विचार

दिगो विकासका लागि सहकारी

<br>

नेपालमा केही सहकारीका सञ्चालक तथा व्यवस्थापकले सहकारीको सिद्धान्त र कानुनको ठाडो उल्लंघन गरेर सर्वसाधारणले जम्मा गरेको अर्बौं रुपियाँ अपचलन गरेको र नियमनकारी निकायले त्यसलाई रोकथाम गर्न नसकेकाले सहकारी समस्या उत्पन्न भएको हो। यो समस्या रातारात विकास भएको नभै लामो समयदेखि बल्झिँदै आएको हो र त्यसको समाधान सुझाउन विभिन्न समयमा गठन गरिएका विभिन्न आयोग, समिति तथा कार्यदलले दिएका सुझाव सरकारले कार्यान्वयन नगरेकाले यो समस्या विकराल भएको हो। यसलाई समाधान गरिएन भने सहकारीमाथि नै सर्वसधारणको विश्वास डग्मगाउन सक्छ।

नेपालमा दिगो विकास गर्नका लागि ठूलो संभावना बोकेको सहकारी क्षेत्रप्रति सर्वसाधारणको विश्वास गुम्न नदिन सहकारीका पीडितहरूको बचत फिर्ता गर्ने र पीडकलाई हदैसम्मको कारबाही गर्ने कार्यलाई उच्च प्राथमिकताका साथ लागु गर्नुपर्दछ र नीतिगत, कानुनी, प्रक्रियागत तथा संस्थागत सुधार गरेर सहकारीलाई नेपालमा दिगो विकास गर्ने सशक्त माध्यमका रूपमा प्रयोग गर्नुपर्दछ।

दिगो विकास

दिगो विकास भनेको आर्थिक र मानव विकासप्रतिको त्यस्तो दुष्टिकोण हो जसले भावी पुस्ताका आवश्यकता पूरा गर्न सक्ने क्षमतालाई ह्रास नगरी वर्तमान आवश्यकता पूरा गर्ने लक्ष्य राख्छ र भविष्यमा बाँच्नका लागि आवश्यक पर्ने प्राकृतिक स्रोतहरू नष्ट नगरी वर्तमानको विकास गर्नुपर्दछ भन्नेमा जोड दिन्छ। दिगो विकासका लागि आर्थिक विकास, सामाजिक समावेशीकरण र स्वच्छ वातावरण सवै उत्तिकै महत्त्वपूर्ण हुने भएकाले आर्थिक, सामाजिक र पर्यावरणसम्बन्धी क्रियाकलापहरूलाई समन्वितरूपमा सञ्चालन गर्नुपर्दछ।

दिगो विकासका लागि सहकारी

सहकारी निश्चित मूल्य, मान्यता तथा सिद्धान्तमा आधारित व्यवसाय भएकाले यो स्वाभाविकरूपमा दिगो विकासमैत्री छ भन्ने मान्यता विश्वमा बढ्दै गएको छ। सहकारी परम्पारगत व्यापार जस्तो मुनाफा केन्द्रित नभै सदस्य र समुदायको भलाइमा समर्पित स्वावलम्बन, स्वउत्तरदायित्व, लोकतन्त्र, समानता, समता, ऐक्यबद्धता, इमानदारी, खुलापन, सामाजिक उत्तरदायित्व र अरूको हेरचाह जस्ता मान्यतामा आधारित व्यवसाय हो।

यी मान्यतालाई सहकारीका स्वेच्छिक र खुला सदस्यता, लोकतान्त्रिक नियन्त्रण, सहकारी–सहकारीबीच पारस्परिक सहयोग र समुदायतप्रतिको चांसो जस्ता सिद्धान्तद्वारा व्यवहारमा रूपान्तरित गरिन्छ। सहकारीको यस किसिमको विशेष प्रकृतिले गर्दा आर्थिक, सामाजिक तथा वातावरणीय क्रियाकलापहरूलाई समन्वयात्मकरूपमा लागु गरेर दिगो विकास गर्न सकिन्छ भन्ने मान्यता स्थापित भएको छ।

आर्थिक विकास

दिगो विकासका लागि आर्थिक विकास फराकिलो र समावेशी हुनुपर्दछ। त्यसमा सहकारीले ठूलो भूमिका खेल्छ। एक्लैले गर्न नसक्ने काम अनेकले संयुक्तरूपमा गर्न सक्छन् भन्ने मान्यताका आधारमा विभिन्न व्यक्ति स्वेच्छिकरूपमा एकजुट भै आफ्ना साझा आवश्यकता र आकांक्षाहरू पूरा गर्न सहकारी संस्था स्थापना गर्दछन्। तिनीहरू आफूसँग भएको सीमित साधन एकठ्ठा गरेर संयुक्तरूपमा व्यवसाय चलाउँछन्। सहकारीले सर्वसाधारणलाई व्यवसायको संयुक्त मालिक वा व्यापार साझेदार बन्ने मौका दिइ आर्थिक विकास गर्ने अवसर प्रदान गर्दछ।

सहकारीले आफ्ना सदस्यलाई स्रोत, तालिम तथा नेटवर्कमा पहँुच दिएर संयुक्तरूपमा जोखिम बेहोर्ने र उद्यमशील हुने अवसर प्रदान गर्दछ। उदाहरणका लागि कृषि सहकारीले आफ्ना सदस्यहरूलाई कृषि उपकरण, बिउ, विजन, मलखादलगायतका विभिन्न इनपुट्सहरूमा पहँुच दिएर कृिष उत्पादन बढाउन र त्यसलाई प्रशोधन र बजारीकरण गरेर उचित मूल्यमा बिक्री गर्ने अवसर प्रदान गर्दछ।

यसैगरी उपभोग सहकारीले विभिन्न वस्तु उत्पादक वा थोक बिक्रेताहरूबाट खरिद गरेर आफ्ना सदस्यलाई गुणस्तरीय वस्तुहरू सहजरूपमा सुपथ मूल्यमा उपलब्ध गराउँछ र मध्यस्थको मुनाफाबाट बचाउने मात्र होइन कि मिसावटयुक्त न्यून गुणस्तरका वस्तु खरिद गर्नेे जोखिमबाट पनि बचाउँछ। सहकारीहरू विभिन्न किसिमले मूल्यमा स्थिरता कायम गर्न सहयोगी हुन्छन् ।बचत तथा ऋण सहकारीले सस्तो ब्याजमा ऋण उपलब्ध गराएर वस्तु तथा सेवाको आपूर्ति बढाउने वातावरण तयार गर्दछन्। यिनीहरू केही प्रतिनिधिमूलक उदाहरण मात्र हुन। अर्थतन्त्रको हरेक क्षेत्रमा सहकारी सञ्चालन गरेर आर्थिक गतिविधि बढाउन सकिन्छ।

सहकारी संस्थाहरू खासगरी स्थानीय प्रकृतिका हुने भएकाले यिनीहरूमार्फत स्थानीय स्रोत स्थानीय तहमा परिचालन भै स्थानीय तहमै प्रयोग हुने भएकाले स्थानीय विकासमा टेवा पुग्छ। यसैगरी सहकारीले गरिबी घटाउन विभिन्न किसिमले मद्दत गर्दछन्। तिनीहरू आफ्ना सदस्यका लागि आर्थिक अवसर पहिचान गर्दछन्, पिछडिएका वर्गको हितको रक्षा गर्न तिनीहरूलाई सशक्त बनाउँछन्, गरिबको व्यक्तिगत जोखिमलाई सामूहिक जोखिममा रूपान्तरण गरेर सम्पत्तिमा पहुँच दिन्छन र शिक्षा र तालिमको माध्यमले सदस्यहरूलाई सक्षम बनाएर विकासमा सक्रिय सहयात्री बनाउँछन्।

सहकारीले विभिन्न क्षेत्रमा रोजगारीका अवसर सिर्जना गर्दछ। यस क्षेत्रले हाल विश्वभर २८ करोडभन्दा बढी व्यक्तिलाई रोजगारी प्रदान गरेको छ जुन विश्वमा रोजगार भएका कुल जनसंख्याको १० प्रतिशत जति छ।

नेपलामा सहकारी क्षेत्रले आर्थिक वर्ष २०७९/८० मा ९४ हजारलाई रोजगारी प्रदान गरेको थियो। सहकारीले आफ्नो व्यापार सञ्चालन गर्दा दीर्घकालीन दृष्टिकोण अपनाउने भएकाले अन्य क्षेत्रको तुलनामा सहकारी क्षेत्रको रोजगारी बढी स्थिर हुन्छ।

यसरी सहकारीका माध्यमले रोजगारीका अवसरहरूमा उल्लेखनीय वृद्धि गरेमा खाडीका देशहरू, मलेसिया, दक्षिण कोरियालगायतका विभिन्न मुलुकमा युवा बाध्य भएर पलायन हुने प्रचलन कम हुनेछ। सहकारीका माध्यमले रोजगारीका आवसर बढाउँदै गएपछि रोजगारी पाउनेको आयमा वृद्धि भै गरिबीसमेत घट्नेछ ।

सहकारी ठूलो मात्रामा ऋणमा निर्भर नहुने, सहकारीका सदस्यहरू सहकारीको अवस्थाबारे सुसूचित भैरहने हुँदा एक्कासि वित्तीय संकट देखापर्ने संभावना कम हुने र सहकारीको मुनाफाबाट सहकारीको विकासका लागि विभिन्न कोष व्यवस्था गरिने भएकाले अन्य व्यवसायको तुलनमा सहकारीमा वित्तीय संकट आउने संभावना कम हुन्छ।

सन् २००७ को विश्वव्यापी वित्तीय संकट तथा कोभिड–१९ ले सिर्जना गरेको महामारीका बेला अन्य क्षेत्रको तुलनामा सहकारी क्षेत्र कम प्रभावित भएको थियो। त्यति मात्र नभै खोलिएका नयाँ व्यापारमध्ये कति बाँच्छन् र कति मर्छन् भनेर क्यानाडा, बेलायतलगायतका विभिन्न मुलुकमा गरिएका सर्भेक्षणले अन्य व्यवसायको तुलनामा सहकारी व्यवसाय बढी बाँचेको देखाएको थियो।

सामाजिक समावेशीकरण

सहकारीले सामाजिक समावेशीकरण हासिल गर्न पनि महŒवपूर्ण भूमिका निभाउँछ। सहकारीको सदस्यताका लागि तोकिएका मापदण्ड पूरा गर्न चाहने जोसुकैका लागि पनि सहकारीको सदस्यता खुला हुन्छ र त्यसमा कुनै किसिमको लैंगिक, सामाजिक, जातीय, राजनीतिक वा धार्मिक दृष्टिले भेदभाव गरिँदैन।

सहकारीले सदस्यहरूमा समुदायको भावना जगाउने, पारस्परिक सम्बन्ध बढाउने र मिलेर साझा उद्देश्य पूरा गर्ने अवसर प्रदान गर्दछ। मुलुकमा सस्तो राजनीतिक तथा व्यक्तिगत स्वार्थ पूर्तिका लागि जाति, धर्म, वर्ण, समूह, क्षेत्र आदि संकीर्ण भावले उठाइने आवाजहरू बढ््न नदिनका लागि सहकारी संयन्त्र प्रभावकारी हुन सक्छ।

सहकारीले महिला र न्यून आय भएका व्यक्तिलगायत सीमान्तकृत समूहहरूलाई सशक्तीकरण गरेर सामाजिक समावेशीकरणलाई प्रोत्साहन दिन्छ, अभाव वा भेदभावका कारणले कोही पछाडि नपरोस् भन्ने कुरा सुनिश्चित गर्दछ, सामाजिक बहिष्कारविरुद्ध लड्छ र समाजमा द्वन्द्वको स्थिति घटाउँछ।

सहकारीले आफ्ना सदस्यमा नेतृत्व विकास गर्नुका साथै नागरिक संलग्नता बढाएर समुदायको क्षमता अभिवृद्धि गर्दछ र सदस्यहरूमा सामुदायिक विकासका लागि स्वामित्व र जिम्मेवारीको भावना बढाउँछ। बलियो सामुदायिक सम्बन्ध र नेटवर्क निर्माण गरेर सहकारीले सामाजिक एकता बढाउँछ। सहकारीले मुनाफा कमाउने र आफ्ना सदस्य तथा समुदायका आवश्यकता तथा चाहनाहरू पूरा गर्ने कार्यबीच सन्तुलन कायम गर्दछ। सहकारीको मुनाफाको केही अंश स्थानीय समुदायको विकासमा प्रयोग गरेर सामाजिक विकासमा सहयोग पुर्याउँछ।

पर्यावरणीय स्थिरता

सहकारीले पर्यावरणीय स्थिरता कायम गर्न पनि महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। सहकारीको मूल उद्देश्य मुनाफाभन्दा पनि समुदायको कल्याण भएकाले सहकारी संस्थाहरू जसरी भए पनि तुरुन्त मुनाफा बढाउनुपर्दछ भन्ने भावनाबाट माथि उठेर दिगो हुने किसिमले मुनाफा आर्जन गर्ने कुरालाई प्राथमिकता दिन्छन्। समुदायको दीर्घकालीन हित हुने किसिमले प्राकृतिक स्रोतको प्रयोग गर्दछन्। आफ्ना सदस्यलाई वातावरणीय शिक्षा र तालिम प्रदान गरेर प्राकृतिक स्रोतको राम्रोसँग व्यवस्थापन गर्नुपर्ने कुरामा जागरुक बनाउँछन्।

मूल्य र सिद्धान्तमा आधारित सहकारीहरू स्वाभाविकरूपमा आर्थिक वृद्धि र पर्यावरण व्यवस्थापनबीच सन्तुलन कायम गर्ने किसिमले आफ्ना गतिविधि सञ्चालन गर्दछन्। तिनीहरू प्राकृतिक स्रोतको संरक्षण र जैविक विविधतालाई प्रोत्साहित गर्ने दिगो अभ्यासमा संलग्न हुन्छन्। सहकारी संस्थाहरू नवीकरणीय ऊर्जा परियोजनाहरूमा संलग्न भै दिगो वातावरणीय अभ्यासहरूलाई प्रोत्साहित गर्दछन्। तिनीहरू वातावरण संरक्षण र जलवायु परिवर्तनविरुद्धको लडाइँमा सहभागी हुन सक्छन् ।

निष्कर्ष

सहकारी आन्दोलनले आर्थिक सम्भाव्यता, सामाजिक न्याय र वातावरणीय उत्तरदायित्वलाई एकीकृत गरेर दिगो विकाससम्बन्धी समग्र दृष्टिकोण अपनाउन र समुदायले सामना गर्नुपरेका चुनौतीहरू सम्बोधन गर्न सक्छ। शायद यसैले होला, संयुक्त राष्ट्र संघले हरेक वर्ष जुलाइको दोस्रो शनिबारलाई अन्तर्राष्ट्रिय सहकारी दिनका रूपमा मनाउने गरेको छ। यस सन् २०१२ लाई अन्तर्राष्ट्रिय सहकारी वर्षका रूपमा मनाइइएको भात्र नभै सन् २०२५ लाई पनि अन्तर्राष्ट्रिय सहकारी वर्षका रूपमा मनाउने निधो गरेको छ।

विश्वका विभिन्न मुलुक सहकारीका माध्यमले दिगो विकास गर्ने अभियानमा लागेका छन् भने नेपालमा पनि सहकारीलाई दिगो विकास हांसिल गर्ने अस्त्रका रूपमा प्रयोग गरिनुपर्दछ।  

प्रकाशित: ९ मंसिर २०८१ ०६:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App