विचार

बेकारको बालभिटा

स्वास्थ्य मन्त्रालयले अहिले पोषणसम्बन्धी विभिन्न कार्यक्रम बनाएर बालबालिका र किशोरीहरूको स्वास्थ्य राम्रो पार्न मेहनत गरिरहेको छ। पोषणका लागि एक सय रुपैयाँ लगानी गरे त्यसले १६ सय रुपैयाँको प्रतिफल दिन्छ भनेर बालबचाउ कोषले भन्दै आएको छ। बालबालिकालाई कुपोषण भएन भने उनीहरूको रोगसँग लड्ने शक्ति बढ्छ र दादुरा, ठेउला, पखाला हुँदा जटिलताहरू कम हुन्छ र यसले गर्दा उनीहरूको उपचारमा धेरै खर्च नभएर स्रोत बचत हुन्छ।  

कैलालीमा एक स्वयंसेविकाले भनेको सुन्दा म उनको विचारबाट निकै प्रभावित भएकी थिएँ। कुपोषित बालबालिकालाई पुनःस्थापना गर्न स्वास्थ्य मन्त्रालयले सरकारी अस्पतालमा विभिन्न ठाउँमा पोषण पुनःस्थापना केन्द्र पनि स्थापना गरेको छ। ती केन्द्रमा अति कुपोषित बच्चालाई ठीक पारेका तथ्यहरू सरकारी प्रतिवेदनले नै औँल्याएका छन्। 

विश्व स्वास्थ्य सङ्गठनको सहायताबाट केही वर्षअघि केही साथीसँग मिलेर हामीले गरेको अनुसन्धानमा त्यस्ता पोषण पुनःस्थापनाबाट उपचार गरिएका बच्चाहरूको अनुगमन र उनका आमाहरूसँग अन्तर्वार्ता गरेका थियौँ। त्यस्तो पुनःस्थापना केन्द्रमा बसेर सिकेका आमाले भनेका थिए- हाम्रा बच्चा कुपोषित भएका कारण त हाम्रै कमी पो रहेछ। यहाँ आएर हामीले सिक्यौँ कि बच्चाहरूलाई स्वस्थ बनाउन त घरकै दाल, भात, तरकारी, आलु, दूध, रोटी, चिउरा, चना दिनुपर्ने रहेछ। मैले पनि यस्ता पोषण पुनःस्थापना केन्द्रबाट धेरै सिकेकी छु।  

नेपालगन्ज, वीरगन्ज, राजविराज, ललितपुर, कञ्चनपुर आदि सबै ठाउँको पोषण पुनःस्थापना केन्द्रमा केही वर्ष पहिले गएर अनुगमन गर्दा कहीँ पनि भिटामिनका सिसी र पोषणको नाममा पाउडर दिएको पाइएन। वीरगन्जको पोषण पुनःस्थापना केन्द्रमा छलफल गरिरहँदा त्यहाँकी प्रबन्धक सरिता यादवले भनेकी थिइन्- हाम्रो पोषण पुनःस्थापना केन्द्रमा हामी आमाहरूलाई पनि घरका खानेकुरा नै पकाउन र खान सिकाउँछौँ। उनले हामीलाई खान आग्रह गरेअनुसार त्यहाँको जाउलो स्वाद मानेर खायौँ।  

मैले साना नानीलाई पनि जाउलो ख्वाइरहेका आमालाई सोधेँ- तपाईँले यसैगरी घरमा बच्चालाई जाउलो पकाएर खान दिन सक्नुहुन्छ? ‘किन नसक्नु? अब त हामीले जाउलोको महत्त्व बुझ्यौँ। हाम्रो घरतिर त बच्चाले आफैँ टिपेर नखाउन्जेलसम्म बाहिरको खानेकुरा दिने चलन नै छैन। एक दुई वर्षसम्म त आमाको दूध मात्र खान्छ। आमा कतै बाहिर काम गर्न गइन् भने त बच्चाले दिनभर केही खानै पाउँदैन। मेरो बच्चा पनि त्यस्तै भएको हो। म खेतबारीमा जानुपर्‍यो। यो आठ-नौ महिना हुँदासम्म पनि बाहिरको खानेकुरा दिएनौँ। अनि बिरामी भएर वीरगन्ज अस्पतालमा ल्याउँदा पो त थाहा भयो कि बच्चा त सानो रहेछ।’ चार सन्तानकी आमा हरिदेवीले भनेकी थिइन्- खानेकुराको अभाव भएर होइन कि खानेकुरा दिन नजान्दा छोरालाई कुपोषण भएको रहेछ। पोषणबारे कति राम्रो जानकारी पाइछन् ती आमाले।  

केही वर्ष पहिले वीरगन्जका पोषण पुनःस्थापना केन्द्रलाई वीरगन्ज अस्पतालभित्र राख्न ठूलो भूमिका निर्वाह गर्ने डा. श्यामशरणबाट सुनिएको थियो- ‘यस अस्पतालमा यो पोषण पुनःस्थापना केन्द्र स्थापित गरेपछि धेरै व्यापारी पनि बच्चा बिरामी भएर ल्याएका छन्। उनीहरूलाई यही पुनःस्थापना केन्द्रमा ल्याएर पोषणबारे सिकाउँछु। यो पोषण पुनःस्थापना केन्द्रलाई त पहिले केही साथीले जिस्काएर ‘सोमालिया वार्ड’ पनि भन्थे।’ तर अहिले त यो केन्द्रमा १५ सय बालबालिका उपचार गरेर फर्कनु निकै ठूलो कुरा हो किनभने घरेलु खानाबाट नै कुपोषण हटाउन सकिन्छ भने तथ्यलाई व्यावहारिक रूपमा प्रयोग गरिएको छ।  

ललितपुरको सुनाकोठीस्थित पोषण पुनःस्थापना केन्द्रकी व्यवस्थापक सुनिता भन्छिन्- ‘हामीले यहीँ करेसाबारी बनाएका छौँ। सबैलाई घरेलु खानेकुरा नै बनाएर ख्वाउँछौँ। आमाहरूलाई सिकाउँछौँ। कुपोषित भएर आएका बालबालिकालाई एक दुई हप्ताको घरेलु खानेकुरा दिएपछि उनीहरूको शारीरिक बनावटमा मात्र होइन, मानसिक स्थिति पनि बदलिएको पाउँछौँ।’  

त्यहाँको व्यवस्थाले घरेलु खानेकुरालाई महत्त्व दिएर बाहिरका खानेकुरा र विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूले दिएको प्लम्पिनट बालभिटा वा प्लम्पिनट जस्ता खानेकुरा नदिएर बालबालिकालाई कुपोषणको फन्दाबाट निकालिरहेका छन् र आमा र घर परिवारका सदस्यलाई जाउलो, खिर, रोटी, आलु, हरियो तरकारी, क्वाँटी, टुसा उमारेका अन्य खानेकुराको माध्यमबाट नै सन्तानलाई स्वस्थ राख्न सकिन्छ भन्ने जुन सन्देश दिइरहेका छन्, त्यस्ता सन्देश केवल त्यहाँ आएका अभिभावकले मात्र पाउँदैनन् कि उनीहरू त्यसरी कुपोषित भएका बच्चा ठीक भएपछि घर पुगेपछि गाउँघरका अन्य अभिभावकले पनि थाहा पाउँछन्।  

‘म त विभिन्न अन्तर्राष्ट्रिय संस्थाले दिने प्लम्पिनट खानेकुराहरूको पनि विरोधी हुँ। त्यस्ता खानेकुरा ख्वाउने अन्तर्राष्ट्रिय संस्थाले महँगो व्यापारिक खानेकुराहरू पहिले त बच्चालाई सित्तैमा बाँड्छन्। अनि घर परिवार बच्चाको बानी त्यसमा लागेपछि जब ती संस्थाले खानेकुरा बाँड्न छाड्छन् अनि बच्चाहरूले घरका खानेकुरा खाँदैनन्। अनि समस्या पर्दैन त?’, सुनिताको प्रश्न छ।  

दाल भात तरकारीमा राखेर दिइने बालभिटाबारे स्वास्थ्यविज्ञ डा. खेम कार्कीले केही वर्षअघि भन्नुभएको थियो- ‘यस्तो प्याकेटको खानेकुराले हाम्रा बालबालिकालाई स्वस्थ बनाउँदैन।’ तर अहिले स्वास्थ्य मन्त्रालय आफैँले स्थापित गरेको पुनःस्थापना केन्द्रको कामलाई बेवास्ता गरेर बालभिटा वा प्लम्पिनट जस्ता प्याकेट बाँड्ने विचार गरिएको छ।  

वरिष्ठ बालरोग विशेषज्ञ डा. प्रकाश श्रेष्ठले दिवङ्गत हुनुअघि मसँग भन्नुभएको थियो- ‘बालरोग विशेषज्ञहरूले धेरै अगाडिदेखि नै सरकारलाई नेपालमा प्लम्पिनट र बच्चाको कुपोषण हटाउन दिइने बालभिटा चाहिँदैन भनेका थियौँ। हामीले विभिन्न ठाउँमा तपाईँ जस्तो लेख्नचाहिँ सकेनौँ। तर तपाईँको कुरासँग हामी एकदम सहमत छौँ।’ वरिष्ठ बालरोग विशेषज्ञले भनेको कुरा सुनेपछि के लाग्यो भने स्वास्थ्य मन्त्रालयले कार्यक्रम बनाउँदा र नीति नियम ल्याउँदा त्यससम्बन्धी विज्ञहरूसँग छलफल नगरेर नै ल्याएको हो कि? यस्तो पोकामा दिएको पोषक तत्त्वले बालबालिकालाई साँच्चै नै स्वस्थ राख्छ कि राख्दैन भनेर बालरोग विशेषज्ञहरूसँग छलफल गराउनुपर्छ। उहाँहरूले अस्पतालमा बहिरङ्ग विभागमा आउने पाँच वर्षमुनिका बालबालिकालाई यस्तो प्याकेटका खानेकुरा औषधिका रूपमा लेख्नुहुन्छ कि हुन्न?  

पोषणविद् डा. तीर्थ रानासँग कुराकानी गर्दा पनि उहाँले पनि यस्तो किसिमको सूक्ष्म पोषण तत्त्वका प्याकेट चाहिँदैनन् भन्नुभएको छ। बालरोग विशेषज्ञले चाहिँदैन भन्ने, पोषणविद्ले चाहिँदैन भन्ने, पोषण पुनःस्थापना केन्द्रका व्यक्तिहरूले त्यो चाहिँदैन भन्ने, अनि किन केही संस्थाले यसरी सूक्ष्म पोषण प्याकेट चाहिन्छ भनेर वकालत गरिएको छ? म विभिन्न ठाउँका स्वास्थ्यकर्मी र स्वयंसेविकालाई प्रश्न गर्न चाहन्छु- के तपाईँ आफ्ना छोराछोरीलाई यस्तो प्याकेटको खानेकुरा दिनुहुन्छ कि आलु, दाल, आरु, रोटी, भात, बदाम दिनुहुन्छ?

प्रकाशित: १३ चैत्र २०८१ ०८:१९ बुधबार