सागर शर्मा
१७ जनवरी २०१९ को दिनदेखि सामाजिक सञ्जालमा इसाई समुदायबाट पैसा लिई श्रीस्वस्थानी व्रतकथाद्वारा इसाई धर्मको प्रचार गरेको भनी ममाथि आक्षेप लगाई एउटा अभियान चलाइएको थियो। अब म पुस्तकमा दिइएका नयाँ टिप्पणीहरूको केही अंश यहाँ प्रस्तुत गर्छु:
स्वस्थानीको पूजनमा पापिनी र पापकुण्डको पूजन पनि किन ? यो प्रश्नको उत्तररूप छापिएको टिप्पणी: पापिनी र पापकुण्डको पनि पूजन ? यिनीहरूको सम्मान किन ? यो प्रश्न स्वाभाविक हो। पूजनको क्रममा सम्मानको प्रदर्शन त हुन्छ नै साथमा तत््तत् देव वा भूतादिलाई देयभाग पनि प्रदान गरिन्छ, जसले तिनीहरूलाई सम्बल र श्रेष्ठत्व प्रदान गर्छ। प्रेतकर्म वा पितृकर्ममा गरिएको पूजन र समर्पणले जसरी प्रेत र पितृको कल्याण गर्छ त्यसैगरी गल्तीले पापमा पर्न गएकाको चेतना पनि पूजनले जागृत गरी उनीहरूको कल्याण गर्छ। विचारणीय छ कि चेतन जीवले कदापि अश्रेयस्कर पापमार्गको चुनाव र अनुसरण गर्न चाहँदैन, यसका लागि मोह र भ्रमको आवरण आवश्यक हुन्छ। साथै सकेसम्म उनीहरूको भ्रम व मोहभञ्जन गर्न तथा उनीहरूको मनस् व दृष्टिलाई निर्मल पार्ने प्रयास गर्नु पनि कर्तव्य नै हुन जान्छ, यसैको निमित्त तिनीहरूको पूजन पनि गरिन्छ। यसले उनीहरूको दुष्टताको शमन हुन्छ र उनीहरूमा दबिरहेको सत्वलाई सजग र उजागर गर्न सहायता पुर्याउँछ।
महादेव त नशेडी हुन् भनी लाग्ने आक्षेपको उत्तर भएको टिप्पणीको केही भाग: यो कुरो सही हो कि सबै नशेडी र लागूपदार्थ सेवन गरी इन्तुचिन्तु हराएका ढोंगीहरू महादेव अथवा उच्चकोटिका साधक हुँदैनन्, धेरैजसो त उत्तरदायित्वबाट पलायन गरेका र बहुरूपिया ठग नै हुन्छन् र हामीहरू उनीहरूप्रति सचेत नै हुनुपर्छ, परन्तु यसकारणले महादेवप्रति आलोचनात्मक दृष्टि राख्नु हुँदैन। महादेव नशा गरेर महादेव भएका होइनन्, बरु उनी महादेव भएकाले नै नशाको त के कुरा हलाहल विषलाई पनि अङ्गीकार गर्न सक्छन्। उनको क्रियाकलाप र शैलीले यो दर्शाउँछ कि मानिसले यस संसारमा मोहमा गाँज्ने सबभन्दा शक्तिशाली पदार्थहरूमाथि पनि विजय प्राप्त गर्न सक्छ। यसरी नै जीवन–संघर्षमा परेको मानिसले पनि मोहमा नपरी चेतनालाई सजग राख्न सक्छ।
त्रिपुरध्वंस गर्दा महादेवले उच्चकोटिको सभ्यता नष्ट गरेको भनी लाग्ने आक्षेपको उत्तर भएको टिप्पणीको केही अंश:
ध्येय र उद्देश्यको उदारता र त्यसको प्राप्तिका लागि गरिने क्रियामा धर्मको पालनाले नै कुनै पनि कार्यलाई सुफल पार्छ। ध्येयमा मलिनता र संकीर्णता रहे तथा क्रियाविधिमा धर्म र मर्यादाको पालन नगरिएको भए जस्तै ठूलो वा विस्मयकारी उद्योग भए पनि त्यो सुफल कदापि हुँदैन। निश्चय नै आलस्य, अकर्मण्यता र प्रमादभन्दा उद्यमिता र क्रियाशीलता प्रधान र वाञ्छनीय हो। परन्तु उदारता र धर्महीन क्रियाशीलताले आत्यन्तिक विनाशलाई नै निम्तो दिन्छ।
आजभोलि सार्वजनिक रूपले स्वस्थानी कथा भनिन्छ, कथा सुनाउने ब्राह्मण समुदायलाई केही सहयोग पुगोस् भनी यस्ता अनेकौँ नवीन टिप्पणीहरूले युक्त (जसमा केही वैज्ञानिक आधार भएका पनि छन्) यो नवीन संस्करण प्रकाशित गरिएको हो। साथै पुस्तक पूर्णतः समाप्त भएपछि धर्मको सार्वभौमिकता दर्शाउन ईसाई धर्मले पनि कुनै नवीन कुरो नगरी कर्म र प्रारब्धको प्रतिपादन गर्ने प्रभुप्रदत्त फलमा प्रेय र श्रेयको नै कुरो गर्छ भन्ने बुझियोस् भन्ने उद्देश्यले अन्तमा त्यो कथानक उदाहरणका रूपमा दिइएको थियो।
आँखा चिम्ली प्रेय मात्र प्रदान गर्ने त कुनै धृतराष्ट्र, आफ्नो स्वार्थ सिद्ध गर्न खोज्ने कुनै लोलुप व्यक्ति अथवा माफिया डन मात्र हुन्छन्। कुनै पनि धर्मका ईश्वर यस्ता पक्कै छैनन्। श्रेयस्कर फल दिन त प्रभुले मानिसको अद्यतन परिस्थिति बुझ्नुपर्यो त्यसका लागि त्यस मानिसको व्यक्तित्वको निर्माण गर्ने त्यसका पूर्व कर्महरू र त्यसबाट उत्पन्न प्रारब्धको हिसाब हेर्नैपर्यो। जुन कि प्रभुले स्वस्थानीमा शिवशर्मा र शिवभट्टको लीलास्वरूप कथाले स्पष्ट गर्नु भएको छ। अतः उनीहरूले जे भने पनि उनीहरूको यसै कथाले हाम्रो कर्म र प्रारब्धको सनातन सिद्धान्त स्थापित गर्दछ। स्वयं उनीले मानेको पुत्रलाई पनि प्रेय न पुर्याई गोमासरि धैर्यको नै परीक्षा लिएको बुझिन्छ तसर्थ लोभमा नपरी सबैको सम्मान पनि गर्दै सत्कर्ममा जोड दिने स्व–धर्मको पालना गर्नुपर्दछ। यस पुस्तकमा अन्त्यको टिप्पणीबाहेक कुनै पनि स्थानमा ईसामसीहको नामसम्म लिइएको छैन। साथै यो संस्करण विक्रम संवत् २०७४ मा छापिएको थियो तसर्थ हामीलाई आजको समयमा हाम्रो देशमा आउने राजनैतिक–सामाजिक परिस्थितिबारे जानकारी थिएन। आफ्नै धर्मको प्रतिपादन गर्न पनि कसैको नाम लेख्दैमा, उदाहरण दिँदैमा वा उसम्बद्ध कथा लेख्दैमा धर्म नष्ट हुने परिस्थिति हाम्रो मुलुकमा आयो भन्ने ज्ञात थिएन।
मेरो दृष्टिमा हाम्रो सनातन धर्म अरू धर्मजस्तो आस्थामा मात्र आधारित हैन, विवेक, विज्ञान र विचारशीलतामा आधारित हो। किनभने हाम्रो धर्मको स्रोत गायत्री मन्त्र वा सविता मन्त्र मानिएको छ जसबाट सबै ज्ञान प्रसवित हुन्छन् (अर्थात् जन्म भई विस्तार पाउँछन्)। एवं यस मन्त्रमा, प्रकाशित विवेक र विचारशीलताको प्रचोदनका लागि मात्र प्रभुसित प्रार्थना गरिएको छ। हामी पनि आफ्नो यस्तो उत्कृष्ट धर्मत्याग गरी अतिवादी र कट्टर रूपले सीमित भएर धर्ममाथि आएको संकटको सामना गर्न त सक्ने छौँ होला तर फेरि हाम्रो धर्मको मूल नै परिवर्तित हुनेछ र हामी पनि अन्य जस्तै नै हुन पुग्नेछौँ। अनि त्यो कसको विजय भयो त ? तसर्थ विवेक र विचारशीलताको आधारमा आफ्नो समाजलाई शनैः शनैः जाग्रत गर्न समुचित होला भनेर नै मैले यो कार्य पछिल्लो वर्ष गरेको हो, साथै यस वर्ष परिस्थितिमा प्रतिकूल प्रभाव परेको बुझी ‘यद्यपि शुद्धं लोकविरुद्धं नाचरणीयं नाचरणीयं’ को मर्यादाले आफूले पनि हटाएर आफ्ना वितरकलाई ती दुई पाना पनि हटाइदिन निवेदन गरेको थिएँ। धर्ममा कसैको व्यक्तिगत निष्ठाप्रति केही भन्न कसैलाई अधिकार छैन। अवश्य नै कसैको कुनै कार्यले समाजलाई हानि पुर्याउने जस्तो लागे उसको व्यक्तिगत जीवनशैली र कार्य निष्ठालाई उसको परिवेशमा आई हेर्न र बुझ्न सकिन्छ। त्यसै जथाभावी लाञ्छन लगाउन उचित हुन्न।
सामाजिक सञ्जाल भनेको एउटा सबल हतियार हो परन्तु ‘हतियारले हत्या गराउँछ’ भन्ने शीर्षक भएको कथा पनि बाल्यकालमा पढिएको थियो, जसमा हतियार उठाउँदा कर्तव्यबोध पनि चाहिन्छ भनी सिकाइएको छ। साथै भारतका एक कवि ‘दिनकर’ले कर्णको चरित्रबारे लेख्दा परशुरामको मुखबाट गराएको उद्गार उल्लेख गर्न चाहन्छु। ‘वीर वही है जो कि शत्रु पर जब भी खड्ग उठाता हैस मानवता के महागुणों की सत्ता भूल न जाता है।’ तसर्थ वीरताका पुजारी, सौम्य, शिष्ट र सहिष्णु नेपालीजनले यस्ता घृणा फैलाउने र कसैलाई व्यक्तिगत नोक्सान पुर्याउन सक्ने भिडियो र पोस्टहरू नजानी नबुझी सेयर गर्नु उपयुक्त हुँदैन।
आफ्नै धर्मको सबलीकरणका लागि गरेको मेरो यस प्रयासको उल्टो अर्थ हुन गएकाले आहत भएर यो स्पष्टीकरण दिँदै छु। आशा छ, नेपालको सनातनधर्मी जनसमुदाय सन्तुष्ट हुुनुहोला। मेरा यी वा अन्य कुनै उक्तिहरूले कसैलाई कष्ट पर्न गएको भए म हार्दिक क्षमा माग्छु।
प्रकाशित: २२ माघ २०७५ ०३:२३ मंगलबार