विचार

जनशक्ति अभावको अन्तर्य

एकातिर कामको खोजी गर्दै त्रिभुवन विमानस्थलबाट खाडी मुलुक हुन् वा अन्य स्थानतिर नै किन नहोस्, मानव जनशक्ति बाहिरिने क्रममा कुनै कमी आएको छैन भने अर्काेतिर नेपालभित्रै कामदारको चर्काे अभाव हुन थालेको छ। चाहे इँट्टाभट्टामा काम गर्ने कामदार हुन् वा अन्यत्र काम गर्ने मजदुर नै किन नहुन्, मुलुकभित्र त्यस्तो जनशक्ति पाउन मुस्किल पर्न थालेको छ। काम गर्न सक्ने उमेर समूहका मानिस वैदेशिक रोजगारीका लागि बिदेसिनु नै यसको मुख्य कारण हो। काठमाडौं उपत्यकाभित्रका अधिकांश इँटा उद्योगमा श्रमिकको अभाव भएको छ। यसले गर्दा इँटा उत्पादन प्रभावित भएको छ । देशभरिका दर्तावाल इँटा उद्योगमा तीन लाख श्रमिक आवश्यक पर्ने व्यवसायीको भनाइ छ । यसमा पनि एक लाख जति त भारतीय श्रमिक छन्। अहिले काम गरिरहेका भारतीय श्रमिक घर फर्के भने इँटा उद्योग नै संकटमा पर्ने अर्को खतरा छ। इँटा उद्योगमा काम गर्ने कामदारले मासिक २५/३० हजार रुपैयाँ पाउने गरेका छन् जब कि विदेशमा पनि त्यत्तिकै कमाइ भए पनि युवामा विदेश मोह बढेको छ। स्वदेशमै सानोतिनो काम गर्नभन्दा पनि बेरोजगार युवाको सपना वैदेशिक रोजगारी नै हुनु अचम्मलाग्दो अवस्था छ।

अहिलेको अवस्थामा बिदेसिएका युवालाई रोजगारी सिर्जना गरी स्वदेशकै काममा आकर्षित गर्न सक्ने योजना ल्याउन आवश्यक छ। त्यसो गर्न सकियो भने वैदेशिक रोजगारी बिस्तारै निरुत्साहित हुँदै जानेछ। अन्यथा आत्मनिर्भर अर्थतन्त्रको गफ हाँकेर मात्र हुँदैन। मुख्य कुरा काम गर्ने उमेर समूहका युवालाई स्वदेशमै टिकाउन सक्ने गरी रोजगारी सिर्जना गर्नेतर्फ ध्यान केन्द्रित गर्न ढिलाइ भइसकेको छ।

सरकारले २०५६ सालमा वैदेशिक रोजगार विभाग स्थापना गरेपछि श्रम स्वीकृति लिएर विदेश जाने क्रम सुरु भएको हो । २०६२/०६३ को दोस्रो जनआन्दोलनपछि खाडी मुलुक र मलेसिया नेपाली युवाका लागि श्रम गर्ने भारतपछिका अग्रणी गन्तव्य राष्ट्रका रूपमा देखिए । वैदेशिक रोजगार विभागको पछिल्लो तथ्यांकअनुसार हालसम्म करिब ४५ लाख युवा कामको खोजीमा श्रम स्वीकृति लिएर विभिन्न राष्ट्रमा पुगेका छन्। तीमध्ये करिब ९५ प्रतिशत युवा जनशक्ति खाडी मुलुक र मलेसिया पुगेको पाइन्छ। २०६३ पछिको तथ्यांक हेर्दा बर्सेनि नेपालबाट कामको खोजीमा विदेश पस्नेहरू बढेका बढ्यै छन्। बिरानो भूमिमा काम गर्नुपर्दा जस्तोसुकै पीडा र समस्या भोग्नुपरे पनि नेपालका लागि वैदेशिक रोजगारी आय आर्जनको विकल्पका रूपमा देखिएको छ । मुलुकको उत्पादन र औद्योगिक क्षेत्र निकै कमजोर भएकाले पनि राष्ट्रिय अर्थतन्त्र टिकाउने एकमात्र माध्यम वैदेशिक रोजगारी र त्यसबाट प्राप्त रेमिटेन्स हुँदै आएको छ। त्यसो त अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले हालै गरेको एक अध्ययनअनुसार संसारभरिको अर्थतन्त्रलाई गतिशील बनाउन रेमिटेन्सको महत्वपूर्ण भूमिका देखिएको छ। सन् २०१७ मा विश्वभरि चार सय अर्ब अमेरिकी डलर रेमिटेन्सका रूपमा भित्रिएको थियो। अल्पकालीन रूपमा गरिबी घटाउन र परिवारका आवश्यकता पूरा गर्न रेमिटेन्सको योगदान रहेकाले नेपाल, होन्डुरस, जमैकाजस्ता देशको आय अन्य छिमेकी राष्ट्रकै हाराहारीमा पुग्न सकेको पनि अध्ययनको निष्कर्ष छ। यति हुँदाहुँदै पनि वैदेशिक रोजगारीको नकारात्मक पाटो पनि उत्तिकै छ । त्यही अध्ययनले रेमिटेन्सले अल्पकालीन रूपमा मात्र अर्थतन्त्रलाई गतिशील बनाउने र ठूलो रकम उपभोगमा सकिने गरेको निष्कर्ष निकालेको छ। अध्ययनले भनेजस्तै नेपालमा पनि वर्षौंदेखि रेमिटेन्स दैनिक उपभोग्य वस्तु खरिद गर्नमै सीमित हुने गरेको छ।

वैदेशिक रोजगारीका सामाजिक पाटो पनि उत्तिकै छन्। वैदेशिक रोजगारीले परिवार विखण्डन भएको तथ्य होस् वा गाउँघरमा बूढाबूढी र बालबालिका मात्रै भएको तथ्य नै किन नहोस्, त्यो नेपालको सन्दर्भमा सामाजिक यथार्थ हुन पुगेको छ। गाउँघरमा काम गर्ने उमेर समूहका मानिस नहुँदा कृषि उत्पादन हुने जगगाजमिन बाँझै छन्। महाभूकम्प २०७२ पछि निर्माणको अवस्था सुध्रन सकेको छैन। वैदेशिक रोजगारीका कारण काम गर्ने जनशक्तिको अभाव कतिसम्म छ भने काठमाडौंको रिङरोड निर्माण समेत भारतीय कामदारमा निर्भर गर्नुपरेको छ। त्यस्तै वैदेशिक रोजगारीले नियमित रूपमा रकम आइरहेकाले कतिपय परिवार त्यही रकममा आश्रित भएका छन्। यसरी कुनै सिर्जनात्मक व्यवसायमा लगानी हुन नसक्दा परनिर्भरता बढ्न पुगेको छ। निकै लामो समयदेखि युवा विभिन्न नाममा वैदेशिक रोजगारीमा जाने गरे पनि त्यसबाट देश र समाजले के उपलब्धि लिन सक्यो भन्ने विषयमा बहस गर्न ढिला भइसकेको छ।  अहिलेको अवस्थामा बिदेसिएका युवालाई रोजगारी सिर्जना गरी स्वदेशकै काममा आकर्षित गर्न सक्ने योजना ल्याउन आवश्यक छ। त्यसो गर्न सकियो भने वैदेशिक रोजगारी बिस्तारै निरुत्साहित हुँदै जानेछ। अन्यथा आत्मनिर्भर अर्थतन्त्रको गफ हाँकेर मात्र हुँदैन। मुख्य कुरा काम गर्ने उमेर समूहका युवालाई स्वदेशमै टिकाउन सक्ने गरी रोजगारी सिर्जना गर्नेतर्फ ध्यान केन्द्रित गर्न ढिलाइ भइसकेको छ।

प्रकाशित: १८ कार्तिक २०७५ ०३:३१ आइतबार

कामदार वैदेशिक_राेजगारी