जर्मन दार्शनिक मार्टिन निमोलालाई सबैले सम्झिने एउटा कविता छ- ‘त्यसपछि उनीहरू मेरा निम्ति आए त्यतिबेला मेरा निम्ति बोलिदिने कोही बाँकी थिएन।’
सुरुमा हिटलरका प्रशंसक मार्टिन निमोला पछि गएर तिनकै विरुद्ध बोल्न बाध्य भएका हुन्। उनले नाजीविरुद्ध लेखेको कविता बोल्नुपर्ने बेलामा नबोल्नेहरूप्रति लक्षित छ। सुरुमा अरूका विरुद्ध आएको ठानेर छाडिएको अतिवादले अन्ततः आफैँलाई खान्छ। त्यसैले गलत काम भइरहेका बेला प्रबुद्ध मानिसहरूले बोल्नुपर्ने ठानिन्छ। जब प्रभावशाली व्यक्तिहरू बोल्दैनन् तब असत्यले ठाउँ लिइसकेको हुन्छ।
महाभारतमा द्रौपदीको चिरहरण हुँदा भीष्म पितामहदेखि नीतिज्ञ विदुरसम्म चूप रहेको प्रसंगलाई त्यसैगरी एउटा दुःखद अध्यायका रूपमा लिइन्छ। त्यस्ता प्रभावशाली व्यक्तिले बोलिदिएका भए दुःशासनले चिरहरण गर्ने आँट गर्दैनथ्यो कि ? महाभारत भिन्न ढंगले अगाडि बढ्ने थियो।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि काठमाडौँ जिल्ला अदालतमा सहकारीपीडितका पक्षमा बहस गरेर निस्कँदै गर्दा आक्रमण भयो। त्यो आक्रमणपछि पक्ष र विपक्षमा धारणा सार्वजनिक भइरहेका छन्। अझ सामाजिक सञ्जाल सबैभन्दा धेरै विभाजित भएको छ।
विशेषगरी पछिल्लो समयमा उदाएका नयाँ भनिएका दल र तिनका नेताका बारेमा बोल्नै नहुने अवस्था सिर्जना भएको छ। तिनको ‘ट्रोल आर्मी’ले सर्वसाधारणको दिमाग भुटिरहेको बुझ्न सकिन्छ। यो विषय धेरैको दिमागमा परिसकेको भए पनि सार्वजनिक गर्ने आँट आइसकेको छैन।
विगतमा कसैको पक्षमा बहस गर्न जाने कानुन व्यवसायीमाथि आक्रमणको कल्पना हुँदैनथ्यो। संकटकालकै बेलामा पनि कैयन् कानुन व्यवसायीले तत्कालीन विद्रोही माओवादीको पक्षमा वकालत गरेका थिए। त्यो बेला सरकारको तर्फबाट कानुन व्यवसायीमाथि आक्रमण हुन सक्ने थियो, त्यस्तो भएन। यहाँसम्म कि राजाले गठन गरेको शाही आयोगविरुद्ध न्यायालयबाटै आदेश हुँदासमेत त्यसरी आक्रमण गरिएन। त्यही आदेशका कारण कांग्रेस नेता शेरबहादुर देउवा थुना मुक्त भएका थिए।
त्रिपाठीमाथिको आक्रमणले अब जताततै अराजकता बढ्न थालेको संकेत गरेको छ। अराजकतालाई स्वच्छन्द सामाजिक सञ्जालले साथ दिइरहेको छ। हुँदाहुँदा स्वतन्त्रताका निम्ति नभइनहुने अभिव्यक्ति अधिकारको दुरूपयोगले यसलाई नियन्त्रण गर्नुपर्छ भन्नेलाई प्रोत्साहित गरेको छ। नियन्त्रण होइन, नियमन गरेर यसलाई चलाउनुपर्छ भन्ने मान्यता अब थप कमजोर हुने मात्र होइन, लोकतन्त्रका निम्ति नभइनहुने सार्वजनिक चासोलाई यसले अवरुद्ध गर्ने खतरा बढ्दैछ।
फ्रान्सेली लेखक तथा राजनीतिज्ञ भिक्टर ह्युगोले एउटा व्यक्ति र अर्को व्यक्तिको अधिकारलाई बुझाउन सहज हुने गरी अधिकारको परिभाषा गरेका छन्। ‘एक नागरिकको अधिकार त्यहीँ सकिन्छ, जहाँ अर्को नागरिकको अधिकार सुरु हुन्छ’– उनले भनेका छन्। यसलाई अझ सजिलोसँग बुझाउन भन्ने गरिएको छ-मेरा हातका औँला त्यहाँसम्म पुग्न सक्छन् जहाँ अर्को व्यक्तिको नाक ठोकिँदैन।
अभिव्यक्ति स्वतन्त्रताको अवस्था पनि त्यही हो। आफूले अभिव्यक्ति त्यतिसम्म गर्न सकिन्छ जतिले अरूको मानहानि हुँदैन। त्यही भएर ‘बोल्न पाएँ भनेर प्याच्च नबोल्नू, बस्न पाएँ भनेर थ्याच्च नबस्नू’ भनेर हामीलाई पहिले सिकाइन्थ्यो। तर अहिले सामाजिक सञ्जालले सशक्तीकरण गरेको ठान्ने व्यक्तिहरूले दायाँवायाँ नहेरी जथाभावी गरिरहेका छन्। त्यही अभिव्यक्तिबाट उचालिएर जथाभावी व्यवहार गरिरहेका छन्।
प्रायः सामाजिक सञ्जालमा आफूसँग चित्त नबुझ्ने धारणा र अभिव्यक्ति भएका व्यक्तिलाई आक्रमण गर्न हौस्याएको देखिन्छ। कसैले भौतिक आक्रमण गर्दा त्यसको समर्थन गर्ने भीड पनि देखिन्छ। यस्तो दुरुत्साहन गर्ने प्रवृत्तिलाई ‘भीडको व्यवहार’ भनेर हामीले पढ्नुपर्थ्याे। भीडमा गएपछि त्यसैको व्यवहारले सामान्य भनिएका व्यक्ति पनि असामान्य व्यवहार देखाउने हुन्छन्। अचेल यस्तो व्यवहार देखाउन भीडमा जानै पर्दैन, सामाजिक सञ्जालबाटै सम्भव छ। त्यस्ता सञ्जालबाट उद्वेलित व्यक्तिहरूले भेटेका बेलामा भौतिक आक्रमण गर्ने खतरा छ। र, त्यही खतराको संकेत वरिष्ठ अधिवक्ता त्रिपाठीमाथिको आक्रमण हो।
धरानका मेयर हर्क साम्पाङले पत्रकार गोपाल दाहालमाथि आक्रामक व्यवहार गरेका छन्। पहिलेपहिले हो भने यस्तो आक्रामक व्यवहारको सर्वत्र आलोचना हुन्थ्यो। अचेल आफूलाई मन नपर्ने विषय आयो भने पत्रकारमाथि आक्रामक अभिव्यक्ति दिने र व्यवहार गर्ने व्यक्तिहरूलाई सजिलो भएको छ। यसको समर्थन सामाजिक सञ्जालबाट प्राप्त हुन्छ। तर त्यसो गर्नुहुँदैन भन्ने आवाज कमै आउँछ।
धेरै व्यक्तिले महाभारतकालीन पितामह भीष्महरूको जस्तो मौनता राखेका कारण झन् उत्साहित भएर आक्रमण गर्न सहज भएको हो। धेरै मानिस अहिले एकोहोरिएका छन्। अल्गोरिदमले खटाएका एकखाले सामग्री मात्र हेर्न थालेपछि धेरैले विविधतापूर्ण विचारतर्फ जानै परेको छैन। हामीले हेर्ने टिकटक, रिल्स वा सर्टस्मा त्यही मात्र आउँछ जुन हामीले एकपटक समय दिएर हेरेका छौँ।
सामाजिक सञ्जालबाट व्यक्तिलाई आक्रमणका निम्ति उक्साउनु हुँदैन भन्ने सामान्य जानकारीसमेत नभएको अवस्था देखिँदैछ। अरूलाई आक्रमणका निम्ति उक्साउँदा भोलि त्यसले धेरै मानिसको हत्या हुने वा लुटपाटतर्फ जाने खतरा पनि देखिँदैछ। अहिले विशेषगरी राजनीतिक व्यक्ति, सामाजिक अभियानमा लागेकाहरू, बौद्धिक तप्का आदिमाथि आक्रमण गर्नुपर्छ भनी अभिव्यक्ति सार्वजनिक गरिएका छन्।
सन् १९९४ मा रूवान्डामा तुत्सीविरुद्ध गरिएको आक्रमणलाई सन् २००३ मा अन्तर्राष्ट्रिय अपराध अदालतले मानवताविरुद्धको अपराधका रूपमा चित्रण गरेको थियो। त्यस अपराधमा तीन मिडियाका कार्यकारीलाई दोषी ठहर गरिएको थियो। तिनले तुत्सीमाथि आक्रमण गर्न उक्साएको (इन्साइट) को आरोप पुष्टि भएको थियो। त्यो सामाजिक सञ्जाल आउनुअघिको समय थियो। अहिलेजस्तो हो भने सञ्जाल प्रयोगकर्ता कति त्यसमा पर्ने थिए होलान् ? सामाजिक सञ्जाल प्रयोग गरी अहिले केही विशेष दल, नेता आदिकै मानिसले आक्रमणको आह्वान गरिरहेका बेला छ। यसले कुनै पनि बेला हिंसा भड्काउन सक्ने खतरा बढ्दो छ।
सामाजिक सञ्जाल अभिव्यक्तिका महत्त्वपूर्ण माध्यम हुन्। अघिल्लो सरकारले टिकटक बन्द गर्दा हामीले प्रधानमन्त्रीदेखि जिम्मेवार निकायमा यस्तो गर्न नहुने बताएका थियौँ। त्यति मात्र होइन, सम्पादकीय नै लेखेरसमेत नियन्त्रण होइन नियमन गर्न सकिने बताएका पनि हौँ। अहिले आएर विभिन्न माध्यम थेगिनसक्नु भएका छन्। जसले जसलाई जे पनि भन्न सकिने भएको छ। यस्तो अवस्थामा कसैले पनि दुरुत्साहन नगर्न आग्रह गर्नुपर्ने भइसकेको छ। अन्यथा, धेरै ढिला भइसकेको हुनेछ।
यतिबेला लोकप्रियतावादको आडमा धेरैलाई न स्वतन्त्र प्रेस चाहिएको छ न त कानुन व्यवसायी नै। लोकप्रियतावादको उद्देश्य आममानिसलाई दिग्भ्रमित गर्दै शक्ति हत्याउनु हो। र, अन्ततः त्यसले मुलुकलाई अधिनायकवादतर्फ पुर्याउँछ। अहिले हाम्रो समाजमा जस्तो प्रवृत्ति विकास भइरहेको छ, त्यसले लैजाने बाटो त्यतै हो। बेलैमा विचार पुर्याउनु र समाजमा सबैले बोल्न र व्यवहार गर्न सक्ने अवस्था सिर्जना गर्नु अहिलेको आवश्यकता हो। अन्यथा, उनै मार्टिन निमोलाले चित्रण गरेजस्तो अवस्थामा हामी पुग्नेछौँ। फेरि उनै निमोलाको कविता पढौँ–
पहिले उनीहरू कम्युनिस्टका निम्ति आए
र त्यतिबेला म बोलिनँ
किनभने म कम्युनिस्ट थिइनँ
त्यसपछि तिनीहरू समाजवादीका निम्ति आए
र त्यतिबेला म बोलिनँ
किनभने म समाजवादी थिइनँ
त्यसपछि तिनीहरू ट्रेड युनियनवालाहरूका निम्ति आए
र त्यतिबेला म बोलिनँ
किनभने म ट्रेड युनियनवाला थिइनँ
त्यसपछि तिनीहरू यहुदीहरूका निम्ति आए
र म त्यतिबेला बोलिनँ
किनभने म यहुदी थिइनँ
त्यसपछि तिनीहरू मेरा निम्ति आए
त्यतिबेला मेरा निम्ति बोलिदिने कोही बाँकी थिएन।
प्रकाशित: ६ माघ २०८१ ०७:४३ आइतबार