विचार

गोर्खाको गौरव

मार्क लेनकास्टर
वीरहरूका वीर, उदारभन्दा उदार। देशले तपाईंहरू जस्तो भरपर्दो साथी कहिले पाएको थिएन’ गोर्खा अफिसर तथा पहिलो विश्वयुद्धका भेट्रेन सर राल्फ टर्नरका यी महत्वपूर्ण शब्दहरू आजसम्म सत्य रहेका छन्। मलाई सेनामा सुरुमा खटाइएको सेवामा महारानीको गोर्खा इन्जिनियर्ससँग कार्य गर्दा मैले हाम्रा गोर्खा सहकर्मीहरूको लगाव, संकल्प र विशुद्ध गतिशीलता प्रत्यक्ष रूपमा देखेँ। हालै रक्षामन्त्रीका रूपमा गोर्खाहरूले मानवीय सहायता प्रदान गर्दा होस् वा चरमपन्थीसँग लड्दा होस् संसारभरि नै पारिरहेको महत्वपूर्ण भिन्नताको साक्षी बन्ने अवसर पाएको छु। अतः यो बताइरहन जरुरी छैन कि हामी हाम्रा बफादार गोर्खा समुदायको आवश्यकतालाई सुनिश्चित गर्ने बारेमा अत्यन्त सावधान छौँ।

त्यसैले हालै मैले फेरि नेपाल भ्रमण गरेँ। मैले नेपाल सरकारसँग र सरकारी संयन्त्र र गोर्खा भेट्रेनहरूको उपस्थितिमा प्राविधिक समितिसँग समेत वार्ता गरँे। यस किसिमको वार्ता मैले बुझेसम्म लामो समयदेखि मतभेदमा रहेको विषयमा एक अर्काको दृष्टिकोण बुझ्नका लागि अत्यन्त महत्वपूर्ण छ। साथै मलाई थाहा छ यी मुद्दाहरू नेपाली सञ्चार माध्यममा धेरैका लागि जीवन्त विषय हुन्। त्यसैले म यो अवसरमा केही गलत बुझाइमाथि स्पष्ट पार्न चाहन्छु। यहाँ विशेषगरी तीनवटा बुँदाहरू उल्लेखनीय छन्।

त्यसैले आज म गोर्खा पेन्सन व्यवस्थाको वृद्धिको एउटा महत्वपूर्ण घोषणा गर्छु। यसबाट प्रत्येक व्यक्तिको पेन्सनमा १० देखि ३४ प्रतिशतसम्म वृद्धि गर्नका लागि बेलायती सरकारले थप १५ मिलियन पाउन्ड लगानी गर्दैछ।

पहिलो र मुख्य विषय, सन् २००७ देखि ब्रिगेडमा भर्ती हुने कुनै पनि सैनिकको भुक्तानी र पेन्सन लगायत सेवाका सर्त र बन्देजहरू बेलायती समकक्षी सरह रहेको छ। दोस्रो, सन् २००७ भन्दा अगाडि भर्ती भएका सैनिकहरूको सेवाका सर्तहरू उचित कारणले गर्दा भिन्न थिए। सन् १९४७ मा बेलायत, नेपाल र भारतको बीचमा भएको त्रिपक्षीय सम्झौताअन्तर्गत गोर्खा रेजिमेन्ट बेलायती र भारतीय सेनाको एक हिस्सा हुनपुग्यो। यो सम्झौता त्यस बेलाको परिस्थितिको प्रतिविम्ब हो र खासगरी त्यस्ता सेवाका सर्तहरू स्वेच्छिक रूपमा स्वीकार गरियो। तथापि यो निष्पक्षताको पाटो दुईतर्फी नै रहेको छ। सन् १९७५ भन्दा पहिले २२ वर्षभन्दा कम अवधि सेवा गरेका बेलायती सेनाले पेन्सन पाउँदैन थिए। त्यस विपरीत गोर्खाहरूले १५ वर्ष सेवा पूरा हुनासाथ आजीवन पेन्सनको दाबी गर्न मिल्थ्यो।

सन् १९७५ पछि पनि २२ वर्षभन्दा कम अवधि बेलायती सेनामा सेवा गरेको जोसुकैले पेन्सन प्राप्त गर्न ६० वर्षसम्म कुनुपथ्र्यो। प्रायः गोर्खाहरूले उनीहरूको उमेरको तेस्रो दशकमै पेन्सन प्राप्त गर्न सुरु गरेका थिए। त्यसपछिका वर्षहरूमा समेत गोर्खा पेन्सन बेलायती पेन्सनभन्दा तीव्र गतिमा र बेलायती पेन्सनको तुलनामा उच्च दरमा बढेको देखिन्छ। मैले आज घोषणा गर्न लागेको वृद्धिले गोर्खा पेन्सन औसतमा प्रतिवर्ष करिब सात लाख तीस हजार नेपाली रुपियाँ पुग्नेछ। यो रकमले गुणस्तरीय जीवन प्रदान गर्नेछ र धेरै गोर्खाहरूले समान सेवामा रही बेलायती सेनाभन्दा धेरै आजीवन पेन्सन प्राप्त गर्नेछन्।

तेस्रो, गोर्खा पेन्सन भनेको व्यापक सहायता प्याकेजको एउटा भाग मात्रै हो। बेलायती सरकारले सन् १९९७ भन्दा पहिले ४ वर्षभन्दा बढी सेवा गरेका भेट्रेनहरूलाई बेलायतमा बसोबास गर्न र कल्याणकारी तथा मेडिकल सहायतामा पहुँच प्रदान गर्न सहमति प्रदान गरेको छ। र, बेलायती सरकारले नेपालमा रहेको गोर्खा वेलफेयर ट्रस्टमा वार्षिक अनुदानका रूपमा दिँदै आएको सहायतालाई निरन्तरता दिएको छ र आगामी १० वर्षभित्रमा नेपालमा रहेका गोर्खाहरूको स्वास्थ्य सेवाका लागि थप २५ मिलियन पाउन्ड प्रदान गर्ने योजना बनाएको छ।

अन्ततः सशस्त्र सेनाका प्रचलित सेवाका सर्त तथा बन्देजहरूमा गरिने परिवर्तन बेलायती सशस्त्र सेनाका सबै जवानहरूका लागि सधैँ समान हुनुपर्छ। सबै जनको अपेक्षा पूर्ति गर्न सम्भव हुँदैन। तर भेट्रेनहरूको सरोकारलाई ध्यानपूर्वक सुन्दा हामीले अझ धेरै गर्नसक्छौँ भन्ने कुरामा म विश्वस्त छु। त्यसैले आज म गोर्खा पेन्सन व्यवस्थाको वृद्धिको एउटा महत्वपूर्ण घोषणा गर्छु। यसबाट प्रत्येक व्यक्तिको पेन्सनमा १० देखि ३४ प्रतिशतसम्म वृद्धि गर्नका लागि बेलायती सरकारले थप १५ मिलियन पाउन्ड लगानी गर्दैछ।

आज वीर गोर्खाहरूको बारेमा सर राल्फ टर्नरका अमर वाणीहरू ढुङ्गामा कुँदिएको मूर्ति मेरो कार्यकक्षको बाहिर ह्वाइटहलमा पहरा दिइरहेको छ। त्यो स्मारक गोर्खाहरूको २०० वर्षको बलिदान र सेवाका निम्ति गरिएको श्रद्धाञ्जलिभन्दा बढी मूल्यवान् छ। हाम्रो वीर गोर्खा ब्रिगेड जसरी विगतमा हाम्रो अभिन्न अंगका रूपमा रहेको थियो त्यसरी नै भविष्यमा पनि रहनेछ भन्ने कुरा सुनिश्चित गर्ने बेलायती सरकारको प्रतिबद्धताको यो एउटा प्रतीक हो।
(लेखक बेलायत सरकारका रक्षा राज्यमन्त्री हुन्)

प्रकाशित: २३ फाल्गुन २०७५ ०२:५४ बिहीबार

वीर गोर्खा मानवीय_सहायता