विचार

बिचौलियाको बिगबिगी

कृषिप्रधान मुलुकमा सबैभन्दा उपेक्षित किसान नै छन् । किसानलाई संरचनात्मक ढंगले उपेक्षा गरेका कारण आज मुलुक खाद्यान्न, तरकारी र फलफूलसमेत आयात गरेर खाने अवस्थामा पुगेको छ । मुलुकको जनसंख्या वृद्धिले मात्र देशभित्र खाद्यान्न आयात गर्नुपरेको होइन । किसानले वर्षभरि बगाएको पसिनाको मोल नपाएपछि उनीहरूले कृषिकर्मबाटै आफूलाई विमुख पारेका हुन्।

खेतबारीमा पाखुरा बजार्ने तन्नेरीहरू आज अरबको तातो बालुवामा आफ्नो भाग्य खोजिरहेका छन् । त्यतैबाट आएको विप्रेषणबाट परिवारको मुखमा माड परिरहेको छ । आयातित अन्नपातबाटै परिवारको जीविकोपार्जन हुन थालेको छ । देशभित्रै कृषिकर्ममा लाग्नेहरूका निम्ति सकारात्मक वातावरण नभएपछि उनीहरू पनि विदेशिएका परिवार सदस्यले पठाएको कमाइमै आफूलाई धान्न थालेका छन् । पहिला अन्नपात किनेर खानु त्यति सकारात्मक रूपमा लिइँदैनथ्यो।

आफ्ना निम्ति मात्रै भए पनि अन्नपात उब्जाउँदा समग्रमा मुलुकमाथि सकारात्मक प्रभाव पथ्र्यो । आज स्थिति त्यो रहेन । जे पनि किनेरै खानुपर्ने । किसानले उत्पादन गर्ने र उपभोक्ताले सीधै खरिद गर्न पाउने हो भने अहिलेको स्थितिमा धेरै सुधार आउन सक्थ्यो । तर, उत्पादक र उपभोक्ताबीच फाइदा उठाउने एकमात्र पक्ष बिचौलिया हो।

हाम्रो बजार संयन्त्रमा बिचौलिया तत्व कति सशक्त र सक्रिय छ भने कालीमाटी तरकारी बजारमा अनुगमन गर्न गएका सरकारी अनुगमनकर्तामाथि तिनले हुलहुज्जत गरेका छन् । यो घटनाले एकसाथ दुई प्रवृत्तिलाई उजागर गरेको छ– एक, पहिले अनुगमनमा जाँदा सधैं जानकारी दिने गरिएको थियो । दुई, उपभोक्ता र उत्पादकभन्दा बिचौलिया शक्तिशाली छन् । कालीमाटी तरकारी बजारमा अनुगमन गर्न सोमबार पुगेको सरकारी टोलीमाथिको आक्रमण हाम्रो बजारको बेथिति अन्त्य हुन नदिने प्रवृत्ति पनि हो । एकातिर किसानले बजारबाट आफ्ना उत्पादनको उचित मूल्य पाएका छैनन् भने अर्कोतिर उपभोक्ता पनि सस्तोमा आफूलाई चाहिने तरकारी खरिद गर्न सक्ने अवस्थामा छैनन्।

कालीमाटी तरकारी बजार अनुगमन गर्न पुगेको सरकारी टोलीमाथिको आक्रमण हाम्रो बिचौलिया–बजारको बेथितिको चरम रूप त हुँदै हो, अनि हो— सरकारको निरीहताको पराकाष्ठा। 

राज्यका सबै क्षेत्रमा बिचौलियाको उपस्थिति छ । मेहनत नगर्ने र बीचमा बसेर ‘छ्याकन’ खाने यो प्रवृत्तिलाई निराश नपार्ने हो भने हाम्रो मुलुकमा विधिविधानले कुनै काम हुन पाउँदैन । एकथरीले कामै नगरी दलाली गरेकै भरमा आम्दानी गर्न सकेपछि अरूले जति मेहनत गरे पनि अर्थ हुँदैन । बिचौलिया तत्वलाई निरुत्साहित गर्न बजारलाई औपचारिक बनाउन ध्यान पुग्नुपर्छ । यसो गर्न सकियो भने मात्र किसानले आफ्नो मेहनतको मोल पाउनेछन् । 

कृषिकर्मलाई व्यवस्थित गर्न गाह्रो छैन । किसानका निम्ति भनेर ल्याइएका जति पनि सरकारका कार्यक्रम छन्, तिनको इमानदारीपूर्वक कार्यान्वयन हुनुपर्छ । त्यसपछि किसानका उत्पादनलाई सीधै उपभोक्तामा पुर्याउन पहल गर्नु आवश्यक छ । विशेषगरी काठमाडौंका उपत्यकामा किसानका उत्पादन सीधै साप्ताहिक हाटबजारको अवधारणाका आधारमा बिक्रीवितरणको व्यवस्थासमेत मिलाउन सकिन्छ।

साप्ताहिक बिदाका बेला परेर यस्ता हाटबजार खुला मैदान आदिमा व्यवस्था गर्ने हो भने पनि अहिलेको बिचौलियाको बिगबिगी अन्त्य गर्न सहज हुन्छ । अहिले सरकारले थालेको अनुगमन मौसमी किसिमको हुनुहुँदैन । तरकारी बजारको अनुगमनका क्रममा भएको हुलहुज्जतमाथि छानबिन र कारबाही हुनुपर्छ । अनुगमन गर्न आएकै आधारमा बजार बन्द गर्ने गैरजिम्मेवार कामका बारेमा उपभोक्ताहरूले पनि मूल्यांकन गर्नु आवश्यक छ । गत वर्ष दसैंका बेला दरबारमार्गका पसलमा अनुगमन गर्न जाँदा त्यहाँ पनि यस्तै किसिमको अवरोध भएको हो । तर, त्यो बेलाको अनुगमन मौसमी प्रकृतिको थियो।

अहिले कालीमाटीमा थालिएको अनुगमनलाई तार्किक निष्कर्षमा पुर्याउने हिसाबले अघि बढ्नुपर्छ । हेर्दा तरकारी बजार सामान्यजस्तो लाग्छ, तर यो आममानिसको भान्छासँग जोडिएको छ । तरकारीजस्ता दैनिक उपभोग्य वस्तुको बजार नियन्त्रित हुँदा मात्रै पनि महँगी नियन्त्रणको अवस्थामा रहन्छ । अग्रिम जानकारी दिएर अनुगमनमा जाँदा बौद्धको सडक बनाउन पहिल्यै ठेकेदार सक्रिय भएका थाहा पाइएको हो । तर, कालीमाटीको तरकारी बजार खबर नगरी अनुगमन गर्दा अवरोध नै आउने रहेछ । यस अर्थमा पनि मन्त्री मातृकाप्रसाद यादवले कृषिबजारको महँगी नियन्त्रण, बिचौलियामाथि कारबाही र किसानको हितमा काम गर्नसके भने ठूलो योगदान मानिनेछ। 

 

प्रकाशित: ६ भाद्र २०७५ ०२:५२ बुधबार

कृषिप्रधान खाद्यान्न किसान