विचार

बाँध सुरक्षाका चुनौती

मोहननाथ आचार्य/केशव शर्मा

पानीसित जोडिएको विकास गतिविधिमा सँगै आउने महत्वपूर्ण विषय हो, बाँध । संसारमा बाँध निर्माण गरी पानीलाई मानवीय आवश्यकता पूरा गर्न प्रयोग गरिन्छ । सानाठूला सिँचाइ हुन् वा जलविद्युत् निर्माण जलाशययुक्त बाँध त्यससित जोडिएर आउँछ । नेपालमा सिँचाइ र जलविद्युत् उत्पादनका लागि वर्षौंदेखि साना ठूला बाँध निर्माण हुँदै आएका छन् । ‘विकासका मूल फुटाउने’ घोषणा गरिएको वर्तमान सरकारले विभिन्न प्रयोजनका लागि सानाठूला जलायशययुक्त आयोजना निर्माणको चर्चा गरिरहेको छ । योजना अनुसारका बाँधहरू निर्माण भई सञ्चालनमा आए त्यसबाट देशले फाइदा लिन सक्नेमा दुई मत छैन। जलाशययुक्त आयोजनाको आर्थिक र सामाजिक लाभ जति उच्च छ निर्माणमै सचेतता नअपनाउने हो भने त्यसको जोखिम पनि उत्तिकै छ ।

भारतीय सरकारले गरेको एक अध्ययनले भारतका करिब ६०० ठूलो बाँधहरू खतरायुक्त रहेको जनाएको थियो । हाम्रो जस्तो अल्पविकसित राष्ट्रहरूमा यति संख्यामा बाँधहरू जोखिमयुक्त भनेर तोक्न नसकिए तापनि विभिन्न अध्ययनले ठूलो संख्यामा बाँधहरू जोखिम रहेको देखाउँछ । यसै वर्ष लाओसमा जेपियन जेनाम नोए जलविद्युत् आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको बाँध फुट्दा ३५ भन्दा बढीको मृत्यु भयो र यसको असर कम्बोडियासम्म पुग्यो । गत महिना ब्राजिलमा एउटा बाँध भत्किएर ठूलो धनजनको क्षति भयो, सन् २०१५ पनि ब्राजिलमा बाँध भत्किएर करिब २० जनाको मृत्यु भएको थियो । प्रारम्भिक अध्ययन, डिजाइन, निर्माण र सञ्चालनको अवधिसम्म सचेततापूर्वक ध्यान दिइने विकसित मुलुकमा समेत बाँध भत्केर मानवीय र भौतिक क्षति भइरहेको हुन्छ । हाम्रोजस्तो हाम्रो जस्तो प्राकृतिक विपद् बढी हुने विकासोन्मुख मुलुकमा हुने निर्माणमा अलिकति मात्रै सचेतता नअपनाउने हो भने त्यसले ठूलो क्षति पुर्याउने खतरा हुन्छ । 

नेपालको परिदृश्य
नेपाल भूकम्पीय जोखिम भएको मुलुक हो । बाढी पहिरोको खतरा पनि उत्तिकैै छ । नेपालमा प्रत्येक ८०–१०० वर्षमा भूकम्पका ठूला धक्काहरू गइरहेको इतिहास छ । सामन्यतयाः बाँधको आयु सय वर्षभन्दा बढी हुन्छ । यसको अर्थ नेपालमा प्रत्येक बाँधले कम्तीमा एक ठूलो भूकम्पको धक्का सामना गर्नुपर्ने हुनसक्छ । उच्च बाँधयुक्त ठूला जलाशयमा खासगरी होरिजेन्टल चालको भूकम्प र यसले पानीलाई पनि गतिशील बनाई बाँधमा थप बल लगाउँछ जसले गर्दा बाँध भत्किने जोखिमको सम्भावना अझ बढ्छ । २०७२ सालको भूकम्पले बाँधमा ठूलो क्षति नभएता पनि माथिल्लो भोटेकोशी, सुनकोशी, कुलेखानी र माथिल्लो त्रिशुलीमा सामान्य क्षति पु¥यायो । यद्यपि यी उच्च बाँध होइनन् । गत २०७१ सालमा सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोले गर्दा सुनकोशी विद्युत् गृहमा ठूलो क्षति भएको थियो । नदीको वहावमा आधारित जलविद्युत् योजना भएकाले तल्लो तटीय क्षेत्रमा ठूलो क्षति भएन, बाँधयुक्त आयोजना हुन्थ्यो भने ठूलो विनाश निम्तिन सक्ने थियो । साथै उक्त पहिरोले सुनकोशी नदी अवरुद्ध हुँदा तल्लो तटिय क्षेत्रमा ठूलो त्रास फैलिएको थियो। 

तापमान वृद्धिले हिमतालहरू बन्ने र फुट्ने प्रक्रिया बढ्दोे छ । हिमालबाट सुरु भएका नदीहरूमा सुख्खा समय पनि एक्कासि बाढी आउने खतरा हुन्छ । २०६९ वैशाखमा अन्नपूर्ण हिमशृंखलामा आएको हिमपहिरोका कारण सेती नदीमा बाढी आउँदा ठूलो धनजनको क्षति भएको थियो । मनसुनमा उच्च वर्षा हुने, हिमाली र पहाडी क्षेत्रमा साँघुरो खोचबाट नदीनालाहरू बग्ने तथा कमजोर र चलायमान भूगर्भको कारण पहिरो गई नदीहरू थुनिएर बाँध बन्न सक्ने सम्भवना पनि उत्तिकै छ । यस्ता बाँधहरू सामान्यतयाः अति कमजोर हुन्छन् र जुन बेला पनि भत्किन सक्छन् । जसले तल्लो तटीय क्षेत्रमा रहेका बाँधहरूमा जोखिम बढाउँछ । जस्तैः २०३९ मा सिन्धुपाल्चोकको बलेफी खोलामा पहिरोले बनाएको ताल फुट्दा ९७ जना मानिससहित १५ घर बगाएको थियोे । 

बाँध फुटेर हुने नोक्सानी नेपाल जस्तो विकासोन्मुक राष्ट्रमा अझ बढी हुने गर्छ । नेपालमा पनि ठूला बाँधहरूको तीव्र गतिमा योजना भइरहेको अवस्थामा प्रभावकारी बाँध सुरक्षा नियम र आपतकालीन व्यवस्थापन कार्यक्रम जरुरी देखिन्छ । विकसित देशले बाँधबाट हुने सक्ने जोखिमलाई न्यूनीकरण गर्न जनस्तर, राजनैतिक वृत्त र विज्ञहरूबीच बाँधलाई अझ सुरक्षित बनाउन के गर्न सकिन्छ भन्ने बहस सुरु भएको छ । ती बहसले सुरक्षित बाँध निर्माण र सञ्चालन योजना, नीति परिमार्जित गर्दै लगेको छ । तर नेपालजस्ता विकासोन्मुख मुलुकमा बाँधले पुर्याउने क्षतिलाई प्राथमिकतामा राखेको देखिँदैन । सीमाको संवेदनशीलता, वैदेशिक लगानी र सहभागिता नभएका बाँधमा त्यसको दिगोपन र दीर्घकालीन सुरक्षाभन्दा आर्थिक पाटो र नाफा प्राथमिकतामा परिरहेको छ । विकसित देशहरूमा बाँधको कारण हुने सबै क्षतिको उत्तरदायित्व बाँध निर्माणकर्ताको हुनुपर्ने माग उठिरहेको छ । अमेरिका, क्यानाडा, जापान र अन्य कतिपय देशमा त यो लागू भइसकेको छ ।

हामी कोशी र कर्णाली उच्च बाँध, बुढीगण्डकी जलाशययुक्त विद्युत् योजना, पश्चिम सेतीलगायत अन्य ठूला आयोजना निर्माण गर्ने प्रक्रियामा छौँ । बुढीगण्डकी जलाशययुक्त योजनामा २६३ मिटर अग्लो बाँध निर्माण गर्ने र त्यसबाट बन्ने ताल फेवाताल भन्दा धेरै ठूलो हुने भनिएको छ । जसमा ४,४६७ मिलियन घनमिटर पानी जम्मा हुने आँकलन छ । कुनै कारणवश बाँध फुट्न गयो भने नेपालभित्र मात्र होइन, भारतमा समेत ठूलो जनधनको क्षति हुने सम्भावना उच्च छ । जस्तो विसं २०६५ मा कोशीमा नदी नियन्त्रणका लागि लगाएको बाँध फुट्दा नेपाल र भारत दुवै देशमा ठूलो क्षति भएको थियो । ठूला–ठूला बहुउद्देश्यीय जलाशययुक्त आयोजना पक्कै पनि हाम्रा आवश्यकता हुन् । ती प्राथमिकतामा पर्नुपर्छ । आयोजनाको निर्माणसँगै बाँध फुटिहाले तल्लो तटीय क्षेत्रमा हुन सक्ने क्षति न्यूनीकरण गर्न के गर्न सकिन्छ भन्नेबारे पनि निर्माणपूर्व नै चासो राख्नुपर्छ । हाम्रोजस्तो भौगोलिक क्षेत्रमा बनेका बाँधहरू जोखिमयुक्त हुन्छन । त्यसबाट उत्पन्न हुने आपतकालीन व्यवस्थापनबारे सचेत भइएन भने विकासले निम्त्याउने विनाश महादुःखदायी हुनेछ ।

त्यसैले बाँधबाट सिर्जना हुने समस्याको आपतकालीन व्यवस्थापनका लागि चार काम बाँध निर्माण पूर्व गर्न सकिन्छ जोखिमको रोकथाम तथा न्यूनीकरण, आपतकालीन तयारी, आपतकालीन उद्धार र पुनर्प्राप्ति योजना।

जोखिम रोकथाम तथा न्यूनीकरण
कुनै पनि बाँधको योजना बन्नुअघि विभिन्न विकल्पमा अध्ययन गरिनुपर्छ र जोखिम विश्लेषण गरी कमभन्दा कम जोखिम हुने स्थान छनोट गर्नुपर्छ । सुरक्षित स्थान बाँध निर्माण गरे तापनि यसको जोखिम शून्य भने हुँदैन त्यसैले जोखिम रोकथाम तथा न्यूनीकरण एक निरन्तर प्रक्रिया हो ।

आपतकालीन तयारी
आपतकालीन तयारी योजना भनेको कुनै दुर्घटना भइहाल्यो भने राज्यको कुन निकायले के गर्ने, कसरी कमभन्दा कम क्षति गर्न सकिन्छ त्यसको बन्दोबस्तीसहित तयारीमा बस्नु हो । यसअन्तर्गत बाँध भत्किहाल्यो भने के गर्ने भन्ने पूर्वअभ्यास गर्ने, नियमित योजना बनाउने, बाँधले असर पार्ने स्थानका जनताहरूसँग छलफल आदि पर्छन् । 

आपतकालीन उद्धार र प्रतिक्रिया
प्राकृतिक विपत्ति रोक्न सकिन्न तर कम गर्न सकिन्छ । विपत्त आइलागेपछि के गर्ने त्यति बेला सोच्ने होइन, विपत् आउनु पहिले नै सोच्नुपर्छ र विभिन्न प्रतिकूल अवस्थाले गर्दा बाँधमा विषम परिस्थिति उत्पन्न हुनसक्छ, यस्तो अवस्थामा बाँधको क्षेत्र र तल्लो तटीय क्षेत्रमा विशेष निगरानी राख्नुपर्छ र आवश्यक देखिनासाथ आपतकालीन उद्धार र प्रतिक्रियामा जानुपर्छ, यसका लागि पूर्वतयारी आवश्यक पर्छ ।

सञ्चार तथा सामाजिक सञ्जालको प्रयोग
प्रस्ट सूचना प्रभावकरी रूपमा समयमै सम्भावित प्रभावित क्षेत्रमा रसम्बन्धित निकायहरूलाई प्रवाह गर्नु सफल आपतकालीन उद्धार तथा प्रतिक्रियाका लागि महत्वपूर्ण हुन्छ । विश्वभरका उपलब्ध आधुनिक बाँध सुरक्षा अवधारणाहरू जसलाई अन्तर्राष्ट्रिय बाँध सुरक्षा एजेन्सीहरूले मानेका छन् ति मान्यताहरूसमेतलाई आधार मान्नुपर्छ । 

पूर्वतयारी र प्रतिक्रियालाई जोड दिँदै एउटा प्रभावकारी आपतकालीन बाँध सुरक्षा व्यवस्थापन कार्यक्रम लागू गर्नुपर्छ । बाँधको निर्माणका विभिन्न चरणहरू जस्तै योजना, स्थान छनोट, डिजाइन, निर्माण र सञ्चालन प्रक्रियाहरू पारदर्शी सबै चरणहरूमा प्रभावकारी सार्वजनिक सुनवाइ अनिवार्य गरिनुपर्छ । प्रभावित हुने सक्ने क्षेत्रका जनता र आकस्मिक प्रतिक्रिया तथा उद्धारमा संग्लनकर्मीहरूलाई सम्भावित खतरा, आपतकालीन स्थिति र उपयुक्त उद्धार र प्रतिक्रियाहका लागि तयार बनाउन अनवरत शिक्षा र चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ । विद्यालय र विश्वविद्यालय तहमा जोखिम न्यूनीकरण र आपतकालीन व्यवस्थापनको आधारभूत विषयहरू अध्यापन गरिनुपर्छ ।

(सिभिल इन्जिनियर आचार्य क्यानाडामा बाँध विज्ञका रूपमा कार्यरत छन् भने शर्मा युनिभर्सिटी अफ अल्बर्टामा सिभिल इन्जिनियरिङमा विद्यावारिधिरत छन् ।) 

प्रकाशित: २२ फाल्गुन २०७५ ०२:०० बुधबार

बाँध सुरक्षा चुनौती