विचार

सम्पदाबाटै समृद्धि

विश्वका अद्वितीय स्मारकका धनी छौं हामी । प्रकृतिले पनि हामीलाई उसैगरी वरदान दिएको छ । सर्वोच्च शिखर संसारका कुनै मुलुकले पाएका छैनन् । हामी भने यस्तो भाग्यमानी मुलुकमा पर्छौं । कस्तुरी आफ्नै बास्नाको खोजी गर्न भौंतारिएझैं हामी भौंतारिइरहेका छौं । भएकै सम्पदाको समुचित प्रयोग गर्न सकेमा हाम्रो मुलुकका निम्ति अत्यावश्यक स्रोत यसैबाट प्राप्त हुन्छ । कतिपय मुलुकले आफ्नो समृद्धिका निम्ति सांस्कृतिक सम्पदाको संरक्षणबाट फाइदा उठाइरहेका छन् । इन्डोनेसिया मुस्लिम मुलुक भएर पनि हिन्दु संस्कृतिको संरक्षण गरी बालीलाई पर्यटक भित्र्याउने महत्वपूर्ण थलोका रूपमा विकास गरेको छ । बालीले जसरी परम्परागत नाच, मठमन्दिर, पूजाअर्चना आदि देखाएर आम्दानी गरिरहेको छ, त्योभन्दा कैयन् गुणा बढी आयआर्जन गर्न सक्ने अवस्थामा हाम्रो मुलुक छ । हाम्रा परम्परालाई मात्रै संरक्षण गर्ने हो भने पनि हामीले भिक्षाको कचौरो तेस्र्याउनै पर्दैन । सुनको बोरामाथि सुतेर सिल्बरे कचौरा थाप्ने अवस्थाबाट हाम्रो मुलुकलाई अघि बढाउनुपर्ने दूरदृष्टि नेतृत्वमा हुनुपर्छ । हामीसँग जे छ त्यो अरूसँग छैन । तर, हामी आफूसँग भएकोप्रति भन्दा नभएकोमा बढ्ता लालायित छौं । हाम्रो समृद्धिका निम्ति हाम्रा सम्पदा पर्याप्त छन्।

सुनको बोरामाथि सुतेर सिल्बरे कचौरा थाप्ने अवस्थाबाट हाम्रो मुलुकलाई अघि बढाउनुपर्ने दूरदृष्टि नेतृत्वमा हुनुपर्छ। हामीसँग जे छ त्यो अरूसँग छैन। तर, हामी आफूसँग भएकोप्रति भन्दा नभएकोमा बढ्ता लालायित छौं । हाम्रो समृद्धिका निम्ति हाम्रा सम्पदा पर्याप्त छन्।

बिम्स्टेक सम्मेलनका क्रममा आएका पाहुनालाई आकर्षित गर्ने प्रमुख थलोका रूपमा लुम्बिनीले भूमिका खेलेको छ । श्रीलंकाली राष्ट्रपति मैत्रीपाला सिरिसेनाले लुम्बिनी भ्रमणमात्र गरेनन् त्यहाँ पूजाअर्चनासमेत गरेका छन् । उनको साथमा श्रीलंकाली मन्त्री र उच्चपदस्थ अधिकारीसमेत लुम्बिनी पुगेका थिए । मायादेवी मन्दिर र अशोक स्तम्भको भ्रमणपछि उनीहरूमा देखिएको सन्तुष्टि लोभलाग्दो थियो । प्रत्येक श्रीलंकाली बौद्ध धर्मावलम्बीका मनमा आफ्नो जीवनकालमा एकपटक लुम्बिनी भ्रमण गर्नुपर्छ भन्ने रहेको हुन्छ । सम्मेलनकै क्रममा म्यानमारका राष्ट्रपति उविन मिन्ट र प्रथम महिला डो चोचोले बिम्स्टेक शिखर सम्मेलन प्रारम्भ हुनुअघि नै लुम्बिनीको भ्रमण गरेका थिए । श्रीलंकाली र म्यानमार दुवै मुलुकमा राष्ट्रपतिले लुम्बिनीको विकासमा सहयोग गर्ने इच्छासमेत व्यक्त गरेका छन् । हाम्रो पवित्र धार्मिक स्थल लुम्बिनीमा भएका यी उच्चस्तरीय भ्रमणले यिनको महत्तामाथि अन्तर्राष्ट्रिय प्रचार पनि बनाएको छ । सन् २०२० मा आयोजना हुने नेपाल भ्रमण वर्षमा २० लाख पर्यटक भिœयाउने उद्देश्य पूर्तिमा यस्ता भ्रमणले असरदार भूमिका निर्वाह गर्न सक्छन् । आफ्नो मुलुकमा विशिष्ट नागरिकले भ्रमण गरेको ठाउँमा जाने सबैको इच्छा हुन्छ । वास्तवमा नेपालले आफूलाई स्वतन्त्र बैठक स्थलका रूपमा समेत विकास गर्न सक्छ । संसारभरिका व्यक्तिहरूले यहाँ आएर आफूलाई शान्ति महसुस गर्न र बैठक तथा सम्मेलन आयोजना गर्न सक्ने गरी पूर्वाधार विकास तथा प्रचार गर्न सरकारले छिट्टै तदारुकता देखाउनु आवश्यक छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालका धार्मिक स्थलप्रति अत्यन्तै आकर्षित छन् । उनले यहाँका पवित्र धार्मिक स्थल पशुपतिनाथ, जानकीधाम र मुक्तिनाथको यात्रा र पूर्जाअर्चना गरिसकेका छन् । त्यसपछि भारतीय तीर्थयात्रीको संख्या यहाँ उल्लेख्य रूपमा बढेको छ । मोदीलाई लुम्बिनी पनि पु-याउन सकेको भए यसको प्रभाव बेग्लै हुने थियो । यसै पनि मोदीले बिम्स्टेक सम्मेलनलाई सम्बोधन गर्दै सन् २०२० अगस्टमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजनाको घोषणा गरिसकेका छन् । भारत आफैंले बौद्ध सर्किटको विकास गरिरहेको छ । भारतले गरिरहेको त्यो विकाससँग नेपालले पनि आफूलाई उभ्याउने गरी गतिविधि अघि बढाउन सके संसारभरिका बौद्ध धर्मावलम्बीलाई नेपाल ल्याउन सकिन्छ । जसरी भारतले आफूलाई अन्तर्राष्ट्रिय योग दिवसको थालनीका लागि अघि सा-यो र संयुक्त राष्ट्रसंघबाट कार्यान्वयन पनि गरायो नेपालले पनि त्यसै गरी अन्तर्राष्ट्रिय ध्यान दिवसका निम्ति अघि सार्न सक्छ । लुम्बिनीमा विशाल ध्यान केन्द्र बनाएर संसारभरिबाट मानिसलाई यहाँ ल्याउन सकिन्छ । लुम्बिनीमा आउन भारत, म्यानमार, थाइल्यान्ड, चीन, जापान, श्रीलंका, अमेरिका र युरोपेली मुलुक आदिका नागरिक इच्छुक छन् । तर, हामीले हाम्रा पूर्वाधार तदनुकूल बनाउनै सकेका छैनौं । लुम्बिनी विकासको गुरुयोजना कार्यान्वयन थालनी सन् १९७० को दशकदेखि भए पनि अझै यसले पूर्णता पाउन सकेको छैन । भगवान् गौतम वुद्ध जन्मस्थल लुम्बिनी आफ्नो भागमा पर्नु नेपालका निम्ति ठूलो अवसर हो । यो सम्पदा र यससँग सरोकार राख्ने धरोहरको रक्षाले मात्र पनि नेपाल र नेपालीको भाग्योदयका निम्ति उल्लेख्य भूमिका खेल्न सक्छ।

प्रकाशित: १८ भाद्र २०७५ ०३:१८ सोमबार

सम्पदा समृद्धि बिम्स्टेक_सम्मेलन लुम्बिनी