विचार

गुठी पीडित किसानलाई न्याय कहिले ?

हेलम्बु गाउँपालिका वडा नं. ७  भञ्ज्याङका हरिप्रसाद चापागाईको पुस्ताले कमाएको गुठी जग्गा ७ वर्षको संघर्षपछि २०५८ सालमा मोही पुर्जा प्राप्त गरे। हरिप्रसादले महाकालेश्वरी महादेवको मन्दिरमा पूजा गर्छन्। हरेक वर्ष जनैपूर्णिमा र ऋषिपञ्चमीमा त्यस मन्दिरमा मेला लाग्छ। त्यसबेला पनि गुठी जग्गा कमाउने लगायत सबैले धुमधामले पूजा गर्छन्। तर, त्यही मन्दिरको नाममा पूजा गर्ने भनेर नै गुठी जमिन राखिएको छ। १५ किसान परिवारले त्यो जग्गा जोतभोग गरेर आफ्नो जीविका धानेका छन्। 

इन्द्रावती गाउँपालिका वडा नं. १ सिम्पाल काभ्रेका लाक्पा तामाङले छहरेघ्याङ गुठीको जग्गा कमाएका छन्। लाक्पा लगायत ६२ परिवारले उक्त घ्याङको नाममा रहेको गुठी जग्गा कमाउँछन्। त्यस क्षेत्रका तामाङ तथा शेर्पा जातिहरूले घ्याङमा पूजा गर्दै आएका छन्। हरेक वर्ष जनैपूर्णिमाको दिन र ल्होसारमा घ्याङमा पूजा हुन्छ। बुद्ध धर्म लगायत अन्य धर्म मान्नेहरूले पनि त्यो घ्याङमा जाने र पूजा गर्ने गर्छन्। लाक्पाका अनुसार उक्त घ्याङमा पूजा गर्न हाल भएको जमिनको उत्पादन भन्दा त्यहाँ संकलन हुने चामल, फलफूल र पैसा बढी हुन्छ। उनीहरू धर्मप्रति विश्वास राख्छन्। त्यसैले आफ्नै घरको चामल, फलफूल, पैसा र ध्वजा लिएर घ्याङमा पूजा गर्न आउँछन्। 

हरिप्रसाद, लाक्पा र त्यस सामुदायिक बासिन्दा जस्तै धेरैले आफ्नो क्षमताअनुसार आफ्नो धर्म संस्कृतिअनुसार मठ मन्दिर र देवीदेवताका पूजा गर्दै आएका छन्। उनीहरू कसैलाई पनि गुठी जमिनको उत्पादन र पूजामा उठेको अन्न भेटीको मतलब छैन। तर, आज पनि गुठियार र कुत उठाउन पल्केकाहरूले नै गुठी जग्गा किसानको हातमा हुनुहुँदैन भन्ने जस्ता भ्रम सृजना गरेका छन्। त्यसैले गुठीसम्बन्धी कानुन बनाउनेहरू पनि किसान र भक्तजनको भन्दा पनि गुठीयार र पूजारीको कुरा सुनेर नीति तथा कानुनहरू बनाउनेतिर अग्रसर देखिन्छ। 

नेपालमा राजगुठी मात्र २८२ वटा छन्। निजी गुठी हजारौँ छन्। त्यसको अझै यकिन तथ्यांक छैन। गुठी समस्या अध्ययन तथा छानबिन प्रतिवेदन २०७१ अनुसार नेपालको ६८ जिल्लामा कुनै न कुनै प्रकारको गुठी रहेको देखाएको छ। सिन्धुपाल्चोकमा मात्र १ सय ४८ नामका गुठी छन्। मालपोतको रेकर्डमा ४५ वटा मात्र गुठीका लागत छन्। यसरी सिन्धुपाल्चोकमा मात्र गुठी जमिनमा आश्रित किसानको संख्या ११ हजार १५२ छन्। गुठीले ओगटेको जमिन १ लाख ५३ हजार ८ सय ४० रोपनी छ। 

मेलम्ची नगरपालिका वार्ड नंं १३ का ८ सय ५४ परिवार पशुपति महास्नान गुठीबाट पीडित छन्। फटकशिलाको बाँकी किसान पनि श्री फट्केश्वर महादेव गुठी, भीमसेन गुठी र रणनैनेश्वर गुठीको नाममा छ। त्यसैले यस वडामा रहेको पूरै जमिन गुठीको हो भन्दा फरक पर्दैन। फटकशिलाका किसानका अनुसार पशुपति महास्नान गुठीको जमिन कमाउने किसानहरूले ८४ व्यञ्जन पशुपतिनाथमा चढाउने नियम सुरु भयो। महिनामा २२ मुरी १५ पाथी चामल, ३७ भारी दाउरा, भैरवलाई चढाउन २ वटा बोका, १० पाथी मकै, गाईको दही २७ पाथी, माल्बु केरा ६ घरी, लिङगा २ वटा, २ वटा बेलपत्र, सिस्नु, दुबो, माछा १२ पेरुङगा, लप्सी २ पाथी, तित्री व्यञ्जन २ पोका, ठोट्ने ४ पोका, बाबियो २ मुठा, गाईको घ्यू ३ हर्पे, बेसार आदि काठमाडौँको देउपाटनमा पुर्‍याउनुपर्ने चलन सुरु भयो। यी चिजहरू उत्पादन नभए किसानले किनेर दिन्थे।

२०५१ सालसम्म किसानले पशुपतिमा चौरासी व्यञ्जन बुझाए। २०५६ सालमा किसानहरूको आन्दोलनको कारण तिरो छुट भयो। छुट हुँदा पनि कुत बाली तिर्दा १÷२ कित्ता नै बेच्नुपर्‍यो। महँगो भएका कारण २०५६ सालदेखि हालसम्मको तिरो तिर्न सकेनन्। अहिले १७ वर्षको कुत तिर्ने हो भने सबै खेत बेचेर पनि पुग्दैन। रैकर सरह नगर्ने हो भने तिर्न सक्ने अवस्था छैन। फटकशिला जस्तै देशको अधिकांश गुठी जग्गा कमाउने किसानको समस्या यस्तै छ। न तिरो तिर्न सकेका छन्। न आफूले कमाएको जमिन नै रैकर गर्न। कमाएको जमिनमा पनि सरकारले उल्टै मोही जनिएको भए आधा मात्र दिने भन्ने अस्पष्ट कुराले किसान त्रस्त छन्। 

भगवान्सँग न मुख छ, खानलाई। न नाक छ, सुँघ्नलाई। न आँखा छ। त्यो सारा गुठीको जमिन र रमझम हेर्नलाई। तर, मन्दिर र गुम्बा, घ्याङको नाममा खेतीयोग्य जमिन किन ? आ–आफ्नो धर्मप्रति आस्था र विश्वास राख्नेले आफ्नो करेसाबारीको फूल टिपेर चढाउन सक्छन्। आफ्नो आत्मालाई चोखो राखेर सधैँ सम्झेका हुन्छन्। जुन आज पनि भएको छ। भोलि पनि हुन्छ। मन्दिर अथवा गुम्बामा गुठीको जमिनले भन्दा बाहिरी पूजा तथा स्रोतले चलेको छ। त्यसैले जमिन जसले जोतखन गर्छ। जसले जमिनलाई मलिलो बनाउँछ। उसैलाई विनासर्त जीविका धान्ने जमिन उपलब्ध गराउनुपर्छ। 

त्यसको मतलब गुठी मास्नुपर्छ। धर्म मास्नुपर्छ भनेर धर्मको विरोध गरेको हैन। म पनि मन्दिर, गुम्बा जान्छु। सबै धर्मलाई सम्मान गर्छु। मानव भोको बसेर आफ्नो बालबच्चालाई भोको राखेर हामीले निर्माण गरेको ढुंगा र काठको मूर्ति पूजा गरेर मात्र धर्म र संस्कृति रहन्न भनेको हो। हामीले चमल, फलफूल, दूध र धुप नचढाए पनि मन्दिरका देवी देवता बाँच्छन्। बरु, मन्दिर अथवा गुम्बामा उपलब्ध स्रोतहरूको कसरी व्यवस्थापन गर्ने भन्ने कुरा सोच्ने बेला आएको छ। कसरी मौलिक र स्वच्छ बनाउने भन्ने कुराको प्रश्न उब्जिएको छ। माघको अन्तिम शनिबार पशुपतिनाथको मन्दिर परिसर पुग्दा एउटा बच्चाले आमाले बोकेको स्याउ माग्दै थियो। नरिवलको पानी खाने त्यो बच्चा जिद्दी थियो। तर, उसको आमाको जवाफ मन्दिरमा पूजा गर्नुपर्छ भन्ने थियो। तर, पहिला त्यो बच्चाको आत्माको पूजा गर्नुपर्छ। अनि मात्र मन्दिरको पूजा गर्ने हो। त्यसैले राज्यले पनि पहिला गुठी जग्गा खनजोत गर्ने किसान र उसको परिवारको पेट भर्नका लागि नीति निर्माण र कार्यान्वयन गर्नुपर्छ। अनि त्यो किसान आफैँले मन्दिरको पूजा गर्नेछ। साथै राज्यले मन्दिरमा पूजा गरेको भेटी, फलफूल सुन–चाँदी लगायत जिन्सी तथा नगदको सही व्यवस्थापन र सदुपयोग गर्नुपर्छ। यसो गरियो भने, हाम्रो धर्म र संस्कृतिको धरोहरलाई पनि बचाउन सकिन्छ। र, अन्न उत्पादन गर्ने किसानलाई जमिनको अधिकार सुम्पिँदा उनीहरूले पनि न्याय पाउँछन्। 

प्रकाशित: १७ फाल्गुन २०७५ ०३:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App