विचार

पादरीवादको प्रवञ्चना

भारतका प्रथम राष्ट्रपति राजेन्द्रप्रसादले पहिलो विदेश भ्रमण नेपालबाट सुरु गरेका थिए । राजा महेन्द्रले उनको भव्य स्वागत गरे । २००७ सालको परिवर्तनपछि दश वर्ष अस्थिरतामै बिते पनि नेपाली कूटनीतिमा सो कालखण्डमा केही महत्वपूर्ण उपलब्धि भएको पाइन्छ । सोही बेला नेपाल राष्ट्र संघको सदस्य बनेको थियो । भारतसँगको निर्भरता घटाउँदै अरु राष्ट्रसँग मित्रता बढाउन राजा महेन्द्रले प्रधानमन्त्री टंकप्रसाद आचार्यलाई चीन पठाएका थिए । त्यसपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको चीन भ्रमणले नेपाल–चीन सम्बन्ध सुदृढ गर्न अरु मद्दत पु-यएको पाइन्छ । शालीन, शिष्ट र मर्यादित कूटनीतिले राष्ट्रको शिर उठाउँछ भन्ने यस्ता उदाहरण नयाँ पुस्ताका लागि प्रेरक बन्न सक्छ । इतिहासको अपमान गरेर १०–१२ वर्षयताका कुरामात्र महत्वपूर्ण उपलब्धि हुन् भनियो भने त्यो मूर्खता ठहरिन्छ । ढाँटेर छोपिँदैन इतिहासको आदित्य।

राजनीतिका मूल पात्रहरूले समाज र राजनीतिबीच मध्यस्थकर्ता, सहजकर्ता वा सेतुको भूमिका खेल्न सकेनन् भने राजनीति भाँडिन्छ । नेपालमा त्यही भइरहेको छ । हजारौँ वर्षअघिदेखि स्वीकार, सम्मान र शिरोधार्य गरेका मूल्य÷मान्यताको आदर नगर्दा प्रगतिशील भइन्छ भन्ने भ्रम छ धेरैमा । राजनीति भनेको सामाजिक  मान्यता विपरित बाटो होइन । अर्कै ग्रहका ‘एलियन’ होइनन् नेता । प्रधानमन्त्री कीर्तिनिधि बिष्टले झन्डै चौध महिना थुने सूर्यबहादुर थापालाई । राजदरबार र सिंहदरबारको ‘द्वैध शासन’ हट्नुपर्छ भन्दै काठमाडौँको इटुम्बहालमा २०२९ साल साउन २९ गते भाषण गरेपछि सूबथासहित केही व्यक्ति पक्राउ परेको कुरा राजनीतिक इतिहासका ज्ञाता गृष्मबहादुर देवकोटाले लेखेका छन् । थापाले छुट्टै बाटो खोजे तर त्यो पार लागेन। 

६० महिनाको लाइसेन्स बोकेर यात्रामा हिँडेको वर्तमान सरकारको ‘बुलेट ट्रेन’ ५–६ महिना नबित्दै खटरखटर गर्न थालेको छ। 

ज्ञानेश्वरस्थित निवासमा बिष्टले पंक्तिकारसँग भनेका थिए– ‘बिपी कोइराला पञ्चायत व्यवस्था विरोधी भए पनि मेरो र उहाँको सम्बन्ध धेरै राम्रो थियो । तर सूर्यबहादुरजीसँग ग्रह मिलेन । किन हो, पारा मिलेन । कांग्रेसीहरूले ‘बिपीलाई फाँसी दिनुपर्छ’ भन्ने सूर्यबहादुरलाई प्रजातन्त्रवादी माने भने बिष्टलाई प्रजातन्त्र विरोधी ठानेको पाइयो ।  यो आफैँमा विडम्बनापूर्ण छ।

श्री ३ जुद्धशमशेरका छोरा ध्रुवशमशेरका आठपहरिया रहेछन्, सूर्यबहादुर थापाका पिता टेकबहादुर थापा । उनलाई कप्तानको पगरी दिएका रहेछन् राणाले । सूर्यबहादुर थापा ध्रुवकै महलमा हुर्किए । त्यसैले उनको स्वभावमा त्यसकै प्रभाव देखियो । पद्मोदय हाइस्कुलमा पढे थापाले । उनलाई पढाउने वसन्तकुमार शर्मा नेपालले भनेका थिए– मैले सूर्यबहादुर थापा र प्रकाशचन्द्र लोहनीलगायत धेरैलाई पढाएँ । ती केटाहरू टाठा थिए । थापा आफूलाई अलि फरक ठान्थे तर पढाइ गतिलो थिएन।

‘माइ डेज विथ नेहरु’ पुस्तकमा एमओ मथाइले पं. जवाहरलाल नेहरुको प्रधानमन्त्रित्वकालका कैयन् रोचक घटनाका साथै नेहरुका कमजोरी पनि चर्चा गरेका छन् । नेहरुका विश्वासपात्र र निकटतम् सहयोगी (स्वकीय सचिव) थिए मथाइ । सन् १९७९ मा सो पुस्तक प्रकाशित भएपछि दिल्लीलगायतका सहरमा लाखौँ प्रति बिक्री भयो । क्याथरिन फ्रयांकद्वारा लिखित ‘द लाइफ अफ इन्दिरा नेहरु–गान्धी’ त्यस्तै हारालुछ र विवादस्पद भयो भारतमा । ती किताब बजारमा आएपछि समालोचक, विश्लेषक र पत्रकारले लेखे– ‘अब सबै कुरा लुकाउन सकिँदैन ।’ लुकाउन गाह्रो हुन्छ जीवनगाथा।

चिनियाँ मुलकी ब्रिटिस नागरिक जुङ छाङ र जोन ह्यालिडे (आइरिस नागरिक)द्वारा लिखित ‘माओ : द अननोन स्टोरी’ धेरै विवादमा आयो । न्युयोर्क टाइम्समा प्रकाशित समीक्षा (अक्टोबर २३, २००५) पढेपछि अमेरिकाका बुक स्टलहरूमा त्यो पुस्तक खोज्नेहरू झन् बढेका बताइन्छ । लि झिसुइद्वारा लिखित ‘द प्राइभेट लाइफ अफ चेयरम्यान माओ’ त्यस्तै चर्चित भयो । माओका निजी डाक्टर हुन् लेखक । त्यसैले माओका बानी–बेहोरा, राम्रा–नराम्रा कुरा सबै थाहा रहेछ उनलाई।

सन् १९७६ मा माओको मृत्युपछि अमेरिकामा बस्न थाले ती डाक्टर । सन् १९९५ मा उनको मृत्यु हुनुभन्दा एक वर्षपहिले माओका बारेमा प्रकाशित सो पुस्तकमा बुढेसकालमा पनि नातिनी जस्ता उमेरका ठिटीहरूसँग माओ समागम गर्थे भनेर लेखिएको छ । कैयन् महिलासँग नेहरुको शारीरिक सम्बन्ध रहेको र शान्ति निकेतनमा जर्मन शिक्षकसँग यौनकाण्ड चलेपछि स्कुलबाट निष्काशित इन्दिरा गान्धीको जीवनलीलाझैँ माओको ‘रंगिला’ जीवनकथा पनि रोचक छ । सार्वजनिक जीवनमा केही कुरा पनि सदैव गोप्य रहँदैन भन्ने यस्ता उदाहरण धेरै छन् । उनीहरूलाई धेरैले चासोका साथ नियालिरहेका हुन्छन् । लुकाउन सकिँदैन । समर्थकहरूले जय÷जयकार गरे पनि कलंक छोपिँदैन । चाहे  त्यो जुनसुकै राजनीतिक पद्धति होस्।

विदेशीले संघीयता पाल्न दिएको रकमले पादरीवादको वृक्षलाई मलजल गरेको देखिन्छ। तसर्थ, आफ्नो खुर्केर अरूको (विदेशीको) टाँस्ने बुद्धिलाई समाजवाद भन्छन् भने किन चाहियो त्यो पादरीवाद?

नन्तकालसम्म बाँचिरहने भनी विश्वास गरेर हजारौँ वर्षअघिदेखि हाम्रा पूर्वजले मार्कण्डेय, ब्यास, बलि, हनुमान, कृपाचार्य, विभीषण, अश्वत्थामा र परशुरामलाई अष्ट चिरञ्जीवीका रूपमा पूजा–आराधना गर्न सिकाए । आफूलाई सनातन धर्मावलम्वी नै भन्नेहरूमध्ये कतिपयले यस्ता कुरामा विश्वास गर्दैनन् । ‘भौतिकवादी’ भन्नेहरू प्राचीन धर्मग्रन्थमा विश्वासै गर्दैनन् । आफैँलाई चिरञ्जीवी ठान्छन् । उनीहरू ‘दृश्य’ मात्र सत्य हुन्छ भन्छन् । शरीरलाई तत्काल आनन्द मिलेको अनुभूति हुने भोगविलास, मोजमज्जा र त्यसका निम्ति अकुत सम्पत्ति थुपार्नेहरूका लागि नेपालमा राजनीति सबैभन्दा सजिलो व्यवसाय बन्न पुगेको देखिन्छ । सत्ता प्राप्तिको अभीप्सा र त्यसका निम्ति आत्मसमर्पण गर्दै विदेशी शक्तिका सामुन्ने गरिने अभ्यर्थन पनि लुक्ने–लुकाउने अवस्थामा रहेन । ‘भन्नुभयो, गर्नुभयो, जानुभयो र आउनुभयो’ जस्ता ससाना कुरामै अल्मलिएर ‘सूचनाको हक’ खोज्ने अधिकांश सञ्चारकर्मीले कतिपय राजनीतिकर्मीलाई अमत्र्य ठानेका छन् । नेपाली राजनीतिका नाममा भइरहेको निर्मम ठट्टा एउटा ठूलो दुर्घटनापछि मौनधारणको अवस्थामा पुग्न सक्छ, यस्तै हो भने।

हरेक वर्ष राजनीति, जंगी, निजामती, कूटनीति, प्रहरी, प्रशासन आदिका नाममा अर्बौँ रुपियाँ खर्च भइरहेको छ तर दिनैपच्छिे खुम्चिँदैछ र लुटिँदैछ देश । हरेक वर्ष सीमास्तम्भहरू हराउँछन् र दिनैपिच्छे मातृभूमिमाथि बलात्कार हुन्छ । राष्ट्र बचाउने तलव भत्ता खाएर सुख भोग गर्नेहरू किन बोल्दैनन् ? कहाँ छन् उनीहरू ? सोध्नैपर्छ अब, ज्यँुदै छन् त ती तलबजीवीहरू?

सनातन धर्मावलम्वीहरूका निम्ति शंकराचार्य पद अत्यन्त महत्वपूर्ण मानिन्छ । धर्मशास्त्रहरूको गहिरो मीमांसा, अध्ययन र अनुशीलनबेगर ‘शंकराचार्य’ हुन पाइँदैन । नेपाली नारी हेमानन्द गिरी भारतको बदरीनाथ मठमा शंकराचार्य बनेकी छिन् । सो पदमा पुग्ने प्रथम नेपाली भएका कारण करोडौँ नेपाली त्यसमा गर्व गर्छन् । शंकराचार्य (महामण्डलेश्वर) गिरीको तर्क छ– ‘हजारौँ वर्षपहिलेदेखि हाम्रा पुर्खाले संरक्षण, सम्वद्र्धन र सम्पोषण गरेको ज्ञान, क्षमता र आत्मगौरव आज हामीले बिर्सिरहेका छौँ ।’ हुन पनि हो, राजनीतिका सारथि र महारथिहरू नै विवेकशून्य बनेर जब धर्म र संस्कार बिर्सन्छन्, त्यो राष्ट्रको भविष्य के होला ? नयाँ पुस्ताले के सिक्ला?

इजरायलले हालै आफूलाई ‘यहुदी राष्ट्र’ नै हो भन्ने घोषणा ग¥यो । सन् १९४८ मा स्वतन्त्र राष्ट्रका रूपमा स्थापना हुनुअघि इजरायलले हजारौँ घात÷प्रतिघात सह्यो । त्यसपछि पनि अशान्त छ इजरायल । आफ्नै भाषा, धर्म, संस्कृति र परम्परा बचाउन सकिएन भने अरुको खेल मैदान बन्छ राष्ट्र । इजरायलीहरूले यो बुझेका रहेछन् । गम्भीर कुरामा पनि दिल्लगी गर्ने र सत्तालाई करोडौँ रुपियाँको भाग्यशाली चिठ्ठा मान्ने प्रवृत्तिले राजनीति निर्मम ठट्टामा अनुवाद हुन्छ । आज नेपालमा त्यही देखिएको छ । राजकाज चलाउने र प्रतिपक्षमा बस्नेहरूको भाषा, शैली र व्यवहार छात्र संगठनका उत्ताउला कार्यकर्ताको भन्दा अलि फरक हुनुपथ्र्यो । पत्रकार, लेखक, विश्लेषक र विवेचकहरू राजनीतिक दलका कार्यकर्ता होइनन् भन्ने ठहरिनुपथ्र्यो । ‘चोरलाई चौतारो साधुलाई सुली’ भन्ने उखान हरेक कालखण्डमा ज्युँदै रहन्छ भने राजधर्मको पालना कसरी सम्भव छ ? राज्यसत्ता र आन्दोलनकारीबीच कसरी भिन्नता छुट्टिन्छ ? मार्गदर्शन कसले गर्छ?

हजारौँको हत्या गरेर लासैलासको पिरामिडमाथि चढेका पूर्वआतंककारी नेता नै भाषण गर्छन्– ‘यहाँ लासको राजनीति गर्न खोजिँदैछ ।’ यो प्रहसन हो कि ठट्टा ? जसले हत्याबाहेक केही गर्न जानेन, ऊ राजनीतिमा सफल ठहरिन्छ भने चाणक्य, शुक्राचार्य, यज्ञवल्क्य, विदुर, युधिष्ठिर, मनु, भगवान श्रीकृष्ण, प्लेटो, एरिस्टोटल, भोल्तेयर, मेकियाभेली, पृथ्वीनारायण शाह, हब्स, लक, रुसो, जर्मी बेन्थम र गान्धीका वाणीहरू किन पढ्नुप¥यो ? किन घोक्नुप¥यो राजनीतिशास्त्र ? कार्यपालिका, न्यायपालिका, व्यवस्थापिकालगायत राष्ट्रका सारा संयन्त्र मुठ्ठीमा राख्न खोज्नेले ‘हामीलाई प्रजातन्त्र सिकाउनुपर्दैन” भन्न सुहाउँछ ? कूटनीति, प्रहरी, प्रशासन, शिक्षा, स्वास्थ्य, प्रेसलगायत सबैतिर अक्टोपसवादी हुन खोज्ने ? यही हो डेमोक्रेसी ? यही हो, ‘लोकतन्त्रात्मक’ शासन? 

संविधान र कानुनका ज्ञाता मोहन बन्जाडे लेख्छन्– ‘नेपालजस्ता भिन्न सभ्यता भएका मुलुकमा आफ्ना कुरा लाद्न विदेशी उद्यत रहेका छन् । परिवार, पद्धति, संस्कार, संस्कृति र परम्परामा आक्रमण गर्न पराइले प्रयास गर्दै आएका छन् ।’ तराईवाद र पराईवादको भुंग्रोमा युरोप, अमेरिका, भारत र चीनको खेल मैदान बनिरहेको छ राष्ट्र । बन्जाडेले राजा जयस्थिति मल्लका पालामा कीर्तिनाथ उपाध्याय, कान्यकुब्ज, रघुनाथ झा मैथिल, श्रीनाथ भट्ट, महिनाथ भट्ट र रामनाथ झाको सहयोगमा गृहनिर्णय, क्षेत्रनिर्णय, जातनिर्णय र मानव न्यायशास्त्र बनाउन लगाएको लेखेका छन् । विक्रम संवत् १४३६ मा जारी न्यायविकासिनी (मानव न्यायशास्त्र) जयस्थिति मल्लले (नारदस्मृतिमा आधारित) बनाउन लगाएको तर प्राचीन धर्मशास्त्र, तथ्य र प्रमाणमा आधारित नेपालको देवानी (संहिता) ऐन जरैसँग मासेर पश्चिमा राष्ट्रका दाताहरूले लाए÷अराएबमोजिम बनाउन खोज्दा न्यायपालिका कठपुतली बन्ने बन्जाडेको तर्क छ । उनी लेख्छन्– ‘२०२० सालको मुलुकी ऐन विस्थापन गर्न कमन लको शैली र कन्टिनेन्टल लका विषयवस्तुमा भर परेको कुरा देवानी संहिताको प्रतिवेदनबाट देखिन्छ ।’ (नागरिक दैनिक, साउन ८, २०७५) 

सजिलो मूल बाटो त्यागेर अनकन्टार, डरलाग्दो, चिप्लो र कहालिलाग्दो गोरेटोतिर लाग्दा ‘समाजवाद’ फेला पर्छ भन्ने भ्रम फैलाइँदैछ । पुस–माघको जाडोमा छोटो र पातलो सिरक ओढ्न बाध्य दरिद्र जनतालाई समेत करमाथि कर थपेर बेघर बनाउन खोजिँदैछ । मुत्यु दर्तामा समेत कर बढाइएको छ । किन भन्दा हजारौँ जनप्रतिनिधि पाल्न । टुथपेस्ट सिद्धिएपछि बूढाबूढी मिलेर जबर्जस्ती निचोरेझँै सरकारले राजस्व बढाउन छाप्राछाप्रामा जनताको पेट निचोर्न खोजेको देखिन्छ । विदेशमा बसेका झण्डै पचास लाख नेपालीले पठाएको अर्बौँ रुपियाँ नभित्रने हो भने गाउँगाउँबाट गृहयुद्धको आगो बल्थ्यो । भन्सारबाट उठ्ने रकम राजस्वको गाडधन मानिन्छ । एक करोड जनताको पेट भर्न पुग्ने रकम एक–दुई हजार ‘नेता’ र उनीहरूका प्रियपात्रको भरणपोषणमा खर्च भइरहेको छ । विदेशीले संघीयता पाल्न दिएको रकमले पादरीवादको वृक्षलाई मलजल गरेको देखिन्छ । तसर्थ, आफ्नो खुर्केर अरुको (विदेशीको) टाँस्ने बुद्धिलाई समाजवाद भन्छन् भने किन चाहियो त्यो पादरीवाद ? किन चाहियो सीमित व्यक्तिको अधिनायकवाद ? किन चाहियो सपना बेच्ने बजार?

केही पाठकले इमेलमा लामालामा पत्र पठाएर ‘तपाईँका लेखहरू एन्टी करेन्ट हुन्छन्’ भन्ने गुनासो गरे । मरेका माछा नदीसँगै बगेर जान्छन् । ज्युँदा माछा नदीको उत्तरतिर पनि जान्छन् । हिजो मुकुट, मुलुक र मुलुकी (जनता) बचाउँछौ भनेर प्रतिज्ञा गर्नेहरू मरेका माछाझैँ बगेर गएको पनि देखियो । त्यो ‘परिवर्तनलाई आत्मसात गरेको’ नाटकमात्र थियो । ज्युँदा लासहरूले गर्न सक्ने त्यतिमात्र हो । जो साँच्चै जीवित हुन्छ, ऊ सत्य बोल्छ । सत्यको उत्खनन् गर्छ । २०४७ सालको संविधान नेपाली कांग्रेसको नेतृत्वमा बनेको हो र गिरिजाप्रसाद कोइरालाले नै त्यसलाई दागबत्ती दिएका हुन् । माओवादीमार्फत नेपाललाई पादरीपथमा हिँडाउन ‘प्रचण्डपथ’  नाटक मञ्चन गरियो । नेपाली कांग्रेसले पनि पादरीवादको समर्थन ग¥यो । बाइबलको ओल्ड टेस्टामेन्ट नीलो गातामा थियो । रामवरण यादवलाई साक्षी राखेर रु. एक सय करोडको लागतमा तयार पारिएको नेपालको संविधान पनि नीलो गातामा छापिनु संयोगमात्र हो भन्न सकिँदैन । न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकामा युरो–डलर छरेर नेपाल पादरीवाद स्वीकार्छ भन्ने पुष्टि गरिएको छ । त्यसैले ‘गणतन्त्र चाहिँदैन’ भन्दै आएका राजतन्त्रवादी  (?) पनि बोले– ‘यो संविधान उत्कृष्ट छ ।’ सत्तामा छँदा उत्कृष्ट र विपक्षमा छँदा निकृष्ट भन्ने उही मान्छे हुन् । महाकवि देवकोटाले भनेझैँ ‘दुनियाँ रङ बदल्छ।’

रसियामा बोल्सेभिक र मेन्सेभिकबीचको द्वन्द्व, चीनमा राष्ट्रवादी र कम्युनिस्टको टक्कर, ब्रिटेनमा ह्विग र टोरीबीचको संघर्ष, अमेरिकामा रिपब्लिकन र डेमोक्र्याटबीचको पृथकता एवं अफ्रिकी राष्ट्रहरूमा साम्राज्यवाद–उपनिवेशवादका समर्थक र विरोधीबीचको तनाव किन, कसरी भयो भन्ने बुझे पनि नेपालका गणतन्त्रवादीहरूका बीचमा तात्विक सैद्धान्तिक एवं वैचारिक मतभिन्नता कहाँ छ भन्ने थाहा पाउन नसकेर राजनीतिशास्त्रका पण्डितहरू पनि अल्मलिएका छन् । दलका पसल फरक छन् तर राजनीति भनेको सत्ता होइन, सिद्धान्तप्रतिको निष्ठा र समर्पण हो भन्ने कुरा देखिएन।

६० महिनाको लाइसेन्स बोकेर यात्रामा हिँडेको वर्तमान सरकारको ‘बुलेट ट्रेन’ ५–६ महिना नबित्दै खटरखटर गर्न थालेको छ। गरिब बज्यैले अगेनोमा खरानीले लोहोरो छोपेर ‘पाक्ला र खाउला’ भनेर नाति–नातिनीलाई अल्मल्याएझैँ सरकारले जनतालाई लट्पट्याउन खोजेको आभाष भइरहेको छ। जो सत्तामा पुग्छ, उनीहरूमात्र समृद्ध हुने नेपालमा नेताका प्रियपात्र, समर्थक र अन्धभक्तहरू त अझै दशौँ वर्ष ‘समृद्धि’ पर्खेर बस्लान् तर जो गरिब, बेरोजगार, अभावग्रस्त र दलनिरपेक्ष छन्, उनीहरूको विश्वास टुट्दै गएको छ । यसले अराकजताको आगो सल्काउन के बेर?

प्रकाशित: ११ श्रावण २०७५ ०४:३४ शुक्रबार

पादरीवादको प्रवञ्चना