विचार

अब त अति भो !

प्रेम लामिछाने
आधा घन्टाको बाटो पुग्न डेढ घन्टा लाग्छ। ब्यालेन्स टन्न छ तर न भनेको बेला फोन लाग्छ, न राम्ररी नेट चल्छ। नेता छ, न काम गर्छ, न समृद्धिको सपना बाँड्न छाड्छ, न पद त्याग्न सक्छ। जनता छ, न अरुको खुट्टा तान्न छाड्छ, न विरोधमा सडकमा उत्रिन सक्छ, न आफ्नो काम नै गर्छ। युवा छ, न ज्ञान छ, न सीप छ, न गफ हाँक्न छाड्छ। देशले भार थेग्नु थेग्यो। यहाँ कहिल्यै केही नहुने भो, अब अति भो।

ठूला पाँच तारे होटेलमा हाँकेर, सामाजिक सञ्जालमा फलाकेर विकास हुने भाको भए नेपाल उहिल्यै विश्वको अग्र स्थानमा पुगिसक्थ्यो, अहिले जस्तो उग्र हुनु नै पर्थेन। उसो भए देश बनाउने ठेक्का कसको त ? कहिले बडो हेक्का राखेर भन्छन्– हामी सबैको, साझा देश भएको नाताले। त्यो पनि होला तर, देशको ढुकुटी रित्याएर तलब सुविधामा बाँच्नेको भूमिका सर्वसाधारणको भन्दा ज्यादा धेरै छ। काम पनि किन गरून्, व्यर्थमा काम नगरी आफूलाई भर्न पाएपछि। कसले के पो नाप्यो र हामीले अब गर्नुपर्ने ? यही हो जिन्दगीको अन्तिम सुनौलो मौका पद दुरुपयोग गरी सक्ने कमाउने, त्यहाँ पुग्न रोपेको पैसाको फल टिप्ने अनि आफ्नाको प्रिय बन्ने, फेरि त्यस्तो मौका भोलि आउला नआउला कसलाई के थाहा ?

आज पनि आधा घन्टा लाग्ने बाटो डेढ घन्टा भन्दा बढी लाग्यो। दैनिक तीन घन्टाभन्दा बढी समय विनसित्ती बाटोमा जान्छ। न सडकको नाममा हरेक वर्ष बजेट छुट्टाउन छाड्छ, न काम बन्छ, न गाडी व्यवस्थापन गर्न सक्छ। न चढ्ने, न चढाउने, कसैको बोली वचन र व्यवहारमा शीतलता छैन।

एउटा विदेशी साथी भन्दै थियो, काठमाडौँ आको सुरुको दिनमै ठमेल नजिक एउटा होटेलबाट फोहोर पानीको बाल्टी सडकमा आफूमाथि खनिएर निथ्रुक्क भयो। हेर, उसले पाएको स्वागत, देखेको संस्कार, धन्न नेपाल, धन्य नेपाली !
सामाजिक सञ्जालमा फलाकेर मात्र केही हुँदैन, पुष्टि भइसक्यो। विचार जतिसुकै राम्रो भए पनि बुझाउनेले बुझ्नुपर्नेलाई बुझाउन नसकेपछि लंकामा सुन छ, कान मेरो बुच्चो भनेजस्तो ! ‘समृद्धि हाम्रै पालामा’, ‘परिवर्तन हेरेरै मर्ने हो’ जे भनेर परिचालित भए पनि उखानमै सीमित हुन्छ, भएको छ।

गरिब देशको आलंकारिक राष्ट्रपतिलाई १८ करोडको गाडी चाहियो रे। निवास सानो भएर प्रहरी वृत्त हडपेर ठूलो बनाउनु पर्यो रे ! जसको खास कामै छैन, गरेको भए पनि देखिएको छैन। उसको यतिसम्मको गर्जन किन होला ? उच्च स्तरीय सवारीमा जंगली हात्ती गाउँ पसेर हिंसा गर्न आको जसरी सडक खाली गरेर के देखाउन लाको होला ? कस्तो दम्भ, अचम्म ! टीका प्रकरण वा सवारी साधन लिएर राष्ट्रपतिका बारेमा आएका समाचार र टिप्पणीबारे सचिवालय, सल्लाहकार वा प्रबन्धकर्ता मन्त्रालयको तर्फबाट समेत केही बाहिर आएन, कस्तो लाजमर्दो !

पाकिस्तानका नवनिर्वाचित राष्ट्रपति इमरान खानले पहिलेकाले लिने गरेको सुविधा त्यागी उदाहरण दिए। कसले भनेको छ नेपालका उच्च सरकारी पदाधिकारीले गाडी नचढ, सुरक्षा चाहिन्न ? हो चाहिन्छ, तर आवश्यकताअनुसार।
सुशासन, जवाफदेहिता र पारदर्शिता कायम गरी देशलाई अग्रणी स्थानमा किन नपुर्याउने ? अहिले पनि देशमा विकास नभए, देशले काँचुली नफेरे यहाँ कहिल्यै केही हुनेवाला छैन, कोही माइकालाल आउनेछैन, देश झन् बिग्रेर भत्केर बिलाएर जान्छ। नेपाल आमा मुर्छा परिरहन्छिन्। केही त गर्नैपर्यो, अब त अति भो !

प्रकाशित: १२ मंसिर २०७५ ०२:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App