भारत र पाकिस्तानबीच केही दिनयता बढ्दो तनावका बाछिटाले दक्षिण एसियामा प्रभाव पार्न थालेको छ। त्यसको प्रत्यक्ष तथा परोक्ष असर नेपालमा झनै पर्छ। हाम्रो मुलुकको आयात–निर्यातको सबैभन्दा ठूलो हिस्सा भारतसँग जोडिएको छ। तेस्रो विश्वका मुलुकबाट गरिने आयात र त्यसतर्फ गरिने निर्यात पनि भारत भएरै बढी हुन्छ। त्यसले हाम्रो जनजीवनलाई कुनै न कुनै हिसाबले असर पार्छ। यससँगै भारतीय सेनामा कार्यरत करिब ३२ हजार गोर्खा सैनिकसमेत यी दुई मुलुक युद्ध भइहालेमा प्रयोग हुन सक्छन्। त्यसले हाम्रो मुलुकमा पारिवारिक तहमा समेत प्रभाव पर्छ। यो स्थितिलाई नेपाल सरकारले पनि महसुस गरेको छ। तनाव बढ्न थालेपछि सरकारले बुधबार चिन्ता व्यक्त गर्दै दुवै पक्षलाई वार्ताबाट समाधान खोज्न आग्रह गरेको छ। सार्कको वर्तमान अध्यक्षसमेत रहेको नेपालले गत फागुन २ गते जम्मु कस्मिरको पुलवामामा भएको आतंककारी आक्रमणको तत्कालै भत्र्सना पनि गरेको थियो। यस क्षेत्रमा शान्ति र स्थायित्व हुनुपर्नेमा नेपालले गरेको आग्रह यथार्थमा अहिलेको समयको माग पनि हो।
पाकिस्तानी प्रधानमन्त्री खानले पटक–पटक वार्ताको आग्रह गरिरहेका छन्। सँगै पाकिस्तानले आफ्नो कब्जामा लिएका भारतीय वायु सेनाका पाइलटलाई मुक्त गर्ने घोषणा गरेर सकारात्मक सन्देश प्रवाह गरेको छ। आन्तरिक राजनीतिक खपतकै निम्ति यी दुई मुलुकले आक्रमण/प्रत्याक्रमणमा लाग्नु यस क्षेत्रका निम्ति उचित छैन। शान्तिपूर्ण बाटोबाटै दुवैले समस्याको समाधान खोज्नुपर्छ।
गरिबीले किचिएको दक्षिण एसिया क्षेत्रमा बल्ल आर्थिक सम्भाव्यता देखिन थालेका बेला बढेको तनावले थप चिन्ता हुनु स्वाभाविक हो। भारत र चीनजस्ता आर्थिक रुपमा उदीयमान शक्ति राष्ट्रका कारण पनि यस क्षेत्रको महत्व बढिरहेको छ। यो क्षेत्रको महत्व बढ्दै गएका कारण पश्चिमा मुलुकले समेत यतातिर आफ्नो ध्यान केन्द्रित गरिरहेका छन्। नेपालले महत्व पाउन थालेको पनि यहाँको भूराजनीतिक अवस्थितिका कारणले हो। भारत आसन्न लोकसभा निर्वाचनको तयारीमा छ। यो बेला जम्मु कस्मिरमा भएको आक्रमणको दोष भारतले पाकिस्तानमा आश्रय लिइरहेका आतंककारी संगठनलाई लगाएको छ। त्यसलगत्तै भारतले पाकिस्तानतर्फ रहेका बालाकोटमा हवाइ आक्रमण गरी तीन सयभन्दा बढी आतंककारी मारिएको दाबी गरेको छ। पाकिस्तानले भने त्यस्तो कुनै हताहती नभएको जनाएको र भारतले जंगल क्षेत्रमा बम खसाएको दाबी गरेको छ। दुई देशबीचको आरोप÷प्रत्यारोपकै बीच बुधबार बिहान पाकिस्तानले भारतीय वायु सेनाका दुई विमान खसालेको दाबी गर्यो। भारतीय वायु सेनाका एकजना पाइलटलाई नियन्त्रणमा लिएर कुटपिट गरिएको र पछि उनैलाई चिया खान दिएर पाकिस्तानी सेनाले राम्रो व्यवहार गरेका अलग–अलग भिडियोसमेत सामाजिक सञ्जालमा देखिएको थियो। ती पाइलटमाथि अन्तर्राष्ट्रिय कानुनअनुसार उचित व्यवहार गरिनुपर्ने आवाज भारतको तर्फबाट उठेको थियो।
भारत र पाकिस्तानबीच सन् १९४७ मा विभाजनदेखि नै एकअर्काबीच तिक्ततापूर्ण सम्बन्ध छ। यसबीच यी दुईले आपसमा तीन ठूला युद्धसमेत गरिसकेका छन्। अहिले फेरि अर्को युद्ध भड्किने स्थिति देखेपछि अन्तर्राष्ट्रिय समुदायले समेत शान्ति स्थापनार्थ आवाज उठाइरहेको छ। कुनै बेला पाकिस्तानसँग निकट रहेको अमेरिका यतिबेला भारत निकट छ। चीन, रुस आदि मुलुक पाकिस्तानको पक्षमा छन्। तथापि यी सबै मुलुकले दुवै मुलुकलाई शान्तिपूर्ण समाधानकै निम्ति आग्रह गरिरहेका छन्। भारत र पाकिस्तान दुवै मुलुकका सत्तापक्षमाथि युद्धको चर्काे दबाब छ। आसन्न निर्वाचनसम्म भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि जति ठूलो दबाब छ, त्यति नै पाकिस्तानी प्रधानमन्त्री इमरान खानमाथि त्यहाँको सेनाको पनि छ। राजनीतिक लाभका निम्ति युद्धको धमास दिन जति सजिलो छ, त्यति नै त्यसले ल्याउने संकटको सामना गर्नु कठिन छ। भारत र पाकिस्तान दुवैतिरका मिडियाले भावनालाई उच्च बनाउने र युद्धतर्फ लाग्न राजनीतिक नेतृत्वलाई दबाब दिएको देखिन्छ। तर, युद्ध सुरु भइसकेपछि रोकिन सजिलो छैन। पाकिस्तानी प्रधानमन्त्री खानले पटक–पटक वार्ताको आग्रह गरिरहेका छन्। सँगै पाकिस्तानले आफ्नो कब्जामा लिएका भारतीय वायु सेनाका पाइलटलाई मुक्त गर्ने घोषणा गरेर सकारात्मक सन्देश प्रवाह गरेको छ। आन्तरिक राजनीतिक खपतकै निम्ति यी दुई मुलुकले आक्रमण÷प्रत्याक्रमणमा लाग्नु यस क्षेत्रका निम्ति उचित छैन। शान्तिपूर्ण बाटोबाटै दुवैले समस्याको समाधान खोज्नुपर्छ।
प्रकाशित: १७ फाल्गुन २०७५ ०४:१६ शुक्रबार