प्रायः हरेक राजनीतिक चिन्तक जटिल समस्यालाई चिर्न नैतिक स्थितिलाई मुख्य मानकका रूपमा लिने गर्छन्। राज्य नैतिक मूल्यको सर्वोत्कृष्ट स्वरूप हो। व्यक्ति र समाजको हित तथा समानतामा हुने टकराव राज्यसँग बढी हुने गर्छ।
राज्यको नैतिक स्थितिले भन्छ कि व्यक्तिलाई कति स्वतन्त्रता दिने र राज्यशक्ति कति हदसम्म प्रयोग गर्ने अर्थात् राज्यशक्ति र व्यक्ति स्वतन्त्रताको बीचमा कस्तो सन्तुलन/समीकरण हुने भन्ने कुरा आजसम्म कुनै पनि राजनीतिक विचारकले अन्तिम रूप दिन नसकेकाले यो खुला प्रश्नको संवाद निरन्तर चलेकै छ। राज्यमा व्यक्तिको समुचित विकास हरसम्भव हुनुपर्छ। व्यक्ति/समाज, राज्यको विकासमा समाहित हुन सकेन भने वा भनौँ अधिक अन्तर भयो भने राज्यले नैतिक सङ्कट भोग्नुपर्ने हुन्छ।
संसदमा नैतिकताको तत्त्व उँचो भएमा/पाइएमा मात्र समग्र विकासले फड्को मार्न सक्ने विकसित देशको प्रणाली अध्ययनबाट थाहा लाग्छ। शरीरको कुनै अङ्ग, मानौँ हात निरोगी भए मात्रै शरीर स्वस्थ हुन सक्छ। सोही परिप्रेक्ष्यमा राज्यका अङ्ग/संयन्त्रहरूले प्रभावकारी भूमिका निर्वाह गर्न सके मात्र जनगणको आशा/सन्तुष्टि मर्दैन। नैतिकताबिहीन वा नैतिक कसीमा खरो उत्रन नसक्ने भनौँ नैतिकतामा कमजोर समाज वा राज्य प्रगतिको पथमा लम्कन त के घस्रिनसमेत मुश्किल हुन्छ। नैतिकताको सवालमा खरो नउत्रिकन विकासले दरो पाइला चाल्न नसक्ने दर्शनशास्त्रीहरूको भनाइ सधैँ सान्दर्भिक छ।
ज्ञान आर्जनपछिको विचार निर्माण संसार चलायमानताको मूल आधार हो। संसारमा देखिएका हरेक वस्तुको पछाडि त्यस वस्तुको प्रतिविचारको अभिव्यक्ति हुन्छ। त्यसकारण वस्तु महत्त्वपूर्ण नभई पहिला विचार बढी महत्त्वपूर्ण हुन जान्छ। त्यसैले जबसम्म विचार बुझिँदैन तबसम्म वस्तुको चरित्र बुझिँदैन। सुरुवातमा सुषुप्त अवस्थामा रहेको विचार परिकल्पनाबाटै अगाडि बढ्छ अनि यसको विकास हुन्छ। सुषुप्त चेतना जागृत भएपछि विचारले जन्म लिन्छ। वैचारिक चेतनाकै फलस्वरूप पत्थरमा शङ्करको स्वरूप सञ्चार हुन पुग्छ।
विकासको चेतनायात्रा सरल रेखामा नहिँडी बाङ्गोटिङ्गो हुँदै अगाडि बढ्ने गर्छ। यसको सुषुप्त अवस्थाबाट पूर्ण विकसित अवस्था प्राप्त हुने प्रक्रिया द्वन्द्वात्मक पद्धतिबाट गुज्रने गर्छ। द्वन्द्वात्मक प्रक्रियामा वाद वा प्रतिवादको एकअर्कामा पूर्ण विजय वा अपूर्ण पराजय हुँदैन। बरु यी दुवैमा जोडदार घर्षण/सङ्घर्ष हुन्छ अनि सङ्घर्षकै परिणामस्वरूप एक स्थितिमा पुगिन्छ। जो संसदमा पुग्छन्, त्यहाँ हुने वाद/प्रतिवादमा दुवैको जोखिम सुरक्षित रहन्छ। कुनै पनि समाज वा राष्ट्रको उन्नति वा अवनति नेता वा नागरिकजनको चेतनाको सर्वोत्कृष्ट स्थितिमा निर्भर रहने कुरा दर्शनशास्त्रीहरू गर्छन्।
राष्ट्रको जीवनमा मनुष्यको अभिव्यक्ति सर्वोत्कृष्ट हो। विश्वात्मा र बौद्धिकताको चेतना हो। वाद, प्रतिवाद र संवादकै कठिनाइपूर्ण विधि/प्रक्रियाबाट कार्यदिशाको तत्त्वबोध हुँदै विकासको क्रम अघि बढ्ने गर्छ। व्यक्ति, समाज हुँदै राज्य पृथ्वीमा ईश्वरको अवतरण हो। राज्यलाई ईश्वरको प्रकटित रूप मान्ने हो भने यसको बौद्धिकता र चेतना नैतिकरूपमा सर्वोत्कृष्ट हुनुपर्ने हुन्छ। त्यसैले राज्यको जो आदेश हुन्छ, त्यसमा सर्वोत्कृष्ट चेतना तथा बौद्धिकता प्रतिविम्बित भएको हुनैद्वारा नै पर्छ।
व्यक्ति/समाजको लक्ष्य, राज्यको लक्ष्यसँग एकाकार हुन/जोडिन सकेन भने व्यक्तिको राज्यसँग टकराव वा द्वन्द्व हुन पुग्छ। फलस्वरूप राज्यको सर्वाङ्गीण विकास अवरुद्ध हुन पुग्छ। वास्तवमा हुनुपर्ने चाहिँ के हो भने राज्यको आदेश व्यक्तिले स्वेच्छाले स्वीकार गर्नेखालको हुनुपर्छ। आदेशको आलोचना पनि हुन सक्छ तर यो नै स्वतन्त्रताको सच्चा परिचायक हो। आलोचनाको घाँटी थिच्ने काम अधिनायकवादको शासनमा बढी हुने गर्छ। व्यक्ति र राज्यमा अत्यन्तै राम्रो अन्तरसम्बन्ध भइदिएमा यी दुवैमा कुनै प्रकारको द्वन्द्वको गुञ्जायस रहँदैन।
व्यक्ति/समाज वा सङ्घ/सङ्गठन कसैले पनि राज्य वा समाजमा खलल पुर्याउने/काम कारबाहीमा अवरोध पुर्याउनेमाथि कडारूपमा प्रस्तुत हुने गरेको त पाइन्छ नै, तर अभ्यासरत/वामे सर्दै गरेको अभिव्यक्ति स्वतन्त्रतालाई दबाउने र लगाम लगाउने कुनै पनि कदमले लोकतन्त्रको स्वास्थ्यमा गडबडी पैदा गराउँछ।
हाम्रै हालको बेहालझैँ भ्रष्टाचार र अनैतिकताको जालोमा जेलिएको त्यतिखेरको जर्मनीलाई दार्शनिक इमानुएल कान्टको कडा नैतिक आचरणको दर्शनले जर्मनीको भाग्य बदल्न कारगर सावित भएको थियो। उनको नैतिक दर्शनले तर्क, कर्तव्य, अरूको सम्मान र सार्वभौमिकताको महत्त्वमा बलियो नैतिक मापदण्डहरू स्थापित हुन पुग्यो। यसले विचारहरूलाई व्यक्तिगत प्राथमिकताहरू वा पारिस्थितिकीय परिणामहरूभन्दा परको आन्तरिक सिद्धान्तहरूमा आधारित गरायो।
कान्टको अर्को सिद्धान्त ‘द्वैधवाद’ ले बताउँछ कि बाह्य संसारलाई इन्द्रियहरूले अनुभव गर्न त सकिन्छ तर हाम्रो ज्ञान र अनुभवका अनगिन्ती सीमा छन्। भनौँ, दृश्य प्रपञ्चको ज्ञान त प्राप्त गर्न सकिन्छ तर योभन्दा पनि पर रहेको जहाँ केही न केही जरुर छ भन्ने मस्तिष्कमा घोचिरहने तर त्यस्तो कुनै सेन्सेसन पनि नआइरहेको अवस्था पनि हुने गर्छ, जो आकलन गर्न पनि कठिन हुन्छ। कान्टको द्वैधवादलाई गहिरोसँग खोजबिन गर्दै हेगेल वैचारिकरूपमा अगाडि बढे।
हेगेल यस ब्रह्माण्डको मूल तत्त्व विचार जसलाई चेतना/बौद्धिकता/बुद्धिमत्ता मान्छन्। मूलभूतरूपमा हेगेलको राजनीतिक दर्शन ‘द्वन्द्वात्मकता (डायलेक्टिक्स)’ भनेको मानव इतिहास, विचार र वास्तविकताको निरन्तर परिवर्तनशील विकास प्रक्रियालाई पर्गेल्ने थेसिस, एन्टिथेसिस र सिन्थेसिसले आत्म–जागरूकता र स्वतन्त्रताको दिगो मार्ग कोर्दै प्रगतिपथमा लम्काउने बुझिन्छ।
एकातिर उच्च आदर्श/नैतिकताको निर्धारणले दिशानिर्देश गर्ने कान्ट बताउँछन् नै, तर आदर्श धेरै उँचो भइदियो भने पालन गर्न कठिन हुनुका साथै मानवताको घाँटी न्याकिन सक्ने कुरा भुल्न हुन्न।
अर्कोतिर मार्क्स र एंगेल्सको द्वन्द्वात्मक भौतिकवादको एकोहोरो सुँगा रटान र हेगेलको बन्धनयुक्त व्यक्तिगत स्वतन्त्रता, आत्मनिर्णयको न्यूनता, विरोधाभाससँग जुझ्दै–जुझ्दै गञ्जागोलमा फस्न सक्ने प्रक्रिया जस्ता सैद्धान्तिक कमजोरीलाई हटाउँदै आफ्नो माटो सुहाउँदो पूर्वीय आध्यात्मिक दर्शनमा तिनलाई समाहित गराउँदै मिश्रित चन्दनको युगानुकूल लेप बनाउन र लगाउन पाए मुलुक विकासले कसो काँचुली नफेर्ला त? अस्थिरताको चङ्गुलबाट कसो मुक्ति नमिल्ला त?
प्रकाशित: १३ चैत्र २०८१ ०८:०८ बुधबार