विचार

सभ्यता र समृद्धिको द्वन्द्व

संसारका सबैभन्दा पुराना सभ्यतामध्ये ब्रिटेनको सभ्यता पनि एक हो। त्यहाँ सन् १२१५ मा राजा जोनले म्याग्नाकार्टामा सही नगरेको भए के हुन्थ्यो भनेर इतिहासकारहरूले आज पनि बहस गरिरहेका छन् । धेरैको तर्क छ– ‘रन्निमिड’ अज्ञात ठाउँ रहन्थ्यो र अधिकारका नाममा एउटा नयाँ संघर्ष सुरु हुन सक्थ्यो । तर, प्राचीन सभ्यतालाई जोगाउँदै समृद्धिको यात्रामा जसरी बेलायत अघि बढ्यो, त्यसलाई संसारले आज पनि उदाहरणीय मानेको छ।

महान् अधिकारपत्र (म्याग्नाकार्टा) राज्यसत्ताकै वरिपरि बस्नेहरूका निम्ति मात्र थियो । एसिया र अफ्रिकाका कैँयन् क्षेत्रमा लण्डनका शासकहरूले सयौँ वर्ष राज्य गरे पनि सबै अधिकार सर्वत्र प्रत्यायोजन गरेनन् । जनताको अधिकार कसैलाई धेरै, कसैलाई थोरै हुन्छ भने त्यो विषमता नै हो । विभेद नै हो । नेपाल जस्ता राष्ट्रमा जनताको अधिकार आज पनि ‘मताधिकार’सम्म मात्र सीमित बन्दै गएको छ । चुनावको भोलिपल्टदेखि जनप्रतिनिधिहरू प्रायः बेपत्ता हुने गरेका छन् । र, पुनः अर्को चुनावको बेलामा गाउँगाउँ पुगेर जनताको गोडा छुने गरेका छन् । हामी मतदाता त्यतिमै खुसी हुन्छाैं । आज पनि अधिकार नेतामा मात्र सीमित छ । बाँकी कार्यकर्ता र सर्वसाधारणले सञ्चारमाध्यमबाट केही कुरा थाहा पाउने मात्र हो। तर नेताहरू के गरिरहेका छन् भन्न कुरा सबै सार्वजनिक हुँदैन।

दिल्लीका प्रबल देशभक्त शासक पृथ्वीराज चौहानलाई उनकै प्रियजनले धोका दिएपछि कपटको शिकार भएर उनी मारिए । अफगानिस्तानको सानो सहर घुरमा जन्मेका शाहव–उद्–दिन घुरीले लाहोरको बाटो हुँदै दिल्ली पुगेर राजा र जनतालाई थर्काए, सन् ११४६ मा। कन्नौजका राजा जयचन्द्र (जयचन्द) पृथ्वीराजका ससुरा भए पनि ती घोर राष्ट्रघाती ठहरिए । जयप्रकाश मल्लले पृथ्वीनारायण शाहलाई पराजित गर्न विदेशी फौज बोलाएझैँ जयचन्दले पनि मुगल शासकहरूसँग मिलेर ज्वाइँको हत्या गराए । त्यसैले, राजनीतिमा कसैलाई पनि सधै ढुक्क भएर विश्वास गरिँदैन । आफ्नै मामा माथवरसिंह थापाको हत्या गरेर जंगबहादुर शक्तिशाली भएको इतिहास नेपालमै पाइन्छ।

धर्म, संस्कृति, परम्परा तथा प्राचीन सभ्यतालाई नै अवहेलना गर्न थालेका छौँ। यो दुर्भाग्यपूर्ण हुनेछ । धनराजहरू मात्र चाहिन्छ, धर्मराजहरू चाहिँदैन भन्ने सन्देश पु-याएर घरघरमा प्राचीन मान्यता भाँड्ने प्रयत्न भइरहेको छ। समृद्धि त नगरवधुसँग पनि हुनसक्छ । महल–करोडौँ नगद सबै होला तर संस्कार र सभ्यता हुँदैन।

राजा थन्डुप नामग्याल (चोग्याल)ले लेन्डुप दोर्जेलाई भरोसा गर्दा चुनावकै नाटक गरेर स्वाधीन सिक्किम भारतमा विलय गराइयो । पृथ्वीराजलाई दिल्लीका ‘अन्तिम हिन्दु राजा’ बनाइएझैँ, सन् १९३८ मा जर्मनीले अस्ट्रियामा हमला गरेझैँ, सिक्किम र कम्बोडियाका बौद्ध धर्मावलम्बी राजाहरू अन्तिम भएझैँ, नर्वेका राष्ट्रघाती प्रधानमन्त्री क्विजलिङले राजा हाकोनलाई अन्तिम राजा बनाउन जर्मनीबाट सेना बोलाएझैँ राजकाजमा जबसम्म बाहिरी मान्छे प्रबल भइरहन्छन्, तबसम्म राष्ट्र कदापि बलियो हुँदैन । त्यस्तो स्थितिमा समृद्धि त होला । तर सभ्यता मासिने खतरा रहिहन्छ।

आफ्नै सेनाभित्रका विद्रोही सैनिक मार्न घजनीले हिन्दु योद्धा तिलकलाई प्रधानसेनापति बनाएका थिए । हिन्दु फौजको त्यहाँ दुरुपयोग गरियो । धर्म, राजनीति, कूटनीति वा जताततै कुत्सित स्वार्थ प्रबल भयो भने ‘दौत्य–सम्बन्ध’ कालान्तरमा दैत्य–सम्बन्ध बन्छ । ‘रोटीबेटीको सम्बन्ध’ सेलिब्रेटी सम्बन्ध जस्तो बन्छ । कूटनीति सालैजो वा रोधीघरे भाकाजस्तो मात्र बन्छ । तराईमा फागु पूर्णिमामा गाइने गीत ‘कबिरा सररर ...’ जस्तो सुनिन्छ त्यो । हामी बबुरा जनतालाई ‘मुरख आदमी’ ठानिन्छ त्यसबेला।

सन् १७७६ मा अमेरिका ब्रिटेनबाट स्वतन्त्र भएको घोषणा गर्दा “सबै मानिस बराबर हुन्छन्” भनिएको थियो । तर कोही पनि बराबर भएनन् । त्यहाँ पनि समृद्धि र सभ्यताको द्वन्द्व चलिरह्यो । ब्रिटेनकै मोडलमा देश अगाडि बढाउनुपर्छ भन्नेहरूले डेमोक्र्याटिक पार्टी खोले भने पुराना जति मासेर नयाँ शैलीमा अमेरिका बनाउनुपर्छ भन्नेहरूले रिपब्लिकन पार्टी खोले । आज पनि त्यहाँ दुई खालको अमेरिका स्पष्ट देखिन्छ, एउटा अमेरिका अग्लो पर्खाल बाहिर देखिन्छ, अर्को पर्खाल भित्रै छेकिन्छ । त्यहाँ राजनीतिक प्रणाली उदार छ । प्रजातान्त्रिक पद्धति पनि छ । विधिको शासन पनि छ । तर लाखौँ अश्वेतहरू चरम दरिद्रताको शिकार बनेका छन् । अमेरिकाको पुरानो सभ्यता विनष्ट हुँदै गएको छ । मुर, रेड इन्डियन, चेरीलगायतका प्राचीन जातिहरू हराइससकेका छन् । रैथाने अमेरिकीहरू डिप्रेसन वा यस्तै अनेकौँ मानसिक रोगले थला परेका छन्। बेरोजगारी, अभाव र असुरक्षाले त्यहाँ दिन प्रतिदिन चिन्ता थपिँदै गएको छ । बिहान स्कुल गएका केटाकेटीहरू कुन बेला गोलीको शिकार बन्छन् भन्ने सन्त्रासले आमाबाबुहरू उद्विग्न बनिरहेका छन् । मनमा शान्ति छैन । कृत्रिम बन्दै छन् युरोप र अमेरिका । संस्कृति लोपोन्मुख अवस्थामा छ । जापानमा समेत प्राचीन सभ्यता लोप हुन लागेको भन्दै कैँयन् विद्वान्हरू चिन्ता व्यक्त गरिरहेका छन्।

सभ्यता र समृद्धिलाई रथका दुई पांग्रा जस्तै सन्तुलित ढंगले अघि बढाउन सकिएन भने हामी दुर्घटनामा पर्नेछौँ।

समान अवसर, रोजगारी, नागरिकको आत्मसम्मान, मौलिक हक, सुशासन र राज्यसत्ताको पारदर्शी व्यवहार मात्र होइन, समयमै जनताको आवाजको कदर हुन्छ कि हुँदैन भन्ने कुराले प्रजातन्त्रको मापदण्ड र सफलता जाँच्न सकिन्छ । कुन मानिस कति सभ्य छ भन्ने बुझ्न पैतालादेखि टुप्पीसम्म छामछुम गर्नै पर्दैन, उसले बोलेका केही शब्दहरू सुने मात्र पनि उसको पृष्ठभूमि थाहा हुन सक्छ । त्यस्तै, शासकहरूले राष्ट्रका सुदूर भविष्य बचाउन केही गतिलो काम गर्दैछन् कि सत्ता बचाउने खेलमै व्यस्त रहेका छन् भनेर उनीहरूको क्षमता बुझ्न केही स–साना काम मात्र हेरे पनि पुग्छ।

मन परेको मान्छे वा दल सत्तामा छ भने अन्धभक्त बनेर समर्थन गर्ने, नत्र सधैँ विरोध मात्र गर्ने रोग दक्षिण एसियामै व्याप्त छ। नेपालका कैँयन् बुद्धिजीवी हत्या, लुट, अपहरण, डकैती आदिको समेत खुलेर विरोध गर्दैनन् । किनभने त्यस्ता घटनामा विगतमा उनीहरूका पार्टीका नेताहरू समेत मुछिएका छन्। लासैलासका सिँढी चढेर सिंहदरबारसम्म पुग्नेहरू नै मानव अधिकारका धाराप्रवाह प्रवचन दिन्छन् । हामी ‘रैती’ बनेर उनीहरको ऐलान, फर्मान र उपदेश सुन्छौँ ट्वाल्ल परेर । ससाना नानीहरूले हजुरआमाका कथा सुनेझैँ । हामी कथा त सुन्छौँ र रमाउँछौँ पनि तर कहिले पनि प्रश्न गर्दैनौँ– यस्ता कथाहरू तिमीले पच्चीस तीस वर्ष अघिदेखि सुनाउँदै आएका छौँ तर राष्ट्र अझै संकटमै छ भन्छौ, किन ? संक्रमणकाल समाप्त हुन राजनीतिक अस्थिरता समाप्त हुनैपर्छ तर के त्यसको संकेत देखिन्छ त ? राष्ट्र टाट पल्टिँदैछ भनेर सिंहदरबारका अश्वरोहीहरू नै बोलिरहेका छन् । ‘समृद्धितिर जाँदैछौ’ भनेर उनीहरू नै भनिरहेका छन् । कुन सत्य हो ? घर पोलेपछि खरानीको दुःख हुँदैन । तर खरानी बेचेर कोही पनि समृद्ध हुँदैन । राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमसत्ता भताभुंग पार्न चाहनेहरूलाई गोर्खेलौरी नकस्ने हो भने नेपाल गुलेली, बन्दुक, भाला, बर्छा, बन्चरो, खुकुरी, तरबार, घुँयत्रो आदिमा मात्र समृद्ध हुनेछ । राज्यलाई करोडौँ रुपियाँ राजस्व छल्नेहरूलाई प्रत्येक ठूला–साना दलले तेल घस्ने गरेका छन् तर प्लास्टिकका थैलामा दुई केजी चामल किन्नुपर्ने दुःखी कर्मचारीसँग पनि कर उठाइन्छ । स्याल कराउने जंगलमा पनि ‘नगरपालिका’ थपिँदैछन् । उनीहरूले डस्ने पनि निम्न र मध्यमवर्गलाई नै हो । हिजो नारायणहिटीमा ‘सेतो हात्ती’ बस्छ भनेर पटाका पड्काउँदै ‘हात्ती’ त धपाए तर राज्यकोषबाट आज हजारौँ हुँडार पाल्नुपरेको छ । यो क्रम रोकिने अवस्था देखिँदैन।

सन् २०११ को तथ्यांकअनुसार झन्डै एघार करोड जनसंख्या भएको बिहार र २० करोड जनताको राज्य उत्तरप्रदेशमा पनि एउटा मुख्यमन्त्रीले शासन गरेका छन् तर तीन करोडभन्दा थोरै जनता भएको नेपालमा मुख्यमन्त्री मात्र सातजना छन् । राष्ट्रलाई केही त्याग गर्न चाहनेहरू थोरै छन् । सत्ताभत्ता र सुविधा लिनेहरू कति छन् कति ! पदासीन र उनीहरूका आशामुखीहरू बाहेक अरूका निम्ति ‘परिवर्तन’ भनिएको अवस्था ‘कागलाई बेल पाक्यो, हर्ष न विस्मात्’ भनेजस्तो भएको छ।

“महँगी नियन्त्रण गरियो । हजारौँ नाफाखोरहरू जेल गए । स्कुल कलेजमा जथाभावी शुल्क वृद्धि गर्नेहरू पक्राउ परे । सरकारी कर्मचारीहरूले घुस र कमिसन लिन डराए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत कुनै पनि सार्वजनिक पदमा दलीय भागबण्डा नहुने भयो । सञ्चारमाध्यमहरू राजनीतिक दलको छायाँबाट मुक्त भए । लाखौँ युवाले स्वदेशमै रोजगारी पाए। घरबारविहीन गरिबहरूले सरकारले बनाइदिएका घरमा बस्न पाएका छन् । हजारौँ कारखाना खुलेका छन् । नेपालले पञ्चायतकालमा झैँ प्रत्येक दिन करोडौँ रुपियाँको खाद्यान्न निर्यात गर्न थालेको छ । सुरक्षा अंगहरूमा भ्रष्टाचार निर्मूल भएको छ । आर्थिक अवस्था कमजोर हुनेलाई निःशुल्क उपचार र औषधिको व्यवस्था गरिएको छ। कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका, प्रेस, कूटनीतिक क्षेत्र आदिमा आमूल परिवर्तन भएको छ। राष्ट्रिय एकता भाँड्ने र अनावश्यक हस्तक्षेप गर्ने विदेशीहरूलाई देश निकाला गरिएको छ ।” जुन दिन यस्ता खबर प्रकाशित हुन थाल्लान् त्यसपछि मात्र जनताले भन्नेछन्– “स्याबास सरकार।”

दलका नेता, प्रधानमन्त्री, मन्त्री वा सांसदहरू सम्पन्न राष्ट्रमा पनि छन् । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु धेरै बोल्दैनन् । ‘काम गरेर देखाउने नेता’ भएकाले मिडियाले उनलाई ‘म्यान अफ एक्सन’ भन्ने गरेको पाइन्छ । इद्ज्याक रबिन यस्तै नेता थिए । सन् १९७७ मा पहिलोपल्ट लिकुड दल सत्तामा आउँदा मेनाचेम बेगिन प्रधानमन्त्री भएका थिए । उनलाई आज पनि धेरैले थोरै बोल्ने र काम फत्ते गरेर देखाउने नेता मान्छन् । हुन पनि हो, फत्फत्बहादर भन्दा फत्तेबहादुरहरूकै नाम हुन्छ, इतिहासमा।

‘स्वच्छ भारत’ भन्दै हरेक महिना सयकडौँ प्रवचन दिने नरेन्द्र मोदी धेरै फत्फताउने तर थोरै काम गर्नेमा गनिन्छन् । भारतीय सञ्चारमाध्यमहरूको विश्लेषण पनि त्यस्तै छ । प्रधानमन्त्री मोदी बस्ने दिल्ली जस्तो प्राचीन सहर संसारकै प्रदूषितमध्येमा पर्छ भनेर अन्तर्राष्ट्रिय संघसंस्थाहरूले आफ्ना प्रतिवेदनमा उल्लेख गरेका छन्।

अहमदावाद, बनारस, पटना, राजपुर, गया, आग्रा, कानपुर, फिरोजावादलगायतका धेरै सहर अत्यन्त फोहोर छन् । विश्वप्रसिद्ध वातावरणविद्हरूले भारत ‘अस्वच्छ’ भएकै रिपोर्ट सार्वजनिक गरेपछि बौद्धिक भारतीयहरू लज्जित बनेका छन् । वर्षाैंदेखि हातमा कुचो बोकेर सहर बढारेका तस्बिर टेलिभिजन, सामाजिक सञ्जाल र पत्रपत्रिकामा देखाइए पनि मोदीको स्वच्छ भारत अभियान एउटा हावादारी गफ भएको पुष्टि भइसकेको छ । यस्तै नेसनल क्राइम रेकर्डस् ब्यूरोले भारतमा अपराध भयावह रूपमा बढेको देखाएको छ। हत्या, लुट, बलात्कार, डकैती, चोरी, वेश्यावृत्ति आदिका खबर भारतीय सञ्चारमाध्यमहरूमा आएनन् भने त्यो अचम्मको कुरा मानिन्छ । उत्तरप्रदेश, दिल्ली र बिहार त अपराधका किल्ला मानिन्छन् । धनी र गरिबबीचको दूरी बढिरहेको छ भने प्राचीन सभ्यता कसरी जोगाउने भन्ने प्रश्न पुरातत्वविद् र इतिहासकारहरूका लागि चिन्ताको विषय बनेको छ।

एन्डी मारिनोद्वारा लिखित ‘नरेन्द्र मोदी, अ पोलिटिकल बायोग्राफी’ पुस्तकमा सन् २००१ मा नरेन्द्र मोदी र भ्लादिमिर पुटिनबीच मस्कोमा ‘आपसी विश्वास सुदृढ गर्न’ वार्ता भएको प्रसंग उल्लेख छ । यस्तै ब्राजिलमा भएको ब्रिक्स सम्मेलनमा पनि मोदी–पुटिनबीच धेरै कुरामा सहमति भएको प्रचारमा आयो । अन्ततः अमेरिकासँग गठबन्धन गरेर मोदीले पुटिनलाई आफ्नो विश्वसनीयता कति छ भन्ने देखाइदिए । यस्तै जापान पुगेर प्रधानमन्त्री शिन्जो आबेलाई मोदीले विश्वस्त तुल्याउन खोजेपछि चीन झस्कियो । हालै चीनको भ्रमणमा मोदीले राष्ट्रपति सी चिनफिङलाई सन्देश दिन खोजे, “प्यार करना तो डरना क्या ... ।’ ‘सबका साथ सबका विकास’ भन्दै हिँडेका मोदीले नेपालको पहिलो भ्रमणमा गरेका पचास प्रतिशत मात्र वाचा पूरा गरे भने पनि उनी सत्य बोल्छन् भन्ने सन्देश प्रवाह हुन सक्छ । नत्र हरेक पटक झुटो बोेलेर सधैँ मानिसलाई मूर्ख बनाउन सकिँदैन।

प्रजातन्त्रमा न्याय, अधिकार, स्वतन्त्रता तथा नागरिकको सम्मान हुनैपर्छ । शक्तिशाली  र प्रभावशाली व्यक्तिले मात्र सुरक्षित, खुसी र समुन्नत हुन पाउने हो भने त्यो ‘ओलीगार्की’ मात्र हुन्छ । ओलीगार्की अर्थात् सीमित व्यक्ति वा संगठनले राष्ट्र नै कब्जा गरेको अवस्था प्रजातन्त्र होइन । नेपालमा आज ओलीगार्की नै छ, प्रजातन्त्र कहाँ छ कहाँ ! सन् १९९१ मा सोभियत संघ टुक्राटुक्रा भएपछि ‘ओलीगार्की’ चल्यो । तस्कर, नाफाखोर, सीमित पुँजीपति र अवसरवादीहरू मात्र प्रबल भए । त्यहाँ जनताको आवाज सुनिएन । समृद्धिका नाममा सभ्यताको बेवास्ता गरियो । नेपालमा आज हँसिया–हथौडा सरकार छ तर सत्तारूढ दलका बहुसंख्यक नेता कार्यकर्ता हँसिया–हथौडा बोक्नेका पीडाप्रति नै बेखबर छन्।

“तीन सुकाको खुकुरीलाई नौ सुकाको बिँड’ भन्ने पुरानो उखान नेपालमा चरितार्थ भइरहेको देखिन्छ । ‘अनुत्पादक काममा खर्च घटाउन चाहने’ सरकारले गाउँपालिका, नगरपालिका र प्रान्तहरूलाई सदैव सजीव राख्न नसकिएला भन्ने चिन्ता गरिरहेको पाइन्छ । आर्थिक विचलन मात्र होइन, गम्भीर संकटले अपूर्व अराजकता ल्याउने संकेत स्पष्ट देखिएको छ । सत्तामा पुग्नेहरूले सर्वत्र हरियाली देखे पनि यथार्थ त्यस्तो छँदैछैन । समस्या हजार छन् तर लोकतन्त्रको बर्को ओढाएर ओलीगार्की चलाउने प्रयास भइरहेकै छ । राष्ट्रनिर्माणमा मन, वचन र कर्मले समर्पित हुन चाहने सबैलाई समेट्ने हो भने दुई वा तीन दलको एकता मात्र होइन, राष्ट्रिय एकताका लागि सम्पूर्ण शक्तिहरूलाई आह्वान गर्नुपथ्र्यो । राजकाजमा लामो अनुभव भएका परम्परावादी शक्तिदेखि लिएर सबैलाई मिलाएर राष्ट्रिय एकताका आधार सुदृढ तुल्याउन सकिन्थ्यो।

‘क्ल्यास् अफ सिभिलाइजेसन’ पुस्तकमा भनिएको छ, “इस्लामिक उग्रवादले संसारलाई नै बेचैन बनाउनेछ । धेरै देशको सभ्यतामाथि संकटको बादल छाउनेछ ।” फ्रान्सिस फुकुयामाले एउटा इतिहासको अन्त्य हुनसक्ने चेतावनी दिएका छन् पुस्तकमा । समृद्धि र सभ्यताबीचको द्वन्द्वमा हामी बिस्तारै भौतिकवादको कित्तामा उभिएर धर्म, संस्कृति, परम्परा तथा प्राचीन सभ्यतालाई नै अवहेलना गर्न थालेका छौँ । यो दुर्भाग्यपूर्ण हुनेछ। धनराजहरू मात्र चाहिन्छ, धर्मराज चाहिँदैन भन्ने सन्देश पु-याएर घरघरमा प्राचीन मान्यता भाँड्ने प्रयत्न भइरहेको छ। समृद्धि त नगरवधुसँग पनि हुनसक्छ । महल, करोडौँ नगद सबै होला, संस्कार र सभ्यता हुँदैन । तसर्थ, सभ्यता र समृद्धिलाई रथका दुई पांग्रा जस्तै सन्तुलित ढंगले अघि बढाउन सकिएन भने हामी दुर्घटनामा पर्नेछौँ।

प्रकाशित: २१ वैशाख २०७५ ०७:४२ शुक्रबार

सभ्यता समृद्धिको द्वन्द्व