्रेस कमजोर हुँदा पनि एक हुन सकेन। बरूनेतैपिच्छे भावी सभापति बन्ने आकांक्षा र सपना बेमौसममा जन्मन थाले।
तीन कोइराला मिलेको खबर त बारम्बार सार्वजनिक भइरहे तर कोइराला परिवारबाटै सभापति बन्नुपर्ने निष्कर्षसहितको। रामचन्द्र पौडेलले देउवा नेतृत्व असफल हुँदा खुच्चिङ गर्न छाड्ने कुरै भएन, अवसर पाउनासाथ धारे हात लगाइरहे। कृष्णप्रसाद सिटौलालाई होस् वा प्रकाशमान सिंहलाई– भावी सभापतिको भूतले सताइरह्यो। अन्य नेताहरू पनि के कम ?आ–आफ्ना डमरू, आ–आफ्नै धुनमा बजाइरहे। यसबीचमा जिल्ला सभापतिहरूको भेलाले नेतृत्वलाई केही दबाव त दियो तरत्यसलाई सुन्ने तत्परता पटक्कै देखिएन। होइनभने, महासमितिले लिएको निर्णय केन्द्रीय समितिको बहुमतबाट उल्टाउने प्रयास नै हुँदैनथ्यो।
कांग्रेस यसअघि पनि धेरैपटक संसदीय समीकरणमा तल परेकै हो। के त्यसबेला पनि यस्तै हुन्थ्यो त ? यसतर्फ भने कांग्रेसीनेताहरूले गम्भीर भएर सोचेको र बोलेको सुनिएन। ०६४ मा पनि कांग्रेसले नराम्रो पराजय भोगेकै हो। तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला पराजयबाट रन्थनिँदै देश दौडाहामा निस्किए। कार्यकर्तालाई भने– पराजयको पीडा आफैंसँग राख्नोस्, अब कसरी जित्ने ?भन्नुहोस्।राष्ट्रिय राजनीतिमा पनि सभापति कोइरालाले कार्यकर्ता पंक्तिमा उत्साह हुने गरी अडान लिए। तर २०७२ को संविधान जारी भएपछि भने कांग्रेस नेतृत्वको अडान र अभिव्यक्तिले छुट्टै मोड लिन थाल्यो। अप्रिय अडानमा रहिरहने आदत हटेन। परिणाम–२०७४ को निर्वाचनले देखाइसक्यो।
यसपछि पनि नेतृत्व पंक्तिको प्रवृत्तिमा कुनै सुधार देखिएको छैन। त्यसो भएको केन्द्रीय मुख्यालय सानेपा भ्रातृ संगठनका नेताहरू कुटाकुट गरिरहेको दृश्यको साक्षी बनेर उभिरहनुपर्ने थिएन। सभापति देउवाले कुनै नेता विशेषको नाम लिएर सार्वजनिक भाषणमै हैसियत सोध्ने अवस्था आउने थिएन। प्रतिपक्ष देखिन सधैं सिंहदरबारको ढोका कुरिरहनुपर्ने÷खुलिरहनुपर्ने अवस्था आउँथेन। बारम्बार प्रवक्ताको मीठो भाषामा लयात्मक प्रष्टोक्ति वा गगन थापासहितकानिश्चित नेताहरू संसदमा निरीह बनेको दृश्यबाट समर्थकले चित्त बुझाउनुपर्ने थिएन। अनि संसदीय दलका नेतासमेत रहेका सभापति देउवा कहाँ होलान् ? संसदमा त देखिएन भन्ने चिन्ता हुने थिएन।
भनिएला, उसैपनि कमजोर। अझ कांग्रेसकै कमजोरीको कहानी किन ? किनभने संसदीय अभ्यासमा यो अति नै जरुरी छ। किनकि जब सत्तारूढमा प्रतिपक्षीको कुनै डर हुँदैन तब धेरै कुरा बिग्रन थाल्छ। प्रतिपक्षी कद, कदम र क्रियाले सरकार हिँड्ने मूलबाटो निर्धारणमा ठूलो अर्थ राख्छ। फेरिसंसदमासंख्याको समीकरण देखाइएला। तर यो पनि बिर्सनु हुँदैन– हिजो तर्क र तथ्यकै आधारमा मदन भण्डारीले संसदमा एक छत्र राज गरेका थिए भने एक्लो विश्वेन्द्र पासवानले पनि।
कांग्रेसले यो पनि भुल्न हुन्न–जनता हत्तपत्त सत्तासँग पौंठेजोरी खेल्न चाहँदैनन्। किनभने मानवीय आवश्यकताका स्रोत–साधन सञ्चालनकोसामाजिक स्वीकार्यता सधैंसत्तासँगै निहीत हुन्छ। नेपालजस्तो देशमा अझ बढी हुन्छ। विगतका प्रगतिशील राजनीतिक आन्दोलनहरूलाई प्रभाव पार्ने सामाजिक परिस्थिति बुझ्ने कसैले पनि यो तथ्य छिपाउन सक्दैनन्। अझदेशमा पाँचवर्षे वाम सरकार चलिरहेको हेक्का राख्नैपर्छ। कांग्रेस–पुरानो प्रजातान्त्रिक शक्ति हो। अनि नेपालको सामाजिक–राजनीतिक–आर्थिक परिवर्तनको सशक्त हिस्सेदार पनि। अहिले जनमत कम्युनिस्टले पाएको छ। यसको अर्थ सामाजिक दायित्वबाट कांग्रेस अलग भएको भनेर बुझ्न हुन्न। कांग्रेसले निर्वाचन हारेको हो, जुवा होइन। यो एक वर्षमा सत्तारूढ र प्रतिपक्ष दुवैले संघीय गणतन्त्र नेपालको संविधानअनुसार चित्तबुझ्दोअभ्यासकोथालनी गर्न सकेको छैनन्। हुन त‘ओपनिङ’ अर्थात् सुरुवात कमजोर हुँदैमा खेल हारिन्छ भन्ने हुँदैन। क्रिकेटमा सधैं आशा हुन्छ– ओपनिङ नराम्रै भएपनि मध्यमा र ‘सडेन डेथ’मा हुने चमत्कारले खेल जितिन्छ। तर त्यसका लागि पात्र, प्रवृत्ति (शैली) र हिम्मत चाहिन्छ। बाँकी चार वर्षमा कांग्रेसले चमत्कार गर्ने पात्र र प्रवृत्तिखोजी गर्न थाल्ने हो भने कम्युनिस्ट सरकार त्यसैपनि जनताकै चाहनाअनुसार चल्न थाल्छ। यस्तो अवस्थामा कांग्रेस वा कम्युनिस्टको मात्रै होइन, देशकै जित हुन्छ।
प्रकाशित: ४ चैत्र २०७५ ०२:४८ सोमबार