विचार

प्रदूषण घटाउने तरल रुख

संसारभर बाक्लो जनसंख्या र जीवाष्मा इन्धनबाट चल्ने धेरै सवारी साधन रहेका ठूला सहरमा वायु प्रदूषणको समस्या भयावह बन्दै गएको छ। हावामा कार्बनडाइअक्साइड, मिथेन, सल्फर, माइक्रोप्लास्टिक तथा  पिएम–२.५ जस्ता प्रदूषक तत्त्वहरू उच्च रहेका मेगा सिटीहरूले सडक किनारामा रुख बिरुवा रोप्ने, सहरी वन निर्माण गर्ने, नदीनाला ताल तलैया सरसफाइ गर्ने र इलेक्ट्रिक भेइकल एवं स्वच्छ ऊर्जालाई प्रोत्साहन गरेर हरित सहर निर्माण अभियान चलाए पनि मुख्य सहरभित्र कार्बन उत्सर्जन घट्न नसक्दा यस्ता तिनले वायु प्रदूषणको मार बेहोर्नुका अतिरिक्त जलवायुजन्य हिटिङ आइल्यान्ड इफेक्टको मारले यी तात्तातो र ज्वालामुखी सहरमा रूपान्तरित हुँदैछन्।

वायु प्रदूषण र जलवायु समस्याको खास कारण भनेको सहरमा अधिक कार्बनडाइअक्साइड र मिथेनजस्ता ग्रिनहाउस ग्यास उत्सर्जन भइरहनु हो भनी वातावरणविद्हरू भन्छन्। सहरी वायुमण्डलमा यसरी उत्सर्जन भएको कार्बन कम गर्न वा घटाउन हावामा रहेको कार्बनडाइअक्साइड ग्यासलाई अवशोषण गर्ने परियोजनाहरू पनि बनाइएका छन्। यसमध्ये धेरै प्रचलनमा आएको मेकानिकल (यान्त्रिक) र खर्चिलो कार्बन क्याप्चर एन्ड स्टोरेज परियोजना पनि हो। तर वातावरणविद्हरूका अनुसार सहरी वायु प्रदूषण न्यूनीकरण गर्न प्रकृतिमा आधारित कार्बन क्याप्चर परियोजनाहरू नै प्रभावकारी र कम खर्चिलो हुने भएकाले मेगा सिटी र मेट्रोपोलिटनका मेयरहरूलाई त्यस्ता परियोजनाहरू छनोट गर्न सुझाएका छन्। जस्तै– सडकछेउ हुने वृक्षरोपण, एभेन्यु पार्क निर्माण, सिमसार संरक्षण, रूफटप वृक्षारोपण जस्ता कार्यहरूले सहरमा हरियालीको मात्रा बढ्ने र रुखहरूका कारण कार्बनडाइअक्साइड अवशोषण बढी हुने भएकाले हरित सहरीकरणलाई प्राथमिकीकरण गरिएको देखिन्छ।

तर सहरमा पर्याप्त जग्गा नपाइने र बस्ती विकास समेत साँघुरो हुने भएकाले अधिक वृक्षरोपण र अधिक हरियालीको समस्या उत्पन्न भइरहेको देखिन्छ। हो, यस्तो समस्याको निवारण गर्दै सहरको प्रदूषण घटाउन सकिने र साथैसाथ हरियाली पनि राख्न सकिने प्रारूपसहितको अलि फरकखाले नेचरबेस्ड कार्बन क्याप्चर विधि अन्वेषण भएको छ।

युनिभर्सिटी अफ बेलग्रेड सर्बियाका प्रा. इभाम स्पास्जेभिकले उन्नत बायोटेक्नोलोजी प्रविधिको प्रयोग गरी उक्त सहरमा कार्बनडाइअक्साइडको मात्रा उल्लेखनीयरूपले घटाउन सकेको माइक्रो एल्गियुक्त लिक्विड ट्रि (तरल रुख) आविष्कारबारे युएनडिपी डटकममा सेप्टेम्बर ९, २०२१ समाचार प्रकाशित छ। यसलाई लिक्विड–३ भनेर पनि नामांकन भएको छ। खासमा यो प्राकृतिक रुख, लाथ्रा बिरुवा जस्तो अर्थात सोलिड टिम्बर स्टान्ड नभइ ग्रिन माइक्रोएल्गी (हरियो झ्याउ/लेऊ र पानी) को समिश्रण गरी तयार भएको सिसाको पर्खाल रहेको बायो–रियाक्टर मेसिनजन्य संयन्त्र हो।

यो मेसिन एक्वेरियम जस्तै हुन्छ जसमा सफा पानी र स्थानीयरूपले पाउने हरियो लेउ (ग्रिन एल्गी) लाई तैराइ (पुनरुत्पादनमा प्रयोजन गरी) वरिपरि रहेको कार्बनडाइअक्साइलाई अवशोषित गरी उक्त लेउमा संग्रहित गरिन्छ।

हरियो लेउले फोटोसिन्थेसिस गर्दा हावामा विद्यमान कार्बनडाइअक्साइड अवशोषित गर्दै खाना बनाउने गर्छ र त्यही क्रममा यसले अक्सिजन फ्याल्छ। यसरी सहरको कार्बन घटाउने र अक्सिजन बढाउने भएकाले सहरी वातावरणलाई स्वच्छ राख्न यो प्रविधि उपयोगी देखिएको भनी प्रा. इभाम स्पास्जेभिकले प्रष्ट पारेका छन्। यसर्थ यो तरल रुख जलवायु परिवर्तनको समस्या निराकरणमा पनि लाभदायक देखिएको छ।

बायो–रियाक्टर तयारी

तरल रुखको संरचना निर्माण गर्दा प्रथमतः एउटा बाक्लो सिसाको भित्ता भएको करिब ६०० वर्गमिटरको बायो–रिएक्टर (पानी टंकी) तयार हुन्छ। सोको माथि तलामा सोलर प्यानल राखी इलेक्ट्रिसिटी उत्पादन हुन्छ जसले उक्त रियाक्टरको तापमान पाँच डिग्री सेल्सियस माथि राख्ने गर्छ। एल्गी धेरै बढ्न र फैलन तापमान पाँच डिग्री माथि रहनु राम्रो मानिन्छ।

उक्त टंकीमा पानी र ग्रिन एल्गी (लेउ) रहन्छ। यही हरियो लेउले प्रकाश संष्लेषण गर्दा कार्बनडाइअक्साइड क्याप्चर गर्छ र सहरको प्रदूषण घटाउँछ। यो नै लिक्विड रुख हो जसले दुईवटा मध्यमखालको पीपलका रुखहरूले सोस्ने बराबरी मात्रा कार्बन शोषित गर्छ र सोहीअनुरूप अक्सिजन पैदा गर्छ।

खासगरी भित्री सहर जहाँ रुख रोपण सम्भव रहँदैन जहाँ स्थान कम रहन्छ त्यस्ता ठाउँमा यो बायोरिएक्टरसहितको तरल रुख राख्न उपयुक्त रहन्छ भनी इभामले भनेका छन्। यसमा सबैभन्दा बढी महत्त्व हुन्छ– ग्रिन एल्गीको प्रजाति छान्ने काम। धेरै प्रजातिका लेउमध्ये लिक्विड रुखका लागि उचित प्रजाति एक कोषीय कोरेला भल्गारिस मानिएको छ।

१३ वटा प्रजातिको यो हरियो लेउ जताततै भेटिन्छ। स्थानीय खेतपाखा, खोल्साखोल्सी, पैनी, ताल, धाप, इनार सबैतिर यो देखिन्छ। भारतमा यिनै लेउलाई सिसाको बायो–रियाक्टर (२०० वर्गमिटर) मा राखेर तरल रुख बनाइएको छ र यो सिसाको वाललाई ३–मेथाक्राइल पिटिएम सेलानीबाट तयार गरिन्छ।

यो सिसा पारदर्शी हुने र भित्रपट्टि घाम छिर्ने हुनुपर्छ। यदि क्लोरेला प्रजातिको हरियो लेउ नभएमा अन्य प्रजातिका लेउ पनि प्रयोग गर्न सकिन्छ। जसमा स्प्रिनुला एल्गी (एथ्रोस्पिरा पेलेटेनेप्सिस), डुरालिया, नानोक्लोरिस, स्पाइरोगिरा र सिलिन्डोथिया आदि पर्छन्। अर्जेन्टिनामा वाइ–टेक परियोजनाअन्तर्गत यो तरल रुख निर्माणका कार्यहरू धमाधम प्रयोजनमा ल्याइएको छ। त्यहाँ स्प्रिनुला लेउ पनि राखिएको छ।

अहिले यो तरल रुख परियोजना ब्राजिल, मेक्सिको, भारत, सर्बियालगायतका युरोपेली देश, टर्की आदिमा रहेका ठूला सहरहरूमा प्रारम्भिक प्रयोग गरिँदैछ र त्यहाँ वायु प्रदूषण हटाउन सफल पनि भएको नतिजाहरूसमेत देखिँदैछन् ।प्रदूषणले विषाक्त नेपाल यतिबेला काठमाडौँको वायु प्रदूषण स्तर बढ्दो छ। जहाँ पिएम–२.५ र पिएम १० पार्टिकलको क्रमशः मापन ३५ र ५८ माइक्रोग्राम प्रतिघनमिटर बढी छ। यो भनेको डब्लुएचओको स्टान्डर्ड नम्र्सभन्दा छ गुणा बढी घातक हो।

काठमाडौँमा अन्य घातक तत्त्व, जस्तै– कार्बन, सल्फर, ओजन, धुलो र धुवाँ पनि हावामा बढी रहेको देखिएको छ। यतिबेला संसारमा सबैभन्दा बढी वायु प्रदूषण भएको क्षेत्र दक्षिण एसियालाई मानिन्छ। नयाँ दिल्ली, लाहोर र काठमाडौँमा एक्युआइ परिसूचक प्रायः १५० भन्दा माथि जाने र हमेशा यहाँको एम्बियन्ट एअर क्वालिटी खराब देखिन्छन्।

स्वस्थ सहरका लागि एक्युआइ ५० माथि जान हुन्न। भर्खरैको समाचारले दिल्ली र लाहोरको एक्युआइ कैयौँ डरलाग्दो जनाएको छ। लेटिना र पूर्वी युरोप, अफ्रिका पनि अचेल खराब वायुको चपेटामा परेको छ। यी सबैजसो सहरहरूमा डिजेल इन्धनका सवारी साधन अधिक, खुला फोहोर जलन बढी, ढल अस्तव्यस्त, जंगल आगलागी भइरहने र सहरमा रुखहरूको संख्या कम जस्ता कारण नै हावा विषाक्त  भएको मानिन्छ।

विश्व स्वास्थ्य संगठनले एक्युआइ प्रदूषण तयार गर्दा हावामा मुख्यतः पाँचवटा तत्त्व मापन गर्छ। जसमा फाइन पार्टिकल (पिएम १० र पिएम २.५), सतही ओजोन, सल्फर डाइअक्साइड, नाइट्रोजन डाइअक्साइड र कार्बन मोनो/डाइअक्साइडको मात्रा दैनिक वा प्रतिघण्टा मापन लिइन्छ। फाइन पार्टिकलहरूको निर्माण विभिन्न टक्सिक मेटर, माटोको धुलो, मेटालिक तत्त्व, ब्लेक कार्बन र अन्य रासायन समेतको समिश्रणबाट हुन्छ।

यी सबै मानव स्वास्थयका लागि अति घातक हुन्छन्। यस्तो प्रदूषणले बालक र रोगी, बढी उमेर भएका मानिसलाई स्वासप्रस्वास समस्या, ब्रोन्काइटिस र दम देखिने, फोक्सोमा असर पर्ने तथा मुटुमा समेत खराबी गर्छ। हो, यसरी उत्सर्जन भएका कार्बनडाइअक्साइड ग्याँसलगायत उक्त घातक पार्टिकलहरूलाई अवशोषण गर्न जसरी रुख बिरुवाको पातले भूमिका खेल्थे अब सोको स्थान यही माइक्रो एल्गियुक्त लिक्विड रुखले लिने देखिएको छ ।

सेन्ट पिट्सबर्ग विश्वविद्यालयका प्रा. नतालिया पोलितभियाका अनुसार यो तरल रुखमा प्रयोग भएको कोरेला भल्गारिसको कार्बनडाइअक्साइडको अवशोषण दर ०.४१ ग्राम प्रतिदिन प्रतिलिटर छ, जो मध्यमखाले दुईवटा रुखको अवशोषण बराबरी छ। कार्बनका अतिरिक्त यो तरल रुखले धुवाँ, धुलो र हावामा रहेका अन्य टक्सिन केमिकल पनि सोसेर लिन्छ।

यसर्थ नेपालमा पनि यो तरल रुखको प्रयोजन काठमाडौँ, पोखरा, वीरगञ्ज, जनकपुरजस्ता रुखबिरुवा रोपण गर्न कम ठाउँ र थोरै क्षेत्रफल उपलब्ध भएका र बढी नै वायु प्रदूषण हुने क्रिटिकल परिसर, व्यापारिकस्थल, खेलस्थल तथा बाक्लो जनघनत्व रहेका सहरी पकेट क्षेत्रहरूमा गर्न उचित रहन्छ।

राम्रो प्रतिफल

वातावरणविद्हरूका अनुसार यो तरल रुख निर्माण परियोजना उति महँगो छैन। स्थानीय तह र नगरपालिकाहरूले यसमा लगानी गर्न सक्छन्। किनकि बायो–रियाक्टर र सोलार प्यानललाई तत्काल केही रकम लागे पनि यसबाट दीर्घकालीन फाइदा छ। कोरेला/कोव्होरेला भल्गारिस जस्ता सिंगल सेल ग्रिन एल्गी स्थानीयरूपमा नै पाइन्छ भने सिसाको भाँडो पनि सहजै बजारमा पाइन्छ।

ससाना रुखबिरुवा लगाउन, हुर्काउन र जोगाउन उसै पनि मनग्गे पैसा लाग्छ नै। यसमा पनि उस्तै उस्तै लगानी देखिन्छ। खासमा भित्री सहर जहाँ रुख लगाउन सकिँदैन। त्यहाँ यसको लाभ उल्लेखनीय रहन्छ। निश्चित समयपछि बायो–रियाक्टरभित्रको हरियो लेउ संकलन गरी सदुपयोग गर्दै व्यवसाय गर्नसमेत सकिन्छ। यो हरियो लेउ खाद्य पदार्थ पनि हो र यसमा प्रचुर भिटामिन र खनिज तत्त्व पाइन्छ।

कसैले यही लेउबाट बास्नादार एरोमा आयल निकालेर बजारीकरण पनि गर्न सक्छन्। यसर्थ तरल रुख परियोजना एउटा बहुउद्देश्यीय लाभदायी योजना बनाउन सकिने हुन्छ जसले सहरको वायु प्रदूषण कम त गर्छ नै, साथसाथै स्थानीयहरूको रोजगारी र अतिरिक्त आयस्रोतसमेत अभिवृद्धि गर्न सहयोग गर्छ। यसैले काठमाडौँसहित सबै सहरले यो तरल रुख अभियानलाई अगाडि बढाउन हातेमालो गरौँ। निजी कम्पनी, वातावरण विभाग, नास्टलगायत सरकारी र शैक्षिक संस्थाहरूले थप अनुसन्धान गर्दै यसलाई व्यावसायिक उत्पादनसँग जोड्न उत्प्रेरित गर्न सके त झनै राम्रो हुनेछ।

प्रकाशित: १ पुस २०८१ ०६:२९ सोमबार

# Air pollution # Niji company