विचार

अचेतन प्रतिपक्ष

मनोवैज्ञानिकरूपले अस्थिर एवं चिन्तोन्मादले ग्रसित व्यक्तिहरूमा रोगभ्रम (हाइपकोन्ड्रिया) देखिने गर्छ । यो आफैंमा चिन्ताजनित व्यग्रता मात्र भएकाले उपचार सहज हुँदैन । केही चिकित्सक चित्तस्थिर बनाउने औषधी प्रयोग गर्न सुझाउँछन् । मनोचिकित्सकहरू भने संज्ञानात्मक व्यवहार चिकित्सा भनिने जटिल एवं लामो प्रक्रियाद्वारा इलाज गर्छन् । रोगभ्रम व्यक्ति जस्तै संस्थालाई पनि हुन्छ । नेपाली कांग्रेस अहिले प्राणघातक बिमारीले ग्रस्त रहेको व्याधिले त्रस्त जस्तो देखिन्छ । त्यसैले राजनीतिमा आजभोलि प्रतिपक्षको भूमिका त के, उपस्थितिसमेत देखिदैँन । नेकपा दोहरोले सरकार सञ्चालन, सदनको कारबाही, साहुकार गतिविधि, समाचारमा प्रमुखता, सम्पादकीय अन्तर्वस्तुमा अनुकूलता, सभागारका छलफलमा प्रभुता, सभ्रान्तका सरोकारमा प्रधानता एवं समाजिक अभियन्ताका क्रियाकलापमा एकाधिकार कायम राखेकै थियो । राजनीतिमुक्त प्रतिरोधको छद्म राजनीति गर्ने सप्ताहान्तका सेतो कमिज लगाउने सभ्रान्त विद्रोहीहरूले स्थायी सत्ताका लागि सडक कब्जा गरेको सन् २०१३ देखि नै हो । सार्वजनिक वक्तव्यको विरोध प्रदर्शनमा समेत नेकपा दोहरोका राजनीतिकर्मीहरू नैं देखिन थालेको छ। 

नेकाका आधारभूत संरचनाहरू निष्क्रिय छन् । सन् २००६ पछि नेकांका स्थानीय एकाइहरूले कुनै पनि राजनीतिक, समाजिक वा सांस्कृतिक आन्दोलनको अगुवाइ गरेका छैनन् । भातृ संगठनहरूले ठेक्कापट्टा, नियुक्ति, मनोनयन वा सरूवा÷बढ़ुवामा भागबन्डाकालागि गरेको अपहत्तेलाई राजनीतिक गतिविधि मान्न मिल्दैन । राष्ट्रिय वा अन्तर्राष्ट्रिय परिघटनाबारे त्यस दलका कुनैपनि पदाधिकारीले सामान्यजनको मन खल्बल्याउने सुविचारित एवं तार्किक अभिव्यक्ति दिन सकेका छैनन् । एकथरी छन् जो कमल थापाका हिन्दुवादी नारा भट्याउँछन् । अर्काथरी चित्रबहादुर केसीका संघीयता विरोधी व्याख्या दोहो¥याउँछन् । समृद्धिको कार्यसूचीमा नेकपा दोहरोको स्वत्वाधिकार (कपीराइट) कायम भइसकेको छ । अर्थराजनीतिको त्यही सूत्र वाचन गरेर नेकांको विशिष्टता प्रष्टिदैन । असंयमित भारत विरोध एवं स्वचालित तथा यान्त्रिक (भिसरल) मधेस अवहेलनाको राष्ट्रवादबारे १६ बुँदे षड्यन्त्रमार्फत कायम भएको राजनीतिक सहमतिको प्रमुख परिवाहक (प्राइम मुभर) भइसकेकाले नेकाले सामेली राष्ट्रियताको वैकल्पिक अवधारणा प्रस्तुत गर्न सक्ने रचनात्मक क्षमता एवं नैतिक बल दुवै गुमाइसकेको छ। 

नेपाली कांग्रेस अहिले प्राणघातक बिमारीले ग्रस्त रहेको व्याधिले त्रस्त जस्तो देखिन्छ । त्यसैले नेपालको राजनीतिमा आजभोलिप्रतिपक्षको भूमिका त के, उपस्थितिसमेत कतै देखिदैँन।

सार्वजनिक सरोकारका समसामयिक मुद्दाहरू, जस्तै– महिला हिंसामा अचाक्ली विस्तार, निजगढका नाउँमा वन विनाश, बूढी गण्डकीको सौदावाजी, नेवानिको व्यवस्थापकीय अलमल, आकाशिँदो व्यापार असन्तुलन, चिनी एवं आलुलगायत दैनिक उपभोगका वस्तुको मूल्यमा अस्वाभाविक वृद्धि वा परराष्ट्र नीतिको दिशाहीनता अब सेतो कमिजवाला सप्ताहान्तका विद्रोहीहरूको चासो एवं चिन्तामा सीमित छ । नेकाको निष्प्राण अवस्थाबाट अत्तालिएका समाजिक अभियन्ता प्रतिरोधको राजनीतिको निरर्थकता देखेर सत्ताधारीलाई विन्तिपत्र बुझाउनु बरू बढी प्रभावकारी हुने निष्कर्षमा पुग्न थालेका छन् । उदारवादी एवं अनुदारवादी भनिने राजपरिवारका वफादारहरूको पंक्ति पञ्चायत व्यवस्थामा पनि हुने गथ्र्याे । तत्कालीन नेकांले तिनलाई वैकल्पिक शक्ति मान्दैन्थ्यो । अहिले नेकपा दोहरोभित्र माधव नेपालले चियाको कपभित्र उठाएको तुफान देखेर नेकाका केही राजनीतिकर्मी सत्ताको माछा आफ्नै ढडियामा पर्ने सपना देख्न थालेका हुन सक्छन् । यो राजनीतिक दिवालियापन मरणासन्न संगठनको द्योतक हो।

वैचारिक अस्पष्टता
पञ्चायतका तीन दशकसम्म नेकाले एकसाथ विद्रोही एवं विपक्षको भूमिका निर्वाह गरेको हो । त्यस्तो राजनीतिक शक्ति समसामयिक परिदृश्यमा कतै देखिँदैन । राष्ट्रिय प्रजातन्त्र पार्टीसँग हिन्दुत्व एवं राजतन्त्रको आस्था छ तर त्यसलाई स्वीकार्य बनाउन सकिने अर्थराजनीतिक विचार, विकल्प स्थापित गर्न सकिने सांगठनिक शक्ति वा आन्दोलनलाई उत्प्रेरित गर्ने नैतिक क्षमता एवं छवि भएको नेतृत्व छैन । नाममा जतिसुकै ‘संघीय’ उपसर्ग वा ‘नेपाल’ उपाधि झुण्ड्याए पनि मधेसीहरूको मताधारलाई भजाएर राजनीति गर्ने दलहरूलाई स्थायी सत्ताले बढीमा विरोधी दलका रूपमा स्वीकार गर्नेमात्रै हो । प्रतिपक्ष त के, निकट भविष्यमा तिनले विपक्षी दलको सम्मानसमेत पाउने आकांक्षा नराखे हुन्छ । नृजातीय पूर्वाग्रहका जरा वर्चस्वशाली समुदायको मानसिकतामा गहिरो गरी फैलिएका छन् । मधेसी नेतृत्वको दलले राजनीतिमा व्यापक स्वीकार्यता पाउन सितिमिति सम्भव छैन । ती सत्ताधारी, प्रतिपक्ष वा विपक्षका सहयोगी हुन सक्छन् तर विकल्प बन्न सक्दैनन् । वर्गीय मुक्तिको संग्राममा लागेका नेत्रविक्रम चन्दको राजनीतिक भविष्य आन्तरिक गतिविधि भन्दा पनि भूराजनीतिक समीकरणमा हुनसक्ने हेरफेरमा भर पर्छ । त्यतिबेलासम्म अस्तित्व जोगाइराख्ने भन्दा बढी तिनले केही गर्न सक्दैनन् । तत्काललाई स्वीकार गर्न जति नै असहज लागेपनि राष्ट्रिय राजनीतिक परिदृश्यमा नेकपा दोहरोको विकल्प दिन सक्ने सम्भावना भएको दल सबै कमी/कमजोरी हुँदाहुँदै पनि नेकामात्रै हो । त्यस्तो सम्भावनाबारे आश्वस्त हुन कठिन छ।

जीवनयापनका विभिन्न विकल्प छन् । निर्वाह अर्थतन्त्रको विद्यमान अवस्थालेगर्दा कृषि कर्मबाट सामान्यजनसमेत विकर्षित हुन थालेका छन् । त्यसपछि गुजाराको चिन्ता हुनेले सबभन्दा पहिले नोकरी खोज्छ । नोकरीकालागि विदेशिने बाध्यता निकट भविष्यमा हट्ने सम्भावना देखिँदैन । पुँजीको जोडजाम गर्न सक्ने एवं उद्यमशीलताको आँट भएकाहरू व्यापार वा व्यवसायतिर लाग्न सक्छन् । विप्रेषणमा वृद्धि एवं उपभोग्य वस्तुको खपतमा भएको बेपत्ता विस्तारले हरेक दुईचार घरपछि एउटा पसल अब गाउँघरतिर पनि देखिन्छ । पूर्वाधार निर्माणमा सरकारी लगानी खासै नबढे पनि वैदेशिक सहयोगका योजनाहरूले गर्दा ठेक्कापट्टा व्यवसाय मौलाएको छ । सन् १९९० पछि तत्कालीन एमाले समाजिक दायित्वको समूहगत संकल्पलाई संगठित गैससकर्मरूपी आजीविकाको माध्यममा रूपान्तरण गर्न सफल भएको थियो । गैससकर्म आजभोलि मध्यम वर्गका महत्वाकांक्षी युवाहरूको प्राथमिक पेशागत छनोट बन्न पुगेको छ । कलाको आकर्षण शाश्वत हो । गायक, कवि, संगीतकार, लेखक वा चित्रकार बन्न कारण चाहिँदैन र कलाकार बन्ने प्रवल इच्छाशक्ति भएकालाई विपरित अवस्थाले समेत रोक्न सक्दैन । राजनीतिमा लाग्न गुजारा, नाफा, प्रतिष्ठा वा आत्मसन्तुष्टि जस्तो कुनै सशक्त उत्प्रेरक नभए पनि कुनै सचेत वा तार्किक व्यक्ति निरन्तर अनिश्चितताको राजनीतिक प्रतिबद्धता किन रोज्न पुग्छ ? उत्तर पाइएको दिन शायद राजनीति पनि व्यसनबाट पेशामा बदलिनेछ । नवउदारवादको व्यापकताले त्यही बाटो देखाइरहेको छ।

शेरबहादुर देउवा, रामचन्द्र पौडेल वा कोइराला परिवारका सम्भाव्य उत्तराधिकारीहरूको अनुहार एवं व्यवहार सम्झँदा नेका कुनै बेला नेपालको गौरवशाली राजनीतिक शक्ति हुने गथ्र्याे भन्ने पत्याउन पनि गाह्रो लाग्न थालेको छ।

सत्ताधारीसँग जोडिएर आउने आत्मविश्वास, समाजिक सम्मान एवं सुरक्षा भावले अधिकांश महत्वाकांक्षीलाई लोभ्याउँछ । केही नपाए वा नलिए पनि त्यागी भएको छविले दिने आत्मसन्तुष्टिमात्र भए पनि छँदैछ । स्वाभाविक हो, अलिकति पनि सहज बुद्धि भएको महत्वाकांक्षी व्यक्तिको पहिलो छनोट पाँच वर्षसम्म सरकारमा रहने सुनिश्चितता भएको नेकपा हुनेछ । मधेसी वा जनजाति सम्मानको राजनीतिले वस्तुगत लाभ नदिए पनि उद्देश्यमूलक कार्यसूचीसँग जोडिने आत्मसन्तुष्टि प्राप्त हुन सक्छ । सेतो कमिजवाला सहरिया मध्यम वर्गका युवाहरूमा सप्ताहान्तका विद्रोहीहरूप्रतिको आकर्षण बलियो छ । नेकासँग नयाँ समर्थक वा सदस्यलाई आकृष्ट गर्न सक्ने स्पष्ट वैचारिकी, उत्प्रेरक आदर्श, प्रभावी प्रचार संयन्त्र, कार्यकुशल संगठन एवं विश्वसनीय नेतृत्वमध्ये केही पनि छैन । नेकाको राष्ट्रियता एवं एकताकाका माले–मण्डले भनिने उग्रपंन्थीहरूको राष्ट्रवादका बीच १६ बुँदे षड्यन्त्रपछि कुनै फरक बाँकी रहेन । प्रजातन्त्रलाई ‘बहुमतको निरंकुशता’ प्रक्रियाका रूपमा अथ्र्याउन मिल्ने नजिर तीव्र पथबाट जारी विवादित संविधानले स्थापित गरिसकेको छ । समाजवादको अर्थ समृद्धिको राजनीति हो भन्ने अनौठो मान्यताले गर्दा नेकाको ‘राष्ट्रियता, प्रजातन्त्र र समाजवाद’ रूपी एकताकाको सिंहनाद आजभोलि स्याल हुइँयाभन्दा फरक सुनिँदैन । सबभन्दा दयनीय अवस्था भने नेकाभित्र नेतृत्व अभावले गर्दा उत्पन्न भएको हो । शेरबहादुर देउवा, रामचन्द्र पौडेल वा कोइराला परिवारका सम्भाव्य उत्तराधिकारीहरूको अनुहार एवं व्यवहार सम्झँदा नेका कुनै बेला नेपालको गौरवशाली राजनीतिक शक्ति थियो भन्ने पत्याउन पनि गाह्रो हुन्छ। 

यान्त्रिक नेतृत्व
राजनीतिक नेतृत्व ग्रहण गर्ने व्यक्तिका विभिन्न गुणमध्ये वक्तृत्वकलालाई चारीत्रिक शुद्धता एवं वचन पालन गर्ने अठोटपछिको तेस्रो महत्वपूर्ण क्षमता मानिन्छ । बोलीचालीलाई शंखको ध्वनिसँग तुलना गर्दै मैथिली भाषामा चारथरी प्रवृत्तिका कथा प्रचलित छन् । सबभन्दा तल्लो स्तरको सञ्चारक ‘घोंघाशंख’ हो जो बोल्दै बोल्दैन र केहीगरी मुख खोलिहाले पनि स्पष्ट विचार व्यक्त गर्न सक्दैन । सुशील कोइराला अब्बल दर्जाका घोंघाशंख रहेको विवादित संविधान जारी हुने बेलामा देखिएको थियो । दर्जामा दोयम रहे पनि उनका उत्तराधिकारी अध्यक्ष शेरबहादुर देउवा महत्वपूर्ण राजनीतिक मुद्दामा मौनता कायम राख्ने मामिलामा कम ठूला घोंघाशंख होइनन् । घोंघाशंखपछि ‘भोम्हाशंख’ भनिने व्यक्तिहरूमा कहाँ र के बोल्ने भन्ने हेक्का हुँदैन । प्रचलित किंवदन्तीअनुसार एकजना भोम्हाशंख छिमेकीको गृहप्रवेश अनुष्ठानमा निम्त्याइएका थिए । उनले नयाँ घर हेरेर भने अरे– अरू सब त ठीक छ तर ढोकाबाट अर्थी निकाल्न भने गाह्रो हुनेछ ।’ त्यहीँ एउटा ‘हडाशंख’ पनि उपस्थित थियो । उसले जान्ने भएर थप्यो– ‘हैन, कस्तो कुरा गरेको ? नयाँ घरबाट एउटा त के, दुईटा अर्थी एकैपटक निकाल्न सकिन्छ !’वर्तमान राजनीतिक परिस्थितिमा कोइराला दाजुभाइमध्येबाट नेका अध्यक्षको खोजी गर्ने परिवारिक वफादारहरू त्यस्तै भोम्हाशंख एवं हडाशंख प्रवृत्तिका व्यक्ति हुन् । जनजाति हितैषी एवं मधेसमैत्री राजनीति कोइराला परिवारको अनन्य विक्रय प्रस्ताव (युएसपी) हुने गथ्र्यो । विवादित संविधान जारी गर्ने हतारोमा सुशील कोइरालाले ऐन मौकामा धोखा दिएकाले त्यो थर अब तागत नभएर कमजोरीको परिचायक बन्न पुगेको छ।

नेकपा दोहरो मूलरूपमा पहाडी बाहुनहरूको राजनीतिक मोर्चा भएजस्तै नेकाको प्रतिस्पर्धात्मक लाभ पहाडी क्षत्रीहरूको साझा मञ्च हुनुमा छ । जातीय समीकरण समसामयिक राजनीतिको अप्रिय यथार्थ हो । त्यसैले बारम्बार अध्यक्ष पद दावी गरिरहने रामचन्द्र पौडेललाई कुरै नबुझी फुर्ती लाउँदै हिँड्ने मैथिली किंवदन्तीको ‘डपोरशंख’ भन्दा फरक पर्दैन । उनले जनजातिको विश्वास जित्न सकेका छैनन् । मधेसीहरूबाट शंकाको लाभ पाए पनि त्यो भरोसा उनले १६ बुँदे षड्यन्त्रताका आफ्ना नृजातीय मुख्तियार खड्गप्रसाद शर्मा ओलीको चरणकमलमा अर्पण गरेका थिए । वस्तुगत स्थिति हेर्दा नेकालाई पुनर्जागृत गर्न सकिने सम्भावना कतै देखिँदैन । नेकालाई होशमा नल्याएसम्म प्रजातान्त्रिक राजनीतिलाई गति पनि दिन सकिँदैन । जनमानसमा व्याप्त हुँदै गएको चरम निराशा अकारण होइन । नेकाको चिन्तोन्माद फगत रोग भ्रम नभएर लाइलाज बिमारीको लक्षण नै हो कि ? विधान संशोधनको कवायदमा लागेका नेकाका हर्ताकर्ताले त्यसभन्दा पहिले सोध्ने प्रश्न हो– ‘नेका छ, त्यसैले चाहिन्छ’ भन्नेबाहेक के तिनको दलको अरू कुनै औचित्य बाँकी छ ? नेकाको इतिहास निसन्देह गौरवशाली हो । वर्तमान अन्योलपूर्ण छ । भविष्यको अनिश्चितता डरलाग्दो ठहरिन सक्छ।

प्रकाशित: १९ आश्विन २०७५ ०४:२८ शुक्रबार

प्रतिपक्ष राजनीति