विचार

जनता बोल्न छाडे के हुन्छ?

कुनै कुनै बेला मौनता सुन्दर हुन्छ । मौनता पवित्र हुनसक्छ, सिर्जनात्मक हुनसक्छ, अत्यावश्यक पनि हुनसक्छ । तर सधैँ त्यस्तो हुँदैन।

मानिस स्वभावैले कुराकानी गर्न मन पराउँछ। उसलाई बोल्न मनलाग्छ, सुन्न मन लाग्छ। आखिर समाज भनेकै वार्तालापको सञ्जाल न हो ! यही सञ्जालमा सभ्यता हुर्कन्छ, संस्कृति निर्माण हुन्छ, परम्परा बसालिन्छन्। कला र साहित्य सिर्जना हुन्छ। भौतिक, सांंस्कृतिक, प्राज्ञिक सबै किसिमको समृद्धि हुर्किने संवादमै हो। ‘बोल्ने’ (अर्थात् अभिव्यक्त गर्ने) र ‘सुन्ने’ (अर्थात् अरुका अभिव्यक्ति ग्रहण गर्ने) कर्मले मानिसलाई मानिस बनाउँछ, सुन्दर/असुन्दर, न्यायी/अन्यायी, पवित्र/अपवित्र, आत्मकेन्द्रित/उदार, सभ्य/असभ्य... सबै जन्मने, अटाउने, हुर्कने, सिद्धिइने त्यही संवादको सञ्जालमा हो। जब जब अन्याय, अत्याचार, शोषण, दमन, भ्रष्टाचार, असुरक्षाबोधले समाज र राष्ट्र ग्रस्त हुन्छ, फेरि पनि मानिसको त्यही वार्तालापको सञ्जाल नै हो जसले इतिहासमा जमेका यी फोहोरलाई सफा गर्छ। त्यसै कारण मानिस बोल्छ, जनता बोल्छन्। र, लोकतन्त्र छ कुनै देशमा भने राज्यले त्यो बोली सुन्छ।

अझै समय छ । एकपछि अर्को गल्ती गर्न छाडे यही सरकारले धेरै गर्न सक्छ । शुभकामना– यसपालि दसैँपछि सुविचारित असल निर्णयहरू गर्न सकोस् सरकारले।

बोल्न सक्नु, बोल्न चाहनु, बोल्नका निम्ति आफूसँग केही कुरा हुनु, के बोल्ने भनी निर्णय गर्न सक्नु... कति राम्रो कुरा हो । तर यी सबै कुरा हुँदाहुँदै पनि मान्छे कुनै बेला बोल्दैन। उदाहरणका निम्ति ‘सेलेक्टिभ् म्युटिज्म’ भन्ने मनोरोगबाट ग्रस्त व्यक्ति खासखास परिस्थितिमा बोल्नै सक्तैन । उसलाई बोल्ने मन छ, शरीरका स्वरयन्त्रहरू ठीकठाक छन्, बोल्ने कुरा पनि नभएको हैन, अन्यत्र ऊ बोल्छ पनि तर खास परिस्थितिमा वा खास मान्छेका सामु भने उसको बोली नै फुट्दैन।

विशेष राजनीतिक सामाजिक परिस्थितिमा जनताको ठूलै तप्का ‘सेलेक्टिभ म्युटिज्म’बाट ग्रस्त भए जस्ता देखिन्छन्। जहाँ नाङ्गो तानाशाही छ, त्यस्ता देशमा त यस्तो ‘सामूहिक मौनता’ भएको इतिहासका विभिन्न कालखण्डमा देखिँंदै आएकै हो। हामीले पनि लामै समय यो भोग्यौँ नै। तर बोल्नलाई बन्देज नभएको लोकतान्त्रिक गणतन्त्रमा पनि यस्तो हुन थाल्यो भने, जनताको महŒवपूर्ण पंक्तिले बोल्न छाड्यो भने के होला? बोल्ने गरेका मानिसले बोल्नै छोडेका बेला सत्ताधारीहरूले के गर्लान् ? ‘आनन्द भयो, बल्ल ढुक्क भयो। जनता रैती बने, हामी महाराज बन्ने भयौंँ’ भनी सोंच्लान् कि‘के ग-यौं हँ, हामीले? मानिस किन बोल्नै छाडे’ भनी कारण खोज्न लाग्लान्?

हिजो अस्तिमात्र कताबाट हो रोड्रिगो नामका एकजना विदेशीको ब्लगमा आँखा परेको थियो। करिब करिब यस्तो लेखेका थिए– ‘...म त्यतिबेला मौन हुन्छु जब केही सोंच्नै चाहन्न, जब सोंच्दा सोंच्दा थाकिसकेको हुन्छु, तब मलाई दिक्क लाग्छ, म चूपचाप हुन्छु। आफैँलाई शान्त बनाउने यत्नमा पनि म मौन हुन्छु। जब केही सुन्न चाहन्न, जब केही बोल्न चाहन्न, जब मेरो चित्त दुखेको हुन्छ, जब जताततै निरर्थक हल्ला भइरहेको हुन्छ, म मौन हुन्छु। तर कुनै कुनै बेला यस्तो पनि हुन्छ, मैले ‘हैन’ भन्न खोज्दा पनि जबर्जस्ती ‘हो’ भन्न लगाइन्छ । मैले ‘नाइँ’ भन्न खोज्दा पनि ‘हस्’ भन्न बाध्य पारिन्छ । त्यस्तो बेला पनि म चूप हुन्छु...।’

बोल्न सक्नु, बोल्न चाहनु, बोल्नका निम्ति आफूसँग केही कुरा हुनु, के बोल्ने भनी निर्णय गर्न सक्नु... कति राम्रो कुरा हो । तर यी सबै कुरा हुँदाहुँदै पनि मान्छे कुनै बेला बोल्दैन।

यथार्थमा यिनैमध्ये कुनै एक वा बढी कारणले परिवारमा, स्कुल÷कलेजमा वा काम गर्ने ठाउँमा, राजनीतिक पार्टीहरूमा र सिंगै राष्ट्रमा पनि बोल्नैपर्ने मानिस बेलाबेलामा मौन हुन सक्छन् । आपसमा खुसुरपुसुर गरे पनि खासखास बेलामा, निश्चित अभिभावक, शिक्षक, हाकिम वा नेताका सामु एक शब्द उच्चारण नगरी बसिरहेका हुन सक्छन्। र, यो मौनताको गहिरो इनारमा सकारात्मक परिवर्तनका सम्भावना डुबेर मर्न सक्छन्।

यतिबेला बाहिरबाट हेर्दा प्रशस्त हल्ला सुनिन्छ । आआफ्ना भाषा र शैलीमा ‘यथास्थिति’ अस्वीकार्य छ, यो स्थितिबाट निस्कने सम्भावना छ तर त्यो सम्भावनाको उपयोग भइरहेको छैन भनेर जनता कराइ नै रहेका छन् । तर पनि बिस्तारै बिस्तारै महत्वपूर्ण ठाउँमा बोल्नैपर्ने व्यक्तिहरू बोल्न छाडेका देखिन्छन् । बोल्न छाडेका ती असल मानिसमध्ये कोही ‘थाकेँ’ भन्दैछन्, कोही ‘बाहिरको हल्लाले मेरो सानो स्वरलाई त्यसै छोपिदियो’ भन्दैछन्, कोही ‘चित्त दुखेको छ, बोल्दिन’ भन्दैछन् भने कोही कोही त मैले ‘हैन’ भन्न खोज्दा पनि ‘हो’ भन्न लगाइँदैछ, त्यसैले म मौन छु’ भन्दैछन्। त्यति धेरै अपेक्षा राखेर जनताले जिताएको, आकारमा त्यति ठूलो बनेको, स्थिर सरकार बनाउने सम्भावना यति प्रवल भएको पार्टी पंक्तिभित्र (वा त्यसको वरिपरि) जब यस्तो ‘मौनताको कोलाहल’ व्याप्त हुन्छ, त्यो कसैका निम्ति राम्रो हुँदैन।   

त्यसैले त होला, लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रताको यति धेरै महत्व भएको।

जनताका गुनासा सुन्ने क्षमता राज्यले विकास नगरे कसले गर्ने? तिनै गुनासाले त देशले तय गर्नुपर्ने प्रगतियात्राको दिशा निर्देश गर्ने हो नि ! ‘देशका नेता हौँ’ भन्नेहरू जब जनताका गुनासाबाट वाक्कदिक्क भएर मनपरि बोल्न थाल्छन्, के प्रमाणित गरिरहनु पर्दैन भने तिनमा नेतृत्व क्षमता रहेनछ। लोकतन्त्रमा साँच्चैको नेता हुन सक्नु चानचुने कुरा हैन । गम्भीर साधनामा निरन्तर लागिरहेमात्र साँच्चैको लोकतान्त्रिक नेता भइन्छ, साँच्चैको लोकतान्त्रिक राज्यरथ हाँक्न सकिन्छ। यो साधनामा पनि ‘सुन्ने’ कला र ‘सुन्ने’क्षमताको विकास गर्ने ‘श्रवण साधना’ अझै महत्वपूर्ण होला। 

कस्तो विश्वमा बाँचिरहेका छौँ, यस्तो विश्वमा हाम्रो स्थान कहाँ छ, के गर्दा आफ्नो र अरुको भलो हुन्छ...यावत् विषयमा पटक्कै वास्ता नगरेर ‘कस्तो गाडी चढ्ने’, ‘कस्तो निवासमा बस्ने’, ‘वरियताक्रममा म कहाँ छु’, ‘को आफ्ना को अरुका’ जस्ता कुरामै समय र शक्ति व्यतीत गर्ने ‘नेता’हरूका हातमा लगाम छाडिदिँदा तिनले राज्य रथ कसरी हाँक्छन्?

जसलाई सामाजिक न्याय र लोकतन्त्रको दिशा नै स्पष्ट छैन, तिनले समृद्धिको नारा लगाउँदै देशलाई कता पु-याउलान् ? राज्यको सारथि हुन त गम्भीर साधना गर्नैपर्छ । कसैले हिजो कति योगदान दियो, कति दुःख ग-यो, कति लामो समय जेलमा बस्यो, परिवर्तनका निम्ति राजनीतिमा लाग्दा कसरी परिवार बिग्रियो, आदिले हिजोको उसको महानता दर्शाउँछ, साहस देखाउँछ । त्यस्ता मानिसलाई खोजीखोजी सम्मान गर्नु, उनीहरूका जीवन सहज बनाइदिनु, नयाँ भूमिकाका निम्ति तयार र सक्षम छन् भने त्यो भूमिका दिनु आदि राज्यको दायित्व हो। तर हिजो त्यत्रो बलिदान दिनका निम्ति जुन सुन्दर सपनाले उत्साह प्रदान गरेको थियो, त्यो सपना साकार पार्नका निम्ति राज्य सञ्चालन गर्न भने हिजोको योगदान हैन, आजको साधना नै चाहिन्छ । हिजोका क्रान्तिकारी हुन् वा नयाँ राजनीतिकर्मी, पुराना योद्धा हुन् वा नयाँ राजनीतिज्ञ, यो साधनामा अल्छी मान्न थाले भने थाहै नपाइकन ती कुनै न कुनै किसिमको आलस्यजन्य सहजता खोज्न थाल्नेछन्। यस्तो ‘सहजता’ पाइने ठाउँ अलोकतान्त्रिक शासन पद्धतिको सुरक्षाघेराभित्र हुन्छ। अर्थात् थाहै नपाई ती अर्को बाटो हिँड्न थाल्नेछन्। र, एकदिन इतिहासले तिनलाई अस्वीकार गरिदिनेछ।

यो देश त्यस दिशातर्फ उन्मुख नहोस् । मूर्खतापूर्ण ढङ्गले यस्तो गलतदिशामै जाने हो भने देशका चिन्तकहरू, अभियन्ताहरू, देशका निम्ति महत्वपूर्ण योगदान दिन सक्ने असल मानिसहरू विस्तारै ‘सेलेक्टिभ म्युटिज्म’ बाट ग्रस्त हुन थाल्नेछन् र ‘नेता’का अघि, राज्यका अघि ती बोल्न छाड्नेछन् । यसको छनक अलिअलि देखिन थालिसकेको छ । अनि केही गरी जनता पनि ती जस्तै थकित भएर बोल्न छाडेछन् भने सबभन्दा बढी खतरा शासककै निम्ति हुन्छ। जनताको मौनताभित्र आँधीको कोलाहल लुकेको हुन्छ। इतिहासमा सधैँं त्यसो हुँदै आएको छ।

जनताले दिक्क भएर, सबै विश्वास गुमाएर, आफूलाई उपेक्षित अनुभव गरेर बोल्न छाड्नुभन्दा अगाडि नै जनताका आवाजभित्रको ऊर्जालाई, तिनका असन्तुष्टिभित्रको ऊर्जालाई, दिशानिर्देशक बत्ती ठानेर, अमूल्य निधि ठानेर जम्मा गर्न सक्नुपर्छ लोकतान्त्रिक राष्ट्रको राज्यसत्ताले। हो, गाह्रो हुन्छ। त्यसैले त साधना चाहिन्छ । त्यसैले त जनताले केही मानिस छानेर त्यो भूमिका निर्वाह गर्न पठाउँछन्। अझै समय छ । एकपछि अर्को गल्ती गर्न छाडे यही सरकारले धेरै गर्न सक्छ । शुभकामना– यसपालि दसैँपछि सुविचारित असल निर्णयहरू गर्न सकोस् सरकारले।

प्रकाशित: २६ आश्विन २०७५ ०२:५८ शुक्रबार

सरकार समाज