विचार

सर्दै भूराजनीतिक टेक्टोनिक प्लेट

अमेरिकाले उत्तर कोरियालाई ‘दुष्टहरूको अक्ष’मध्येको देश भन्थ्यो । उत्तर कोरियाले अमेरिकालाई साम्राज्यवादी भन्दै दुश्मन मान्थ्यो । त्यसैले दुवै देशका नेताबीच भेटघाट भएन । दुवै देशबीचको तनावले कहिलेकाहीँ आणविक अस्त्रको प्रयोगको खतरा समेत निम्त्यायो । राजनीति र विदेश सम्बन्धमा असम्भव भन्ने हुँदैन भन्ने यथार्थ डोनाल्ड ट्रम्प र किम जोङ उनबीचको हातेमालोले देखाएको छ । एक अर्कासँग शत्रुतापूर्ण व्यवहार गर्दै आएका दुवै देशका नेताबीच १२ जुनको बिहान सिंगापुरमा ऐतिहासिक भेटघाटपछि आइसब्रेक भयो । कोरिया प्रायद्वीपमा शान्तिको नयाँ ज्योति छर्ने गरी भएको भेटले विश्व भूराजनीतिको टेक्टोनिक प्लेट सरिरहेको स्पष्ट संकेत गरेको छ । त्यो संकेत भनेको अबको युग एसियाको युग हो र अमेरिका एसियाका बलिया देशहरूसँग समझदारी विकास गर्दै रक्षात्मक ढंगले बढ्ने रणनीतिमा छ । उत्तर कोरियासँग अमेरिकाको ऐतिहासिक सम्झौता हुनु भनेको चीन र रुससँग उसको समझदारी अझ विकसित हुनु हो । किनभने उत्तर कोरियामा चीन र रुसको बलियो प्रभाव छ । रुस त कोरिया युद्धको प्रारम्भिक अवस्थामा नै उत्तर कोरियाको सबैभन्दा सहयोगी मुलुक हो । चीनसँग उसको युगौँदेखिको बलियो सम्बन्ध कायमै छ ।

अमेरिकाले अबको युग एसियाको युग हो भन्ने यथार्थलाई स्वीकारेर पूर्वतर्फ ध्यान मोडेको छ ।
उत्तर कोरियासँग अमेरिकाको ऐतिहासिक सम्झौता हुनु भनेको चीन र रुससँग उसको समझदारी अझ विकसित हुनु हो । किनभने उत्तर कोरियामा चीन र रुसको बलियो प्रभाव छ ।
 

कोरिया युद्धपछिको घटनाक्रम
कोरिया युद्धको दौरान सन् १९५० देखि १९५३ बीच मात्र २५ लाख मानिसले ज्यान गुमाएका थिए, त्यति नै मानिस विस्थापित हुनुका साथै लाखौँ टन बम र बम बनाउने प्रयोग हुने तरल पदार्थ खसालिएको थियो । संयुक्तराष्ट्रसंघले सन् १९५२ मा सार्वजनिक गरेको तथ्यांकमा प्रत्येक ९ जना उत्तर कोरियालीमा एकजना युद्धमा मारिएका थिए । दक्षिण कोरियामा ५० लाख मानिस विस्थापित भएका थिए भने एक लाख केटाकेटी टुहुरा भएका थिए । मानव सभ्यताकै कलंकित घटनामा दर्ज छ कोरिया युद्ध । विभाजित दुवै कोरिया ६८ वर्षसम्म प्राविधिक रूपमा युद्धकै अवस्थामा रहे । यो अवधिमा पीडादायक घटनाहरूले कोरियाली जनताको आँसु र रगत धेरै बग्यो । जतिसुकै युद्ध गरेपनि अन्तिममा शान्तिको मार्गमा आउनैप¥यो । दुवै कोरियाले ६८ वर्षपछि युद्ध अन्तको घोषणा गर्दै शान्तिको मार्गमा बढेका छन् । एक अर्काको नागरिकलाई समेत राज्यको सीमारेखा कोर्न नदिनेहरू आफैँ सीमा नाघेर शान्तिको पाइला सार्न पुगे । सन् १९५३ मा दुवै कोरियाबीच भएको घमासान युद्ध अन्तपछि दक्षिण कोरिया पुग्ने पहिलो उत्तर कोरियाली शीर्ष नेता बन्न पुगे, किम जोङ उन । विश्व राजनीतिमा सायदै देखिने दृश्यले संसारको ध्यान खिच्यो । कोरियाली प्रायद्वीपमा बलेको शान्तिको दीपले एसियामा मात्र नभई विश्व राजनीतिमा सकारात्मक सन्देश दियो— आणविक हतियारको होडबाजी छाडेर विश्व शान्तिको मार्गमा जानुको विकल्प छैन । दुई कोरियाली नेताबीचको ऐतिहासिक भेटले उत्तर कोरियाको अमेरिकासँगको सम्बन्धमा समेत सुधार ल्याउने माहोल तयार ग¥यो । उत्तर कोरियाली नेता उन आफँै चीन र रुसको भ्रमणमा निस्किए । दुवै देशबाट उत्तर कोरियामा उच्च तहको भ्रमण भयो । यी सबै घटनामा अमेरिकाको पूर्वीय मुलुकहरूसँग अझ सम्बन्ध प्रगाढ बनाउँदै जाने उद्देश्य लुकेको देखिन्छ ।
सरेको भूराजनीतिक टेक्टोनिक प्लेट
जब पृथ्वीको टेक्टोनिक प्लेट सर्छ तब तरङ्ग पैदा हुन्छ । त्यसले भूगोललाई समेत यताउता पार्छ । क्षतिको सम्भावना पनि रहन्छ । विश्व राजनीतिमा समेत टेक्टोनिक प्लेट सर्दै गएको छ । कुनैबेला युरोपेली युनियनसम्बद्ध मुलुकसँग अति नजिकिएको अमेरिका टाढिँदै गएको छ । उसको निकटता रुस र चीनसँग बढ्दै गएको देखिन्छ । आर्थिक कारोबार र राजनीतिक सम्बन्धका दृष्टिले पनि अमेरिकाका लागि पनि पश्चिमबाट पूर्वतर्फ हातेमालो गर्नुपर्ने अवस्था पैदा भएको छ । डोनाल्ड ट्रम्पको उदय र जीतका पछाडि अमेरिकालाई टेक्टोनिक प्लेट नै सार्न सक्ने नेतृत्वको खाँचोले भूमिका खेल्यो । ट्रम्पले त्यही साहस र क्षमता देखाउँदै गएका छन् ।
विश्वका शक्तिशाली देशहरूको समूह ‘जी सेभेन’मा ट्रम्पले रुसको सहभागिता हुनुपर्नेमा जोड दिए । चाहे पनि नचाहे पनि रुस विश्वको महत्वपूर्ण शक्ति भएकाले उसको सहभागिता अनिवार्य रहेको ट्रम्पको भनाइप्रति जी सेभेनका मुख्य सदस्यराष्ट्रहरूले असन्तुष्टि जनाए । विशेषगरीः युरोपेली युनियन सम्बद्ध शक्तिशाली देशहरू जर्मनी, फ्रान्सका अलावा बेलायतको असन्तुष्टि रह्यो । रुससँग बेलायतको सम्बन्ध चिसो रहनु र युरोपेली युनियनसँग उसको सम्बन्ध सुमधुर नभएको अवस्थामा ट्रम्पको भनाइले ती राष्ट्रहरूका नेताहरूलाई बिझायो । रुस र युरोपेली युनियनबीच एक अर्कामाथि नाकाबन्दी लगाउने प्रतिस्पर्धा छ । युरोपेली युनियनका देशहरूबाट जाने खाद्य सामग्रीको रोकावटपछि रुसले पनि युरोपेली युनियनसम्बद्ध देशहरूमा ग्यास पाइपलाइन विस्तारको योजना रोकिदियो । क्रिमियाको युद्ध र युक्रेनसँग रुसको तनावपूर्ण सम्बन्धमा युरोपेली युनियनले चासो बढाउँदा धेरै तनाव बढ्यो । बेलायतले रुस छाडेर बसेका पुटिनविरोधी पूर्व उच्च अधिकारी र धनाढ्यहरूलाई संरक्षण दिएपछि सम्बन्ध झन् चिसिएको थियो । रुसको अर्थतन्त्रलाई नोक्सान पुग्ने अवस्था निर्माण गरेको भन्दै युरोपेली युनियनका देशहरू र बेलायतसँग पुटिन प्रशासन असन्तुष्ट रह्यो । विश्व बजारमा तेल र ग्यासको मूल्य घट्दा तिनै स्रोतको निर्यातमा भर पर्ने रुसको अर्थतन्त्रमा नकारात्मक असर प¥यो । युरोपेली युनियन सम्बद्ध देशहरूले दैनिक उपभोग्य सामग्री निर्यातमा रोक लगाउँदा रुसभित्र भारी मूल्यवृद्धि भयो । जसका कारण रुसले बिस्तारै पूर्वीय देशहरूमा आर्थिक सम्बन्ध विकास र विस्तार गर्दै लग्यो । चीनसँगको परम्परागत सम्बन्धलाई अझ विकास गर्दै भारतलगायतका एसियाली मुलुकहरूसँग नयाँ सम्झौता निर्माण ग¥यो । युरोपेली युनियनसँगरुसको बिग्रँदो सम्बन्धका कारण अमेरिकी नीतिमा समेत फेरबदल आयो । जसका कारण अमेरिका रुस र चीनसँगको आर्थिक सम्बन्धमा बढी ध्यान दिन थाल्यो ।
ट्रम्प अमेरिका युरोपसँगको सम्बन्धमा मात्र भर पर्ने पक्षमा देखिएका छैनन् । उनी रुस र चीनसँगको सम्बन्ध सुमधुर बनाएर अमेरिकालाई लाभ दिलाउन चाहिरहेका छन् । आर्थिक र अन्य सम्बन्धमा युरोपभन्दा रुस र चीनसँग समझदारी विकास गर्ने रणनीति ट्रम्पमा देखिँदै गएको छ । राष्ट्रपतिको चुनावमा समेत ट्रम्पलाई रुसको बलियो समर्थन रहेको प्रचार हुनुमा उनको भावी योजना बुझेरै गरिएको थियो । पछिल्लो समय उत्तर कोरियाली नेतासँग ट्रम्पको भेट र सम्झौताले धेरै विषय प्रस्ट पार्दै लगेको छ । चीन र रुसको सकारात्मक भूमिका र पहलविना उत्तर कोरियाली नेता किम जोङ उन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हातेमालो गर्न पुग्दैनथिए । त्यसैगरी, अमेरिकासँग निकै नजिकको सम्बन्ध रहेको दक्षिण कोरियाली नेताले ऐतिहासिक भेट र समझदारी विकास गर्न मध्यस्थकर्ताको भूमिका निभाए ।
विगतका राष्ट्रपतिहरूको तुलनामा रुसप्रतिट्रम्पको नरम र समझदारी विकास गरेर अगाडि बढ्ने नीति व्यवहारमा देखिँदै गएको छ । यही नीतिप्रति युरोपेली युनियन र बेलायतले असन्तुष्टि प्रदर्शन गर्दै आएका छन् । क्यानडामा भएको जी सेभेनका नेताहरूको भेटमा ट्रम्पप्रतिको असन्तुष्टि देखियो । आणविक योजनालाई सीमित बनाउने उद्देश्यसहित सन् २०१५ मा अमेरिका, रुस, चीन, फ्रान्स, बेलायत र जर्मनीसँगको संयुक्त आणविक सम्झौताबाट अमेरिका हटेपछि अमेरिका र युरोपेली युनियनबीचको दूरी झन् सतहमा देखियो । यो सम्झौतामा युरोपेली युनियन र बेलायतले निकै महत्व दिएका थिए । ट्रम्पलाई सम्झौताबाट हात नझिक्न जर्मनी र फ्रान्सका नेताहरूले ह्वाइट हाउस पुगेर आग्रह नगरेका होइनन् । तर, उनीहरूको भ्रमणले काम गरेन । बरू ट्रम्पको विवादास्पद अभिव्यक्तिले फ्रान्समा असन्तुष्टि पैदा ग¥यो । ट्रम्पले इजरायलको चाहनालाई पूरा गरिदिए तर फ्रान्स र जर्मनीको चाहनालाई बेवास्ता गरे । यसबाट ट्रम्पको नेतृत्वमा अमेरिकी नीतिमा व्यापक फेरबदल आएको र भूराजनीतिक चासो समेत बदलिँदै गएको बुझ्न सकिन्छ । अमेरिका युरोपको आर्थिक र सामरिक स्वार्थमा आफूलाई साथ साथ जोडेर बढाउने पक्षमा देखिएन । उसले बदलिँदो राजनीतिक परिवेशमा आफूलाई समेत बदल्न खोजेको देखियो । राजनीतिक जोखिम मोलेर उत्तर कोरियाली नेता किम जोङ उनसँग डोनाल्ड ट्रम्पले हातेमालो गर्नुले धेरै उत्तरहरू दिइसकेको छ । अमेरिका रुस र चीनका अलावा ती देशहरूसँग नजिकको सम्बन्ध रहेका देशहरूसँग हातेमालो गर्दै अगाडि बढ्न खोज्दैछ ।पश्चिममा भन्दा पूर्वतर्फ अमेरिकाकाबढ्दो ध्यान र समझदारीले विकासको संकेत गरेको छ । बहुध्रवीय विश्व राजनीतिसँगै भूराजनीतिको टेक्टोनिक प्लेट सर्दै जाँदा कुनै शक्तिले क्षति र कुनै शक्तिले लाभ लिन सक्ने अवस्था समेत बन्दैछ । अहिलेको घटनाक्रमले पूर्वीय मुलुकहरूलाई निकै लाभ पुग्ने अवस्था बनेको छ । अमेरिकाले समेत अबको युग एसियाको युग हो भन्ने यथार्थलाई स्वीकारेर पूर्वतर्फ ध्यान मोडेको छ ।

प्रकाशित: ३१ जेष्ठ २०७५ ०४:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App