विचार

तीजकाे समाजशास्त्र

नेपाली समाज पुरुषप्रधान समाज हो। पारिवारिक शान्ति र समुन्नतिका साथै श्रीमान्को खुसीमा नै हिन्दु नारीले आफ्नो जीवनयापन गर्नुपर्ने धर्मशास्त्रको गलत व्याख्याका कारण सामाजिक संरचनामा महिलाको महत्वलाई कम मूल्यांकन र अनादर गरिएको छ। एउटा आदर्श हिन्दु समाज निर्माण गर्नका लागि शास्त्रले महिला र पुरुषको समान भूमिकालाई महत्व दिएको छ । महिला र पुरुषको भौतिक र आध्यात्मिक आवश्यकताहरूको परिपूर्णताका लागि दुवैको अस्तित्वलाई समान रूपले स्वीकार गरी आकाशलाई पिता र पृथ्वीलाई माताको रूपमा पूजन र नमन गरिएको पाइन्छ । नारीको सहभागिताविना पुरुष शक्ति कमजोर भई आध्यात्मिक उपलब्धिको प्राप्तिमा समेत पुरुषलाई महिलाको आवश्यकता पर्ने भएकाले शास्त्रहरूमा पत्नीलाई सहधर्मिणी र अर्धाङ्गिनी भनिएको हो । हिन्दु संस्कारमा विवाह केवल भौतिक आवश्यकता परिपूर्ति गर्ने सामाजिक बन्धन र सम्झौता मात्र नभएर पति पत्नीबीचको प्रणय प्रतिष्ठा र आध्यात्मिक सम्बन्धलाई बलियो बनाउने आधार हो । यस आधारले गर्दा विवाह अर्थात् पाणिग्रहणलाई विशेष स्थान दिइएको हो।

बदलिँदो सांस्कृतिक र राजनैतिक परिवेशअनुसार हाम्रा धर्म र संस्कृतिहरू पनि परिवर्तित र पुनःपरिभाषित भएका छन् । मानवजीवनका अन्य पक्षहरू जस्तै धर्म, संस्कृति र सामाजिक रीतिरिवाजलाई  पनि  आर्थिक, सामाजिक, भाषिक र राजनैतिक दृष्टिकोणबाट संश्लेषित रूपमा परिभाषा गर्न सकिएमा यस परिभाषाभित्र मानव जीवनका समष्टिगत समालोचना हुन सक्छ । कतिपय राजनैतिक शास्त्रीहरूले संस्कृतिलाई धार्मिक, चिन्तन र मिथकद्वारा सामाजिक रूपमा बहिष्कृत र कथित तल्लो जात–जातिलाई अलौकिक फल प्राप्तिको अनन्त भ्रममा राखेर  लौकिक फलमा एकाधिकार जमाउन सकिन्छ र यस अनन्त भ्रमको आडमा कथित तल्लो वर्ग वा जातजातिमाथि शोषण गर्ने माध्यमका रूपमा संस्कृतिलाई व्याख्या गरिएको पाइन्छ । यस किसिमको गलत व्याख्या र राजनैतिक स्वार्थबाट अभिप्रेरित अभिव्यक्तिले धार्मिक र सांस्कृतिक आस्थामाथि खलल पु¥याउने कुचेष्टा गरिएको आभास हुन्छ । (चैतन्य मिश्र, बदलिँदो संस्कृतिमा नेपाल)।

संस्कृतिले नै राजनीतिलाई निर्देशित गरिएमा समाज र राष्ट्रलाई सही मार्गमा डो-याउन सकिन्छ । पति पत्नीबीचको एक आपसको समर्पणको भाव र प्रेम सम्बन्धको गहिराइमा समर्पित भएर मनाइने यस पर्वको समाजशास्त्रीय, मानवशास्त्रीय, ऐतिहासिक र सामाजिक मनोविज्ञानको अध्ययन नै नगरी तीज लगायतका धार्मिक पर्व र परम्पराहरू पुरुषले महिलालाई दमन गर्ने सांस्कृतिक हतियार हुन् भनी एकपक्षीय ढंगले आलोचना गरिनु राजनैतिक स्वार्थ र अन्धवादको परिणाम मात्र हो।

नारी र प्रकृति संस्कृतिका संवाहक हुन् । हाम्रा संस्कृति, पर्व र परम्पराहरूलाई नारीहरूले नै आजपर्यन्त जीवन्त राखेका छन्। तीजले पनि यसै भावलाई स्वीकार गरेको छ । खानपान, नाचगान, लोकगीत, लोकसंगीत र संस्कृतिले पूर्ण तीजलाई सामाजिक एकता र सद्भावको प्रतीकका रूपमा व्याख्या गरिनु मनासिब नै मानिन्छ। तीजको सन्दर्भमा लेखिएका साहित्य र गीति सिर्जनाहरू र तिनमा प्रयोग गरिने बाजाहरूमा लोकधुन र लोकलयको नै सिर्जन गर्नेतर्फ यस क्षेत्रका स्रष्टाहरूले विशेष ध्यान पु-याउनु आवश्यक हुन जान्छ। परिवर्तित सामाजिक परिवेशको सन्दर्भमा  तीजलाई संस्कृति र प्रकृतिको संवाहकका रूपमा मनाउनु यथोचित नै मानिन्छ । संस्कृतिविना कुनै पनि समाजको कल्पना गर्न सकिँदैन । त्यसैले संस्कृतिको पर्दाभित्र रहेका कुसंगति र विकृतिलाई हटाई सकारात्मक धार्मिक र सांस्कृतिक  सचेतनामा समाहित हुँदै तीज पर्व मनाइएमा त्यो समग्र नेपाली महिलाहरूका लागि परिवर्तनको दिवस र सकारात्मक क्रान्तिको प्रथम मार्ग बन्ने सुनिश्चित छ । नेपाली समाजमा बढ्दै गएको पारिवारिक विखण्डन र दाम्पत्य जीवनमा आएको सम्बन्धविच्छेद जस्तो विकराल समस्याहरूलाई न्यूनीकरण गर्नका लागि हिन्दुहरूको महान् पर्व हरितालिका तीजले प्रभावकारी भूमिका खेल्न सक्छ।

प्रकाशित: २८ भाद्र २०७५ ०४:५० बिहीबार

तीज महिला