विचार

सुरुवात नयाँ युगको कि भाषाको ?

हालै चीनको राजधानी गलत शब्दमा लेखेको भन्दै पाकिस्तानको सरकारी टेलिभिजन च्यानल पाकिस्तान टेलिभिजन कर्पाेरेसन (पिटिभी) का प्रमुख अरसद खानलाई पदबाटै बर्खास्त गरियो।

समाचार एजेन्सी एएआईका अनुसार पाकिस्तानी प्रधानमन्त्री इमरान खान चीन भ्रमणमा रहेका बेला उनको एक कार्यक्रमको प्रत्यक्ष प्रसारणका क्रममा पिटिभीले चीनको राजधानी  बेइजिङ (बिइआइजेआइएनजी) को सट्टा बेगिङ (बिइजिजिआइएनजी) देखाएकाले टिभीका प्रमुख खानलाई पदबाटै हटाइएको हो।

यस्तै केही समयअघि ओली सरकारकै तत्कालीन कानुनमन्त्री शेरबहादुुर तामाङलाई पनि चिकित्सा शिक्षा (मेडिकल) अध्ययन गर्न बंगलादेश जाने नेपाली छात्राका विषयमा अवाञ्छित अभिव्यक्ति दिएको भन्दै पदबाटै बर्खास्त गरियो।

अंग्रेजीमा चाहिँ कसैले यति गल्ती  गर्थ्याे भने निश्चित छ- ऊ अयोग्य ठहरिन्थ्यो। तर नेपालीमा जे गर्दा पनि चलिरहेको छ।

आफ्नो अभिव्यक्तिको व्यापक विरोध भएपछि उनले आफ्नो आशय गलत नभएकाे तर बोल्ने क्रममा भाषा/शैली (शब्द) मात्र नमिलेको भन्दै माफी नै मागे। तापनि उनको पद जोगिन सकेन। अन्ततः रुँदैरुँदै राजीनामा दिन बाध्य भए।

प्रस्तुत २ पात्रका प्रकरण फरक भए पनि प्रमुख कारण एउटै हो- गलत शब्द प्रयोग। यसर्थ यी दुई दृष्टान्तले पनि के प्रस्ट पार्छन् भने गलत शब्द प्रयोगको मूल्य कति महँगो हुन्छ? अर्थात् उचित ठाउँमा उचित शब्दको प्रयोग कति महत्वपूर्ण छ?

प्रख्यात् चिनियाँ दार्शनिक कन्फ्युसियसको भनाइ उद्धृत गर्दै भाषाविद् एवं स्वतन्त्र सम्पादक शरच्चन्द्र वस्ती आफ्नो पुस्तक ‘हाम्रो भाषा’मा लेख्छन्- ‘भाषा ठीक भएन भने जे भन्न खोजिएको हो त्यो अर्थ लाग्दैन। अर्थ नखुलेपछि त्यो काम पनि हुन पाउँदैन।’ अर्थात् हुनुपर्ने नभएर नहुनुपर्ने कामचाहिँ हुन्छ।

प्रसंग मैले नेपाली (माध्यम) पत्रकारिताको भाषा (शब्द) कति शुद्ध र सही छ भन्ने विषयसँग जोड्न लागेको हुँ। निस्सन्देह नेपाली भाषा विकास र विस्तारमा सञ्चारकर्मीको जति भूमिका र योगदान छ सायदै अरूको छ।

नेपाली भाषाप्रति नेपाल सरकार त झन् कति गैरजिम्मेवार छ भने भर्खरै प्रधानमन्त्री केपी शर्मा ओलीले सुरु गरेको ‘नयाँ युगको सुरुवात’को विज्ञापनमा यति अशुद्ध शब्द थिए कि पाकिस्तानी प्रधानमन्त्री इमरान खानजस्तै कडा हुने हो भने त्यो लेख्ने व्यक्ति तुरुन्तै पदबाट बर्खास्त हुनुपर्थ्यो ।

मलाई लाग्छ- पत्रपत्रिका (अनलाइन) पढेर (रेडियो/टिभी सुनेर) मान्छेले जति नेपाली भाषा सिकिरहेका छन्, त्यति विद्यालय र क्याम्पसका पाठ्यक्रमबाट पनि सिक्दैनन् होला । उसो त हाम्रा शिक्षालयहरूले पछिल्लो समय अंग्रेजीलाई प्राथमिकता दिने नाममा आफ्नै नेपाली भाषालाई भने यति उपेक्षा गरेका छन् कि अहिलेका धेरैजसो विद्यार्थी यस्ता छन्, जो नेपाली एक वाक्य पनि शुद्धसँग लेख्न सक्दैनन्।

हालै शैक्षिक गुणस्तर परीक्षण केन्द्र (इआरओ) ले निजी र सामुदायिक विद्यालयमा गरेको एक अनुसन्धानले नेपाली विद्यार्थी नेपाली विषयमै कमजोर रहेको देखाएको छ। प्रा. डा. विद्यानाथ कोइरालाका अनुसार कतिपय विद्यार्थी ८ कक्षा पढिसक्दा पनि आफ्नो नाम शुद्धसँग लेख्न नसक्ने अवस्थामा छन्।

अरूले आफ्नो भाषा (अंग्रेजी) लाई हामीले समेत अनिवार्य सिक्नुपर्ने गरी विश्वभर फैलाए, तर हामीचाहिँ आफ्नो भाषा (नेपाली) लाई आफ्नै देशभित्र पनि खुम्च्याउनेतिर उन्मुख भइरहेका छौँ। अंग्रेजी सपार्न नेपाली भाषाचाहिँ बिगार्नैपर्ने हो त ? अंग्रेजीमा जान्ने हुन नेपालीमा चाहिँ नजान्ने नै हुनुपर्ने हो त? नेपाली विषयलाई उपेक्षा नगरीकन पनि हामी अंग्रेजी अध्ययन गर्न सक्दैनौँ ? कि हामीसँग एउटा भाषा सिक्ने मात्रै क्षमता भएको हो ? नत्र ता जति धेरैवटा भाषा जान्यो, उति नै फाइदा हुन्छ, होइन र? त्यसो हो भने आफ्नै नेपाली भाषामा चाहिँ हामी किन कमजोर हुने ? चीन, जापान, कोरियाका मान्छेले पनि अंग्रेजी त पक्कै पढ्दा हुन्, तर त्यसका नाममा उनीहरूले पनि हामीले जस्तै आफ्नै देशको भाषालाई चाहिँ उपेक्षा गर्छन् कि गर्दैनन् होला ?

नेपाली भाषाप्रति नेपाल सरकार त झन् कति गैरजिम्मेवार छ भने भर्खरै प्रधानमन्त्री केपी शर्मा ओलीले सुरु गरेको ‘नयाँ युगको सुरुवात’को विज्ञापनमा यति अशुद्ध शब्द थिए कि पाकिस्तानी प्रधानमन्त्री इमरान खानजस्तै कडा हुने हो भने त्यो लेख्ने व्यक्ति तुरुन्तै पदबाट बर्खास्त हुनुपर्थ्यो। देशका सबैजसो दैनिक पत्रिका र प्रमुख अनलाइनमा ‘ज्याकेट विज्ञापन’का रूपमा प्रकाशित त्यसमा ‘भन्यौँ’ शब्दमा चन्द्रबिन्दु थिएन अर्थात् ‘भन्यौ’ लेखिएको थियो। ‘गर्दै छौँ’ भन्नुपर्ने ठाउँमा पनि ‘गर्दै छौ’ लेखिएको थियो। भन्यौँ र भन्यौ, गर्दै छौँ र ’गर्दै छौ‘ मा कति भिन्नता छ, भन्नुस् त? ‘गर्‍याैँ’ भन्नुपर्ने ठाउँमा पनि चन्द्रबिन्दु त थिएन नै, खुट्टा काटेर ‘गर्‍याै’ लेखिएको थियो।

यसर्थ मलाई लाग्छ- अहिलेसम्म नेपाली भाषाको जुन स्तर र उचाइ छ त्यो, नेपाली पत्रकारिता (सञ्चारमाध्यम) हुन्थेन भने सम्भवै थिएन भन्दा अत्युक्ति नहोला। यतिबेलासम्म नेपाली भाषाको हविगत के हुन्थ्यो, भन्न गाह्रो छ।

नेपाली पत्रकारिताकै कारण नेपाली भाषाका लाखौँ पाठक/श्रोता बनेका छन्। नेपाली सञ्चारमाध्यमकै कारण दैनिक मेचीदेखि महाकालीसम्म, देशदेखि विदेशसम्म नेपाली भाषा सुन्ने/पढ्ने वातावरण बनेको छ। अनि आफ्नो पेसा (पत्रकारिता) कै लागि भए पनि युवाको एउटा ठूलो समूहलाई नेपाली भाषा सिक्न (पढ्न/लेख्न) लालायित (बाध्य) बनाएको छ।

यसबाट के प्रस्ट हुन्छ भने सञ्चारकर्मी सूचनाका संवाहक मात्र नभएर भाषा प्रसारक पनि हुन्। यसर्थ आफूले प्रयोग गर्ने भाषाप्रति पनि पत्रकार जिम्मेवार हुन जरुरी छ। भाषा/शब्दको शुद्ध र सही प्रयोगप्रति पनि सञ्चारकर्मी संवेदनशील बन्न आवश्यक छ। तर नेपाली सञ्चारमाध्यम (पत्रपत्रिका/अनलाइन/रेडियो/टिभी)  नियाल्दा यस्तो देखिँदैन। भाषागत त्रुटि र अशुद्धिको भरमार छ। अंग्रेजीमा चाहिँ कसैले यति गल्ती गर्थ्यो भने निश्चित छ- ऊ अयोग्य ठहरिन्थ्यो। तर नेपालीमा जे गर्दा पनि चलिरहेको छ।

हुन त पत्रकारितालाई ‘हतारको साहित्य’ पनि भनिन्छ। यसकारण हतारमा हुने काममा कहिलेकाहीँ सानातिना कमीकमजोरी हुनु स्वाभाविकै हो। तर हतारकै कारण सधैँ गल्ती भएको भने होइन। हेलचक्र्याइँ र उपेक्षा भावका कारण नेपाली पत्रकारिताको भाषा भद्रगोल भइरहेको हो। आफूले लेखेका शब्दले सूचनालाई सही रूपमा उतार्‍याे कि उतारेन? आफूले गरेको वाक्य गठनले भन्न खोजेकै अर्थ दियो कि अन्तै गयो? अंग्रेजीमा अलिकता पनि गल्ती भयो कि भनेर त्राहिमाम हुने हामी नेपालीमा चाहिँ गल्ती होला कि भनेर ‘अलिकता’ पनि मतलब गर्दैनौँ।

पत्रकारिता गर्छन्, नेपाली भाषामा। पत्रिका निकाल्छन्, नेपाली भाषामा। सम्पादक बन्छन्, नेपाली भाषाको सञ्चारमाध्यमको। तर त्यही भाषाप्रति प्रायः पत्रकार गैरजिम्मेवार मात्रै होइन, उपेक्षाभाव नै बोकेर हिँडेको समेत पाइन्छ। यसैकारण उनीहरू नेपाली भाषा सिक्नुपर्छ भन्ने नै ठान्दैनन्। वस्तीका शब्द सापटी लिएर भन्ने हो भने नेपाली पनि सिक्नुपर्छ र, म जे लेख्छु त्यही नेपाली हो भनेर भाषिक अक्षमतालाई नै अभिमानको विषय बनाउँछन्।

‘हाम्रो भाषा’ पुस्तकमा वस्ती लेख्छन्- ‘पत्रपत्रिकाको सम्पादन गर्ने र पत्रकारलाई तालिम दिने अढाइ दशक लामो मेरो अनुभवको रोचक पक्ष भनौँ वा विडम्बना के छ भने पत्रकारहरूमा भाषागत कमजोरी उस बेला जहाँ थियो, आज पनि लगभग त्यहीँ छ। समाचारदेखि फिचरसम्मको समस्या अभिव्यक्तिमै देखिन्छ, इलामदेखि डडेलधुरासम्म र रौतहटदेखि कालिकोटसम्म नै।’

तर कतिपय के भन्छन् भने भाषा भन्दा पनि सूचना र तथ्य (समाचार) प्रधान कुरा हो। यसै सन्दर्भमा एकपटक लेखक सौरभले ‘प्रेसले ननिम्त्याएको पाहुना’ (कान्तिपुर दैनिक, २०६४ माघ १७) लेख लेख्दै यस्तै आशय (‘हाम्रो भाषा’ जस्ता पुस्तकको काम छैन) प्रकट गरेका थिए (तर धेरैले के भन्छन् भने सौरभले लेखेको बुझिँदैन)। तर त्यो तथ्य र सूचना सही रूपमा सञ्चार गर्न सही शब्दबिना कसरी सम्भव हुन्छ? दूध दुहुुनु नै ठूलो कुरा होला, तर थाप्ने भाँडो भ्वाङ परेको छ भने उद्देश्य पूरा होला? ठीक त्यसैगरी तथ्य र सूचना (विचार पनि) दूध हो भने भाषा त्यसलाई बोक्ने भाँडो।

उसो त भाषाविज्ञ वा भाषामा पोख्त भएकै आधारमा मात्र कोही ‘अब्बल’ पत्रकार हुने होइन। एउटा योग्य पत्रकार हुनाका निम्ति अन्य थुप्रै क्षमता चाहिन्छ। तर अरू सबै सीप भएर पनि भाषामा भाँती पुगेन भने फेरि राम्रो पत्रकारिता सम्भव होला र? पत्रकारको पहिलो धर्म हो- सही सूचना सम्प्रेषण। तर सही भाषा/शब्दबिना सही सूचना सम्प्रेषण कसरी सम्भव हुन्छ र ?

अर्काे कुरा- धेरैलाई के भ्रम छ भने नेपाली भाषा सिक्नु भनेको ह्रस्व/दीर्घ जान्नु मात्रै हो, जुन नजाने पनि अर्थमा खासै फरक पर्दैन। तर नेपाली भाषा/शब्दको शुद्ध र सही प्रयोग सिक्नु भनेको कति बृहत् विषय हो त्यो यसमा गहिरिँदै गएपछि मात्र थाहा हुन्छ।

गल्तीका केही उदाहरण
-मादक पदार्थ सेवनले कोलाहल स्थान शान्त र सभ्य बन्दै
यो शीर्षकले त के अर्थ दिन्छ भने रक्सीले चाहिँ त्यो ठाउँ शान्त र सभ्य बन्दै छ। तर भन्न खोजिएको पक्कै यस्तो होइन। अर्काे कुरा, सेवन राम्रा चिजको मात्र गरिन्छ। जस्तै : औषधि, दूध आदि।

-अपराधको निसानामा बालबालिका
यो शीर्षक ठीक छ त? अपराध कुनै कर्ता होइन, जसले निसाना लगाओस्। यो त एउटा क्रिया पो हो। यसकारण यहाँ भन्नुपर्छ- अपराधीको निसानामा बालबालिका।

-मृतक परिवारलाई १ लाख
यो शीर्षकले त परिवारै मृतक भन्ने अर्थ दिएन र ? खासमा ‘मृतकका परिवार’ हो।

–उपरथीको प्रमाणपत्र नक्कली शंका

यो शीर्षकले प्रमाणपत्र होइन, शंका चाहिं नक्कली भन्ने अर्थ दिन्छ।

सुचारु, सम्मानित, लक्षित, दैनिकी
नेपाली बृहत् शब्दकोशअनुसार सुचारुको अर्थ हो- खुब राम्रो, ज्यादै सुन्दर। तर नेपाली सञ्चारमाध्यममा यो जहिले सञ्चालनको अर्थमा प्रयोग हुने गरेको छ : चार दिनदेखि अवरुद्ध यातायात सुचारु।

सम्मानितको अर्थ हो- सम्मान गरिएको। त्यसैगरी लक्षितको अर्थ हो- लक्ष्य गरिएको। तर हामी लेख्छौँ- रौतहटमा १२ पत्रकारलाई सम्मानित गरिएको छ। चुनावी सभालाई लक्षित गरी बम विस्फोट। यसको अर्थ के भयो आफैँ केलाउनुस्।

भरमार प्रयोग भइरहेको अर्काे गलत शब्द हो- दैनिकी। दैनिकी भनेको हरेक दिनका घटना लेख्ने ‘डायरी’। तर हामी लेख्छौँ- सर्लाहीका शेखर रामको ‘दैनिकी’ जुत्ता सिलाएर बित्छ।

यस्ता कैयौँ कमीकमजोरी छन्, जसको भारी बोकेर हिँडिरहेको छ- हाम्रो पत्रकारिता। ती सबै कुरा मजस्तो सानो मान्छेले अनि यो सानो ठाउँमा लेख्न सम्भव छैन। त्यसका लागि शरच्चन्द्र वस्तीको ‘हाम्रो भाषा’ नै पढ्नुपर्छ।

अर्काे कुरा- धेरैलाई के भ्रम छ भने नेपाली भाषा सिक्नु भनेको ह्रस्व/दीर्घ जान्नु मात्रै हो, जुन नजाने पनि अर्थमा खासै फरक पर्दैन। तर नेपाली भाषा/शब्दको शुद्ध र सही प्रयोग सिक्नु भनेको कति बृहत् विषय हो त्यो यसमा गहिरिँदै गएपछि मात्र थाहा हुन्छ।

सोही पुस्तकमा लेखक डा. गोविन्दराज भट्टराईले भनेका छन्- ‘किताब दोहोर्‍याएर पढेँ, मलाई आफैँप्रति शरम लाग्यो। लेख्न थालेको ३ दशक भयो तर अन्धाधुन्द आँखा चिम्लेर, शब्दको जीवन नछामी कति गल्ती पालेर हिँडेको रहेछु। त्यस्तै लेख्तालेख्तै लेखकै भइसकेँ।’

प्रकाशित: १६ मंसिर २०७५ ०३:०६ आइतबार