नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक चलिरहेको छ। देउवाका आठपहरिया बाहेक अरूसबै नेताले निर्वाचनमा भएको पराजयको जिम्मा पार्टीका सभापति देउवाले लिनुपर्ने, उनले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने र आत्मालोचना तथा लज्जाबोध गर्नुपर्ने बताएका छन्। यसै मेसोमा मेरा केही विचार राजनीतिमा आधा शताब्दी बिताएका जेष्ठ नेता कुलबहादुर गुरुङले आइतबारको केन्द्रीय समितिको बैठकमा चुनावमा हार भएको जिम्मा सबै पार्टी सभापति देउवालाई दिँदै उनलाई पार्टीको १३ औँ महाधिवेशनमा सभापतिका लागि गरेको प्रस्ताव फिर्ता लिए। उनले सभापतिले पार्टीको साख गिराएको आरोप मात्र लगाएनन्, सम्पूर्ण दोष थुपारे। अनि अर्का कान्छा केन्द्रीय सदस्य प्रदीप पौडेलले बकेर्नो फुर्ति निकाल्दै उनै देउवामाथि रोष पोखे। मानौँ देउवाले फु या कुनै चटक गरेको भए कुलबहादुरदेखि प्रदीपसम्म या रामचन्द्रदेखि रामहरि खतिवडासम्मले चुनाव जित्ने पक्का थियो। तर देउवाले फु गरिदिएनन् या कुनै चटकको चाँजोपाँजो मिलाइदिएनन्।
बडो अचम्म लाग्ने कुरा। बडो उदेकलाग्दो भनाइ। देउवाका कुनै गल्ती कमजोरी छैन भन्न खोजेको हैन। कमजोरी देउवामा छन्। सँगै रामचन्द्रमा पनि छन्, कुलबहादुर गुरुङकोमा पनि छन् अनि प्रदीप पौडेलहरूका पनि कमजोरी छन्। नेतृत्व या मूलका हिसाबले घटीबढी होला। देउवा एउटा पात्र मात्र हुन्। उनले मात्र न पार्टी हाँक्न सक्छन्, न चुनाव जिताउन सक्छन्।
संगठनको जिम्मा देउवाको मात्र हैन। कांग्रेसको साधारणभन्दा साधारण सदस्यको चिन्ता संगठन सुधारका लागि हुनुपर्छ। केन्द्रीय, क्षेत्रीय, जिल्ला र गाउँ तहका नेताहरूको त हुनैपर्छ। निर्वाचनताका जति स्थानीय स्तरका कार्यकर्तामा कांग्रेसप्रति ममता र माया थियो,त्यो राजनीति गर्ने ठूला नेतामा देखिएन। टिकट कसले पायो पाएन, कसले संगठन गरेको कसले नगरेको, को सिनियर को जुनियर, को त्यागी अनि को पैसावाल। कांग्रेसमा यसैमा मारापिट भयो। निर्वाचनमा होमिने नेताहरूले सबै सर्मथक भेटेनन्। विरोध भयो। अन्तर्घात उस्तै भयो। भित्रै खुट्टा तान्नेहरू भए। कांग्रेस जित्ने कुरामा हैन, कांग्रेसका उम्मेदवारले हार्नुपर्छ भनेर कांग्रेसहरू नै हिँडे। तीमध्ये कति त केन्द्रीय समितिकै सदस्य थिए। कति जिल्लाका र क्षेत्रका। अनि कसरी जित्छ कांग्रेस ? के ती सबै गल्तीको देउवा नै जिम्मेवार हुन् त?
कम्युनिस्टहरू जतिसुकै जुनियर या नवआगन्तुकलाई उम्मेदवार बनाए पनि मरिमेटेर त्यसैलाई काँधमा हालेर जिताउन लाग्छन्। त्यही व्यक्तिलाई पार्टीको आधिकारिक उम्मेदवार भन्छन्। त्यसैलाई जिताउनेमा जोड गर्छन्। तर कांग्रेसमा ठीक त्यसको उल्टो छ। कांग्रेसहरू चुनावका बेला मात्र गाउँ पस्छन्। चुनावताका गरेको संगठनले मतमा जित्ने कुरा हुँदैन।
बडो विडम्बना छ कांग्रेसजनमा। संगठनमा पद लिनेको तँछाड मछाड हुन्छ। त्यो कांग्रेसमा हुनेनै भयो। अरू दलभन्दा बढी नै छ। ठुलो पार्टी, धेरै कार्यकर्ता भएको कांग्रेसमा पदको हानथाप हुन्छ नै। लोकतन्त्र स्थापनामा रगत बगाएको, प्रजातन्त्रका लागि हतियार उठाएको पार्टीमा यतिसम्मको कुरा सामान्यनै होला सायद।
बेला यस्तो छ, सबैभन्दा माथि स्वार्थ छ। इमान जमानको कुरा छैन। उधारो कुरा कसैलाई सुनिरहनु छैन। चुनावमा रामधुलाइ भएको वर्ष दिन हुन लाग्यो। बल्ल त्यसको समीक्षा गरिँदै छ। यो देउवाको कमजोरी हो। यही कुरा चुनाव सकिनासाथ गरेको भए उपयुक्त हुन्थ्यो। समीक्षा बैठकमा गाली त खानुनै थियो । बेलैमा खाइदिएको भए हुन्थ्यो। भएको मध्ये राम्रो छानेर पदाधिकारी बनाइदिएको भए भइहाल्यो। पद जो सुकैलाई चाहिएको छ। सबै सन्तुष्ट हुने कुरै हुदैैन। बढीजसो सन्तुष्ट हुने निर्णय गर्ने हो। आफ्नो टाउको दुखाइ कम हुन्थ्यो। यो देउवाको मात्र हैन, कांग्रेसकै रोग हो। जिल्लामा रहेका देउवा भनाउँदाहरूले पनि यसै गर्छन्। यसैमा सुधारको आवश्यकता छ।
अब विगतमा जस्तो गरी कांग्रेस चलाए आउने चुनावमा कांग्रेस अझ खस्कने पक्का छ। चाँडोभन्दा चाँडो अब चारतारे झन्डा गाउँमा गाडिनुपर्छ। पार्टी संगठनलाई मजबुत बनाउनुपर्छ। अन्य दलको हेपाइ र तिरस्कारबाट धरमराएका कार्यकर्तालाई धाप मारेर ढाडस दिनुपर्छ। आफूसँगै हिँडाएर जयनेपाल भनाउनु पर्छ। हरेक भ्रातृ संगठनलाई क्रियाशील बनाउनुपर्छ। हरेक महिना एउटा न एउटा कार्यक्रम पस्कन सक्नुपर्छ। हरेक कार्यक्रममा कांग्रेस घट्ने हैन, बढाउनुपर्छ। अनि मात्र कांग्रेस भोलिका दिनमा दरिलो बन्न सक्छ। कार्यकर्ताको आस्थाको केन्द्र बन्न सक्छ। त्यति बेला देउवा मात्र हैन,कांग्रेसका धेरै नेता आनन्दको अनुभूति गर्नेछन्। अहिलेको जस्तो आरोप प्रत्यारोप हैन।
प्रकाशित: १४ वैशाख २०७५ ०५:१२ शुक्रबार