विचार

रामबहादुरको रहस्य

गृहमन्त्री रामबहादुर थापाले हालैका दिनमा बढेका यौनजन्य हिंसाको दोष ‘पुँजीवाद’ माथि थोपरेका छन्। पुँजीवादले हिंसा बढाएको हो वा समाजमा नियम र नैतिकताप्रतिको चेतना हराएपछि यस्तो भएको हो? समाजमा अपराधवृत्ति पछाडि दण्डहीनतालाई प्रमुख दोष जान्छ। बेलैमा अपराधवृत्तिमा रोक लागेको भए अहिले अपराधकर्मकै चर्चाले भरिएका दुर्दिन देख्नुपर्ने थिएन। पुँजीवाद त्यो हो, जहाँ मुलुकको आर्थिक र राजनीतिक प्रणालीलाई राज्यभन्दा निजी क्षेत्रले नाफाका लागि नियन्त्रण गर्छ । हाम्रो मुलुकको अवस्था अवश्य पनि यो होइन । राज्य अहिले पनि सशक्त छ। राज्य आफैंले धेरै व्यवसायमा एकाधिकार राख्छ। तर, गृहमन्त्री थापाको अभिव्यक्तिलाई सही मान्ने हो भने मुलुकमा पुँजीवाद आइसकेको मान्नुपर्छ। पुँजीवाद आइसकेका कारण निजी क्षेत्रले मुलुकको आर्थिक र राजनीतिक प्रणालीलाई नियन्त्रण गरेका कारण यहाँ बलात्कारका घटना भएको निष्कर्ष निकाल्नुपर्ने हुन्छ। पुँजीवादको विकास भइसकेका मुलुकमा नारीलाई सम्मान छ कि समाजवादी भनिएका मुलुकमा? पुँजीवादी भनेर चिनिएका अमेरिका र युरोपेली मुलुकमा महिलालाई बढ्ता सम्मान गरेको देखिन्छ।

इन्टरनेटका कारण अहिले यौनजन्य हिंसाका घटना भइरहेका भन्ने गृहमन्त्री थापाका अभिव्यक्ति खुलापनका विरोधी छन्। इन्टरनेट शिक्षा र चेतना विस्तारको माध्यम बन्न सक्छ। पुँजीवाद, इन्टरनेट वा यस्तै कुनै अन्य सामग्रीप्रति द्वेषभाव राख्नु उचित हुँदैन। बरु इन्टरनेटलाई नियम र नैतिकता समाजमा फैलाउने साधनका रूपमा उपयोग गर्न सकिन्छ।

खासमा हाम्रो मुलुकमा अहिले देखिएका समस्या पुँजीवादले भन्दा पनि दण्डहीनताले उत्पन्न भएका हुन्। र, मुलुकमा दण्डहीनताको प्रमुख कारकका रूपमा गृहमन्त्री थापाकै दल (एकीकरणअघिको माओवादी केन्द्र)  समेत जिम्मेवार देखिन्छन्। यसमा अन्य दलको पनि उत्तिकै जिम्मेवार छन्। हिंसालाई गौरवको विषय नबनाएको भए आज मानिस यस्ता कुकर्म गर्नबाट हच्किन्थे । त्यति मात्र होइन, द्वन्द्वकालका घटनामा समेत सम्यक दृष्टि राखी दोषीमाथि कारबाही भएको भए जुनसुकै परिस्थितिमा अपराधकर्म गर्नबाट मानिस हच्किन्थे। धेरैले देखेका छन् बलियो राजनीतिक दलको साथ भयो भने जस्तोसुकै अपराधबाट उन्मुक्ति हुन्छ। यसअर्थमा पनि दण्डहीनताको अन्त्य अहिलेको पहिलो सर्त हुनु आवश्यक छ। यसो भएमा अपराध कर्म गर्नबाट मानिस रोकिन सक्छन्। पछिल्ला केही सातादेखि आइरहेको बलात्कार, बलात्कारपछि हत्या र यस्तै यौनजन्य विकृतिका समाचारले मुलुकलाई आक्रान्त पारेको छ। अझ महेन्द्रनगरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटना र त्यो घटनामा प्रमाण लुकाउन प्रहरी आफैं सक्रिय भएको घटनाले धेरैको हृदय छियाछिया भएको छ। यस्तो घटनामा कहाँनिर पुँजीवादको योगदान छ। गृहमन्त्रीले यस्ता विषयमा बोल्नुअघि केही अध्ययन गर्न सकेका भए विषयवस्तुको गाम्भीर्य बुझाउन सहज हुने थियो । लाग्छ, यसअघि मुलुकमा प्रतिक्रियावादी शासन व्यवस्था मुख्य दोषी थियो। अहिले त्यसको ठाउँमा समाजवाद उन्मुख लोकतान्त्रिक गणतन्त्र मुलुकमा विद्यमान छ। अहिले भएका विकृतिको दोष पुँजीवादतर्फ देखाएर समस्यालाई अन्यत्रै मोड्न खोजिएको मात्र हो।

इन्टरनेटका कारण अहिले यौनजन्य हिंसाका घटना भइरहेका भन्ने गृहमन्त्री थापाका अभिव्यक्ति खुलापनका विरोधी छन्। इन्टरनेट शिक्षा र चेतना विस्तारको माध्यम बन्न सक्छ। पुँजीवाद, इन्टरनेट वा यस्तै कुनै अन्य सामग्रीप्रति द्वेषभाव राख्नु उचित हुँदैन। बरु इन्टरनेटलाई नियम र नैतिकता समाजमा फैलाउने साधनका रूपमा उपयोग गर्न सकिन्छ। इन्टरनेट साधन मात्र हो, त्यसलाई साध्यका रूपमा लिन सकिँदैन । हाम्रो मुलुकमा कुनै बेला स्कुलको पाठ्यक्रममा नैतिक शिक्षासमेत राखिएको थियो। मुलुकको भावी पुस्ता तयार पार्ने यस्तो पाठ्यक्रमलाई क्रान्तिकारिताको आडमा हटाइएको सबैका स्मृतिमा छ । बाल्यकालदेखि नै नैतिक शिक्षा दिन थाल्ने हो भने त्यसले समाजमा सकारात्मक प्रभाव पार्न सक्छ । यसका साथै अहिले जेजस्ता व्यक्ति यो अपराधकर्ममा संलग्न छन्, तिनीहरू पुँजीवादका कारणले अपराधकर्ममा लागेका छन् भनियो भने यसले यथार्थलाई चित्रण गर्दैन। वास्तवमा ती व्यक्ति पछौटेपनको सिकार भएका छन्। कतिपय यस्ता व्यक्तिले सूचनाको वास्तविक शक्तिलाई समेत बुझ्न नसकेको देखिन्छ। त्यस्तो हुँदो हो त सार्वजनिक सञ्चारमाध्यममा निरन्तर चर्चामा रहेकै अपराध कर्म यिनीहरूबाट दोहोरिने थिएनन्। इन्टरनेटका कारण अपराध कर्म बढ्यो भन्नु कुनै बेला किताबका कारण खराब विचार सजिलै फैलिन्छ भनेर उतर्र्सिएको अवस्थाजस्तै हो।

प्रकाशित: १२ आश्विन २०७५ ०५:०९ शुक्रबार

गृहमन्त्री_रामबहादुर_थापा पुँजीवाद