‘करिब १३ वर्षपहिले लगभग ३० लाख रूपैयाँ तिरेर बाटोमा विभिन्न सास्ती खेप्दै म अमेरिका आइपुगेको हुँ। बाटोको सास्तीको कुरा के गर्नु र ? सबै सम्झेर साध्य पनि लाग्दैन। तर केही कुरा भने कहिल्यै बिर्सन्न। बिर्सनै नसकिने तीमध्ये हामीलाई ग्वाटेमाला सिटीबाट २३ घण्टा दूधको ट्यांकरमा राखेर मेक्सिकोको बोर्डर नजिक लगिएको थियो।
ट्यांकरमा साना–साना तीनवटा अक्सिजन छिर्ने प्वाल राखिएको थियो जसले गर्दा सास फेर्न अलि सहज भएको थियो। त्यस ज·लमा १० दिनसम्म सुकेको रोटी र तरकारीका रूपमा पास्ता खान दिएर राखेको अनि त्यहाँबाट मेक्सिको सिटी पर रानेती भन्ने ठाउँमा पुगेपछि दलालहरूले फलानोको मानिस को हो ? भन्दै हामीलाई त्यहाँ पुर्याउन सहयोग गर्ने दलालहरूको नाम लिँदै उनीहरूलाई पैसा दिएपश्चात् हामीलाई त्यहाँबाट लगेको कुरा म कहिले बिर्सन्न।
हामीलाई मन, भावना अनि संवेदना नभएका फगत वस्तुको रूपमा प्रयोग गरिएको थियो। हामी निर्जीव वस्तु जस्तै थियौँ। जसले जेजे भन्यो उही–उही मान्दै आफ्नो ज्यान हत्केलामा राखेर हामी यहाँ आएका हौँ। मेरो कुरा गर्नुहुन्छ भने मलाई यहाँसम्म आइपुग्न यिनीहरूले काठमाडौँ, दिल्ली, दुबई, ब्राजिल, कोलम्बिया, बोलिभिया अनि त्यहाँबाट पैदल यात्रा गर्दै पेरु, सबै मरूभूमि भएको ठाउँ अनि इक्वेडरपछि फेरि कोलम्बिया पुर्याउँदै पानीको बोटबाट पनामाको जंगल पुर्याए।
त्यो बोट चढ्दा हामीले ३३ कोटी देवीदेवता सबै भाक्यौँ। मलाई त बाँच्छु भन्ने लागेकै थिएन। त्यो बोट अलिकति मात्रै पल्टेको भए हामी सबै डुब्थ्यौँ। त्यसरी पनामाको पहिलो क्याम्प भन्ने ठाउँ पुर्याइयो। त्यहाँ पुग्नेबित्तिकै हात उठाउनुपर्ने, सेनाको अगाडि पासपोर्ट छैन भन्नुपर्ने। हुन पनि हो, हाम्रो पासपोर्ट त दलाल/माफियाले ब्राजिलमै फाल्न लगाएको थियो।
पहिलो क्याम्पमा हामीलाई एउटा शरणार्थी कार्ड दिइयो। त्यहाँबाट हामीलाई दोस्रो क्याम्प लगियो। ज·लमा लामो समयसम्म हिँड्दा काँडा बिझ्ने, खुट्टा काटिने, चोटपटक लाग्ने जस्त धेरै प्रकारका बिरामी हुने भएकाले दोस्रो क्याम्पमा भने हामीलाई उपचार गरियो। पनामाको इमिग्रेसनमा लगी औँलाको छाप लिएर त्यहाँबाट बाहिर पठाइयो।
पनामामा भने हाम्रो कोही एजेन्ट थिएन। त्यहाँ सबै व्यवस्था हामी आफैँले मिलाउनुपर्छ भन्ने जानकारी एजेन्टहरूले पहिले नै दिएका थिए। सोहीअनुरूप आफ्नो व्यवस्था हामी आफैँले मिलायौँ। चाहिने आवश्यक पैसा भने एजेन्टहरूले पठाउने रहेछन्। पनामा इमिग्रेसनबाट निस्केपछि कोस्टारिकासम्म आफैँ टिकेट काटेर गाडीमा आयौँ।
कोस्टारिका पुगेपछि एजेन्टसँग भेट भयो। त्यहाँबाट निकारागुवा, होन्डुरसबाट एलसाल्भाडोर रातारात कटाएर बिहानै ग्वाटेमाला सिटी ल्याइपुर्याइयो। अनि त्यहाँदेखि हिँडेर मेक्सिको बोर्डरमा पुग्यौँ। बोर्डरबाट राजमार्गमा चल्ने ठूलो ट्रकमा राखेर मोनाटेरेइ भन्ने सहरमा हामीलाई पुर्याइयो। त्यो ट्रकको कहानी पनि आफ्नै छ। ट्रक ड्राइभर आफैँ माफिया हो जस्तो लाग्ने। माफिया नभए पनि माफियाका लागि काम गर्ने जस्तो देखिन्थ्यो।
अमेरिकाको बोर्डर देखिने ठाउँमा ल्याएर त्यो ट्रकबाट हामीलाई ओरालियो र त्यो सडकपारि देखिने ग्यास स्टेसनमा एकजनाले तिमीहरूलाई भेट्छ भन्यो। हामी दुईजना नेपाली थियौँ। उपाय केही नभएपछि उनीहरूले जे भने त्यही मान्नुको विकल्प थिएन। उसले भनेअनुसार सडकपारि गएर त्यो व्यक्तिलाई भेट्यौँ। उसले एउटा ट्युब दियो। त्यो ट्युबमा हावा भर्न लगाएर त्यसको माध्यमबाट यिओग्रंडे (रोमा टेक्सालस) नदी तरेर अमेरिका जाओ भन्यो। उसले दिएको निर्देशन पालना गर्दै हामी अमेरिका पुग्यौँ। यति गरेपछि भने दलालको काम सकिने रहेछ। कथम्कदाचित हामीलाई मेक्सिको फर्काएको भएचाहिँ हामीले फेरि दलाललाई अरू पैसा दिनुपर्ने सिस्टम रहेछ। धन्न। हामीले फर्कन भने परेन।
पुलिसलाई देख्नेबित्तिकै दुई हात उठाएर आत्मसमर्पण गर्नू भनेर हामीलाई सिकाइएको थियो। हामी सोहीअनुरूप सरेन्डर भयौँ। बल्ल हामी गन्तव्य पुग्यौँ भनी लामो सास फेर्यौँ। तर त्यति मात्रैमा दुःख कहाँ सकिने रहेछ र ? अमेरिकामा पहिले थुनुवा कक्षमा राख्यो। चिज र पानीबाहेक केही खान दिएन। पछि जेल चलान गरेपछि मात्र खाना पायौँ। त्यतिञ्जेलसम्म त चिन्ताले खान पनि मन लाग्दैन रहेछ। कैदीको ड्रेस लगाएर जेलमा बस्यौँ।
यो अवधिमा मेरो मन कति पटक मर्यो भनेर साध्य नै छैन। के गर्ने परिस्थिति जस्तो आइलागे पनि सहनुपर्ने बाध्यता थियो। वकिल लगाएर बोन्डर र वकिलको गरी २० हजार डलर तिरेर स्पोन्सरलाई स्पोन्सर बसिदिएबापत पैसा तिरेर जेल बाहिर निस्कियौँ। जेलका तीन महिना कम पीडादायक थिएन।
सम्झ्यो कि मन पोलेर आउँछ। खाना दिन्थे तर खान फिटिक्कै मन लाग्दैनथ्यो। मानसिकरूपमै टुटेको थिएँ। जेलबाट निस्केपश्चात् टेक्सासमा आफूले पहिले चिनेका साथीहरूसँग करिब चार महिना बसेँ। न खाने कुरा राम्रो न बस्ने ठाउँ राम्रो। सुत्ने ओछ्यानसमेत थिएन। आफ्ना भन्नेहरूले पनि सहयोग गरेनन्। अमेरिका पुगेपछि त साथीहरू पनि बदलिँदा रहेछन्। नबदलिउन् पनि कसरी ? उनीहरू आफैँलाई आफ्नो ज्यान पाल्नसमेत गाह्रो थियो।
अमेरिका आउँदा साहूबाट लिएको पैसा कसरी तिर्ने भन्ने ध्याउन्न थियो। त्यो चार महिना साह्रै कष्टकर थियो। कहिलेकाहीँ त जेलमै आराम थियो जस्तो पनि लाग्थ्यो। हरपल घर परिवार सम्झेर रोएरै बिताएँ। अहिले पनि सुख त कहाँ छ र ? १२ घण्टा काम गर्नुपर्छ। कमाएको पैसाले बल्लबल्ल ऋण तिरिसकेँ। यति दुःख गरेर आएपछि घरमा पनि पैसा पठाउनै पर्यो। घरमा पनि कसैलाई हाम्रो माया लाग्छ जस्तो पनि लाग्दैन। पैसा पठाउन्जेल सबैको प्यारो, पठाउन छाडेपछि उस्तै। यहाँ पनि बाँच्नै पर्यो। परिवार पनि बनाउनुपर्यो। यो जञ्जालमा यसरी फसियो दिदी, अब निस्कनै गाह्रो छ। मलाई नेपालमै बस्न मन छ तर भनेर मात्रै पनि हुन्न रहेछ।
माथिको भनाइ हो– रुकुम पूर्वबाट तल्लो बाटोहुँदै अमेरिका आएका ४०/४५ वर्षीय नेपालीको । १३ वर्ष भयो उनी अमेरिका आएको। तर उनको अहिलेसम्म आधिकारिक कागज बनेको छैन। दिनको १२ घण्टा, त्यो पनि सातै दिन काम गर्छन्। त्यसरी काम गरेर घरमा पैसा पठाएका छन्। आफूले साहूबाट लिएको ऋण तिरे। तर पनि खुसी भने छैनन्। अमेरिकामा घरजम पनि गरे। उनका बच्चा पनि छन् तर मन भने नेपालमै छ। यो कथा उनको मात्रै हैन। यो त प्रतिनिधि कथा मात्रै हो। यस्ता व्यक्ति अमेरिकामा प्रशस्त भेटिन्छन्।
म अहिले अमेरिकामा बसेर नेपाल खासगरी रुकुमबाट ‘तल्लो बाटो’ भनिने खतरनाक उपाय गरी आएका नेपाली युवाहरूको यात्राको क्रममा हुने मानव बेचबिखन अधिकार हनन्को स्थिति सम्बन्धमा अनुसन्धान गरिरहेकी छु। यो क्रममा मैले ४० भन्दा बढी युवासँग प्रत्यक्ष कुराकानी गर्ने मौका पाएँ।
त्यसरी कुरा गरेकामध्ये कोही पनि खुसी छैनन्। धेरै पैसा खर्च गरेर नेपालबाट गएका यिनीहरू पीडित हैनन् भन्ने नेपाली समाजले सोच्दैन। सरकारले त झनै यिनीहरूलाई अपराधीसरह व्यवहार गर्छ। तर उनीहरूको स्थिति, अवस्था र उनीहरू कसरी ठगिएका छन् ? तिनीहरूलाई ठगिनबाट कसरी बचाउने भन्ने कसैको चिन्ताको विषय बन्न सकेको छैन।
यिनीहरू यहाँ कसरी आए भन्ने प्रक्रिया हेर्दा उनीहरूलाई नेपालभित्रै विभिन्नरूपमा रहेका दलालले ललाइफकाइ विभिन्न परिबन्धमा पारेर ठगेको देखिन्छ। उनीहरू जानेर वा नजानेर मानव बेचबिखन ओसारपसार गर्ने गिरोहको चङ्गुलमा फसेका छन् भन्न सकिन्छ।
यसरी विभिन्न दुःख–कष्ट खपेर बाँच्न सफल भएर अमेरिका पुगेर काम गरिरहेकाहरू बाध्यताबस् आफ्नो खुसी, यौवन, उत्पादन सबैलाई दाउमा लगाएर पैसा कमाइरहेका छन्। अमेरिकामा दुःख पाइयो भन्यो भने लाछीको उपनाम पाइने, परिवारलाई समाजले बस्न खान नदिने वातावरण हुने भएकाले आफू आएको ऋण तिर्न, परिवारको गर्जो टार्न अनि समाजमा पैसावाललाई हेर्ने दृष्टिकोणको आधारमा निर्मित प्रतिष्ठा जोगाउन पनि उनीहरू चूपचाप काम गरिरहेका छन्।
सबैको कथा पहिलो घटनाका पात्रको जस्तो छैन। कोही छिट्टै अर्थात् तीन महिनाभित्रै पनि आइपुगेका छन्। कसैलाई १९ महिनाभन्दा बढी समय पनि लागेको छ। पुरुषका साथै महिला पनि आउने क्रम बढ्दो छ। पहिलो घटनाका पात्र भन्छन्– मेरै भाइ अनि भतिजा पनि आएका छन्, म जस्तै गरेर। मेरो पालामा ३० लाख लाग्यो, अहिले त झण्डै एक करोड नाघ्छ। नआओ है साथी हो भनेर कति भन्ने ? आफू पुग्यो, कमायो अनि अरूलाई नआइज भनेर रोक्न खोज्छ भनेर उल्टै दोष लगाउँछन्। अनि त बाध्य भएर पनि सहयोग त गर्नैपर्छ।
अहिले त झनै केही १५/१६ वर्षका बालक/किशोरहरू पनि उमेर बढाएर आएका छन्। ल न दिदी त्यस्तालाई भने राम्रो बुझाएर रोक्नुपर्यो भन्छन् कुराकानी गरिएका व्यक्तिहरू। उनीहरूकै भनाइमा– हामीलाई बाटोमा यस्तो दुःख दिन्छ भन्ने थाहा भएको भए हामी केहीगरी पनि आउने थिएनौँ। के गर्ने आफूले चिनेका आफ्ना नेताहरूले नै तिमीहरू जान्छौ भने हामी सहयोग गर्छौँ भन्छन्।
हाम्रो पैसा खाएर अमेरिकी सपना देखाउने अरू कोही हैनन्, हाम्रा आफ्नै हुन्। उनीहरूको भनाइमा यस्तो अवस्थाको जञ्जालमा पार्ने केही अहिलेका बहालवाला त कति पूर्वसांसद छन्। ‘एकजना एजेन्टको त मेक्सिकोमा श्रीमती पनि छिन्। उनले नै यताको मेसो मिलाउने काम गर्छिन्। यस्ता बिचौलियाहरू त कति छन् कति दिदी’– यिनीहरू बताउँछन्।
टेक्ससमा धेरै नेपालीले ग्यास स्टेसन चलाएका छन्। त्यहाँ काम गर्ने प्रायः नेपाली छन्। खासगरी भारतीय र पाकिस्तानीले चलाउने ग्यास स्टेसनहरूमा काम गर्ने ८० प्रतिशतभन्दा बढी नेपाली छन्। त्यो पनि प्रायः विभिन्न अप्ठ्यारो स्थिति सामना गर्दै यहाँ पुगेकाहरू।
यसरी अप्ठ्यारो स्थिति सामना गरेर यहाँ पुगेकाहरूका लागि सुरुमा बाँच्नकै लागि कम पैसामा, नियन्त्रित भएर बँधुवा मजदूरजस्तै काम गर्न बाध्य छन्। दिनको १२ घण्टा बढी काम, एउटा कोठामा ५/६ जना बस्ने स्थिति सामान्य जस्तै बनेको छ । यो स्थिति यहाँका सम्पन्न भनिने नेपालीदेखि नेपालका हरेक पार्टीका नेतालाई थाहा छ। डलासमा मात्रै ५० वटा विभिन्न संस्था छन् भन्ने मैले सुनेँ। अस्टिनमा त एउटा बस्ती नै रुकुमेलीको मात्रै रहेछ। यिनीहरू सबैले चुनावका बेला यहाँबाट पैसा उठाएर नेताहरूलाई खर्च पठाउने रहेछन्।
मलाई एकजनाले गर्व गर्दै रुकुमका एकजना प्रभावशाली नेताको नाम लिँदै भने– दिदी, उहाँ हाम्रो नेता हो, उहाँ कहिले पनि हार्नुहुन्न। किन भन्ने मेरो प्रश्नमा उनी भन्छन्– हामीले प्रतिव्यक्ति पाँच सय डलरको हिसाबले मात्रै पठाउँदा पनि उहाँलाई चुनावमा दुई हातले पैसा खर्च गर्न पुग्छ। नेता अमेरिका आएको बेला यी रुकुमेलीहरू सबै काम छाडेर भेट्न जान्छन्।
त्यस्तै स्थिति अरू सङ्घसंस्थाको पनि छ। प्रवासी नेपाली मञ्च, गैरआवासीय नेपाली मञ्च, जनसम्पर्क मञ्च, टेक्सास नेपाली सोसाइटी, अस्टिन नेपाली समाज आदि इत्यादि नाम गरेका दर्जनौँ संस्थाका पदाधिकारीलाई अहिले सयौँको सङ्ख्यामा यसरी नेपाली आउँछन् र काम गरिरहेका छन् भन्ने थाहा छ। ती सबै सङ्घसंस्था नेपालको कुनै न कुनै राजनीतिक पार्टीसँग जोडिएका छन्। ती सबै पार्टीका नेता यहाँ बर्सेनि आउँछन्। ती नेतालाई मान–सम्मान गरेर राख्ने काम यस्ता संस्थाहरूको प्राथमिकतामा छ तर यसरी गैरकानुनीरूपमा विभिन्न परिबन्धमा परेर/पारिएर आएका व्यक्तिहरू भने यिनीहरूको प्राथमिकतामा पर्दैनन्।
यथार्थमा यहाँ भएका ठूला कहलिनेभन्दा यसरी आउनेहरूले दुःख गरेर कमाएको पैसा देशमा बढी पुग्छ। उनीहरू यसरी आएका कारण कतिपय नेपाली वकिलहरूको व्यापार चल्छ। यहाँ भएका ठूला व्यापारी मानिनेहरूको व्यापार यिनकै श्रमले चल्छ। त्यसैले यसरी गैरकानुनीरूपमा आएर शोषित भएर काम गर्न बाध्य हुने समूह सबैका लागि आवश्यक छ भन्ने मलाई लाग्यो। यसोभन्दा रुकुमबाट आई अस्टिनमा बसेको पाँच वर्ष भएको भन्ने बहिनीले मलाई भनेको यो कुरा बताउँन मन लाग्यो– दिदी, हामी ग्याँस स्टेसनमा काम गर्नेहरू त अमेरिकामा आएका सबैभन्दा तल्लो दर्जाका मानिसका रूपमा गनिन्छौँ । बरु यहाँका मानिसका लागि हामी सबै कामदार हौँ, समान छौँ तर हाम्रै नेपालीले हामीलाई मानिस नै गन्दैनन्।
यसरी हेर्ने हो भने यी व्यक्तिहरूलाई तल्लो बाटोबाट पठाउने दलालहरू नेपाली नै हुन्। अझ यिनको भनाइ मान्ने हो भने नेतृत्वमा भएका व्यक्तिहरू यसमा संलग्न छन्। यहाँ यिनीहरूलाई काम दिएर, साथी भेटाइदिएर काम खोजिदिए जस्तो गरेर सहयोग गरे जस्तो गर्दै सस्तो श्रमिक लिएर आफ्नो व्यवसाय चलाउनेहरू पनि बहुसंख्यक नेपाली छन्। यिनलाई प्रायोजन गर्ने अनि चर्को दरमा यिनको मुद्दा लड्ने पनि नेपाली नै हुन्। नेपालबाट अमेरिका हिँड्ने योजना बनाउने बेलामा सघाउने, ऋणमा पैसा दिने सबै नेपाली हुन्। यस्ता व्यक्तिहरू यहाँ विभिन्न पार्टीसँग संलग्न संघसंस्थासँग जोडिएका छन्। पार्टीको सदस्य छन्।
यसरी सबै चरणमा नेपाली, त्यो पनि शक्ति र स्रोतको पहुँचमा रहेका नेपालीको संलग्नतामा भइरहेको यो जोखिमपूर्ण नेपाली युवाहरूको यात्रा/व्यापार सरकारलाई थाहा छैन भनेर कसरी मान्ने ? थाहा हुँदाहुँदै पनि यो विषय सरकारको प्राथमिकतामा किन परेको छैन ? यो विषयमा गहिरो सोच र सोधखोज हुनुपर्छ। नत्र भने आखिर कहिलेसम्म यसरी नेपालीको किनबेच/तस्करी भिन्न नाममा हुने शोषणले निरन्तरता पाउने ?
प्रकाशित: २९ पुस २०८१ ०७:२३ सोमबार