विचार

‘बूढीकन्या नै बस्नी हो कि?’

दसैँ–तिहार अर्थात् घर–परिवार–गाउँ–साथी–सँगी। बाह्र महिनामा खुसी पनि फर्किन्छ। तर, अब सधैँ खुसी मात्र फर्किंदैन। यसले ल्याउँछ— अनेक प्रश्न, जिज्ञासा, खिसिट्युरीका वर्षा। हो, यसपालि यस्तै अनुभव भयो।

म अलिक मुडी स्वभावको मान्छे, काम परिहाले कहिलेकाहीँ छिटो उठ्ने, नभए सुतेर नै बिहानीलाई शुभ बनाउने। भान्छाको काममा भन्दा अन्य काममा मन लाग्ने। प्रायः अरुलाई कुराउने। भनौँ न, नेपाली समाजले छोरी मान्छेमा हुनुपर्ने भनेर थोपरेका ३२ लक्षण त के, २ लक्षण पनि होओइनन्। नहुनुमा मलाई कुनै खेद छैन। मलाई त छैन, तर मेरो परिवार र आफन्त, मेरा साथीसँगी र सहकर्मी, मेरो समाजलाई भने म ‘बिग्रिएकामा’ ठूलो चिन्ता छ। मान्छेका दुःख नि !   

परिवारलाई कहिल्यै खाना पकाएर खुवाएकी छैन। बिहानै मन्दिर गएर मूर्र्तिमा जल र फूल चढाउनुभन्दा नजिकैको पुस्तक पसलमा गएर अक्षरमा आँखा चढाउनु मलाई मज्जा लाग्छ। विवाह गरेर घर गरी खाउँलाझैँ कहिल्यै लागेन मलाई। विवाहको हाउगुजीलाई कहिल्यै गम्भीरतासाथ लिइनँ। बिहेको कुरा हाँसेरै, सुनेको नसुन्यै गरी टारिरहेकी छु।
मसँगैका सबैजसो साथीहरूले विवाह गरिसके। छोराछोरीका अभिभावक भइसके। कोही तयारीमा छन्। कोही ‘सुमधुर सम्बन्ध’मा छन्। म खुसी छु। तर तिनका नजरमा म दुःखी नारी हुँ।

‘बिहे गर्न किन मान्दिनस् ?’ आमा।

गाउँमा म गएको थाहा भएपछि केही काकीहरूको समूह जम्मा हुन्छ, अनि अप्रत्यक्ष रूपमा आमालाई शब्दका वाणहरू बर्साउने गरिन्छ। ‘अब त बिहे गरे हुनी’, ‘फलानाकी छोरीले बिहे गरेर आनन्द भछ’, ‘केटा नै नपाएर हो कि के हो ?’, ‘हैन माग्न पनि आउन्न क्या ?’

एक जना काकीले त प्याच्चै भन्दिछन्, ‘मेरो दाइकी छोरी पनि शुष्माजस्तै बूढीकन्या बसेकी थिई, यसपालि मंसिरमा बिहे गर्दिने भका छन्, बल्ल ढुक्क हुने भो।’

‘शुष्मा जस्तै बूढीकन्या।’ सुनेपछि आमाको मुटुमा कसैले ढुंगा हान्नै परेन।

आमाले मेरा साथी, दिदीलाई ‘म किन गर्दिनँ’ भनेर सोधपुछका लागि खटाउनु भयो। ‘अनुसन्धानबाट केही तथ्य नखुलेपछि’ आफैँले कुरा गर्ने सुरमा बिहे गर अथवा अब त गर्नैपर्छ भन्ने उपदेश पाएँ।

काकीहरूलाई किन मेरो चासो लाग्दो हो ? किन मेरै बारेमा चर्चा ? यति पढ्दापढ्दै महिलाका शत्रु महिला भन्ने क्लिसे दर्शन पनि आइहाल्यो होला यहाँहरुलाई। महिलाका शत्रु महिलाहरू, कुरौटे, पीडक भन्नुअघि हाम्रो सामाजिक–राजनीतिक संरचना पर्गेल्ने कष्ट गरे जगमा पुगिँदो हो।

यही मेसोमा एकजना साथी जहिले भन्ने गर्छे, ‘तेरो त राम्रो भको छ, मन लाको पढ्न पाकी छस्, काठमान्डुमा बसेकी छस्, आफ्नो कमाइमा बाँचेकी छस्, कस्तो रमाइलो, तँ त क्या भाग्यमानी छस्।’ उसको कुरा सुन्दा साँच्ची नै म ‘भाग्यमानी’ (कर्ममानी) नै रैछु जस्तो लाग्छ। अनि फेरि सोच्ने गर्छु, विवाह गरेपछि मान्छेमा यसरी पश्चात्ताप किन हुन्छ होला ? विवाहपछि संसारकै खुसीको गुच्छा हातमा हुने जस्तो किन गर्छ यो समाजले ? जीवनसाथीलाई यस्तो सोच नआउने वातावरण किन बनाउँदैनन् होला ? सोच्ने गर्छु घरीघरी।

पोहोर मात्र मेरी बालसखा साथीको बिहे भयो। उसको विवाहको फोटो हेर्दा ऊ संसारकै सुखी र खुसी देखिन्थी। अनलाइनमा प्रायः गफिने हामी उसको विवाहपछि निकै कम बोल्न थाल्यौँ। एक दिन अचानक कुरा भयो। सन्चो बिसन्चोपछि भनी, ‘अब तँ पनि बिहे गर्, लाइफ सेटल गर्, कहिलेसम्म एक्लै बस्छेस् ?’ सोचेँ, बिहे नगरेसम्म ‘लाइफ सेटल’ हुँदैन त ?
 
मेरा बाले कहिल्यै मलाई बिहेको कुरा गर्नु भएन, जति भन्नुहुन्थ्यो, आमाले नै भन्नुहुन्थ्यो। बिहेका लागि खास दबाब नदिने आमाले यसपालि भन्नुभयो, ‘ठूलो जीउ भकी मान्छे जति ढिला ग-यो उति अप्ठ्यारो हुन्छ, छिट्टै बूढी होइन्छ।’ आमाले मप्रति व्यक्त गरेको दयासँगै माया मिश्रित शब्द सुन्दा म ट्वाँ परेँ।

यसअघि म आफू नराम्री वा यस्ती उस्ती छु भन्ने कहिल्यै लागेको थिएन। म सुन्दर नहुनुले मेरो बुद्धि र मेरो कामलाई कहिल्यै असर गर्ला वा म पछाडि परुलाँ झैँ कहिल्यै लागेको थिएन। तर जब शारीरिक बनोटले छोरीको जीवनलाई निर्धारण गर्छ भन्ने थाहा पाएँ, ५.८ इन्च उचाइ भएकी म आफूलाई ५.८ मिटर गहिरो सुरुङमा पाएँ।

मसँग शब्द थिएन, मैले भनेँ, ‘समय आएपछि गराैँला न, नआत्तिनु के।’

‘खोइ, तेरो समय आउने कहिले हो कहिले ? बूढीकन्या नै बस्नी हो कि भन्ने कत्रो पिर छ मनाँ।’

त्यो दिनदेखि घरमा बस्दा पहिलाको जस्तो ‘नानी’वाला फिलिङ्स एकाएक बूढीकन्यामा परिणत भयो। २५ वर्षकी शुष्माको ठाउँमा ५२ वर्षे सुशील वा कुनै पुरुष भएको भए यतिविधि कुरा कसैले ओकल्न सक्दैनथ्यो, कसैले केही भनेको सुन्नु पर्दैन थियो होला। अहिले मिटु बहसले मञ्च तातेको छ। ≠मिटु

नक्कल र झक्कलमा भन्दा पनि किताब र ज्ञानमा रुचि राख्नेहरु पनि भनिदिन्छन्— यस्सो केटी जस्तो हुनु नि, उमेरमै बिहे गर्नु है, पछुताउनु पर्ला। केटी भएर नि केटा जस्तो व्यवहार के हो ? तिमी त केटी नै हैनौ क्या हो ?

शरीरबारे नै गरिने यस्ता प्रकारका प्रश्नको गाम्भीर्य हाम्रो समाजले कहिले बुझ्ने होला ? के भनेको होला, कहिले सुध्रिने होला— ‘छोरा मान्छेको सीप, छोरी मान्छेको रूप।’

छोरा मान्छे जस्तो भए पनि कुनै आपत्ति छैन, तर छोरीलाई ‘रूप’ नै चाहिन्छ रे। रूप भनेको के हो ? रूपको लैगिंकता के हो ?  

भर्खरै मात्र नेपाली सिनेमा ‘मालिका’ बनाएकी चर्चित अभिनेतृ रेखा थापाले ऋषि धमलाको कार्यक्रममा भनेकी छन्, ‘म एउटा एडल्ट मान्छे हुँ, परिपक्क मान्छे हुँ, मैले कहिले विवाह गर्ने, म कोसँग हिँड्छु, कोसँग बोल्छु, त्यो मेरो व्यक्तिगत अधिकारको कुरा हो, बारबार बिहेको कुरा सोधेर मलाई दुव्र्यवहार गर्दै हुनुहुन्छ।’  दुव्र्यवहार गर्न पाउनु पनि अधिकार हो कि ?

प्रकाशित: १८ मंसिर २०७५ ०२:४६ मंगलबार

दसैँ–तिहार बूढीकन्या