विचार

दृष्टिविहीन नानीबाबुको आत्मनिर्भर जीवन

दृष्टि अपांगताले दृष्टिविहीन बालबालिकाहरूलाई आत्मनिर्भर भई अध्ययन एवं जीवनयापन गर्नका लागि समाजमा रहेका विभिन्न अप्ठ्याराहरू पार गर्नुपर्ने हुन्छ। अभिभावक, शिक्षक अपांगता क्षेत्रमा कार्यरत संघ–संस्था एवं समाजको संयुक्त पहल प्रयास रहेमा दृष्टि अपांगता भएका बालबालिकाहरूले पनि आत्मनिर्भर हुने कला सिक्न सक्छन्।

दृष्टि अपांगता भएका बालबालिकाहरूले आत्मनिर्भर भई जिउने कला पर्याप्त मात्रामा सिक्नुपर्छ जसले गर्दा उनीहरू घर, स्कुल एवं समाजमा स्वतन्त्रतापूर्वक जीवन व्यतीत गर्न सक्ने हुन्छन्। शैक्षिक कार्यक्रमहरू पनि यस्ता बालबालिकाका निम्ति आवश्यक पर्ने आत्मनिर्भर भई जीवन यापन गर्न सक्ने कला विकासमा लक्षित हुन आवश्यक छ।

नेपालमा डेढ दशक अघिदेखि बाल विकास केन्द्र सञ्चालित छन्। करिब ३६ हजार संख्यामा रहेका यी केन्द्रहरूमा बालबालिकाहरूलाई जीवन उपयोगी सीपको माध्ययमबाट विकासात्मक परिवर्तन ल्याउनका निम्ति वातावरण निर्माण गरिन्छ जसले गर्दा अन्तत्वगत्वा उनीहरूलाई स्कुल जानतयार पारिन्छ।

यति धेरै संख्यामा बाल विकास केन्द्र देशमा सञ्चालित भए तापनि त्यहाँ पनि अपांगता भएका बालबालिकाहरूका निम्ति कुनै पनि केन्द्रहरूको दैलो सरोकारवाला पक्षले खुलाउन अथक प्रयास गरे पनि सकेको छैन। यहीविकराल समस्यालाई दृष्टिगत गरी सन् २०१३ देखि बिपी नेत्र प्रतिष्ठानले मध्यपुर ठिमी नगरपालिका १, भक्तपुरमा सञ्चालित बाल आँखा, कान, नाक, घाँटी अस्पताल एवं पुनःस्थापना सेवामा ३ देखि ८ वर्ष उमेर समूहका दृष्टि अपांगताएवं बहिरा बालबालिकालाई आत्मनिर्भर बनाई स्रोत कक्षा भर्ना गर्नका लागि निःशुल्क जीवन उपयोगी तालिम उपलब्ध गराउँदै आएको छ। साथसाथै दृष्टिविहीन एवं बहिरा बालबालिकाका अभिभावक, बहिरा एवं दृष्टिविहीन स्रोत कक्षा सञ्चालित स्कुलका स्रोत शिक्षकहरूलाई अभिमुखीकरण तालिम उपलब्ध गराउँदै आएको छ।

दृष्टिविहीन बालबालिकालाई जीवन उपयोगी सीपहरूको ज्ञान दिन अति नै आवश्यक भएको हुँदा प्रशिक्षक समूहको टोलीले यस्ता विशेष आवश्यकता भएका बालबालिकाहरूलाई ध्यानपूर्वक तालिम दिनुपर्छ। उदाहरणका निम्ति, घडीको अवधारणाअनुरूप खाना खान, पसलमा गई आवश्यक सामान किन्न, ब्रेल लिपिको माध्यमबाट पढ्न एवं लेख्न, व्यक्तिगत स्वच्छता, गमनशीलता एवंवातावरणीय ज्ञान र सही आचरण एवं अन्य तालिमहरूका व्यवस्था पनि आवासीय सुविधासहित उपलब्ध गराउँदै आइरहेको छ। यस प्रकृतिका विशेष आवश्यकता भएका बालबालिकालाई रुपियाँ पैसा चिन्ने तरिका, आफ्नो लुगा चिन्ने तरिका, आफूले दैनिक जीवनमा प्रयोग गर्ने सामग्रीहरू जतन गरी राख्ने कला जान्न आवश्यक छ जसले गर्दा उनीहरूले स्वतन्त्रतापूर्वक आफ्नो जीवन यापन गर्न सक्ने हुन्छन्।

दृष्टि अपांगता भएका बालबालिकाहरूले खाना खाने बेला थाल नचिप्लियोस् भनी खस्रा वस्तु माथि थाल राख्नुपर्छ। खाना नपोखियोस् भनी फराकिला एवं लामा बिट भएका थाल कचौराहरू प्रयोगमा ल्याउनुपर्छ । खाना खुवाउन सिकाउने क्रममा बालबालिकाको हात पक्डेर थालबाट गाँस झिक्न लगाएर मुखसम्म लगी सिकाउनु पर्छ। प्रत्येक पटक खाना खाइसकेपश्चात् बालबालिकालाई पुरष्कृत गर्नु उचित हुन्छ जसले गर्दा उसले उक्त सिकाइ उपलब्धि कायम गर्नका लागि प्रोत्साहन दिनुपर्छ।

अरूको सहयोग नलिई लुगा लगाउन सक्नु सबै बालबालिका र तिनका अभिभावकहरूका निम्ति सुनौलो सपना हो तर दृष्टिविहीन बालबालिकाका लागि यो चुनौतीपूर्ण छ तर निश्चित तरिकाका माध्यम अपनाएमा दृष्टिविहीन बालबालिकाहरूले सजिलै लुगा लगाउन–फुकाल्न सक्छन्। सर्वप्रथम यी बालबालिकाहरूलाई सजिलै लगाउन सकिने ट्रयाक सुट जुन लगाउन सहज हुन्छ। लुगा लगाउन सिकाउँदा बालबालिकाको पछाडि उभिएर बसी हातको इसाराले सिकाउनुपर्छ जसले गर्दा बालबालिकाले तपार्इंको हातले छोएर बुझ्न सक्छन्। अभिभावक एवं शिक्षकहरूले लुगा दराजमा राख्दा लुगा लगाउने समयमा बालबालिकालाई कठिन नहोस् भनी सजिलै पत्ता लगाउने स्थानमा व्यवस्थित गरी राख्नुपर्छ । जुत्ता र मोजा दराजमा राख्दा चाहिएको बेला झिक्न र लगाउन सहज हुन्छ। लुगाको पछिल्लो पट्टिको भागमा आआफ्नो लुगा चिन्नका लागि संकेतहरू राख्नुपर्छ।

हामी मानवहरू प्रत्येक दिन विभिन्न व्यक्तिहरूसँग अन्तक्र्रिया गरिरहेका हुन्छौँ । दृष्टि अपांगता भएका बालबालिकाहरूलाई पनि आफ्ना सहपाठीएवं समाजका विभिन्न तह र तप्काका व्यक्तिहरूसँग अन्तक्र्रिया गर्न मन लाग्ने गर्छ। शिक्षकले बालबालिकाका बीच विभिन्न समूह बनाई सहकार्यको बानीविकासगर्न प्रेरित गर्नुपर्छ फलस्वरूप बालबालिकाहरूमा सकारात्मक अन्तक्र्रिया गर्ने वातावरणको विकास हुन्छ, उदाहरणका निम्ति खेल खेल्दा, खाना खादा, कक्षामा हुने गतिविधि र अन्य कार्यमा सरिक भई रहँदा सजिलो हुन्छ। अभिभावकले दृष्टि अपांगता भएका आफ्ना नानीबाबुलाई सामाजिक कार्यक्रममा लिएर जानुपर्छ, बजारमा किनमेल गर्न तथा अन्य गतिविधिमा सधैँ लिएर जाने गर्नुपर्छ किनभने यसले गर्दा उनीहरूलाई सामाजिक र दैनिक जीवनमा घुलमिल हुन सहज हुन्छ।

गमनशीलता एवंवातावरणीय ज्ञान पनि दृष्टिविहीन बालबालिकाले जान्नैपर्ने महत्वपूर्ण सिकाइ हो। स्वतन्त्रतापूर्वक हिँडडुल गर्नका लागि अन्य ज्ञानेन्द्रियको प्रयोग गरी सिकाउनुपर्छ। अभिभावकहरूलाई आफ्ना दृष्टिविहीन नानीबाबुहरू कुन विधिको प्रयोग गरी स्वतन्त्रतापूर्वक हिँडडुल गर्छन् भनी पूर्ण जानकारी शिक्षकले गराउनुपर्छ। दृष्टि अपांगता भएका बालबालिकाहरूलाई गमनशीलता एवंवातावरणीय ज्ञान दिलाउँदा विभिन्न सीपजस्तै, सेतो छडी प्रयोग गर्ने तरिका, मानव सहयोगीसँग हिँड्ने विधि एवं अन्य सुरक्षित र प्रभावकारी स्रोतहरूको ध्यानबाट हिँड्डुल गर्ने विधिको बारेमा राम्रै तालिम दिनुपर्छ।

दृष्टिविहीन बालबालिकाहरूलाई सूचना प्रविधिका बारेमा ज्ञान दिन अतिनै आवश्यक छ। यसले गर्दा दृष्टि अपांगताको कारणले पार्ने कठिनाइलाई सूचना प्रविधिको माध्यमले न्यूनीकरण गर्न सकिन्छ भन्ने चेतना बाल मस्तिष्कमा पार्न सकेमा यी बालबालिकाहरूको मनोबलमा बढोत्तरी हुन सक्छ। उदाहरणका निम्ति, बोल्ने सफ्टवेरको प्रयोग गरी कम्प्युटर मोबाइल चलाउन सकिन्छ भन्ने अवधारणाको विकास गर्ने।

अभिभावक, समाज, अपांगता क्षेत्रमा कार्यरत संघ संस्था, सरकार एवंविशेष शिक्षकको दृष्टि अपांगता भएका बालबालिकालाई सीप र अवसर उपलब्ध गराउन अर्थपूर्ण योगदान भएमा दृष्टिविहीन बालबालिकाले स्वतन्त्रतापूर्वक जीवन जिउने कलाको विकास गर्न सक्ने थिए। एक सुन्दर एवं आत्मनिर्भर जीवनको सपना सार्थक बनाउन सकिन्छ भन्ने बिपी नेत्र प्रतिष्ठानको पाँच वर्षको अनुभवले सिकाएको छ।

प्रकाशित: २९ चैत्र २०७४ ०३:३६ बिहीबार

दृष्टिविहीन नानीबाबुको आत्मनिर्भर जीवन