विचार

जाेखिममा मुटु

नेपालमा पछिल्लो समय मुटुरोगका बिरामी जे जसरी बढ्दै गएका छन्, त्यसलाई हेर्ने हो भने यो रोग मुलुकको प्रमुख स्वास्थ्य समस्यामध्ये एक हुन पुगेको छ, जुन चिन्ताको विषय हो। बर्सेनि तीनदेखि चार प्रतिशतका दरले यो रोगको बिरामी बढेको भन्ने गंगालाल हृदय केन्द्रको तथ्यांकले पनि यसको भयावह रूपलाई देखाएको छ। गत वर्षमात्र एक लाख ५३ हजार ६२ जनाले बहिरंग विभागबाट उपचार लिएको अस्पतालको तथ्यांक आफंैमा डरलाग्दो छ । त्यसो त अन्य अस्पतालमा पनि मुटुरोगका बिरामीको चाप उस्तै छ। मनमोहन कार्डियो भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरबाट गत वर्ष ६० हजार जनाले सेवा लिएका थिए भने यस वर्ष ६८ हजार बिरामीले सेवा लिएका छन्। यो संख्या हेर्दा एक वर्षमै एउटा अस्पतालमा मात्रै यस रोगका आठ हजार बिरामी थपिएका छन्। एक दशकमा १० प्रतिशतले यस्ता बिरामी बढेका छन् भने राजधानीमा यो रोगको वृद्धिदर डरलाग्दो भएको तथ्यांकहरूले देखाएको छ।

आधुनिक जीवनशैलीका नाममा सुविधाभोगी हुँदै एक पाइला पनि नहिँड्ने प्रवृत्ति मात्रै होइन, घरको स्वस्थ खाना छाडेर फास्टफुडमा रमाएका कारण पनि पछिल्लो समय यो रोग भयावह हिसाबले फैलिँदै गएको निष्कर्ष चिकित्सकको छ। त्यतिमात्र होइन,  चिल्लो, चुरोट, रक्सीजस्ता पदार्थको अत्यधिक सेवनले पनि मुटुरोगीको संख्या बढाइदिएको छ। 

विश्वमा एक करोड ७० लाख मानिसको मृत्यु मुटुसम्बन्धी रोगले हुने गरेको र सन् २०३० सम्ममा यो संख्या दुई करोड ३० लाख पुग्ने अनुसन्धानहरूको निचोड छ। यसरी पछिल्लो समय मुटुरोगको भयावह अवस्था देखिनुमा अव्यवस्थित जीवनशैली र खानपान नै मुख्य कारणका रूपमा देखिएको छ। त्यसैले पनि जीवनशैलीमा सुधार गर्ने र खानपानको शैलीलाई व्यवस्थित गर्नसके हृदयाघातको जोखिम धेरै कम गर्न सकिने तर्क चिकित्सकहरुको छ। आधुनिक जीवनशैलीका नाममा सुविधाभोगी हुँदै एक पाइला पनि नहिँड्ने प्रवृत्ति मात्रै होइन, घरको स्वस्थ खाना छाडेर फास्टफुडमा रमाएका कारण पनि पछिल्लो समय यो रोग भयावह हिसाबले फैलिँदै गएको निष्कर्ष चिकित्सकको छ। त्यतिमात्र होइन,  चिल्लो, चुरोट, रक्सीजस्ता पदार्थको अत्यधिक सेवनले पनि मुटुरोगीको संख्या बढाइदिएको छ। आधुनिक जीवनशैली जिउने नाममा गरिएका अभ्यासले उच्चरक्तचापदेखि मधुमेहसम्मको रोग निम्त्याउने गरेको छ। यी समस्याले नै हृदयाघातको जोखिम बढाएका छन् । त्यसमाथि रक्सी र चुरोट सेवनले त हृदयाघातको सम्भावना झनै बढाइदिएको छ।  शरीरभरि रक्तसञ्चार गर्न मुटुलाई रगत चाहिन्छ र मुटुलाई रगत पठाउन दायाँ र बायाँ नली हुन्छन् जुन नली बन्द भए हृदयाघात हुन्छ । मधुमेहले रगतको नलीमा अवरोध गर्छ भने रक्सी र चुरोटले पनि रगतको नलीलाई साँघुरो बनाइदिन्छ। यसरी रगतको नली साँघुरो हुँदा होस् वा त्यहाँ अन्य किसिमको अवरोध हुँदा नै किन नहोस्, त्यसले हृदयाघात हुने सम्भावना रहन्छ। नियमित मुटुको जाँच गरेर समयमै जोखिम पत्ता लगाउन सकेमा यो रोगको जोखिमका कारण हुने मृत्युबाट बच्न सकिन्छ, जुन सुझाव चिकित्सकहरूले पनि दिइरहेका हुन्छन्। त्यति हुँदाहुँदै पनि नेपालमा नियमित स्वास्थ्य जाँच गर्ने बानी विकास भइसकेको छैन, जसले गर्दा पनि यो रोगका कारण हुने मृत्युदर उच्च देखिएको हो। सन्तुलित भोजन, नियमित व्यायाम, रक्सी–चु्रोट नखाने, नियमित स्वास्थ्य परीक्षण गर्ने, तनाव नलिने र दैनिक कम्तीमा आधा घन्टा छिटोछिटो हिँड्नाले हृदयाघातको जोखिमबाट बच्न सकिने चिकित्सकहरूको जुन सुझाव छ, त्यसलाई पालना गर्नसके यसको जोखिम  कम गर्न सकिन्छ। 

नियमित रूपमा हिँड्ने, सन्तुलित भोजन गर्ने, खानामा चिल्लो तथा रातो मासु प्रयोग कम गर्ने, दैनिक व्यायाम गर्नेदेखि नियमित स्वास्थ्य जाँच गर्ने हो भने मुटुरोगको जोखिमबाट केही हदसम्म बच्न सकिन्छ। त्यसमाथि चिकित्सकको सल्लाहअनुसार आफ्नो खानपिन र जीवनशैली बदल्ने हो भने मुटु स्वस्थ राख्न सकिन्छ। यसका साथै मुटुरोगका लक्षण देखिएमा तुरुन्तै अस्पताल जान सके हृदयाघातका कारण हुने मृत्युबाट बच्न सकिन्छ। त्यसो त अहिले राजधानीमा रहेको गंगालाल हृदय  केन्द्र, मनमोहन काडिर्ययो भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर र केही निजी अस्पतालमा मात्र जटिल किसिमका मुटुरोगको उपचार हुँदै आएको छ जसमा सबैको सहज पहुँच छैन। यो अवस्थामा राजधानीबाहिर कम्तीमा मुख्य सहरमा मुटुरोगका साथै अन्य जटिल प्रकृतिका रोगको उपचार हुन सक्ने अस्पताल स्थापना गर्नेतर्फ सरकारको ध्यान जान पनि उत्तिकै आवश्यक छ।

प्रकाशित: १४ आश्विन २०७५ ०३:५६ आइतबार

मुटुरोग स्वास्थ्य